20101205

'बरु नयाँ संविधान नबनोस्, बहुलवादमा समर्पण गर्न सकिन्न',माओवादी नेता देव गुरुङको मुखबाट यो वाक्य सुने पछी !

- हरिबहादुर थापा
'बरु नयाँ संविधान नबनोस्, बहुलवादमा समर्पण गर्न सकिन्न', केही दिनअघि संविधानसभा सचिवालय परिसरमा माओवादी नेता देव गुरुङको मुखबाट यो वाक्य निकै चर्को स्वरमा सुनियो । माओवादीले कुनै पनि हालतमा बहुलवाद स्वीकार्न नसक्ने उनको जिकिरले लोकतन्त्रप्रति विश्वास गर्नेहरूलाई फेरि झस्कायो । यो शाब्दिक झगडानिम्ति अपनाएको रणनीति हो या उसको अन्तिम राजनीतिक अभीष्ट ? माओवादी नेताका मुखबाट आएको यो खतरनाक वाक्य यदि सत्य हो भने नयाँ संविधान लोकतान्त्रिक बन्ने छैन, किनभने...
माओवादीको सहमतिबेगर नयाँ संविधान बन्न सक्दैन ।

एकातिर माओवादीको 'बहुलवादी' संविधान नस्वीकार्ने अडान र अर्कोतिर कांग्रेसका नेताहरूको 'बहुलवाद बेगरको संविधान' अर्थहीन हुने ठहरले स्थिति अप्ठेरो बन्दैछ । दुईथरीको अडानबीच फेरि 'बहुलवाद' शब्द राजनीतिमा चर्किंदैछ । बहुलवाद बेगरको संविधान निर्माण गर्नु भनेको 'एकत्ववाद' या 'अधिनायकवाद' निम्त्याउने सडक निर्माण गर्नु हो भन्ने निष्कर्षमा लोकतन्त्रवादीहरू पुगेको देखिन्छ । माओवादीले 'बहुलवादी दर्शन'मै आफूहरूको विरोध रहेको धारणा अघि सारेका छन् । बहुलवादी दर्शन स्थापित भएमा आफूले चाहेजस्तो एकदलीय कम्युनिष्ट पद्धति स्थापित हुन सक्दैन भन्ने मान्यता उसले राखेको हुनुपर्छ । नत्र लोकतान्त्रिक पद्धति स्वीकार गरिसकेको पृष्ठभूमिमा यो शब्दप्रति असहमति र आक्रोश किन ?

संविधानभित्र निर्माणका विवादित गुजुल्टा फुकाउन गठित उच्चस्तरीय कार्यदल यतिखेर 'बहुलवाद' शब्दको सेरोफेरोमा अल्झिएको छ । कार्यदलमा राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वमाथि छलफल हुँदैछ । जस अन्तर्गत 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था' भन्ने शब्दको सट्टामा तीन प्रस्ताव आएका छन् । 'जनताको संघीय गणतन्त्र', 'समाजवादी गणतन्त्र', 'बहुलवाद र बहुदलीय प्रतिस्पर्धामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र'मध्ये कुन शब्द राख्ने भन्नेमा सहमति हुनसकेको छैन ।

त्यसो त माओवादीले 'बहुलवाद' शब्दविरुद्ध आक्रोश पोखेको पहिलोचोटी भने होइन । यसअघि संविधानको प्रस्तावनामा छलफल हुँदा पनि यो शब्दप्रति उसको कडा आपत्ति रहेको थियो । कांग्रेसले प्रस्तावनामा 'बहुलवादी खुला समाज' शब्द राख्न चाहेको थियो । माओवादीले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था राखिसकेपछि 'बहुलवादी' शब्द राख्नुको औचित्य छैन भनी यो शब्दको खुला आलोचना गरेको थियो । बुद्धिजीवी नेता डा. बाबुराम भट्टराईले त्यतिबेला सार्वजनिक रूपमा भनेका थिए- 'हामी बहुदल मान्छौं, तर बहुलवाद मान्दैनौं । माओवादी एकत्ववादमा विश्वास गर्छ । बहुत्ववादमा विश्वास नगर्ने हुनाले सैद्धान्तिक रूपमै बहुलवाद मान्न सकिँदैन ।'

बहुलवादको अभावमा बहुदलको कुनै अर्थ नदेख्नेहरू थुप्रै छन् । माओवादीले जात-जाति, भाषा-भाषी, राजनीतिक आस्था, विचार रक्षा गर्ने वचन दिइसकेको छ भने बहुलवादको विरोध

किन ? यसलाई मानवअधिकारवादी कृष्ण पहाडी 'बन्दुके कार्यकर्तालाई खुसी पार्ने जडसूत्रवादी फर्मूलामात्र भएको' टिप्पणी गर्छन् । उनी भन्छन्- 'संविधानसभाको माग र निर्वाचन हुनु नै बहुलवाद प्रवेशको उदाहरण हो । तर माओवादी आफ्ना जडसूत्रवादी र बन्दुक बोक्नेहरूलाई खुसी गर्न अनर्थको खेती गर्दैछन् ।'

पहाडी यो संविधानसभाबाट 'बहुलवाद विरोधी संविधान बन्न नसक्ने' तर्क राख्छन् । उनको तर्क छ- 'एउटा पन्क्षीको अन्डाबाट पन्क्षीको जन्म हुन्छ । मनुष्यको गर्भबाट मनुष्य नै जन्मन्छ । मताधिकारको पद्धतिबाट निर्मित संविधानसभा बहुलवादी संविधानकै पक्षमा हुनुपर्छ । प्रत्यक्ष मतबाट निर्मित संविधानसभाले एकतन्त्रीय या जनताकै विश्वासविरुद्ध बहुलवाद विरोधी संविधान जन्माउनै सक्दैन ।'

बहुलवादी शब्द 'ग्रीक' भाषाबाट आएको हो र यसको अर्थ 'धेरैको शासन' भन्ने बुझिन्छ । अर्थात् एकतन्त्रीय शासनको ठाउँमा धेरैजनाको प्रतिस्पर्धा र सहमतिमा शासन चलाउने बहुलवादी शैली हो ।

त्यसमाथि समाज कहिल्यै पनि एकरूपको हुँदैन, अर्थात् समाज बहुरूपबाट सञ्चालित हुन्छ । बहुलवादी दर्शन भनेको समाजको त्यही विविध रूप र यथार्थलाई स्वीकार गर्नु हो । आधुनिक लोकतन्त्रमा जनताको इच्छा र आकांक्षा पूर्ति गर्ने आधारभूत चरित्रको रूपमा 'बहुलवादी दर्शन'लाई लिइन्छ । यसको अभावमा शासकीय वृत्तमा सीमित हुने राजकीय शक्तिलाई आमतहमा वितरित गर्न सकिँदैन । जनताका फरक-फरक मत, जीवन पद्धति, विश्वास र अस्तित्वलाई समान स्वीकार गर्ने वातावरण बहुलवादी लोकतन्त्रमा मात्र प्राप्त हुन्छ । समाजका तिनै फरक खाले जीवन पद्धतिभित्र सहअस्तित्व, समझदारीको रेखा कोर्ने वातावरण बहुलवादी दर्शनले मात्रै प्रत्याभूत गर्न सक्छ ।

सबैले सबै वर्गप्रति सम्मान गर्न र सहनशील हुन बहुलवादी माहोल आवश्यक पर्छ । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने हो भने निश्चित रूपमा त्यो मुलुकमा 'वितण्डावाद' जन्मन्छ । बहुलवादकै अभावमा एकतन्त्रीय शासन व्यवस्थाहरू विघटन हुनपुगेका हुन् ।

बहुलवाद माओवादीले बुझेजस्तै 'वितण्डावाद' या 'अनिश्चय'को सिद्धान्त होइन । यो त विचार पोख्ने, संवादको वातावरण सिर्जना गर्ने तथा शक्ति र अधिकारमा जनताको सहभागिताको सुनिश्चितता गर्ने माध्यम हो भनी विज्ञहरूले तर्क गर्दैआएका छन् । बहुलवादी संस्कार भएको समाजमा अधिनायकवादीहरूलाई टाउको उठाउन हम्मे-हम्मे पर्छ । बहुलवादी समाजमा मात्रै संवादको वातावरण बन्छ । त्यस्ता संवादले लडाइँ-झगडालाई समेत न्युनीकरण गर्छ, फरक-फरक मत र मान्यता राख्नेहरूलाई संवाद गर्ने मौका दिन्छ । जहाँ संवाद हुन्छ, त्यहाँ शंका कम हुन्छ । 'अन डेमोक्रेसी'का लेखक रबर्ट ए. डाहल संवादकै कारण लोकतान्त्रिक पद्धति अपनाएका मुलुकहरूबीच लडाइँ नभएको फेहरिस्त अघि सार्छन् । उनका अनुसार, सन् १९४५ देखि १९८९ को अवधिमा भएका चांैतीसवटा अन्तर्राष्ट्रिय प्रकृतिका लडाइँमध्ये कुनै पनि लडाइँ बहुलवादी शासन पद्धति अपनाउने मुलुकहरूबीच भएका थिएनन् । लोकतान्त्रिक मुलुकहरूबीच न लडाइँको कुनै त्रास रहेको थियो, नत लडाइँ चर्काउने कुनै तयारी नै ।

यो तथ्यले पनि लोकतान्त्रिक मुलुकका शासक अहंकारी, अन्धराष्ट्रवादी, आफूलाई विशेष गुणसम्पन्न देखाउने लहडबाट प्रेरित नभई संवाद र सहमतिमा चल्छन् भन्ने देखाउँछ । डाहल लेख्छन्-'बहुलवादमा मात्र आधारभूत अधिकारहरूको बहाली हुन्छ, आम स्वतन्त्रता प्राप्ति र आत्मनिर्णयको अवसरदेखि नैतिक स्वायत्तता, मानवीय विकास, राजनीतिक समानता, अत्यावश्यक निजी हितहरूको संरक्षण प्रजातन्त्रमै मात्र प्राप्त हुन्छ । अनेकौं खाले स्वेच्छाचारी शासन पद्धतिले स्पष्ट देखिने किसिमले विफलता देखाइसकेकाले संसारका धेरै ठाउँमा लोकतन्त्र विरोधी आस्था र विचारधाराले आफ्नो आकर्षण गुमाइसकेका छन् ।'

नेपालमा पनि ०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि 'बहुलवादी खुला समाज' शब्द सुनिँदै आएको हो । पञ्चायतकालभरि यो शब्दमाथि 'प्रतिबन्ध' थियो । संसदीय कालखण्डभरि बहुलवाद शब्दको सीमित प्रयोग हुन्थ्यो । जब तत्कालीन राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थाविरुद्ध कदम उठाए, त्यसपछि फेरि बहुलवादी शब्द व्यापक बहसमा आएको हो । लोकतन्त्रको मुटुका रूपमा 'बहुलवाद'लाई लिइन्छ । 'लोकतन्त्रमा बहुलवादको व्यापक सैद्धान्तिक महत्त्व हुन्छ', राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल लेख्छन्- 'विविधता प्रकृतिको उपहार हो । राज्यले यसलाई नष्ट गर्न सक्दैन, न पूर्ण नियन्त्रण नै गर्न सक्छ । इँटा बनाएजस्तो गरी मानिस र समाजलाई समरूपी बनाउन खोज्ने सिद्धान्त र त्यसमा खडा भएका राज्य व्यवस्थाहरू आफैं ढलेर गएका छन् । एउटाको समाप्तिमा मात्र अर्काेले ठाउँ पाउँछ भन्ने जरुरी छैन । एउटालाई मान्यता दिँदा अर्काेलाई निषेध गर्नैपर्छ भन्ने पनि जरुरी छैन । विविध चाहना र मान्यता एकैसाथ सहअस्तित्वमा रहन सक्छन् ।'

राज्यको शक्ति एक ठाउँमा सीमित हुनुपर्छ र त्यो एउटा दलले मात्र उपयोग गर्नुपर्छ भन्ने मान्यता विश्वबाट पतन भइसकेको छ । जनतामा निहित सार्वभौमसत्ता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता, बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, मौलिक अधिकार, बालिग मताधिकारमा आधारित निर्वाचन लगायतका सवाल आधुनिक लोकतन्त्रको सर्वस्वीकृत मूल्य र मान्यता हुन् । यिनलाई निषेध गर्ने या साँघुरो पार्ने अवधारणा कुनै पनि लोकतान्त्रिक हुन सक्दैन ।

बहुजाति, बहुधार्मिक, बहुभाषिक समाजमा अन्तरसहिष्णुता र सम्पदाको रक्षाका निम्ति 'बहुलवाद'विनाको संविधान कोर्ने जमर्काे गर्नु मुलुकको हितमा छैन । पृथक दृष्टिकोणलाई सम्मान र मर्यादा नदिइकन कुनै पनि शक्ति अघि बढ्नसक्ने सम्भावना छैन । बहुलवादले मात्र पृथक दृष्टिकोण र एकताका तन्तुहरूलाई जीवित राख्न सक्छ । आफूबाहेक अरूको विचार र अस्तित्वलाई सम्मान नगर्ने हो भने मुलुकको एकताको तन्तु पनि समाप्त हुनसक्छ । माओवादीले समाजका विविध रूप, बहुदलीय प्रतिस्पर्धा, बहुल विचारलाई स्वीकार गर्ने हो भने बहुलवादी शब्दप्रति घृणा मेटाउनुपर्छ । बहुलवादी सामाजिक र राजनीतिक चरित्रको उपेक्षाले माओवादीप्रति शंसयमात्रै पैदा गर्छ ।

बहुलवादी शब्दको विरोध गर्नुको औचित्य पनि माओवादीले खुलाएका छैनन्, केवल शब्दको मात्रै विरोध गरी अमूर्त तर्क दिएका छन्, यसले 'अनिश्चय र वितण्डावादी' वातावरण सिर्जना गर्छ । पोलपोट, माओ, किमइलसुङ, स्टालिन, हिटलर, फिडेल क्यास्त्रोसम्मले बहुलवाद विरोधी अधियनाकवादी दर्शन प्रयोग गरेका थिए । यतिबेला बहुलवादको विरोध गर्नुमा त्यही पथ अपनाउन खोजेको हो कि भनी माओवादीइतर शक्तिहरू तर्सिएका हुन् । माओवादीले बाह्रबुँदे समझदारीदेखि यताका अनेक सहमतिहरूमा 'पूर्ण लोकतन्त्र'को पक्षमा आफूलाई उभ्याउँदै आए पनि बहुलवादबेगर पूर्ण लोकतन्त्र प्रत्याभूत हुन सक्दैन । त्यसो हो भने बहुलवादी शब्दप्रति किन घृणा ? जनताको मतमा निर्मित संविधानसभामै टेकेर अतिवादी सर्वसत्तावाद या अधिनायकवाद जन्माउन माओवादीले खोजेको हुनसक्छ, जसले चौतर्फी विरोधको माग गर्छ ।- KANTIPUR

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक