20101004

एमाओवादीभित्र 'डन कमरेड' का नामले चर्चित सिन्धुलीका सहइन्चार्ज राजन दाहाल ‘गर्नु गरिसकेपछि’ अन्ततः पक्राउ

एमाओवादीभित्र 'डन कमरेड' का नामले चर्चित सिन्धुलीका सहइन्चार्ज राजन दाहाल अन्ततः पक्राउ परेका छन्। altएमाले महासचिव ईश्वर पोखरेल, पोलिटव्युरो सदस्य रविन्द्र श्रेष्ठ, पशुपति चौलगाँई, केन्द्रीय सदस्य केशव देवकोटा, कमला सुवेदी, रामेछापका नेता देवशंकर पौडेल, कैलाश ढुंगेल लगायत दर्जनौं एमाले नेताहरूको पटक(पटक हत्या गर्ने प्रयास गरेको अभियोग लागेका दाहाललाई प्रहरीले विगत एक वर्षदेखि नै खोजी गरिरहेको थियो। प्रहरीकै सामुन्ने चन्दा उठाउँदै हिंड्दा पनि कसैले केही गर्न नसकेका दाहाललाई असोज १६ गते राती सिन्धुली सदरमुकामबाटै पक्राउ गरिनुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ। यसअघि दर्जनौं...
पटक जघन्य अपराधको अभियोग लाग्दा पनि प्रहरीकै सामुन्ने छाती फुलाएर हिंड्ने गरेका दाहाललाई अचानक पक्राउ गरिंदा एमाले र एमाओवादीका स्थानीय नेताहरूसमेत छक्क परेका छन्। गृहमन्त्री भीम रावलले दाहाललाई पक्राउ गर्न ठाडो आदेश दिएपछि पछिल्लो समयमा एमाओवादी जनसेनाका क्याम्पमा र सुरक्षा घेरामा बस्दै आएका दाहाललाई बैठक सकेर आठ दश जनाको समूहको बीचमा हिंडिरहेको बेला पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। दाहालले विशेषगरी रामेछाप जिल्ला इन्चार्ज भएका बेला एमालेका पूर्वसांसद एवं संविधानसभाका उम्मेदवार देवशंकर पौडेलको पटक(पटक हत्याको प्रयास गरेका थिए। दाहालकै निर्देशनमा तत्कालीन संविधानसभा उम्मेदवार देवशंकर पौडेल, कमलप्रकाश सुनुवारसहितका एमाले नेताहरूमाथि चुनाव प्रचारकै क्रममा प्रीति गाविसमा ज्यान मार्ने उद्देश्यले आक्रमण भएको थियो। दाहालकै नेतृत्वमा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार कैलाश ढुंगेलमाथि उनकै गाउँ पकरवासमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएपछि एमाले नेता कार्यकर्ताहरू भागेर ज्यान बचाउन सफल भएका थिए। दाहाल सहितका ५ सय माओवादीले गाउँ घेरेपछि त्यस बेला पकरवासका एमाले नेताहरू होमबहादुर बुढाथोकी र केशर बुढाथोकीले २ दिनसम्म जंगलमा बिताएका थिए।

हतियारसहितको समूह लिएर हिंड्ने गरेका दाहालले संविधानसभा चुनावमा रामेछापका दुवै निर्वाचन क्षेत्रका प्रायः सबै बुथ कब्जा गरेर एमाओवादीलाई जिताएको आरोप समेत लाग्ने गरेको छ। दाहाल रामेछापको इन्चार्ज भएका बेला एमालेका देवशंकर पौडेल, कैलाश ढुंगेल, शान्ति पौडेल, चित्रबहादुर कार्की, तुलप्रसाद कँडेल, धु्रव कार्की, सहदेव बस्नेत, प्रकाश कार्कीलगायत धेरै नेताहरूले भौतिक आक्रमणको सामना गरेका थिए। दाहालको सोही ज्यादतीको भण्डाफोर गर्न एमालेले २०६६ असारमा मन्थलीमा आयोजना गरेको विरोधसभाबाट फर्किने क्रममा एमाले महासचिव ईश्वर पोखरेलसहितका करीव आधा दर्जन नेताहरूलाई तिल्पुङ गाविसको भीरबाट ढुंगा लडाएर हत्या गर्ने प्रयास दाहालले नै गरेको एमालेले आरोप लगाउँदै आएको छ।

त्यसबेला एउटा ढुंगाले गाडीमा भेटे पनि चालकको चलाखीले गर्दा एमालेका महासचिव पोखरेल सहित पशुपति चौलागाई, रविन्द्र श्रेष्ठ, केशव देवकोटा, देवशंकर पौडेल, कमला सुवेदी लगायतका नेताहरू बाँच्न सफल भएका थिए। सो घटनालाई एमालेले माओवादीको शीर्ष नेतृत्व समक्ष राखेपछि एमाओवादीले कारबाही गर्ने भने पनि उल्टो उनलाई सिन्धुली जिल्लाको सहइन्चार्ज बनाएर पठाएको थियो। सिन्धुलीमा गएपछि पनि दाहालले झाँगाझोली गाविसमा एमालेको ३ नम्बर क्षेत्रीय अधिवेशन उद्घाटनमा जान लागेका एमाले नेताहरूमाथि आक्रमण गरेका थिए। दाहाल र उनकी श्रीमती दीपाको नेतृत्वमा पेस्तोल, बन्दूक र रड सहित आक्रमण गरेर केन्द्रीय सदस्य केशव देवकोटा, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत, रामेछापका एमाले नेता ज्ञानकुमार श्रेष्ठ लगायतलाई कब्जामा लिएका थिए। त्यसक्रममा देवकोटालाई यातना दिइएको कुरा पछि उच्चस्तरीय संयन्त्रबाटै गठित तीन दलीय छानबीन आयोगले पनि पुष्टि गरेको थियो। त्यस बेला पनि दाहाललाई पक्राउगरी कारवाही गर्न निर्देशन दिईए पनि एमाओवादीले उनलाई संरक्षण दिएपछि उनको ज्यादती सिन्धुलीमा अझ बढेको थियो।

बनेपा-बर्दिबास सडक खण्डका ठेकेदारहरूसँग पैसा उठाउने गरेको पाइएपछि एमाओवादी पोलिटव्युरो सदस्य एवं जनमुक्ति सेनाका डेपुटी कमाण्डर चन्द्रप्रसाद खनाल बलदेवले पनि राजन दाहालको बारेमा नेतृत्वसमक्ष जानकारी गराएका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राजन दाहालले रामेछाप जिल्लाका विभिन्न गाउँ र चौतारा तथा विद्यालयहरूमा सूचना टाँसी कांग्रेस र एमालेलाई एक साताभित्र गाउँ छाड्न उर्दी दिंदै आक्रमण गरेपछि कारबाहीमा परेका थिए। जिल्ला इन्चार्जलाई थाहै नदिई सहइन्चार्ज दाहालले सो सूचना टाँसेपछि केन्द्रमा अध्यक्ष प्रचण्डले नै त्यो पार्टी नीतिविपरीत भएको भन्दै ताम्सालिङ इन्चार्ज अग्नि सापकोटालाई दाहालमाथि कारबाही गर्न निर्देशन दिएका थिए। केही समय निलम्बनमा परेका दाहाल पछि सिन्धुलीमा गएका थिए। दाहालले रामेछाप जिल्ला इन्चार्ज हुँदा करीव ५ करोड रुपैयाँ चन्दा उठाएर त्यो पैसा अहिलेसम्म हिसाब नदेखाएको गुनासो हालका जिल्ला इन्चार्ज धावा लामाले गर्दै आएका छन्। त्यसो त उनले विभिन्न ठेकेदारहरूसँग साझेदारी गरेको र तीनवटा स्काभेटर किनेर ठेकेदारहरूलाई ठेक्कामा दिएको उजुरी पनि एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा परेको छ।

उद्दण्ड चरित्रका दाहालमाथि कारबाही गर्न पार्टी तहबाटै दबाब परे पनि उनी अहिलेसम्म उन्मुक्ति पाउने एमाओवादी जिल्ला नेता हुन्। पछिल्लो समयमा रामेछाप जिल्लाबाट सरुवा भएर सिन्धुली गए पनि दाहालले रामेछापका एकथरी एमाओवादी कार्यकर्तालाई उचालेर वर्तमान जिल्ला नेतृत्वलाई असफल पार्ने प्रयास गरेको आरोपसमेत लागेको छ। अहिले रामेछापमा एमाओवादी नेता कार्यकर्ताहरू स्पष्टरुपमा दुई धारमा उभिएका छन्। राजन दाहालबाट दीक्षित भएका कार्यकर्ताहरूले धावा लामालाई नेता मान्न अस्वीकार गरेपछि समस्या परेको एमाओवादी स्रोतले जनाएको छ। -साँघु साप्ताहिक

सहमतिको बाटो

हिडदै जादा
सहमतिको  बाटो
बिचमै यो मेटियो
बडदै जादा अघी
भञ्ज्याङ पो भेटियो।

कोही उत्तर तिर फर्कियो 
कोही दक्षिण तर्कियो 
यता जाने कि उता जाने
कोही  दोधारमा अडकियो।

बिच जङ्गलमा
कोही आत्तियो
कोही छाट्टियो
कोही रिसले कडकियो,
काचा ठिटनाहरुलाई 
आज बुढा पाका खडकियो।

बाटोको निकास नहुँदा
निसाहेहरु तडपियो
लाटोहरु भडकियो
बाठो भन्नेहरु फटकियो
तर त्यही बाठो आँफै
झन भिरमा गइ लटकियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक