20100930

नौ पटकको चुनावमा पनि नौटंकी, प्रचण्ड र झलनाथ एक, रामचन्द्र बलिको बोको, सर्बोच्च अदालत बोल्यो, कमल थापाले झन पोल्यो !

कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधान मन्त्री पदका लागि संसदमा भएको चुनावमा नवौं पटक पराजित भएका छन् । बिहीबार भएको प्रधान मन्त्रीको चुनावमा १ सय ६८ जना सांसदको उपस्थिति थियो । पौडेलको पक्षमा १ सय ५ मत पर्‍यो। त्यसैगरी विपक्षमा २ र तटस्थमा ६१ मत परेका थिए। प्रधान मन्त्रीको लागि दसौं चुनाव असोज २० गते हुनेछ । एमालेतर्फबाट उम्मेद्वार बनेका पार्टी अध्यक्ष झलनाथ खनाल र माओवादी उम्मेद्वार अध्यक्ष पुष्पकमल दाहालले उम्मेद्वारी फिर्ता लिएपछि पौडेल एक्लै चुनावी मैदानमा थिए। आफूले हार्ने पक्का भएपछि पौडेलले एमालेबाहेकका अन्य सत्ता साझेदारहरुको समर्थनमा आजको चुनाव एक महिनापछि सार्न सभामुखलाई आग्रह गर्ने निर्णय आजै गराएका.....
थिए।
प्रधानमन्त्री चयनका लागि भएको चुनाबमा सभासद्हरु तटस्थ बस्ने कार्य संविधानसँग बाझिएको भन्दै अन्तरिम आदेश मार्फत् बदर गर्ने मागसहित दायर गरिएको रिटमा विपक्षीको गम्भीर ध्यानाकर्षण गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार ताहिरअलि अन्सारीको एकल इजलासले सातदिनभित्र निवेदकको माग बमोजिम बदर गर्नु नपर्ने कारणहरुको लिखित जवाफ ७ दिनभित्र पेश गर्न विपक्षीका नाममा आदेश दिएको छ। रिटलाई अग्राधिकार प्रदान गरी संविधानको भावना अनुसार काम भएन भन्ने निवेदकको रिटका विषयमा विपक्षीलाई ध्यानाकर्षण गराउने आदेश इजलासले दिएको हो।
'निरुद्देश्य र परिणामविहीन प्रधानमन्त्रीको चुनाबको प्रकृया अभिलम्बन गरिनै रहँदा अन्तरिम संविधानको संवैधानिक व्यवस्थाको गतिशिलतामा गम्भीर नकारात्मक असर पर्ने हुँदा अन्तरिम संविधानको मर्म र भावना अनुरुप गर्न विपक्षी एंव सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गराउनु,' बिहीबारको आदेशमा भनिएको छ।
व्यवस्थापिका संसद् सचिवालय, संंविधानसभा सचिवालय, संविधानसभा अध्यक्ष, कानुन तथा न्याय मन्त्रालय, कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेललाई विपक्षी बनाइएको रिट अधिवक्ता चन्द्रकान्त ज्ञवाली लगायतका अधिवक्ताले मंगलबार दायर गरेका थिए।
राजतन्त्र र हिन्दू राष्ट्रको वकालत गर्दै देश दौडाहामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमाल थापाले उधारो राष्ट्रपतिको प्रलोभनमा परेर नेपालमा गणतन्त्र स्थापना गरिएको बताएका छन्। थापाले गिरिजाले राष्ट्रपति हुन पाउने उधारो आश्वासनमा राजा हटाएर देशलाई गणतन्त्रमा धकेलेको पनि बताए। बिहीबार गाईघाटमा सुरु पार्टीको प्रथम जिल्ला अधिवेशन उद्‍घाटन कार्यक्रममा थापाले तत्कालीन नेपाली कङ्ग्रेस सभापति कोइरालाले गणतन्त्रमा देशलाई लानुअघि एक मिनेट पनि छलफल नगरेको आरोपसमेत लगाए। 'कम्तीमा एक घण्टा छलफल गरेको भए हुन्थ्यो नि तर, एक मिनेट पनि छलफल गर्न दिइएन'- उनले वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रलाई राजा बनाउने पनि तिनै कोइराला र माधव नेपाल भएको बताए।
'जनताले ज्ञानेन्द्रलाई राजा बनाएर राखेका होइनन्'- उनको भनाई थियो। ०६२/६३ को जनआन्दोलनको भावना गणतन्त्र स्थापना नभएको बताउँदै उनले भने- जनआन्दोलन निरंकुशताविरुद्ध मात्र लक्षित थियो, गणतन्त्रमा जाने भनिएको थिएन।' जनआन्दोलन दल र माओवादीबीच भएको १२ बुँदे सम्झौताअनुसार भएको र सम्झौताको सार राजतन्त्र हटाउने नभएर निरंकुशता मात्र अन्त्य गर्ने भन्ने रहेको उनको कथन थियो।

थापाले माओवादीको एजेन्डामा कङ्ग्रेस र एमाले हिँडेको बताउँदै राजादेखि माओवादीसम्म अटाउने लोकतन्त्र हुनुपर्ने बताए। अन्तरिक संविधानका कारण प्रधान मन्त्री चयन हुन नसकेको बताउँदै उनले देश बचाउने हो भने सबै दलका नेताले पार्टीभन्दा माथि उठेर एउटा स्वाभिमानी नेपाली भएर सोच्नुपर्ने बेला आएको सुझाव पनि दिए। आफ्नो पार्टी संविधानसभामा नचाहँदा नचाहँदै पनि प्रजातान्त्रिक अभ्यासका लागि सहभागी भएर अहिले सबै दलसँग एउटै डुङ्गामा सवार रहेको बताउँदै उनले भने- डुङ्गा पल्टियो भने नेपाल र नेपालमा रहेका सबै पार्टी डुब्न सक्छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक