20110204

काँग्रेस झलनाथ खनालको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी नहुने, पार्टीमा विभाजन ल्याउन चाहने केही तत्वले दलका शीर्षनेतालाई भड्काउन खोजेको काँग्रेस सभापति सुशील कोइरालाको आरोप

खनालले योग्य र सक्षम व्यक्तिहरु रहेको सानो मन्त्रिमण्डल बनाउने आफ्नो चाहना रहेको बताए
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बन्ने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने स्पष्ट गर्नुभएको छ।नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार भेटमा उहाँले खनाल नेतृत्वको सरकारलाई उसको गुण र दोषका आधारमा समर्थन गर्ने बताउनुभयो। शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन तथा निर्धारित समयमा संविधान जारी गर्न आफ्नो दलले प्रतिपक्षमा बसेर सरकारलाई सघाउने बताउनुभयो। सभापति कोइरालाले नेपाली काँग्रेस लोकतन्त्रका लागि सँधै लडिरहने पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताका लागि कसैसँग सम्झौता नगर्ने दृढता व्यक्त
गर्नुभयो। उहाँले पार्टीमा विभाजन ल्याउन चाहने केही तत्वले दलका शीर्षनेतालाई भड्काउन खोजेको आरोप लगाउनुभयो।
नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले योग्य र सक्षम व्यक्तिहरु रहेको सानो मन्त्रिमण्डल बनाउने आफ्नो चाहना रहेको बताएका छन् ।नवनिर्वाचित प्रधानमन्त्रीलाई शुभकामना दिन उनको घरमा पुगेका संचारकर्मीहरुसँग कुरा गर्दै उनले शान्ति र संविधान आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए । उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने र मुलुकमा व्याप्त अराजकताको अन्त्य गर्ने विशेष प्रयास गर्ने बताए । आफ्नो सरकारलाई बाम गठबन्धनका रुपमा नलिदिन भन्दै उनले लोकतान्त्रिक पक्षसंग सहकार्य गरेर अगाडि सबै दलहरुलाई आग्रह पनि गरे । आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्रीले फोन गरेर तथा चिनियाँ राजदूतले भेट गरेर शुभकामना दिएको उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक