20110222

तनहुँ दमौलीमा धारिलो खुँडा प्रहार गरी सोमबार तीन जना छिमेकीको हत्या, एक जनालाई गम्भीर घाइते, इटहरीमा एक युवाको हत्या

Breaking News.........
तनहुँ व्यास नगरपालिका-२ मालपोत लाइन दमौली बस्ने २३ वर्षीय युवक दिविङ रानामगरले धारिलो खुँडा प्रहार गरी सोमबार बिहान छिमेकी तीन जनाको हत्या गरेका छन् भने एक जनालाई गम्भीर घाइते बनाएका छन्। हत्या गरिएकामा ६० वर्षीय दिलबहादुर सापकोटा उनकी श्रीमती ५५ वर्षीया यशोदा सापकोटा र ६० वर्षीय टीका श्रेष्ठ रहेका छन्। गम्भीर घाइते हुनेमा श्रेष्ठकी श्रीमती ६० वर्षीया पार्वती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बिहान ६ बजे हातमा खुँडा लिएर निस्केका रानामगरले आफ्नो घरभन्दा पूर्वपट्टि ५० मिटर पर चार घरपछिको घरमा पसेर पूजा गरिरहेको अवस्थामा सापकोटा दम्पतीमाथि जथाभाबी खुँडा प्रहार गरी हत्या गरेका थिए । त्यसलगत्तै दक्षिणपट्टि करिब आधा किलोमिटर पर व्यास नगरपालिका-१० बीसघरे
बस्ने टीका श्रेष्ठ र उनकी श्रीमती पार्वतीमाथि आक्रमण गरेका थिए। गम्भीर घाइतेद्वयमध्ये पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा टीकाको मृत्यु भएको र उनकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बीसघरेमा किराना पसल गरी बसेका श्रेष्ठ दम्पतीलाई हत्या गर्न खोज्दा स्थानीय बासिन्दाले देखे पनि बचाउन सकेका थिएनन्। बचाउन खोज्नेलाई तँलाई पनि मार्छु भन्दै जाइलाग्यो कसैको केही लागेन -स्थानीय कृष्णबहादुर पन्तले नेपाल समाचारपत्रसँग भने। अभियुक्त रानामगरलाई बीसघरे र झापुटार जोड्ने झोलुंगेपुलबाट मादीनदीमा हामफाली भाग्ने क्रममा पानीमा खुँडा हराएपछि स्थानीय बासिन्दाले समात्न सकेका थिए। अभियुक्तले प्रहरीसमक्ष शुरुमा मालपोत लाइनमा बस्ने छिमेकी सापकोटा दम्पतीको हत्या गरेको र त्यसपछि बीसघरेमा श्रेष्ठ दम्पतीको हत्या गर्न गएको बताएपछि दुई ठाउँमा हत्या भएको रहस्य खुलेको थियो। सापकोटा दम्पती पूजाकोठामा मृत अवस्थामा फेला परेका थिए। सापकोटा परिवारका अन्य सदस्य भने त्यस बेला घरमा थिएनन् । अभियुक्त रानामगरको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ। सो घटनाले गर्दा सदरमुकाम दमौलीका बासिन्दा शोकमग्न छन् भने मृतकका आफन्त बेहोस भएका छन्। यसैबीच तनहुँमा सोमबार दुईवटा बेवारिसे शव पनि फेला परेका छन्। मादीनदीको किनारमा महिलाको र घाँसीकुवा-१ सुर्केखोलामा पुरुषको शव फेला परेको हो। उनीहरुको हत्या भएको हो वा आत्महत्या भन्नेबारे नखुलेको र शवको पहिचानसमेत हुन नसकेको प्रहरीले जनाएको छ।
सोमबार राति एक युवाको हत्या भएको छ। इटहरी-४ का ३५ बर्षीय निरबहादुर घिमिरेको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। राति सवा आठ बजेतिर चिनजानकै युवालेलाई छुरा प्रहार गरेपछि घाइते भएको घिमिरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो। मृतकको कोखामा दुई स्थानमा छुरा प्रहार गरेको प्रहरी निरीक्षक श्यामल सुब्बाले बताए। उनका अनुसार छुरा प्रहार गर्नेको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। छुरा प्रहार गर्ने युवा भने राति नै फरार रहेको जनाइएको छ। छुरा प्रहार गर्नुको कारण खुल्न नसकेपनि छुरा हान्ने युवा र मृतक घिमिरे साँझतिर सगै बसेर कुराकानी गरेर घर पुगेपछि पुनः बोलाएर छुरा हानेको प्रहरीले जानकारी दिइयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक