20100929

माओवादी नेतृत्व अचानक नयाँ रणनीतिक चालबाजीका साथ प्रकट

शान्तिको आडमा सत्ता सत्ताको आडमा क्रान्ति प्रधानमन्त्री बन्न गरिएका अनेकौं प्रयास असफल भएपछि माओवादी नेतृत्व अचानक नयाँ रणनीतिक चालबाजीका साथ प्रकट भएको छ र यसक्रममा माओवादी पहिलेभन्दा उदार एवम् व्यावहारिक देखिन खोजेको छ। आफूलाई प्रधानमन्त्री बन्न भारतले रोकेको ठान्नुहुने प्रचण्ड पछिल्लो समयमा भारतप्रति निकै नरम किसिमले प्रस्तुत हुन थाल्नुभएको छ। सूत्रधारहरूसँगका अनौपचारिक बैठकहरूमा उहाँले 'भारतसँग लडेर केही नलाग्ने रहेछ' भन्ने अभिव्यक्ति दिँदै आफूलाई प्रधानमन्त्री बन्न सहयोग पुर्याकए भारतलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेकोे जनाउ दिनुभएको छ। माओवादी लडाकुहरूको व्यवस्थापन नगरी प्रधानमन्त्री बन्न नसकिने सङ्केत मिलेपछि अहिले प्रचण्ड....
आफना लडाकुहरू जतिसक्दो चाँडो व्यवस्थापन गर्न हतारिनुभएको छ। लडाकुलाई नेपाली राष्ट्रिय सेनामा नै मिसाइनुपर्छ भन्ने अडान लिँदै आउनुभएका प्रचण्डले पुरानो अडान त्याग्नुभएको छ र अब 'यिनलाई जहाँ जसरी भए पनि व्यवस्थापन गरिहाल्नुपर्योआ' भन्न थाल्नुभएको छ। प्राप्त जानकारीअनुसार प्रचण्ड अब आफ्ना लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्न। उहाँले लडाकुहरूलाई वन सुरक्षागार्ड, विकास सेना या औद्योगिक सुरक्षा बल खडा गरेर त्यसैमा समावेश गर्न सकिने बताउन थाल्नुभएको छ। प्रचण्डले आफ्नो यसप्रकारको आसय सरकारसमक्ष पनि प्रकट गरिसक्नुभएको छ। प्रचण्डले राख्नुभएको प्रस्तावमा सम्बन्धित पक्षले गम्भीरतापूर्वक विचार–विमर्श गरिरहेको बुझिएको छ। नेपाली काङ्गे्रस र अन्य केही दलहरूले माओवादीमाथि नागरिक पार्टीमा रूपान्तरित हुन विभिन्न ढङ्गले दबाब दिँदै आएका छन्। नागरिक पार्टीमा रूपान्तरित हुन माओवादीले हतियारको राजनीति पूर्णरूपले त्याग गर्दै आफूसँग रहेका हतियार नष्ट गर्नुपर्ने, लडाकु विघटन गरी उनीहरूलाई आफ्नो इच्छानुसारको जीवनयापन गर्न स्वतन्त्र छाडिदिनुपर्ने, वाईसीएलको ब्यारेकीकरण अन्त्य गर्नुपर्ने र कब्जा गरिएका सम्पत्ति फिर्ता दिनुपर्ने हुन्छ। बृहत् शान्तिसम्झौतामा पनि माओवादीबाट उल्लिखित कार्य गर्ने प्रतिबद्धता प्रकट भएको छ। तर, शान्तिसम्झौता भएयताका चार वर्षसम्म शान्ति स्थापनाका निम्ति व्यवहारमा तत्पर नदेखिएको माओवादी अचानक उदार र नरमझैं देखिँदा यसले सुखद सङ्केत दिएको भए पनि कतै नयाँ रणनीतिक चालबाजी हो कि भन्ने आशङ्का पनि पैदा गरेको छ। माओवादीले राज्यसंयन्त्र तथा वैधानिक मोर्चाहरूको अधिकतम उपयोग गर्दै जनवादी क्रान्ति (सर्वहाराको नाममा एकदलीय अधिनायकवाद) सम्पन्न गर्ने रणनीतिक कार्ययोजना तर्जुमा गरेको छ। राज्यसंयन्त्र र वैधानिक मोर्चाहरूलाई आफ्नो पक्षमा उपयोग गर्न देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्नैैपर्ने भएको हुँदा माओवादीले जसरी भए पनि प्रधानमन्त्री पद प्राप्त गर्नैपर्ने कुरालाई अति उच्च प्राथमिकतामा राखेको छ। आफ्ना लडाकुहरूका कारण प्रधानमन्त्री बन्न अवरोध पैदा हुन्छ भने तिनलाई कुनै पनि तरिकाले पन्छाएर भए पनि प्रधानमन्त्रीचाहिँ प्राप्त गर्ने सोच माओवादी नेतृत्वले बनाएको हो। प्रधानमन्त्री बनिसकेपछि जे–जस्ता सेवा गठन गरे पनि हुने, आफ्ना लडाकुजति सबैलाई सेनामा सामेल गराउन पनि सकिने, चीनबाट हातहतियार र आवश्यक नगदसमेत प्राप्त गर्न पनि सजिलो हुने र वैधानिक तवरमै 'क्रान्ति' गर्न सकिने निष्कर्षसहित माओवादीले आफ्नो कार्यनीति बदलेको विश्वास गरिन्छ। माओवादीले आफ्नो विचार, दर्शन, सिद्धान्त, नीति, गन्तव्य केही पनि बदलेको छैन। उनीहरूले गणतन्त्र स्थापनाको निम्ति अगुवाइ गर्ने नेपाली काङ्गे्रसलाई प्रमुख दुश्मनको कोटिमा राख्दै प्रतिगामी र यथास्थितिवादी भएको आरोप लगाइरहेका छन्। यसरी विचार नबदलीकन व्यवहार मात्र बदलिएझैं देखिँदा माओवादी नयाँ रणनीतिक चालबाजीका साथ अघि बढ्न खोजेको आशङ्का गर्नेहरूलाई थप बल मिलेको छ। नेपाली काङ्गे्रसलाई मुख्य दुश्मनको सट्टा प्रजातान्त्रिक आन्दोलनको मित्रशक्ति भनी औचारिक निर्णय नगरेसम्म माओवादीमा साँच्चै परिवर्तन आएको विश्वास गर्न सकिने ठानिँदैन, जुन निर्णयका निम्ति माओवादी तयार हुने सम्भावना अहिलेसम्म देखिएको छैन। त्यसैले माओवादीमा पछिल्लो समय देखिएको कथित लचकतालाई रणनीतिक चालबाजीका रूपमा बुझ्नु उपयुक्त हुने ठहर विश्लेषकहरूको छ। शान्ति–प्रक्रिया अघि बढाएझैं गरेर सत्ता लिने र सत्ता प्राप्त गरेपछि क्रान्ति–प्रक्रिया अघि बढाउने योजनामा माओवादी रहेको बुझ्न सकिएन भने नेपालको लोकतान्त्रिक आन्दोलन पुनः सङ्कटमा पर्नसक्ने सम्भावना बढेको छ।

माओवादीको चेला बनिसकेपछि गुरु बन्ने प्रयत्न किन? ―एस. शाह
प्रजातान्त्रिक मान्यताहरू संस्कार र संस्कृतिको रूपमा स्थापित भइसकेका राष्ट्रहरूमा नीतिका आधारमा नै नेतृत्वको प्रतिस्पर्धा हुने गर्छ। उम्मेदवारी चाहे पार्टी सङ्गठनको नेतृत्वका लागि दिइएको होस् वा राज्य–सरकारको नेतृत्वका लागि दिइएको होस्। तर, नेपालमा नेता र पार्टीको मूल्याङ्कन नीतिका आधारमा गर्ने परिपाटी र संस्कृति नहुनु नै प्रजातन्त्रको अस्तित्व केवल आत्मवञ्चक बुद्धिजीवीहरूले मात्र देख्न सक्ने 'वादशाहको नयाँ पोसाक'जस्तो बन्न गएको टड्कारो उदाहरण हो। एउटा व्यक्तिको नीति र राजनीतिक कार्ययोजनालाई स्वीकार गरिसकेपछि नीति अस्वीकृत भएको व्यक्तिलाई नेता बनाउनु प्रजातन्त्रको उपहास हो। आफूलाई प्रजातन्त्रका प्रवल हिमायत भनिरहेका काङ्गे्रस, एमाले र राप्रपाका नेताहरू अहिले माओवादीको नीतिका आधारमा आफू नेता बन्ने प्रयत्न गरिरहेका छन्। माओवादीका नेता प्रचण्डको नेतृत्वलाई स्वीकार गर्न नसक्नेहरूले माओवादीद्वारा प्रस्तावित गरिएका सङ्घीयता, जातीयता र धर्मनिरपेक्षताजस्ता कार्ययोजनालाई पनि अस्वीकार गर्न सकेको हुनुपर्दथ्यो। तर, विचारलाई स्वीकार गरेर पनि विचारकलाई बहिष्कार गर्न खोज्ने यो कुन किसिमको नैतिकता हो? नेपालमा भएका सम्पूर्ण राजनीतिक पार्टीहरू र जनताको जनमतबाट अनुमोदित भइसकेका 'सेना समायोजन', 'सङ्घीय संरचना' र 'संविधान निर्माण'जस्ता कार्ययोजनालाई कार्यान्वयन गर्न पाउने पहिलो अधिकार माओवादीकै हो। सत्ताको नेतृत्वको हकदार बन्नका निम्ति र माओवादी नेता प्रचण्डको नीतिसङ्गत विकल्प बन्नका निम्ति काङ्गे्रस र एमालेका नेताहरूले कमसेकम माओवाीको नेता मात्र असफल भएको हो कि नीति र कार्ययोजना नै असफल र गलत सावित भएको हो? भन्नेबारेमा संसद् र जनसमाजमा छलफल गराएर निष्कर्ष निकालिएको हुनुपर्दथ्यो, किनकि नेतृत्वको विकल्प खोज्नका निम्ति निर्दिष्ट गरिएको प्रजातान्त्रिक प्रक्रिया र परम्परा पनि यही नै हो। माओवादीको नीति र कार्ययोजना असफल भएको निष्कर्ष निकाल्न सकिने अवस्थामा माओवादीको एजेण्डाका पक्षमा उभिएका सम्पूर्ण नेता र पार्टीहरू नै असफल भएको मान्न सकिनेछ। अर्को अर्थमा यो असफलता सबैको सामूहिक असफलता ठहरिनेछ। माओवादीभन्दा आफू र आफ्नो पार्टीलाई राम्रो भन्न पाउने नैतिक अधिकार र हैसियत काङ्गे्रस, एमाले र राप्रपाजस्ता संसदीय कित्ताका नेताहरूले पहिले नै गुमाइसकेका छन्। किनकि यी नेता र पार्टीहरूले आफूलाई माओवादीको विकल्पका रूपमा प्रस्तुत गर्न पाउने नैतिक अधिकार प्राप्त गर्नका निम्ति वैकल्पिक नीति, सिद्धान्त र कार्ययोजना पनि जनतालाई देखाउन सकेको हुनुपर्छ। राजनीतिमा दलीय विकल्प भन्नु नै वैकल्पिक सिद्धान्त, वैकल्पिक नीति र वैकल्पिक कार्ययोजना हो। चिनी खान नहुने अर्थात् चिनी त्याग्न चाहने रोगीका निम्ति स्याकरिन बरु एउटा विकल्प बन्न सक्छ तर पच्चीसवटा फरक–फरक थैलामा राखिएको चिनी विकल्प बन्न सक्दैन। नेपालमा अहिले माओवादीबाहेकका अरू पार्टीहरूको सङ्ख्या जति धेरै भए पनि सैद्धान्तिक र वैचारिक रूपमा उनीहरूको पहिचान र अस्तित्व माओवादीको भन्दा भिन्न छैन। संविधानसभाको चुनावमा काङ्गे्रस, एमाले र राप्रपासहितका अरू सबै पार्टीहरूले प्राप्त गरेको जनमत र समर्थन भिन्न सिद्धान्त, भिन्न नीति र भिन्न योजनाका आधारमा प्राप्त गरेको नभएर माओवादीको नीति, कार्ययोजना र नारालाई समर्थन गरेका कारणबाट मात्र प्राप्त हुन गएको मत हो। यसर्थमा माओवादीको भन्दा भिन्न मान्यता र भिन्न योजनाका आधारमा चुनाव लडेर अर्को जनादेशप्राप्त नगरेसम्म माओवादीद्वारा प्रस्तावित कार्ययोजनाको विरोध गर्ने र सरकारको नेतृत्व गर्न नदिने अधिकार जनताले दिएको ठहरिन सक्दैन। माओवादीको नीति, सिद्धान्त र कार्ययोजनालाई त्याग्नयोग्य वा निषेधयोग्य भन्न सक्ने नैतिक साहस नभएका नेताहरूले माओवादीको बहुमत र जनादेशलाई निषेध गर्ने नैतिक र वैधानिक अधिकार कहाँबाट पाए? माओवादीको राजनीतिक कार्ययोजनालाई जायज ठहराएर योजनाकारलाई अनुपयोगी देख्नेहरू कि त बुझपचाएका निर्लज्ज मानिस हुन सक्छन् कि त होस् ठेगानमा नभएका हुस्सु र पागल मात्र हुन सक्दछन्। नेपालका अधिसङ्ख्यक राजनीतिक पार्टी र बहुसङ्ख्यक जनताले स्वीकार गरिसकेको माओवादीलाई सत्ताको नेतृत्व दिन नमिल्ने राष्ट्रिय महत्त्वको राजनीतिक मुद्दा र अपराध नै नदेखाएर अप्रजातान्त्रिक तरिकाबाट बहिष्कार र तिरस्कार गर्न खोज्नु भनेको जिम्मेवार राजनीतिक नेताको भूमिका नभएर मालिकको प्रोत्साहनमा खेद्ने सिकारी–कुकुरको भूमिका मात्र हो। माओवादीको नारा र कार्ययोजनाका विरुद्धमा उभिन नसक्नेहरूले माओवादीको सत्ताका विरुद्धमा उभिनुको कुनै अर्थ छैन। विचारलाई जायज मानेर विचारकलाई नाजायज ठहराउने कुनै पनि राजनीतिक पार्टीले आफूलाई प्रजातान्त्रिक ठानिरहनु नै प्रजातन्त्रबारेको हास्यास्पद अध्ययन हो। नेपाली काङ्गे्रसका नेताहरूले आफूलाई अब्बल श्रेणीका झर्रो प्रजातन्त्रवादी ठान्दै आएका भए पनि प्रजातान्त्रिक मूल्य र मान्यताहरूको अनुशरण र अभ्यासको सवालमा कतै–कतै उरन्ठेउलो र कतैकतै स्वेच्छाचारी बन्दै आएका देखिन्छन्। नेपाली काङ्गे्रसले आफ्नो नीतिसँग सम्बन्धित व्यक्तिलाई नेता मान्न नसकेको र नेताबाट प्रस्तावित नीतिलाई सिङ्गो पार्टीको नीतिका रूपमा स्वीकार नगरिएका उदाहरणहरू पर्याप्त भेटिन्छन्। माओवादी र गणतन्त्रलाई मित्रशक्तिको रूपमा स्वीकार गर्नुपर्छ भन्ने नरहरि आचार्यको विचारलाई नेपाली काङ्गे्रसको सिङ्गो सङ्गठनले बिनासङ्कोच स्वीकार गरेर पनि उहाँलाई नेता मान्न अस्वीकार गरेको थियो र अहिले पनि अस्वीकार गरिरहेकै छ। अर्कोतर्फ प्रजातन्त्र र राष्ट्रको अस्तित्वका निम्ति राजतन्त्रलाई मित्रशक्तिका रूपमा स्वीकार्नुपर्छ भने स्वर्गीय बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको मान्यतालाई नेपाली काङ्गे्रसले २०६३ सालमै अनुपयोगी र अनुत्पादक ठहर गरेर सिङ्गो पार्टी सङ्गठनद्वारा अस्वीकृत गरिसकेको सन्दर्भमा महाधिवेशनका आयोजक प्रतिनिधिहरूले फेरि ती अस्वीकृत नेताहरूको तस्बिर देखाएर भोट प्राप्त गर्ने प्रयत्न गरेको देखिन्छ। जसको वैचारिक मान्यतालाई पार्टीको बहुमतले अस्वीकृत र खारेज नै गरिसकेको छ त्यही व्यक्तिको तस्बिर बोकेर भोट माग्ने प्रचलन विश्वको कुनै पनि राजनीतिक पार्टीले अपनाएको उदाहरण पाउन सकिँदैन। स्वर्गीय बीपी कोइरालाको राजनीतिक मान्यतालाई आकर्षक मान्न असर्मथ भइसकेको नेपाली काङ्गे्रसले बीपी र केपी भट्टराईको तस्बिर आकर्षक मान्नुको औचित्य के हो? कुनै नेतालाई राजनीतिक आदर्श र आकर्षणको विषय बनाउनका निम्ति उसको वैचारिक मान्यताप्रति पूर्ण विश्वस्त र निष्ठावान रहिरहन नपर्ने हो भने वेश्यालयले स्वामी रामकृष्ण परम्हंशको तस्बिर राख्दा पनि असान्दर्भिक हुनेछैन। बीपी कोइरालाको राजनीतिक दृष्टिकोणलाई गलत ठहर्याकएर उहाँलाई अतुलनीय नेता भन्नु र माओवादी नेता प्रचण्डको नीति र सिद्धान्तलाई जायज ठानेर उहाँलाई व्यक्तिगत रूपमा गलत ठहर्यालउनु आफैंमा एउटा लाजलाग्दो र तुक नमिलेको राजनीतिक अज्ञानता हो। किनकि सैद्धान्तिक दृष्टिकोणका आधारमा अस्वीकार गरिएको बीपीलाई असल भन्नु र स्वीकार गरिएको नेता प्रचण्डलाई खराब भन्नु काङ्गे्रसका नेताहरूको द्वैध चरित्र र द्वैध मनस्थितिको परिणाम हो। चुनावको बहुदलीय प्रस्तिस्पर्धामा आमजनताले पार्टीका उम्मेदवारहरूको जाति, वर्ग, धर्म र अनुहारका आधारमा भोट नदिएर राजनीतिक पार्टीहरूको नीति, सिद्धान्त र योजना–कार्यक्रमलाई हेरेर नै कुनै पार्टीका उम्मेदवारलाई मत दिने निर्णय गरेका हुन्छन्। तर, नेपालमा अझै नीति र कार्यक्रमको प्रतिस्पर्धा गर्ने र जनताले नीतिका आधारमा नेताको छनोट गर्ने परम्परा बसिसकेको छैन। प्रजातान्त्रिक मूल्य र मान्यताको प्रबल हिमायती भन्ने गरिएको नेपाली काङ्गे्रसले नै नीतिको प्रभावमा विश्वास नगरेर कुनै व्यक्तिको व्यक्तिगत प्रभावमा विश्वास गरिरहेको छ। माओवादीको महाधिवेशनले काङ्गे्रसलाई राजतन्त्रपछिको प्रमुख विरोधी घोषित गरे पनि नेपाली काङ्गे्रसले माओवादीलाई मित्रशक्ति मान्ने कि उन्मूलन योग्यविरोधी शक्ति मान्ने? भन्ने सवालमा स्पष्ट दृष्टिकोण र नीति निर्माण नगरीकनै देउवा र कोइराला गुटको चुनावी प्रतिस्पर्धा भइसकेकोे छ। तर, सार्वजनिक महत्त्वको राजनीतिक मुद्दा काङ्गे्रसको राजनीति नीतिगत र सैद्धान्तिक महत्त्वका मुद्दामा आधारित भएको छैन। हुनसक्ने छैन भन्ने उदाहरणीय सङ्केत एउटा यो पनि हो। दुईवटा गुटको दुईवटा मान्यतामा आधारित मुद्दा र नारा जनताको जानकारीमा आएको वा ल्याइएको भए काङ्ग्रेसको राजनीति सिद्धान्त, नीति र दृष्टिकोणबाट निर्देशित छ भन्ने पुष्टयाइँ हुनसक्ने थियो। तर सार्वजनिक सरोकारको मुद्दाबिना नेपाली काङ्गे्रसको महाधिवेशन र पदाधिकारीको चुनाव जनताका निम्ति चासोको विषय बन्न सकेन। पञ्चायतकालमा पञ्चहरूको नीति र सिद्धान्त फरक नभएका कारणबाट कमसेकम 'उदारवादी' र 'अनुदारवादी' को नामबाट प्रतिस्पर्धा गर्दथे र जनतालाई भिन्नता थाहा पाउन सजिलो हुन्थ्यो। शेरबहादुर देउवा र सुशील कोइरालाको चुनावी मुद्दाले नेपाली जनतालाई को 'उदारवादी' र को 'अनुदारवादी' भन्ने जानकारी पनि दिन सकेन। जनताले नेता र पार्टीको असन्तुष्टिको विषय थाहा पाउन नसक्नु नै सायद जनताका निम्ति गरिएको राजनीति होला। दलीय नीतिको प्रभावमा चुनाव नजितेर व्यक्तिको प्रभावमा चुनाव जित्दै आएका काङ्ग्रेस, एमाले, राप्रपा र सद्भावनाजस्ता पार्टीहरूले माओवादीलाई प्रतिस्पर्धाको राजनीति गर्न सिकाउनु भनेको देखावटी पाखण्ड मात्र हो किनकि माओवादीले कुनै नेताको व्यक्तिगत प्रभावका आधारमा चुनाव नजितेर पार्टीको नीति र सिद्धान्तको प्रभावमा चुनाव जितेको देखिन्छ। नत्रभने सभासद् वा सांसद बन्न सक्ला भन्ने कल्पना पनि कसैले गर्न नसकेका व्यक्तिहरू माओवादीको उम्मेदवार नबनेको भए चुनाव जित्न सक्ने थिएनन्। माओवादीलाई सत्ताको नेतृत्व गर्न नदिनु भनेको उनीहरूलाई आफ्नो कार्ययोजनाको दुष्परिणाम र असफलतालाई स्वीकार गर्ने अवसरबाट वञ्चित गराउनु मात्र हो। नेपालको सत्तासीन पार्टी र नेता जनप्रिय बनेर अर्कोपटकको चुनाव जित्न सफल भएको उदाहरण एउटा पनि छैन। सत्तासीन नेता व्यक्तिगत रूपमा बलिया भए पनि सत्तासीन पार्टीको छवि दुब्लो र मैलो बन्दै जानेछ। सत्ताको नेतृत्व गर्न नदिएर बदनामी र असफलताको आरोपबाट जोगाइएको माओवादी जनताका नजरमा निर्दोष र दयनीय देखिनेछ। सर्वदलीय सहमतिको चाहना र आ–आफ्नो पार्टीको प्रभाव बढाउने चाहना एकैसाथ कायम राख्न सकिने कुरा होइन, राजनीतिक पार्टीहरूले कुनै एउटा चाहनालाई त्याग्न सक्नुपर्छ। दलीय स्वार्थ त्यागेर एकता गर्ने हो भने सबै पार्टीका नेताहरू पञ्चमा परिणत हुन्छन् भने दलीय प्रभावलाई स्थापित गर्नका निम्ति खुला प्रतिस्पर्धा र बहुमतीय प्रक्रिया नै एक मात्र विकल्प रहन जान्छ।
- घटना र विचार
 Notice of Upcoming Devkota Jayanti Program
 The International Nepali Literary Society (INLS) Central Office, in active cooperation with the INLS DC Metro chapter, is going to organize a special program to observe and celebrate Mahakavi Laxmi Prasad Devkota’s 101st anniversary on Sunday,November 14, 2010. On the occasion, a poetry competition will be held for both children and adults and those declared first, second, and third will be awarded cash prizes.

Please mark your calendar and do make it a point to attend the program.

Sharad Nirola
Coordinator
101st Devkota Jayanti Celebrations Committee


VENUE: Arlington Public Library,
               1015 N. Quincy St
                Arlington, VA  22201

DATE: Sunday, November 14, 2010

TIME: 2:00—5:00 P.M.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक