20110227

" माओवादीलाई केही दिन घुर्की लगायो भने अन्य महत्वपूर्ण मन्त्रालय हामीले पाइन्छ भन्ने लागेको होला, गृहमन्त्रालय हामीलाई दिन्नन् भन्ने माओवादीले पनि बुझेका छन्" : एमाले सचिव युवराज ज्ञवाली

 माओवादीले सरकारमा नजाने निर्णय गरे पनि सत्तारूढ दल नेकपा एमाले भने माओवादी सरकारमा सहभागी हुने विश्वस्त देखिएको छ। माओवादी सरकारमा सहभागी हुन्न भन्नु उसको घुर्किमात्र भएको एमालेका नेताहरूको भनाइ रहेको छ। माओवादीले सरकारमा नजाने भनी गरेको निणर्य केही दिनका लागि भन्दै उनीहरूले माओवादी यथाशीघ्र सरकारमा सहभागी हुने विश्वास व्यक्त गरेका हुन्। "गृहमन्त्रालय हामीलाई दिन्नन् भन्ने माओवादीले पनि बुझेका छन्," एमालेका एक नेताले भने "केही दिन घुर्की लगायो भने अन्य महत्वपूर्ण मन्त्रालय पाइन्छ भन्ने लागेको होला।" एमाले सचिव युवराज ज्ञवालीले पनि माओवादीले सरकारमा सहभागी नहुने निर्णय केही समयका लागि मात्र भएको
उल्लेख गर्दै माओवादी सरकारमा सहभागी हुनेमा विश्वस्त रहन आग्रह गरे। "माओवादी पनि सरकारमा सहभागी हुन्छ," उनले भने, "कुन–कुन मन्त्रालय कसरी दिने भन्ने बिषयमा छलफल भइरहेको छ।" उनले माओवादीलाई पनि सरकारमा सहभागी गराउन औपचारिक तथा औपचारिक वार्ताहरू भइरहेको जानकारी गराउँदै माओवादी छिट्टै नै सरकारमा सहभागी हुने बताए। "माओवादीले सरकारमा सहभागी हुने भनिसकेको छ यस विषयमा उसले पनि सोंच्नुपर्छ एमाले त आफ्नो जिम्मेवारी पूरा गरीरहेको छ," ज्ञवालीले भने। एमाले सचिव शंकर पोखरेलले माओवादी कुनै हालतमा सरकारमा सहभागी हुने दाबी गरे। सरकारमा सहभागी नहुने माओवादी स्थायी समिति बैठकको निर्णय केही दिनका लागि मात्रै भएको दाबी गर्दै सचिव पोखरेलले केही दिनभित्रमा उ सरकारमा सहभागी हुने निश्चित भएको बताए। माओवादीलाई सरकारमा सहभागी गराउन विभिन्न छलफल तथा वार्ताहरू भइरहेको बताउँदै पोखरेलले माओवादी चाँडै नै सरकारमा सहभागी भई सरकारले पूर्णता पाउनेमा विश्वास व्यक्त गरे। माओवादी सरकारमा सहभागी हुने विषयमा दुई दल (माओवादी–एमाले) बीच छलफल भइसकेकाले अबका केही दिनभित्रमा सरकारले पूर्णता पाउने बताए। एमाले स्रोतका अनुसार गृहमन्त्रालय अहिले केही समयका लागि भने माओवादीलाई नदिने निष्कर्षमा एमाले रहेको छ।
गृहमन्त्रालयमा दुई दलबीच सहमति हुन नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन। एमाले हाललाई गृहमन्त्रालय प्रधानमन्त्रीले राख्नुपर्ने धारणा राख्दै आएको छ भने माओवादी आफूले नै पाउनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नहुने निर्णय गरेको छ।सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल पनि निष्कर्षविहीन भएको छ। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताहरूबीचको छलफलमा सरकारलाई पूर्णता दिने विषयमा टुंगो नलागे पनि छलफल गरी केही दिन भित्रमा पूर्णता दिने विषयमा भने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिए। छलफलमा माओवादी अध्यक्ष दाहालले सातबुँदे सहमतिका विषयमा एमालेको स्पष्ट धारणा नआएको भन्दै माओवादी स्थायी समिति बैठकले सरकारमा नजाने निर्णय गरेको जानकारी गराएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक