20100510

"माओवादीसँग हामी धेरै वर्षदेखि सम्पर्कमाछौ "

- भारतीय राजदूत राकेश सुद
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफनो पार्टी भारतसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । माओवादी पार्टीसँग भारतीय सम्वन्ध कुन तहसम्म छ भन्नेबारे यहाँको मूल्याङकन ?
माओवादीसँग हामी धेरै वर्षदेखि सम्पर्कमा छौ । हाम्रा उच्च पदाधीकारी नेपाल भ्रमण आउँदा माओवादी नेतासँग भेटघाटका लागि हामी प्रयासरत रहन्छौँ। केहि महिना अघि नेपाल आएका भारतका परराष्ट्रमन्त्री एस.एम. कृष्णाको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग लामो भेट भयो। कृष्णाको अन्य माओवादी नेतासँग समेत भेटघाट भएको थियो। मैले पनि माओवादी नेतासँगको भेटघाटलाई निरन्तरता दिइरहेकै छु। त्यसैले मलाई लाग्छ, हामीबीचको सम्पर्कमा कुनै उतार चढाव छैन। हाम्रो दृष्टिकोण र चासो माओवादीलाई निरन्तर आदानप्रदान गरिरहेका छौं।
के दाहाल र नयाँ दिल्लीबीच कुनै प्रत्यक्ष सम्वाद छ। यदि छ भने वर्तमान गतिरोधसँग त्यसको कुनै सम्बन्ध छ?
अघिल्लो साता दिल्ली जानु अघि दाहाललाई भेटेको थिएँ। अहिलेको राजनीतिक अस्थिरता, संविधान निर्माणमा ढिलाई, माओवादी सेनाको पुनर्स्थापना र समायोजनको बारे......
हाम्रो धारणा राखेको थिएँ। उहाँले आफ्नो पार्टी भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताउनुभयो। स्वभाविक रुपमा हामी त्यसलाई स्वीकार्छौँ। मैले माओवादी कार्यकर्ताले भारत बिरोधी क्रियाकलाप गरिहेको बारे उहाँको ध्यानाकर्षण गराए। आज हामी एक अर्काको मित्र बन्न चाहन्छौ, भोलि शत्रुताको व्यवहार नदेखियोस भनि सोच्नुस भने।

हामी सबै भारत बिरोधी क्रियाकलाप अन्त्य भएको हेर्न चाहन्छौं। तर, त्यो भएको छैन।
कस्ता खालका भारतविरोधी क्रियाकलाप भन्न खोज्नु भएको, त्यसलाई प्रष्ट्याइदिनुस?
हामीले काठमाडौंमा माओवादीले भारत विरोधी बक्तव्य दिइरहेको देखेका छौँ। आन्दोलनहरुमा, भारतबिरोधी नाराहरु निरन्तर घन्किन्छ। भारतीय कम्पनीहरुलाई कसरि काम गर्नबाट रोक लगाइराखिएको छ भन्ने समेत हामीले देखेका छौं। मैले यावत कुरा दाहाल र नेपाल सरकार समक्ष राखे।
त्यसको मतलब माओवादीप्रति भारतको विश्वास घट्दै गएको हो?
माओवादी सडकमा उत्रनुको दुई कारण छन्। पहिलोमा छ महिनाभित्र माओवादी सेना समायोजन र पुर्नस्थापना गर्ने उनीहरुको प्रतिबद्धता। दोस्रो वहुदलिय प्रजातन्त्रमा जाने माओवादी प्रतिबद्धता। मलाई लाग्छ, माओवादी यी पूर्व प्रतिवद्वतामा अहिलेपनि प्रतिवद्व रहेको देखाउन केहि ठोस कदमको जरुरछ छ। तर, अहिलेकै अवस्थामा भारतसँग सम्बन्ध सुधार्ने इच्छा देखाउन गाह्रो छ।
दाहालले विदेशी प्रभुको दबाबका कारण आफूले सत्ता छोड्नु परेको प्रतिकृया दिएको दिनदेखि उनीसँगको विश्वास उस्तै छ वा घटेको छ?
यो बुझ्न आवश्यक छ की माओवादीले सरकारबाट राजीनामा दिनुको मुख्ष्य कारण सत्ता साझेदारहरुको समर्थनमा नहुनु हो। उनीहरुले किन उनलाई साथ दिएनन्। मलाई लाग्छ, उनीहरुले छोडे किनकी त्यहाँ उनीप्रतिको विश्वास घट्दै गइरहेको थियो। त्यसैले, सहमतिय राजनीतिमा प्रवेश गर्न त्यो विश्वास पुन कमाउन आवश्यक छ।
दाहालले भनेका थिए, उनकै पार्टीका अर्का नेतालाई प्रधानमन्त्री बनाउन भारतले प्रस्ताब गरेको थियो। के त्यो साँचो हो?
मैले यो प्रश्न उनलाई सोधेको थिएँ। दहालले संचार माध्यम र भारत भ्रमण गरिरहनेहरुबाट थाहा पाएको बताएका थिए। तर त्यो कम विश्वसनीय तर्क हो। जे भनेको भएपनि त्यो पुरानो कुरा हो।
त्यसको मतलब भारतले अन्य कुनै नेतालाई समर्थन गरेको छैन भन्ने हो?
यो नेपालका राजनीतिक पार्टी र नेपाली जनताबीचको आन्तरिक मामिला हो। नेपाललाई आर्थिक विकास र संकटको अवस्थाबाट हटाउन सहयोग गर्नु र स्थिर राज्य वनाउनु मात्रै हाम्रो उद्देश्य हो।
दाहालले भारतले माओवादी पार्टीलाई भाँड्न र अझ फुटाउन खोजिरहेको प्रतिकृया दिइरहेका छन् नी। के भन्नु हुन्छ?
उनले कहिल्यै पनि कसरी भारतले उनको पार्टीलाई हस्तक्षेप गरिरहेको छ भन्ने तथ्य उदाहरण दिएका छैनन्। द हिन्दु सँगको अर्न्तवार्तामा उनले मलाई उच्चस्तरको दुतसँग भेटाउन आग्रह गरेको बताइसकेका छन् । यसले हामी हस्तक्षेप गरिरहेका छैनौँ भन्ने देखाउँछ। उनी नै भनिरहेका छन्, उनले माथिल्ला भारतीय नेतासँग हङकङ र अन्यत्र भेटेको छ।
भारत सरकारलाई दाहालले लन्डन, हङकङ र सिङ्गापुरमा कसकसलाई भेटेको थाहा छ?
उहाँलाई नै सोध्नुस।
दाहालले सार्वजनिक रुपमा एउटा आक्षेप लगाएका छन्, भारत र चीनको सम्बन्ध सन्तुलनमा राख्न खोज्दा आफ्नो पार्टी र भारतको सम्बन्ध खस्किएको हो। उनले आफ्नो पार्टीले दुबै देशसँग समझदारी बनाउन खोज्दा भारतले मन नपराएको र राजीनामा दिन बाध्य बनाउने चाल रचेका पनि बताएका छन्। भारत र चीनको नेपालप्रतिको सुरक्षा चासो समान प्रकारको छ? के नेपालले दुवैलाई सम्वोधन गर्न सक्छ?
पहिला त नेपाल सार्वभौम देश हो। नेपाली नेताले आफुले निर्णय गर्ने कुरा हो पहिला कुन देश भ्रमण गर्ने भनेर। यो कुनै चीन बिरोधी भारतीय नीति होइन। दोश्रो, चीनका उच्चस्तरका र समकक्षीसँग भएको छलफलले दुबै देश नेपालमा स्थीरता आएको हेर्न चाहन्छन् भन्ने मेरो बुझाइ हो। तेश्रो, नेपालसँग हाम्रो बलियो र दिगो सम्बन्ध भएकोले अरुदेशका दृष्टिकोणबाट नेपालसँगको सम्बन्ध हेर्न चाहँदैनौँ।

सन् २००८मा चीनमा भएको ओलम्पिक खेलमा आफु चीनमा नगइदिए हुन्थ्यो भन्ने भारतले चाहेको दाहालले भनेका थिए। भारतले अस्वीकार गरेकै कारण राष्ट्रपति रामबरण यादबले समेत चीन भ्रमण त्यागिदिएको दाहालले दाबी गरेका थिए। त्यसमा सत्यता छ?
पूर्व प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण अत्यन्तै सफल भएको प्रतिकृया भारत भ्रमणको क्रममा दिएका थिए। यो कुरा सबै सञ्चारमाध्यममा समेत आएको थियो। त्यसैले तपाईको प्रश्न उनकै प्रतिकृयाले पुष्टि गर्दैन।
केही भारतीय पत्रिकाका विचार विवेचनाले माओवादी सरकार चीनतिर ढल्किएको र त्यो भारतीय सुरक्षा चासो विरोधि भएको बताएका थिए। उक्त धारणामा तपाइँको समर्थन छ?
नेपालबारे चीनसँग हाम्रो संवादमा नेपालको स्थीरता दुवै मुलुकको चासो हुने गरेको छ।
नेपालमा हाम्रो सुरक्षा चासो प्राकृतिकरूपमा केही फरक छन्। १८,०० किलोमिटर खुला सीमा छ। सन् १९५० को सन्धि अनुसार नेपाल र भारतबीच निर्वाध आवतजावत गर्न पाइन्छ। त्यसैले, हामी भन्न चाहन्छौ कि केही वर्षयता यी खुला सीमानाको दुरूपयोग भइरहेको छ। खुला सीमाना भारतलाई खतरा पुर्‍याउने स्रोत नबनोस यही नै हाम्रो सुरक्षाको मुख्य चासो हो।
नेपाल भारतबीच कस्ता सुरक्षा चासो छन्? सीमा दुरूपयोग भइरहेको कुनै उदाहरण दिन सक्नुहुन्छ?
सन् २००९-०१० मा नक्कली भारतीय नोटको कारोबार १ करोड ९० लाख भारतीय रुपैयाँ जति भयो। प्रष्ट छ, खुला सीमा भएका कारण यस्ता नक्कली नोट बोक्न सजिलो छ। गत वर्ष १७-१८ जना आंतकवादीहरू नेपाल भएर भारत छिरेको देखियो। त्यस्ता आतंकवादीहरुले खुला सीमाको फाइदा उठाउदै आएका छन्। अहिलेको अवस्थामा सहमति हुन जरूरी छ। दुबै मुलुकमा आंतकवादी गतिविधिको प्रभाव हुन नदिन हामीहरूबीच ठूलो सहकार्य हुन आवश्यक छ।
तपाईले के लाग्छ, दाहाल सरकारले भारतको सुरक्षा चासोको बारेमा गम्भीरता देखाएन?
माओवादी सरकार, अहिलेको सरकार र विगतका सरकारहरूले भारतको सुरक्षा चासोप्रति जहिलै सम्बेदनसिल देखिएका छन्। उनीहरूले नेपालको भुमिमा भारतविरोधी गतिविधि हुन दिएका छैनन्। यो प्रतिवद्धतालाई हामी सम्मान गर्छौ तर हामीहरूबीच यस्तो संयन्त्र बनाएर सँगै काम गरौं, ताकि त्यो प्रतिवद्धताको पनि व्यवस्थापनमा परिणत होस्।
भारत र माओवादीबीच विग्रदो सम्बन्धको पछाडि के कारण छन्?
दाहालले मलाई भन्नुभयो, उहाँको पार्टी भारतसँग उत्कृष्ठ सम्बन्ध राख्न चाहन्छ। धेरे वर्ष भारतमा विताएको कुरा उहाँले सुनाउनुभयो। र, भारतीय चासोप्रति उहाँको सहानुभूति देखिएको छ। उहाँले भारत र माओवादीबीच सम्बन्ध सुधार गर्न चाहनुभएको छ। तर उहाँसँग तपाईको प्रश्नको जवाफ छैन। हामीहरूको भेटघाटमा त्यस्तो भिन्नता देखिदैन। न त उहाँले अहिलेसम्म नेपाल भ्रमण गरेका भारतीय उच्च नेतासँग त्यस्तो भिन्नताको कुरा उठाउनुभएको छ।
तपाईले उपप्रधान तथा परराष्ट्रमन्त्री सुजतालाई लेखेको पत्रमा खुला सीमानाको कुरा उठाउनुभएको छ। एमआरपी छपाईमा भारत तथा नेपालबीचको सुरक्षा चासोमा के सम्बन्ध छ?
दुतावास र सरकारबीचको गोप्य सञ्चार चुहिनु आफै दुःखद हो। एमआरपीबारे राजनीतिकरण तथा गलत तवरमा सूचना प्रवाह हुन दुर्भाग्यपूर्ण हो।
परराष्ट्रमन्त्रीलाई लेखेको चिठि्ठ प्रष्ट थियो। नेपाली पासपोर्ट होल्डरहरू भारतसँग केही स्पेशल सहुलियत पाउँछन्। जस्तो कि, काम गर्नको लागि अनुमति चाहिदैन। नेपाली पासपोर्ट वाहकले ब्ौंक खाता खोल्न, शेयर खरिद बिक्री, सम्पत्ति खरिदमा पुरै अधिकार पाउँछ।
वास्तवमै नेपाली पासपोर्ट नक्कली बनाउनै नसकिने खालको होस भन्ने आपसी चासोको विषय हो। प्रत्येक दिन सालाखाल ४० वटासम्म नेपाली पासपोर्ट हराउँछन्। यो हाम्रो चासोको विषय हो। हामी नेपाली कागजात दुरुपयोग होस् भन्ने चाहन्नौं। असल छिमेकीको रुपमा, हामी उच्च गुणस्तरको एमआरपि तयार गर्न सक्छौं भनेर हामीले प्रस्ताव गरेका हौं। त्यसैले, भारतका विदेश मन्त्रालयलाई भन्दा पनि कम मूल्यमा दिन सक्छौं भनेका हौं।
भारतीय कम्पनी नयाँ बोलपत्रका प्रक्रियामा सहभागी हुन्छ? र साउथ ब्लकले एमआरपि रद्द गरिएको विषयलाई कसरी लिएको छ?
यो भविष्यको प्रश्न हो। बोलपत्र निक्लेपछि थाहा हुन्छ। यस विषयलाई जसरी गलत सूचना प्रवाह गरियो र पार्टीगत राजनीति गरियो त्यो भने निकै निरासाजनक र खेदजनक छ। हामीले पासपोर्ट प्रिन्ट मात्रै गर्ने हो र त्यसमा व्यक्तिगत विवरण भर्ने काम यहाँ हुन्छ। हामीले उपकरण र निःशुल्क प्राविधिक तालिम उपलब्ध गराउने हो र नेपाली अधिकारीहरुले त्यसमा भर्ने हुन्।
शान्ति प्रक्रियाबारे तपाईको मूल्याकंन?
संविधान सभाले नयाँ संविधान बनाओस भन्ने कुरा भारत चाहान्छ। अन्तर्राष्ट्रिय समुदायको सहयोगमा विगत चार वर्षमा नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको छ र अहिले हामी अन्तिम चरणमा छौं। जहाँ सम्म भारतको चासो छ, नेपालमा स्थायी बहुदलीय व्यवस्था होस र नेपालको आर्थिक विकासमा सहयोग गर्ने बाहेक हामीसँग कुनै अर्को एजेण्डा छैन। हामीले उपलब्ध गराएको सबै सहयोगहरु यी लक्ष्य प्राप्तमा केन्द्रीय छ र जुन रुपमा हामीले सहयोग गरेका छौं, नेपालले फिनिसिङ लाइन सफलता पूर्वक पार गर्न सक्षम होस भनेर हामीले यसो गरेका हौं।
माधव कुमार नेपालले भारतका भ्रमण गर्दा, नयाँ संविधानका लेखन र अको निर्वाचन गराउने उनको सरकारका दुई वटा प्राथमिकता रहेको बताएका थिए। यो सरकारले नै नयाँ निर्वाचन गराउने कुरा तपाई देख्नु हुन्छ?
यो निर्णय जनता र दलहरुले गर्ने हो। हाम्रो चाहाना मिलेर हामी सबै कुरा प्राप्त गर्न सक्छौं भन्ने हो। हामी नयाँ संविधान रुपान्तरण ल्याउन सक्ने महत्वपूर्ण रुपमा आओस भन्ने चाहान्छौं।
तपाईको बिचारमा शान्ति प्रक्रियाको सबै भन्दा ठूलो अवरोधको के हो?
बढ्दो ध्रुविकरण र सहमतिको अभाव हो। र त्यसको पछि अन्य धेरै कारणहरु रहेका छन, जुन सबै नेताहरुले बुझेका छन्।

भारतले 'पर्ख र हेर' को रणनीति अख्तियार गरेको छ वा यो पटक पनि पहिले जस्तै सहजकर्ताको भूमिका निर्वाह गर्न गइरहेको छ?
अनुमान लगाउन ज्यादै कठिन हुन्छ। नेपाली जनता र नेताको इच्छा अनुसार भारत सहायक भूमिका खेल्न वा नेपाललाई मद्दत गर्न तयार छ। यसको अहिले नै व्याख्या गर्न कठिन हुन्छ।

सत्र दिनपछि अनिमिनको म्याद सकिदैछ। अवधि बढाउन सरकारले सुरक्षा परिषद्लाई अहिलेसम्म अनुरोध गरेको छैन। भारतको आपत्ति र दवावमा सरकारले यो ढिलाई गरेको धेरैको दावी छ। नेपालमा अनिमिनको प्राथमिक भूमिकाप्रति भारत सकारात्मक नरहेको बताइन्छ। तपाईको के धारणा छ?
यो निर्णय विलकुलै नेपाल सरकारले लिने हो। पुरै प्रक्रिया नेपालीहरु आफ्नै नेतृत्वमा हाकिरहेका छन्। सरकार आफ्नो अधिकतम हितमा निर्णय लिन सग्क्षम छ। अनिमिनको भूमिकाप्रति हामी सकारात्मक छैनौ भन्ने आरोप पूर्णतया असत्य हो।
हामी शान्ति प्रकृयामा पूर्ण सहयोग गर्न चाहन्छौ। संविधान सभाको निर्वाचनमा हामीले ठूलो धनराशी सहयोग गर्‍यौ। हामीले नव्वै भन्दा बढि गाडि, ५० वायरलेस सेट अनमिनलाई दियौ। राष्ट्रसंघिय सुपरिवेक्षणमा रहने हतियार थन्क्याउन ७० वटा कन्टेनर पनि हामीले दिएका हौ। आन्तरिक विस्थापितहरुको पुनर्स्थापनाका लागि ६ हजार ८ सय मेटि्रक टन खाद्य सामाग्रि र ४ हजार पाल उपलव्त्रध गरायौ। यी तथ्यहरु नै नेपाल सरकार आफ्नो हितमा निर्णय गर्न सक्षम होस भन्ने हाम्रो विश्वास देखाउँछ। हाम्रो भूमिका हस्तक्षेपकारी नदेखियोस भन्नेमा सचेत छौ।
अनमिनको कार्यसम्पादनमाथि तपाईको मूल्याङ्कन कस्तो छ?
- अनमिनको मूल्याङकन नेपाल सरकारले नै गर्ने हो।
तपाईको दुई वर्षे नेपाल वसाईमा स्ट्रिप म्यापमा हस्ताक्षर, सुपर्दगी सन्धी र एमआपि सम्झौता जस्ता तीनवटै मुद्दामा किन काम गर्न सक्नुभएन?
- नेपाल-भारत सिमानाको स्ट्रिप म्यउापको विषय लामो समयदेखिको मुद्दा हो। हामी सिमानाबारे ९७ प्रतिशत सहमत भैसकेका छौ। त्यसलाई नक्साङ्कन गर्न मात्र बाँकि छ। नक्सा अनुसार सिमा निर्धारण गर्नु नै सिमा मुद्दामा सबैभन्दा उपयुक्त बाटो हो। सुपर्दगि सन्धीको हकमा राजनीतिक निर्णय जरुरी पर्छ। यो दुई देशविच विवादको जड जस्तो देखिएको छैन।

काठमाडौंमा तपाईको कामबाट कति सन्तुष्ट हुनुहुन्छ?
- म यहाँ आउन व्यग्र थिए । रमाइरहेको छु। नेपाल असाध्यै सुन्दर देश छ। फोटोग्राफि मेरो सोख हो। फोटो खिच्नकै लागि फुर्सत हुने वित्तिकै काठमाडौं वाहिर हानिन्छु। - Interview sources Nagarik Daily

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक