20101028

साबधान ! तपाईं यदी बिदेशमा बस्नुहुन्छ भने ठग र मालपोतका कर्मचारी मिलेर तपाईंको घर जग्गा पनि यसरी नै अर्कैलाई बेची चिरिप्प पारेर झिरिप्प होलान नि !!!

चौधपटक चुनाव हुँदापनी प्रधनमन्त्रीको टुंगो नलागेको हाम्रो प्यारो देश, राम्रो देश, संसार कै हिराको टुक्रा जस्तो देश, कति साह्रै बिग्रियो है, जता हेर्यो त्यतै दिक्क ! अब हुँदा हुँदा यस्तो पनि हुन थालेको छ ख्याल गर्नुस् नत्र तपाईं पनि चिल्लाराम हुनु होला नि ! 
आफ्नो नाममा जग्गाजमीन हुँदैमा सुरक्षित रहन्छ भनेर ढुक्क नभए हुन्छ। भू-माफिया र कर्मचारीको मिलेमतोमा जग्गाधनीले पत्तै नपाई जग्गा बिक्री हुने गरेको तथ्य खुलासा भएको छ। विदेशमा बस्दै आएका धुलिखेलका दिदीभाइको संयुक्त नामको जग्गा नक्कली कागजपत्रको आधारमा बिक्री भएको छ। धुलिखेल घर भई हाल अष्ट्रेलियामा बस्दै आएकी सहना श्रेष्ठ र अमेरिकामा बस्दै आएका उनका भाई रोहन श्रेष्ठको नामको...
धुलिखेल-६(साविक श्रीखण्डपुर-९) को कित्ता नं ७२० को १ रोपनी जग्गा दुबैले थाहै नपाई विक्री भएको छ। बाबु आमाको मृत्यु भएपछि दिदीभाइको संयुक्त नाममा २०६३ सालमा नामसारी भएको पुर्ख्यौली जग्गामध्येबाट एक कित्ता जग्गा यसरी विक्री भएको हो। फूलपाती अगाडि असोज २६ सो जग्गा मालपोत कार्यालय कलंकीमा बेजिल्ला पास भएको छ। जग्गा खरीद गर्ने पनौती नगरपालिका वडा नं ४ का रामनारायण श्रेष्ठ रहेका छन्। चलनचल्तीमा ८० लाख रुपैंया मुल्य रहेको भएपनि लिखतमा ५ लाख रुपैंया जनाइएको छ।
दशैं मान्न नेपाल आएकी सहाना त्यतिखेर छाँगाबाट खसेजस्तै भइन्। जब उनीहरुको नाममा रहेको जग्गा विक्री भइसकेको रहेछ।
'हाम्रो नामको जग्गा बेचिएको र मालपोतले समेत तत्काल दाखिल खारेज गरिसकेको भन्ने कुरा फूपाजूलाई माधवबाजे भन्ने लेखापढी व्यवसायीले भन्नु भएको रहेछ', सहानाले भनिन्।

अमेरिकामा रहेका रोहन श्रेष्ठले दिएको अधिकृत वारेसनामामार्फत अष्ट्रेलियामा रहेकी सहाना श्रेष्ठले उक्त जग्गा विक्री गरेको देखिए पनि आफूहरु दुबैले यस्तो वारेसनामा लिने दिने काम नभएको सहानाले बताइन्। 'यदि विक्री गर्नु नै थियो भने नजिकका नातेदार फुपाजूलाई दिन्थ्यौं। विदेशमै भएकाले नेपाली दूतावासबाट प्रमाणित गराएर पठाउँथ्यौं। यो त सरासर नक्कली वारेस बनाइएको हो', सहनाले भनिन्।

काठमाडौं जिल्ला अदालतबाट २०६६ भदौ ११ गते जारी अधिकृत वारेसानामा पत्रमा समेत पाउने सहनाका साटो एक अधवैंशे महिलाको र दिनेकोमा रोहनको साटो अर्कै पुरुषको फोटो टाँस गरिएको पाएको उनले बताइन्।

काठमाडौं जिल्ला अदालतले नागरिकतामा टाँस भएको फोटो र उपस्थित व्यक्तिको अनुहार हेर्दा मिल्ने देखेपछि अधिकृत वारेसनामा प्रमाणित गर्ने प्रचलन रहेको बताएको छ। 'नक्कली कागजात बनाउनेहरुले अदालतमा समेत आफू र भाईको साटो अर्कै व्यक्तिको फोटो टाँसेर वारेसनामा बनाएका रहेछन्' सहानाले थपिन्।
बुधबार मालपोत कार्यालय कलंकी पुगेकी उनले धुलिखेल नगरपालिकाको सिफारिश बाहेक उनको, रोहनको, लालपूर्जा, वारेसनामा लगायतका सबै कागजहरु नक्कली पाएको बताइन्। भाद्र १० गते सो जग्गाको लागि धुलिखेल नगरपालिकाबाट घरजग्गा सिफारिश लिएको देखिन्छ।

असोज २० गते काभ्रे मालपोत धुलिखेलमा जग्गा पास गर्न आएका नक्कली वारेसलाई प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईंले सम्बन्धित अदालतबाट अधिकृत वारेसनामालाई 'भेरिफाई' गराएर मात्र काम गर्न सकिने भन्दै फर्काइदिएका थिए। 'दशैं विदापछि अदालत खुल्छ। त्यसपछि आउनु भनेर पठाएको थिएँ' उनले भने। मालपोत कार्यालय कंलकीले कसरी उक्त जग्गा पास गर्‍यो त्यसबारेमा आफुलाई कुनै थाहा नहुने उनले बताए।

'२६ गते कलंकी मालपोतमा पास भएको जग्गा सोही दिन काभ्रेमा फाँटवाला हुँदै मालपोत प्रमुखसम्म पुगेर दाखिल खारेज भएको देख्दा कर्मचारीको समेत मिलेमतो भएको पाएका छौं' सहानाका फुपाजू केदार माकजूले भने।

जग्गा दाखिल खारेज गर्दा मालपोत कार्यालय काभ्रेका फाँटवालाले लालपूर्जामा रहेको जग्गा र कार्यालयको अभिलेख(मोठ) मा रहेको जग्गा नभिडाई दाखिल खारेज गरेको उनको आरोप छ। 'लालपुर्जामा धुलिखेल र श्रीखण्डपुरको जग्गाहरु उल्लेख छ तर नक्कली पूर्जामा श्रीखण्डपुरका जग्गा मात्र उल्लेख गरेको रहेछ' माकजूले भने।
मालपोतको अभिलेखमा दिदीभाई दुबैको फोटो टाँस भए पनि दाखिल खारेज गर्न ल्याएको पूर्जामा सहानाको फोटो अर्कै महिलाको र रोहनको फोटो टाँस्न बाँकी लेखिएको छ। - मधुसुधन गुरागाईं

'मालपोत कार्यालयले कुनै पनि कामकारवाही गर्न जग्गाधनीको फोटो नटाँसी गर्दैन। तर फोटो खाली हुँदाहुँदै कारवाही कसरी अघि बढ्यो', माकजूले काभ्रे मालपोतको रवैयाप्रति आपत्ति जनाए।


1 comment:

  1. kahinavako jatra hadi gau ma..................

    Rajkumar
    mgr_raj2009@yahoo.com

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक