20110122

“हामीलाई धेरै खुशी लागेको छ। यत्रो दिन शिविरमा बस्दा हामीलाई दिक्क लागिसकेको थियो” लडाकू

माओवादी लडाकूहरु सरकार मातहत आएको घोषणा

माओवादी लडाकूहरु घोषणासंगै लडाकूहरुको उनीहरुको पार्टि माओवादीसंग सम्बन्ध विच्छेद हुने ठानिएको छ, राष्ट्रसंघीय निकाय अन्मिनको अनुगमनमा बसेका माओवादीका लडाकूहरु शनिबारदेखि औपचारिक रुपमा सरकारको मातहतमा आएका छन्। सरकारसंगको शान्ति प्रक्रिया अन्तर्गत हतियार
बिसाएर शिविरमा बसिरहेका १९ हजार लडाकुहरु अब माओवादी पार्टीको अधीनबाट सरकारी समितिको अधीनमा हुनेछन्। सरकार र एकीकृत माओवादीका बीच केही दिन अघि भएको सहमति अनुसार लडाकूलाई समितिको अधीनमा ल्याउने काम चितवनको शक्तिखोर शिविरमा एक विशेष कार्यक्रमका बीच भएको थियो। सैनिक पोशाकमा सजिएका लडाकूहरुले रंगीविरंगी ध्वजापताकाले बेहुली घरजस्तो सजाइएको शिविरभित्र कवाज र खेल प्रदर्शन गरे। विभिन्न जातजातिको भेषभूषा लगाएका लडाकूहरुले सांस्कृतिक झाँकिहरुपनि प्रदर्शन गरे। मार्च पास तथा राष्ट्रिय गीतहरुको धुनसंगै शिविरमा नेपाली राष्ट्रिय झण्डा फहर्‍याएर लडाकूहरुको औपचारिक हस्तान्तरण गरिएको थियो। समारोहमा राजनीतिक दलका शीर्ष नेताहरु तथा विदेशी कुटनीतिज्ञहरुमात्र नभई नेपाली सेनाका सेनापति लगायतका उच्च सुरक्षा अधिकारीहरु समेत उपस्थित थिए। शनिबारदेखि उनीहरुको कमाण्ड एन्ड कन्ट्रोल अर्थात आदेश र नियन्त्रण मन्त्रिपरिषद अन्तर्गतको लडाकूहरुको समायोजन, रेखदेख र पुनर्स्थापनसम्बन्धी विशेष समिति मातहत आएको घोषणापत्रमा प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरे। “यस अघिसम्म तपाईंहरु माओवादीका कार्यकर्ता हुनुहुन्थ्यो। अब तपाईंहरु अन्तरीम संविधान बमोजिम गठित विशेष समिति अन्तर्गत आउनुभएको छ,” प्रधानमन्त्री तथा विशेष समिति संयोजक नेपालले बताए। हुन त संविधानसभाको निर्वाचन पछि गठित प्रचण्ड नेतृत्वको सरकारको पालामापनि लडाकूहरु विशेष समिति अन्तर्गत आएको घोषणा भएको थियो। तर त्यो कार्यान्वयन हुन सकेन। “त्यही घोषणालाई व्यवहारिकता प्रदान गर्न आज यो भव्य समारोह गरिएको हो,” प्रचण्डले आफ्नो सम्बोधनमा भने। घोषणापछि शिविरमा रहेका लडाकूहरुले खुशी प्रकट गरेका थिए, “हामीलाई धेरै खुशी लागेको छ। यत्रो दिन शिविरमा बस्दा हामीलाई दिक्क लागिसकेको थियो,” लडाकूले बताए। अन्मिन फर्किएको एक साता नवित्दै भएको माओवादी लडाकूहरुको हस्तान्तरणलाई शान्ति प्रक्रियाको एउटा निकै महत्वपूर्ण कदमको रुपमा लिइएको छ। उनीहरुको विभिन्न सरकारी सुरक्षा निकायहरुमा गरिने भनिएको समायोजन र पुनर्स्थापनाका कुराहरु टुंग्याउन भने अझै निकै काम गर्न बाँकि छ। तर गत केही समययता राजनीतिक अस्थीरताका कारण शान्ति प्रक्रिया ठप्प भएको गह्रुंगो अनुभूतिलाई भने शनिबारको कार्यक्रमले केही हलुका बनाइदिएको धेरैले ठानेका छन्।

यसरी गरियो माओवादी लडाकूको हस्तान्तरण (फोटो फिचर)





शनिबार चितवनको शक्तिखोरमा एक भव्य समारोह गरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सेनाको स्वामित्व विशेष समितिलाई सुम्पिएका छन्। दाहाललाई 'नोबडी'बाट  'नेशनल फिगर' बनाउन महत्वपूर्ण योगदान दिएको माओवादी सेना हस्तान्तरण कार्यक्रममा उनी पहिलाजस्तो भावुक देखिएनन्। नागरिकन्युजका चन्द्रशेखर कार्कीको फोटो फिचर।


समारोहमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ (दायाँ) का लागि बाटो खाली गर्दै एक लडाकू


प्रधानमन्त्री सहित सबै शीर्ष नेता र कुटनीतिक नियोगका अधिकारी


समारोहमा माओवादी अध्यक्ष दाहाल


समारोहलाई मोबाइलमा कैद गर्दै कांग्रेस सभापति सुशील कोइराला


लडाकू हस्तान्तरणको घोषणापत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहाल


समारोहको तस्विर लिँदै सर्वसाधारण

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक