20101120

सरकारले तीन खर्ब ३७ अर्ब ९० करोड बराबरको बजेट विनियोजन !

यस्तै कार्य जारी राखे माओवादी आफैले खनेको खाल्डोमा आफै पुरिने काग्रेसका सभापति सुशिल कोइरालाको दावी
 गुण्डागर्दी गर्ने माओवादीलाई  कारवाही गर्नुपर्ने केपी ओलीको माग सभामुखतर्फ संकेत गर्दै ओलीले भने- 'गुण्डागर्दी गर्ने उच्छृङ्खल माओवादी सांसदलाई निलम्बन गरिनुपर्छ। यसो गर्दा उनीहरु उफ्रिएलान् तर अब कि लम्पसार पर्नुपर्छ कि उभिन सक्नुपर्छ त्यो बाहेक अर्को विकल्प छैन।'
माओवादीले संसदमार्फत् बजेट जारी गर्न नदिएपछि सरकारले आज राष्ट्रिय योजना आयोगको हलबाट बजेट सार्वजनिक गरेको छ। बजेट जारी हुनु केही समयअघि मात्र राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसैका आधारमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो। सरकारले आर्थिक वर्ष २०६७/०६८ मा बजेटको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु तीन खर्ब ३७ अर्ब ९० करोड बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री सुरेन्द्र पाण्डेले आज सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०६७/०६८ को बजेटमा चालु खर्च ५६.३ प्रतिशत अर्थात रु एक खर्ब ९० अर्ब ३१ करोड ९५ लाख, पूँजीगत खर्च ३८.३ प्रतिशत अर्थात रु एक खर्ब २९ अर्ब ५३ करोड ८२ लाख र साँवा भक्तानी ५.४ प्रतिशत....
अर्थात रु १८ अर्ब ४ करोड २३ लाख प्रस्ताव गरिएको छ। प्रस्तावित खर्च अनुमान गत वर्षको अप्रशोधित यथार्थ खर्चको तुलनामा ३०.४ प्रतिशतले बढी रहेको छ। खर्चको संरचनाअनुसार चालु खर्च २५.८ प्रतिशत र पूँजीगत खर्च ४४.८ प्रतिशतले बढेको उल्लेख छ।

बजेटमा ०६७ असार २८ गतेका दिन व्यवस्थापिका-संसद्बाट पारित सेवा र कार्यहरुका लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने ऐन, २०६७ बमोजिम भएको खर्चलाई आधार मानेर समावेश गर्ने व्यवस्था मिलाइएको छ। कुल खर्चमध्ये विकास कार्यक्रमका लागि रु एक खर्ब ७८ अर्ब ६१ करोड ३९ लाख (५२.९
प्रतिशत) र साधारण प्रशासनतर्फ रु एक खर्ब ५९ अर्ब २८ करोड ६१ लाख (४७.१ प्रतिशत) विनियोजन गरिएको छ।
चालु वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु दुई खर्ब १६ अर्ब ६४ करोड ४४ लाख र वैदेशिक अनुदानबाट रु ६५ अर्ब ३४ करोड ४२ लाख गरी जम्मा रु दुई खर्ब ८१ अर्ब ९८ करोड ८६ लाख व्यहोरी रु ५५ अर्ब ९१ करोड १४ लाख न्यून बजेट हुने जनाइएको छ। यो न्यून पूर्तिलाई वैदेशिक ऋणबाट रु २२ अर्ब २३ करोड १४ लाख जुटाइने छ। त्यस्तै राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा पनि रु ३३ अर्ब ६८ करोड न्यून रहन जाने, सो रकम आन्तरिक ऋणबाट पूर्ति गरिने, आन्तरिक ऋणको रकम अनुमानित कुल गार्हस्थ उत्पादनको तुलनामा २.६ प्रतिशत रहने जनाइएको छ। लक्ष्य गरेको राजस्व रकममध्ये रु १९ अर्ब २१ करोड ४६ लाख कर परिवर्तन तथा प्रशासनिक सुधारबाट प्राप्त हुने अनुमान गरिएको छ।




एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले संसदमा भएको घटना बजेटको अवरोध मात्र नभइ लोकतान्त्रिक प्रणालीमाथि आक्रमण भएको बताएका छन्। युवा संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले संसदमा उपद्रो, गुण्डागर्दी मच्चाउनेलाई भिडियो हेरेर कारवाही गर्नुपर्ने माग गरे। 'उपद्रोकारी गुण्डागर्दी गर्नेलाई भिजवल हेरेर कारवाही गर्नुपर्छ', सभामुखतर्फ संकेत गर्दै ओलीले भने- 'निलम्बन गरिनुपर्छ। यसो गर्दा उनीहरु उफ्रिएलान्। तर अब कि लम्पसार पर्नुपर्छ कि उभिन सक्नुपर्छ त्यो बाहेक अर्को विकल्प छैन।' माओवादी उपाध्यक्षको नेतृत्वमा एक हुल युवालाई संसद बाहिर लगेर धार लगाएर ल्याइएको आरोप लगाउँदै उनले अर्थमन्त्री ब्रिफकेसमा पैसा छ भनेर लुटेको र पछि कागजात भेटेपछि फिर्ता गरिदिएको उल्लेख गरे।

संसदमा माओवादीले देखाएको व्यवहारले लोकतन्त्रको भविष्य र कानुनी राज्यको सम्बन्धमा गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो। 'उच्छृङ्खल सांसदले मात्र गरेका हैनन् उनीहरुलाई लगाइयो', ओलीले भने- 'हामी स्पष्ट हुनैपर्छ अब कसरी अघि बढ्ने ?' माओवादीलाई यथास्थितिवादी भएको उल्लेख गर्दै उनले संसदमा अर्थमन्त्रीलाई कुटपिट गरी आतंक मच्चाउने शक्ति कम्युनिष्ट हुन नसक्ने जिकिर गरे। 'गुण्डागर्दी आतंक मच्चाउने कसरी कम्युनिष्ट हुन्छ ? सरकारलाई राजिनामा गराएर सरकार बनाउन नसक्ने कसरी क्रान्तिकारी हुनसक्छ ?' माओवादीको विस्तारित बैठकलाई कुम्भमेलाको संज्ञा दिएका ओलीले सिंहदरबार घेरेर पार नलागेपछि पुरानो दरबार घेर्न गएको उल्लेख गरे। माओवादीले ठूलो पार्टीको धाक धक्कु लगाउने कुराको म्याद गुज्रिसकेको भन्दै उनले प्रमुख पार्टीको हैसियत माओवादीले जेठ १४ नै गुमाइसकेको बताए।
एकातिर सेना समायोजन भन्ने र अर्कोतर्फ पार्टीको बैठकमा लडाकू सहभागी गराउने माओवादी नीति त्रुटिपूर्ण भएको ओलीले बताए। सम्बोधनको अधिकांश समय माओवादीप्रति आक्रोसित देखिएका ओलीले बैठकमा सहभागी हुने लडाकूलाई राशनपानी बन्द गरिनुपर्ने उल्लेख गरे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव रामबहादुर थापा पनि लडाकू नै भएको उल्लेख गर्दै उनले भने-' उनीहरु राजनीतिक प्रक्रियामा आएका कारण उनीहरुको समायोजन र पुनर्स्थापना गर्नु परेन।'
माओवादीको सम्पूर्ण शक्ति लडाकू भएको उल्लेख गर्दै ओलीले भने- 'केटाकेटीको बल रुने कुरामा हुन्छ। माओवादीको बल चाहिँ लडाकूमा छ। त्यसैले भए भरकालाई लान खोजेका हुन्।' माओवादी शिविरमा १९ हजार भन्ने तर्क वाइयात भएको भन्दै उनले शिविरमा १०-११ हजार रहेको र त्यसमध्ये धेरैलाई विस्तारित बैठकमा लगेपछि लडाकू होलान् त्यसमध्ये थुप्रैलाई लाने भनेका छन्। युवा संघ एमालेको झुम्का, बुलाकी, लिपिष्टिक, पाउडर नभएको भन्दै ओलीले भने- 'यो एमालेको वर्गीय संगठन हो यो संघर्षको मैदानमा आएर जिउँदो जाग्दो हुनुपर्छ। तपाइँहरु मैदानमा उत्रनुहोस्।'

नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले माओवादीको गतिविधिले आफैलाई पतनको बाटोतिर लगेको बताएका छन् । रुपन्देहीको सुरजपुरामा शनिबार आयोजित सुरजपुरा हत्याकाण्डका सहिद परिवार तथा घाइतेको  सम्मान र शिक्षक भेलालाई सम्बोधन गर्दै सभापति कोइरालाले लोकतन्त्र मान्छु भनेर संसदमा वितण्डा मच्चाउनुले माओवादी जनताबाट मात्र नभइ विश्वबाटै विश्वास गुमाएरको बताए ।पटक पटकका सहमति र सहकार्यलाई एक इन्च नमानेर माओवादीले र्सवसत्तावाद मात्र लादेको दावी गर्दै उनले यस्तै कार्य जारी राखे माओवादी आफैले खनेको खाल्डोमा आफै पुरिने दावी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक