20110313

शुक्रबार जापानमा आएको भूकम्प र सुनामीका कारण अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु भएको छैन :जापान स्थित नेपाली राजदूतावास

शुक्रबार जापानमा आएको भूकम्प र सुनामीका कारण अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु नभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘नेपाली राजदूतावास जापान सरकारको परराष्ट्र मन्त्रालयमा स्थापित आकस्मिक शाखासंग निरन्तर सम्पर्कमा रहेको र त्यहांबाट प्राप्त सूचनाको आधारमा हालसम्म कोही नेपाली हताहत भएको बुझिएको छैन ।’- दूतावासले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । दूतावासले सम्पर्कबिहीन भएका नेपालीहरु पनि धमाधम सम्पर्कमा आइरहेको बताएको छ । राजदूतावासका उपनियोग प्रमुख डा. दुर्गाबहादुर सुबेदीले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा बिद्युत आपूर्ति बन्द भई संचारसम्पर्क टुटेका कारण सम्पर्कमा नआएका नेपालीहरु क्रमशः सम्पर्कमा आइरहेको जानकारी दिनुभएको छ । नेपाली संघसंस्था समेतको संलग्नतामा गठित भूकम्प तथा सुनामी प्रभावित/पीडित सहयोग समितिका संयोजकसमेत रहनुभएका सुबेदीले जारी गर्नुभएको बिज्ञप्तीमा मियागी प्रान्तको सेन्दाइ
शहरमा साइनो रेष्टुरेन्ट सुनामीले बगाएको तर उक्त रेष्टुरेन्टका प्रोपाइटर रमेश देवान र उहांको परिवार सुरक्षित रहेको जानकारी आएको बताइएको छ ।
‘यस्तै इबाराकी प्रान्तमा सम्पर्कमा नआएको भनिएका विद्यार्थीहरु श्रीमती जानकी काफ्ले-भण्डारी, राजेश थापा र शिव न्यौपाने तथा सेन्दाइ शहरमा सम्पर्क विच्छेद रहेको भनिएका अरुण दवाडी, भवानी दवाडी, आभा दवाडी, सन्दीप ढुङ्गाना, आशीष आचार्य, कुसुम जोशी र आधार लामिछानेहरु पनि सुरक्षित रहेको र उहांहरु पनि राजदूतावासको सम्पर्कमा रहनुभएको व्यहोरा अनुरोध गरिन्छ ।-’दूतावासको बिज्ञप्तीमा भनिएको छ । मियागी प्रान्तको केसानु भन्ने नगरमा रेष्टुरेन्ट व्यवसाय गरि बस्नुभएकासोबन तुलाचन र उहांकी श्रीमति मीना तुलाचन पनि सम्पर्कमा आएको तर उनीहरुले संचालन गरेको रेष्टुरेन्ट भने सुनामीले बगाएको दूतावासले जानकारी दिएको छ ।
जापानमा आएको महाभूकम्प र सुनामीको क्षति र नेपालीहरुको अवस्थावारे सञ्चार माध्यमहरुलाई यथासम्भव जानकारी गराउने प्रयत्न गरिरहेको भन्दै जापानमा रहेका नेपालीका नेपालस्थित आफन्तलाई आश्वस्त पार्न दूतावासले प्रयास गरिरहेको सुबेदीले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक