20100208

प्रचण्डलाई किन चाहियो सत्ता ?


image नेपालको राजनीति आज दिशाहीन अवस्थामा छ । यो दिशाहीनताको मुख्य कारण राजनीतिलाई डोर्‍याउने जिम्मेवारी लिएका नेपालका प्रमुख राजनीतिक दलको किंकर्तव्यविमूढतालाई पनि मान्न सकिन्छ । नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस यी तीनवटै ठूला राजनीतिक दल अगाडिको बाटोका बारेमा भ्रान्त देखिन्छन् । यहाँ एउटा कुरा उल्लेखनीय छ- नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस अलग-अलग कारणले भ्रान्त र दिशाहीन भएका छन् । आजका हकमा नेकपा एमाले र नेपाली कांग्रेसको दिशाविहीनता त्यति महत्त्वपूर्ण छैन । एमाले र कांग्रेस.....भ्रान्तिपूर्ण अवस्थामा बाँचेको धेरै नै भयो । ०६३ भन्दाअघि अथवा बाह्रबुँदे समझदारीभन्दा अघि पनि यी दुई पार्टीकै भ्रान्तिका कारण मुलुकमा माओवादीको जगजगी बढेको थियो । माओवादीले सशस्त्र युद्ध थाल्नुअघि यति छिट्टै र सहजै सफल हुन्छु भन्ने सोचेकै थिएन । न अरू कसैले सोचेका थिए । तत्कालीन सत्ताधारी पार्टीका आपसी कलह र अन्योलले माओवादी बलियो भएको थियो । त्यसका विशेष आर्थिक, सामाजिक र प्रशासनिक आधार थिए, त्यो बेग्लै कुरा हो ।
नेकपा माओवादी अहिलेका हकमा भने सबैभन्दा बढी भ्रान्त छ । उससँग नेपाली जनताले धेरै आशा राखेका छन् । माओवादी आएपछि नेपालमा शान्ति स्थापना हुन्छ भन्ने आन्दोलनकारी जनसमुदायको आशा थियो । त्यति मात्र होइन, माओवादी आएपछि मानिसका न्यूनतम समस्या शान्ति-सुव्यवस्था र गरिखाने अधिकार अर्थात् गाँस, बास र कपासको सुविस्ता सबैले पाउँछन् भन्ने आशा थियो । दुर्भाग्यवश, माओवादीसँग जनतालाई गाँस, बास र कपासको बन्दोबस्त गर्ने कुनै कार्यनीति रहेनछ, कुनै कार्यक्रम रहेनछ । त्यसका आफ्नै वैचारिक कारण छन्, जुन महत्त्वपूर्ण र गहन छन् ।
स्मरणीय छ, नेकपा माओवादीले जानी/नजानी माओ त्सेतुङको शिक्षा भुलिसकेको छ । कदाचित् नेकपा माओवादीको नेतृत्वले बन्दुकको नालबाट सत्ता आउँछ भन्नेबाहेक माओको अन्य शिक्षालाई ध्यान दिएर बुझेको पनि रहेनछ । माओ त्सेतुङले सांस्कृतिक क्रान्तिको दौरानमा सिंगो चीनलाई संवृद्धिदरले  -ग्रोथ रेट) भन्दा पनि राजनीतिक चेतनाका आधारमा हाँक्न खोजेका थिए । उनको नारा थियो- क्रान्तिलाई दह्रोसँग पक्र र उत्पादनलाई बढाऊ । माओ त्सेतुङले त्यसवेला सोभियत युनियनमा भएको उपलब्धिमूलक -?) प्रयोगसँग विमति राखेका थिए । सोभियत युनियनले आर्थिक सम्पन्नता प्राप्त गर्‍यो, तर त्यसबाट समाजमा शान्ति र सन्तोष आएन भन्ने माओको ठहर थियो । माओवादीको वर्तमान नेतृत्वले यो कुरा बिर्सेको छ । फलस्वरूप, नेकपा माओवादी आज माओ त्सेतुङको बाटोमा भन्दा पनि देङको बाटोमा लागेको प्रस्ट छ ।
चीनमा आज संवृद्धिदर एकदम ज्यादा बढेको छ । भारतमा पनि यो तीव्र भएको छ । तर, त्यसले त्यहाँभित्र समाजमा विद्यमान वर्गविषमतालाई कम गर्न सकेको छैन, उल्टो झन् चर्काएको छ । नेकपा माओवादी नेतृत्व यस अत्यन्त महत्त्वपूर्ण सवाल रोजगार अथवा आर्थिक सम्वृद्धिको सवालमा पूर्णरूपले भ्रान्त छ । त्यसैले भोलि एकपटक फेरि पनि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन्, बाबुराम अर्थमन्त्री बन्न सक्छन् अथवा मोहन वैद्य पनि प्रधानमन्त्री बन्न सक्छन् । तर, आमजनताको चाहनामुताविक दिन सक्ने एउटै पनि ओखती वा निकास र एउटै पनि कार्यक्रम यिनीहरूसँग छैन । नेकपा माओवादीको आजको एउटा समस्या यही हो । यो मूलतः अर्थशास्त्रसँग सम्बन्धित सैद्धान्तिक प्रश्न हो, अर्थशास्त्रका केही सैद्धान्तिक र व्यावहारिक सन्दर्भसँग जोडिएको प्रश्न हो । विगतको उनीहरूको बजेटमा के देखिन्छ भने, उनीहरू समकालीन विश्व पुँजीवाद र साम्राज्यवादको धारभन्दा अलग हुन सक्दैनन् । त्यसैले उनीहरू प्रधानमन्त्री, अर्थमन्त्री भएर, सत्तामा गएर त्यही काम गर्छन्, जुन काम गिरिजाप्रसाद कोइराला अथवा माधव नेपाल गर्दै छन् । यस दृष्टिले नेपाली जनताले माओवादीलाई 'जुन जोगी आए पनि कानै चिरेका' भन्ने हिसाबले हेर्न थालेका छन् । त्यो हेराइ अस्वाभाविक होइन । प्रचण्ड प्रधानमन्त्री हुँदा उनको बोलाइ, चलाइ, व्यवहार अरू नेताको भन्दा फरक भएन । उनले पनि अरू नेताकै जस्तो विलासिताको जीवन व्यतीत गर्ने, विदेशबाट महँगो गाडी झकिाउने, पलङसमेत महँगो किन्ने काम गरे । झुटो र दोहोरो कुरा गर्न त सबैलाई माथ गरेका छन् । त्यसैले आज प्रचण्ड र माधव नेपालको छविबीच विशेष फरक छैन । प्रचण्डको एउटै दाबा छ- म निर्वाचित भएर प्रधानमन्त्री भएको हुँ, माधव हारेका नेता हुन् । प्रचण्डको मुखमा बुझो लगाउने हो भने भोलि कुनै निर्वाचित नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्छ, उनको स्वर स्वतः मत्थर हुनेछ ।
तर, यहाँ बुझ्नैपर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा छ, जुन अत्यन्त खतरनाक पनि छ । सिंगो नेकपा माओवादी सामान्यतः र प्रचण्ड विशेष गरेर कुनै पनि मूल्य तिरेर सरकारमा तत्काल जान चाहन्छन् । यो कुरा म दोहोर्‍याएर भन्न चाहन्छु- त्यसपछि उनीहरू कुनै पनि मूल्य तिरेर सरकारको नेतृत्व गर्न चाहन्छन् । त्यसका लागि उनीहरू पहिले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउन तयार छन्, प्रधानमन्त्री मात्र नभएर राष्ट्रपति बनाउनसमेत तयार छन् । यहाँसम्म कि सुजातासम्मलाई प्रधानमन्त्री बनाउने सहमति गर्न उनीहरूलाई आपत्ति छैन । यस्तो किन त ? वर्तमान नेपालका राजनीतिक पर्यवेक्षक, बौद्धिक जमातले यो कुरा बुझेका छैनन् । यो आजको एउटा दुर्भाग्यपूर्ण पक्ष हो, नेकपा माओवादीलाई बुझ्ने सवालमा भएको ठूलो कमजोरी हो ।
आफ्नै नेतृत्वको सरकारमा रहँदाको माओवादीका प्रदर्शन र अरू व्यवहारले उसको आमजनताका बीचमा लोकपि्रयता बढ्ने अवस्था पनि छैन । अहिले निर्वाचन हुने हो भने उसले अस्ति पाएको भोट घट्ने सुनिश्चित छ । यो ठोकुवासाथ भन्न सकिन्छ, यसका लागि कुनै ठूलो ज्योतिषी भइराख्नुपर्दैन । त्यसो हुँदा नेकपा माओवादीलाई आगामी चुनावभन्दा पहिले सत्तामा जानैपरेको छ । ऊ अन्ततः आफ्नै नेतृत्वको सत्ताको प्रयोग र प्रपञ्चबाट आगामी चुनावमा बहुमत ल्याउन चाहन्छ । त्यसो गर्दा पनि उसको बहुमत त नआउला । तर, अन्य कुनै पार्टीको नेतृत्वमा सरकार नभएर चुनावमा जाँदा माओवादीको आजको मतप्रतिशत घट्छ । कांग्रेसले जति बेवकुफी गरे पनि, एमाले जति नै किंकर्तव्यविमूढ रहे पनि माओवादीको भोट बढ्दैन, घट्छ । बरु अरू पार्टी निस्केलान् । ०५१ को चुनावमा राप्रपा बलियो भएजस्तै । राप्रपा वा छद्म राजावादी पार्टी बलियो हुन बेर छैन र मधेसी दलको भोटको उन्नति हुन बेर छैन । तर, नेकपा माओवादीको उन्नति हुनेवाला छैन । मान्छेले बुझे- नेकपा माओवादीसँग कांग्रेस र एमालेले दिन नसकेको केही दिने कुरा छैन । उसले रोजगारी पनि दिन सक्दैन, शान्ति पनि दिन सक्दैन । त्यही भएर नेकपा माओवादीलाई सत्तामा नपुगी भएको छैन । ऊ आगामी चुनावभन्दा पहिले नै जसरी पनि सत्तामा जान र राजकीय सत्ताका बलले राम्रो परिणाम ल्याउन चाहन्छ ।
त्यति मात्र होइन, माओवादीले आफ्नो सबैभन्दा कमजोर बिन्दु बुझेको छ- उसलाई अन्तर्राष्ट्रिय समुदायले पत्याउँदैन । माओवादी एउटा गैरसंविधानवादी दल हो भन्ने उनको आमधारणा छ । त्यति मात्र होइन, नेकपा माओवादी कानुनी राज्यमा विश्वास राख्दैन भन्ने विश्वास पनि अन्तर्राष्ट्रिय समुदायमा छ । त्यसैले स्मरणीय रहोस्, माओवादी 'कानुनी बाटो'बाट सत्तामा पुग्न चाहन्छ । उसको आजको सम्पूर्ण कसरत, उठबस संविधानसभाका माध्यमबाट वैधता -लेजिटिमेसी) प्राप्त गर्ने हो । राजनीतिमा वैधता महत्त्वपूर्ण हुन्छ । एक्काइसौँ शताब्दीको राजनीतिमा यो झन् महत्त्वपूर्ण भएको छ । माओवादीलाई राम्ररी थाहा छ- आजको राजनीतिमा, अन्तर्राष्ट्रिय शक्तिको खेलमा, अवैध किसिमबाट सत्ता कब्जा गर्‍यो भने ऊ टिक्न सक्दैन । ऊ अस्पृश्य र अपराधी हुन्छ । त्यसैले माओवादी कमसेकम देखावटी रूपमा, वैध किसिमबाट सत्तामा जान चाहन्छ ।
तानाशाहको इतिहासमा यो पहिलो घटना होइन, यस्ता धेरै घटना भइसकेका छन् । खासगरी, द्वितीय विश्वयुद्धको दौरान मुसोलिनी र हिटलरले ठीक यही तरिकाले सत्ता प्राप्त गरेका थिए । स्मरणीय छ, माओवादीले संविधानसभामा पाएको मत कुल तीस प्रतिशतभन्दा कम छ । तर, ऊ अहिले नेपालमा एकछत्र शासन गर्ने सपना देखिरहेको छ । स्मरणीय छ, हिटलरले जर्मनीमा सबैभन्दा बढी भोट पाउँदाको परिणाम ३७ प्रतिशत थियो । त्यहाँका तत्कालीन राष्ट्रपति हिंडेनबर्गले हिटलरलाई 'संसद्मा बहुमत ल्याएर देखाऊ न त' भनेर प्रधानमन्त्री बनाए । यसरी प्रधानमन्त्री बनेपछि हिटलरले आफू अल्पमतमा रहेको त्यही संसद्बाट कसैलाई फकाएर, कसैलाई धम्क्याएर, कसैलाई दमन गरेर आफू निरन्तर अविच्छिन्न रूपमा सत्तामा रहने कानुन पास गरायो । जर्मनीको इतिहासमा त्यो कानुनलाई 'अधिकार प्रदान गर्ने कानुन' का रूपमा जानिन्छ । त्यही कानुनका आधारमा हिटलरले चुनाव गरायो, जोरजबर्जस्ती गर्‍यो, कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो, बहुमत हासिल गर्‍यो र नरसंहार गर्‍यो ।
म हिटलर र प्रचण्डबीच तुलना गर्न चाहन्नँ । हिटलर र स्टालिनबीचको तुलनामा पनि म कहाँनेर उभिएको छु भन्नेमा प्रस्ट छु । हिटलरले जर्मनीलाई तहसनहस गर्‍यो र ऊ मारियो । स्टालिनले कमसेकम रुसलाई भौतिक दृष्टिले धेरै समृद्ध बनाए । स्टालिनले जतिसुकै मान्छे मारेको भए पनि उनले सधैँ नै मान्छे मार्नु खराब हो भनिरहे, तर्क र विवेकमा विश्वास गर्छु भनिरहे । अहिले प्रचण्डले भनेजस्तै स्टालिनले सबै मानव समान हुन् भने । हिटलरले त्यो भनेनन् । हिटलर र स्टालिनको सिद्धान्तमा सिद्धान्तका दृष्टिकोणले म सधैँ स्टालिनको साथ छु । यही सम्झना राखेर हिजो हामीले ज्ञानेन्द्रलाई छाडेर प्रचण्डलाई साथ दियौँ । आज एउटा कुरा भने छर्लंग भएको छ । सत्ताको गति एउटै हुँदोरहेछ, सत्ताको गतिविधिको कारण पनि एउटै हुँदोरहेछ । नेपाली बुद्धिजीवीले बुझ्नुपर्ने यो छ- प्रचण्डले सत्ता प्राप्त गर्ने तरिका जानेर/नजानेर हिटलरकै शैली अख्तियार गरिरहेका छन् । उनी यस संसद्बाट वैध प्रधानमन्त्री बन्न चाहन्छन् र त्यही वैध प्रधानमन्त्रीको हैसियतले आफ्ना अवैध गतिविधि बढाउन तर छिपाउन चाहन्छन् । अध्यक्ष प्रचण्डले अथवा उनका सल्लाहकारले हिटलरको जीवनी राम्ररी पढेका छन् भन्नेमा मलाई शंका छ । उनका विरोधीहरूले त पढ्ने कुरै उठेन । म दाबासाथ भन्छु- प्रचण्डले पढे पनि, उनका विरोधीले पढे पनि हिटलरका प्रत्येक क्रियाकलापमा माओवादीको आफ्ना अनुहार देखिनेछ । माओवादीको थप समान र बलियो पक्ष के हो भने, उसका विरोधीहरू अत्यन्त विभाजित छन् । स्मरणीय छ, हिटलर पनि आफ्ना कारणले होइन, अन्य विरोधी पार्टीको आपसी इष्र्या र द्वेषका कारण सत्तामा पुगेको थियो । आजको विडम्बना यही हो, यसलाई कांग्रेस, एमाले र मधेस पार्टीले राम्ररी हृदयंगम गर्न सकिरहेका छैनन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक