20101007

अपहरणमा परेका दुई बालकको हत्या भएपछि नेपालगन्ज एकाएक अशान्त, दुई शिक्षक फेरी अपहरणमा

यस्तो बेला नेताहरुको नौटंकी जारी, झलनाथ भन्छन: संबिधान सभा भँग गर्नुपर्छ
अपहरणमा परेका दुई बालकको हत्या भएपछि नेपालगन्ज एकाएक अशान्त भएको छ। तनाबलाई शान्त पार्न सर्वपक्षीय प्रयास भइरहे पनि स्थिति बिग्रँदै गएको छ। सकुशल रिहाइका लागि अघिल्लो रात १० लाख फिरौती बुझाइएका बालक कपिल द्विवेदीको बुधबार बिहानै शव फेला परेपछि आक्रोशित आफन्त विद्यार्थीसहित सर्वसाधारणसमेत सडकमा उत्रिएका कारण नेपालगन्ज अशान्त भएको हो। दिनभर बजार यातायात कलकारखाना बन्द गरिएका छन्। दैलेख घर भई नेपालगन्ज नपा-१५ मा घरभाडामा बस्ने जयबागेश्वरी उमाविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय बालक लीलाधर भट्टको हत्या भएको दुई दिनपछि उनीसँगै...
अपहरणमा परेका कक्षा ९ मा अध्ययनरत १५ वर्षीय द्विवेदी पनि मृत भेटिएका हुन्। असोज १४ गते साँझ ५ बजे नेपालगन्जको धम्बोजी चोकबाट उनीहरु अपहरणमा परेका थिए।

प्रहरीका अनुसार अघिल्लो दिनसम्म ५० लाख फिरौतीको अडानमा रहेका अपहरणकारीले भट्टको हत्यालगत्तै १० लाखमा सहमति जनाएका हुन्। प्रहरीका अनुसार सोमबार मध्यरातमा फिरौती बुझेपछि कपिलको हत्या गरिएको थियो। लीलाधरजस्तै निर्मम हत्या गरिएका उनको शव इन्द्रपुर-७ मोतीपुर नहरनजिक खेतमा गाडिएको थियो। घटनामा संलग्न तराई जनतान्त्रिक मधेस पार्टी पूर्व बाँके इन्चार्ज मेराजअहमद साई आदर्श सहित ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। अन्य ५ जनाको खोजी भइरहेको प्रहरीले पत्रकारसम्मेलन गरी जानकारी दिएको छ। उनीहरुसँग प्रहरी साँठगाँठ पनि भेटिएको छ। प्रहरी हबल्दार साकिरअली बेहनालाई अपराधीहरुसँग मिलेको प्रमाणित भएपछि प्रहरीले निलम्बन गरी हिरासतमा राखेको बताएको छ। उनीहरुसँगै इन्द्रपुरकै राजितराम बर्मा शोभित बर्मा इब्राहिम मनिहार र रज्जबअली खाँ पक्राउ परेका छन्।

आदर्शले हत्यामा आफ्नो संलग्नता भएको स्वीकार गरेका छन्। उनले पत्रकारमाझ इन्द्रपुर प्रावि व्यवस्थापन समितिका अध्यक्ष सुरेश बर्माको योजनामा अपहरणपछि हत्या गरिएको बताए। सोही विद्यालयका प्रधानाध्यापक रहेका साजय द्विवेदीसँगको रिसइबीले एक्ला छोरा कपिलको हत्या गराउने बर्मा फिरौतीको १० लाख बोकेर फरार छन्। भारतको लखिमपुरबाट ३ पेसेबर अपराधी भाडामा झिकाएर हत्या भएको खुलेको छ। प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई कारबाहीको माग गर्दै सयौंले जिल्ला प्रहरी कार्यालयमा दिनभरजसो नाराबाजी र घेराउ गरेका छन्। अन्य कैयौं विद्यार्थी शिक्षक सर्वसाधारणलगायतले नेपालगन्जका विभिन्न ठाउँमा सडक ठप्प पार्दै विरोध प्रदर्शन गरिरहेका कारण निकै तनावको अवस्था सिर्जिएको छ। त्यस क्रममा आधा दर्जन मोटरसाइकल तोडफोड गरिएका छन जिप्रकामा तनाव शान्त पार्न प्रहरीले बल प्रयोग गरेको छ। आक्रोशित महिलालाई नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठी चार्ज गरेको बताएको छ। बाँके प्रहरीका प्रमुख प्रहरी उपरीक्षक महेशविक्रम शाहले अपराधी उम्कन नपाउने गरी अनुसन्धान गरेर प्रमाण जुटाइने विश्वास दिलाउनुभएको छ। यद्यपि आक्रोशित आफन्तहरुले प्रहरी प्रतिबद्धताप्रति आशंका गर्दै प्रदर्शन नरोक्ने बताएका छन्।
बुधबार नै जिल्ला शान्ति समितिले सर्वपक्षीय बैठक राखेर शान्ति सद्भावको अवस्था बनाइराख्न पहल गरेको छ। बैठकले मृतकका परिवारको क्षतिपूर्ति र अपराधीलाई कडा कारबाहीका लागि दबाब दिएको अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो।

त्रियुगा नगरपालिका -११ स्थित पञ्चकन्या माध्यामिक विद्यालयमा कार्यरत दुई शिक्षक बिहीबार विहान अपहरणमा परेका छन्। दसैं बिदामा मोटरसाईकलबाट घर जाँदै गरेका लाहान नगरपालिका ३ का सूर्यनारायण साह र प्रल्हाद ठाकुरलाई सप्तरी बिष्णुपुरकट्टीको लक्ष्मीपुर जंगलबाट सशस्त्र समूहले अपहरण गरेको हो।
प्रअ रघुनाथ कार्कीका अनुसार ठाकुर भने हिड्न नसकेपछि मरनासन्न हुनेगरी कुटपिट गरेर छाडेको तथा साहलाई लिएर गएको बताइएको छ। जंगलमा बेहोस अवस्थामा रहेका ठाकुरलाई भेटेर स्थानीयले उपचारार्थ लाहान नरसिंह होममा भर्ना गरेको सप्तरी प्रहरीले जनाएको छ। स्थानीयले मोटरसाईकल पनि फिर्ता ल्याएको शिक्षक अभिभावक संघका अध्यक्ष एकराज बस्नेतले बताए।

घाईते ठाकुरका अनुसार बीच बाटो छेकेर बसेका दर्जन रुमालले मुख छोपेका आठदश जना मधेसी मूलका जस्ता देखिने युवाहरुले उनीहरुलाई मोटरसाईकलसहित अपहरण गरेर अज्ञातस्थलतर्फ लगेका थिए।

यस्तो बेला नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले वर्तमान संविधानसभा विघटन गरी मुलुकलाई नयाँ जनादेशतर्फ लैजानुपर्ने विचार व्यक्त गरेका छन्। प्रधानमन्त्रीको चुनाव नौटङ्की ढङ्गबाट अगाडि बढिरहेकाले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाइरहनुको सट्टा संविधानसभा विघटन गर्नुपर्ने अध्यक्ष खनालले बताए। अध्यक्ष खनालले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालद्वारा आज आयोजना गरिएको विजयादशमी, दीपावली, छठ तथा इदको शुभकामना आदानप्रदान समारोहमा मुलुकलाई काँग्रेसले अनिर्णयको बन्दी बनाउँदै लगेको आरोप समेत लगाए। यसैगरी एमालेका उपाध्यक्ष वामदेव गौतमले देशी विदेशी प्रतिक्रियावादी शक्ति, नोकरशाही र तानाशाही वर्गले नेपालमा संविधान बन्न नदिन बाधा अड्चन पुर्‍याइरहेको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक