20110115

विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाई माघे सङ्क्रान्ति मनाइँदै

माघे सङ्क्रान्ति पर्व आज मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाई मनाइँदैछ। ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई 'मकर सङ्क्रान्ति' भन्ने गरिन्छ। आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।यस पर्वमा नेपालका देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा स्नान, दान, तर्पण–श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भिड लाग्छ।लड्डु तथा घ्यू–चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा 'घ्यो–चाकु सँल्हु' भनिन्छ।भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो...
हुनाका साथै निरोगी होइने उल्लेख छ।

आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।
यसैदिन भक्तपुरको टौमढीटोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ।
थारु समुदायमा यो पर्व 'माघी' पर्वका रूपमा बडो उत्साहका साथ मनाइने चलन छ। आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडीे, तिलको लड्डु, केराको तरुवा, खरिया, मुसाको मासु, गङ्टाको चटनी आदि बनाई खाने–खुवाउने तथा आफ्नो मौलिक पहिचान झल्काउने भेषभुषामा झर्रा, बडोनाच, बर्कानाच, मघौटा, रागनी, झुम्रा, धुमरा नाचगान गरी मनाउने प्रचलन रहेको छ।
यसै अवसरमा थारु समुदायले राजधानीमा तीनदिने माघीमेलाको आयोजना गरेको छ। मेलामा थारु समुदायको संस्कृति, भेषभुषा, नाचगान तथा खानाका परिकारहरु प्रदर्शनका लागि राखिने मेला आयोजकले बताएका छन्।
राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति डा. रामवरण यादवले थारु समुदायको नयाँ वर्ष माघी पर्व तथा माघे सङ्क्रान्तिका अवसरमा आज एक सन्देश दिँँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
राष्ट्रपति डा. यादवले सन्देशमा यो पर्व नेपालीको धार्मिक र सांस्कृतिक एकताको पर्वको रुपमा निरन्तर रही रहन सकोस् भन्नुभएको छ।
उहाँले सन्देशमा थारु समुदायमा विशेषरुपमा मनाइने यस माघी पर्वलाई देशका विभिन्न जातजाति तथा धर्मावलम्बीले पनि आ–आफ्नै रीतिरिवाज र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ भन्नुभएको छ।
राष्ट्रपति डा यादवले जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधताका बीचमा पनि समाजलाई एकताको सूत्रमा बाँधी सम्पूर्ण नेपालीलाई राष्ट्र निर्माणमा अग्रसर हुन यस पर्वले ऊर्जा प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु भन्नुभएको छ।

नेका सभापति कोइराला
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले थारु जातिले विशेष पर्वका रुपमा मनाउँदै आएको माघीको सुखद् अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। सभापति कोइरालाले आज एक शुभकामना सन्देश दिँदै प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वको बेग्लै विशेषता रहेका तथा एकले अर्काका यी विषयलाई आदर र सम्मान गर्ने आफ्नै विशिष्ट परम्परा रहेको बताउनुभएको छ।

सन्देशमा उहाँले देशमा लोकतान्त्रिक परिपाटी कायम भएपछि सरकारीस्तरबाट पनि यी सबैलाई सांस्कृतिक धरोहरको रुपमा सम्बर्द्धन गर्न तत्परता देखाइएको छ भन्नुभएको छ।
सभापति कोइरालाले सन्देशमा तराईका आदिवासी थारु जातिले धेरै पहिलेदेखि त्यहाँका अनेक कठिनाई एवम् औलो, कालाजारजस्ता ब्याधिको सामना गर्दै तराईलाई शस्यस्यामल भूमिमा परिणत गर्ने यी जातिको परिश्रम र योगदानको हार्दिक सराहना गर्नुभएको उल्लेख छ।

नेकपा (एमाले) अध्यक्ष खनाल
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले नेपालका आदिवासी थारु समुदायले हर्षोल्लासपूर्वक मनाउने माघी पर्वको विशेष अवसरमा देशभित्र र बाहिर रहेका थारु समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले माघे सङ्क्रान्तिलाई पर्वका रुपमा मनाउने मगर समुदाय तथा अन्य जनसमुदायमा समेत सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष खनालले आज शुभकामना सन्देश प्रकाशित गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन हरेक तह र तप्काका नेपालीहरूले सदियौँदेखि मनाउँदै आएका मौलिक चाडपर्व अझ हर्षोल्लासका साथ मनाउने परम्परा बसाल्न आवश्यक छ भन्नुभएको छ।
उहाँले देशको प्रमुख कार्यसूचीको रुपमा रहेको शान्ति र संविधान निर्माण राष्ट्रिय सहमतिबाट मात्र पूरा गर्न सकिने तथ्य घामजस्तै छर्लङ्ग छ भन्दै सन्देशमा हाम्राबीचमा रहेका विविध मतभिन्नतालाई बिर्सेर सहमतिको साझा बिन्दुमा पुग्न यस पर्वले सबैलाई प्रेरणा देओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक