20110601

'हरेक नेपाली र हिन्दू नारीले आफ्नो श्रीमानले मदिरा नखाओस् भन्ने चाहन्छन्, म पनि त्यही चाहन्छु' - पूर्वयुवराज्ञी हिमानी शाह

फेरि युवराज्ञी भइएला भन्ने लागेको छ ? भन्ने प्रश्नको जवाफमा हिमानीले ससुरा ज्ञानेन्द्रकै शैलीमा भनिन्, 'यो त जनताले गर्ने फैसला हो । जनताले दिने फैसला हामीले मान्नुपर्छ ।'
image- भुवन शर्मा-
पूर्वयुवराज्ञी हिमानी शाहले नयाँ पत्रिकालाई जीवनकै पहिलो अन्तर्वार्ता दिएकी छन् । अन्तर्वार्तामा उनले श्रीमान् पारसबारे मिडियामा नकारात्मक समाचार आउँदा दुःख लाग्ने गरेको बताएकी छन् । मिडियाले सत्यतथ्य नबुझी समाचार बनाउने गरेको उनको आरोप छ । उनले श्रीमान्ले मदिरा सेवन गर्न छाडे हुन्थ्यो भन्ने चाहना पनि खुलस्त पारेकी छन् । 'हरेक नेपाली र हिन्दू नारीले आफ्नो श्रीमान्ले मदिरा नखाओस् भन्ने चाहन्छन्, म पनि त्यही चाहन्छु,' उनको भनाइ छ । पुल्चोकस्थित हिमानी ट्रस्टको कार्यालयमा अन्तर्वार्ता दिँदा उनी आत्मविश्वासपूर्वक बोलिन् र वेलावेलामा यो पनि भनिन्, 'मनमा लागेको कुरा ढुक्कसँग सोध्नुहोस् ।' उनीसँग ट्रस्टका सचिव पावना शाह र सदस्य पनि थिए । हरेक प्रश्नको उत्तर उनले ती सदस्यहरूलाई हेरेर दिने गर्थिन् । ट्रस्टका कर्मचारीले भने राजनीतिक विषयमा प्रश्न नगर्न आग्रह गर्दै थिए । तैपनि हिमानीसँग केही राजनीतिक प्रश्न पनि सोध्ने कोसिस नयाँ पत्रिकाकर्मीको थियो । तर, उनले राजनीतिसँग सम्बन्धित सबै प्रश्नमा कूटनीतिक जवाफ दिइन् । 'नेपाली जनताको चाहनाअनुसार राजनीति अघि बढेको छैन । आमनेपाली जनता यसमा दुःखी छन् । म पनि त्यसरी नै दुःखी छु,' सामयिक राजनीतिप्रति उनको
टिप्पणी थियो ।
राजनीतिमा आफू सक्रिय नहुने निश्चय भए पनि सर्वसाधारण नेपालीजस्तै राजनीतिमा चासो भने भएको उनको भनाइ छ । फेरि युवराज्ञी भइएला भन्ने लागेको छ भन्ने प्रश्नको जवाफमा हिमानीले ससुरा ज्ञानेन्द्रकै शैलीमा भनिन्, 'यो त जनताले गर्ने फैसला हो । जनताले दिने फैसला हामीले मान्नुपर्छ ।' 
मंगलबार दिउँसो झन्डै एक घन्टा लामो अन्तर्वार्ताका क्रममा हिमानी कुनै प्रश्नमा छोटो बोलिन्, कुनै प्रश्नमा केही लामो । तर, सबै प्रश्नमा उनी हाँसीहाँसी बोलिन् ।
अन्तर्वार्ता
जनचाहनाअनुसार राजनीति अघि बढेन
तपाईं हिमानी ट्रस्टमार्फत समाजसेवामा लाग्नुभएको छ, मान्छेहरूले राजनीति गर्ने बाटो खोज्नुभयो भन्छन्, खासमा के हो ?
जनताबीच जान एनजिओ स्थापना गर्नुपर्दैन । म सधैँ जनताको साथमा जान्छु । र, सधैँ रहिरहेको छु पनि । पहिले पनि म जनताको साथमै थिएँ । जनतामा जान कसैलाई माध्यम बनाइराख्नु पर्दैन । म जहाँ जाने गरेकी छु, स्थानीय जनताबाट माया सद्भाव पाउने गरेकी छु । नेपाली दाजुभाइ दिदीबहिनीले मलाई हृदयदेखि नै स्वागत र माया देखाउने गर्नुभएको छ । फेरि सामाजिक सेवा क्षेत्रमा मेरो रुचि भएकाले हिमानी ट्रस्टको स्थापना गरेकी हुँ । मेरो सानो प्रयासले देश र जनताका लागि केही सेवा गर्न सकियोस् भनेर म यो क्षेत्रमा आएकी हुँ । मेरो परिवारिक पृष्ठभूमि पनि समाजसेवा क्षेत्रमा संलग्न भएकाले यो क्षेत्रमा आउन मलाई प्रेरणा मिलेको हो ।
तर, तपाईंले हिमानी ट्रस्ट खोलेर दोलखामा कार्यक्रम गरिरहनुभएको छ, यो समाजसेवा होइन, राजनीति हो भनेर दोलखाबाटै विरोध भएको छ नि ?
त्यस्तो होइन, यदि म राजनीति गर्ने भएको भए पार्टी नै खोल्ने थिएँ । किन ट्रस्ट खोल्थेँ र ? मैले त समाजसेवा गर्ने भनेर नै ट्रस्टको स्थापना गरेकी हुँ । म विशुद्ध समाजसेवा गर्न चाहन्छु । र, मैले त्यसको विरोध भएको पनि पाएकी छैन । दोलखाका स्थानीय जनताले मलाई स्वागत र माया नै गरिरहनुभएको छ ।
राजनीतिमा तपाईंको रुचि छ कि छैन त ?
आमनेपालीलाई राजनीतिप्रति जसरी चासो र रुचि छ, त्यसरी नै मलाई पनि यसमा चासो छ । आमनेपालीसरह नै म पनि नेपाली राजनीतिप्रति अनभिज्ञ त छैन, तर राजनीतिमा जाने मेरो कुनै सोचाइ छैन ।
अहिलेको राजनीति तपाईंलाई कस्तो लाग्छ ? 
नेपाली जनताको चाहनाअनुसार राजनीति अघि बढेको छैन । आमनेपाली जनता यसमा दुःखी छन् । म पनि त्यसरी नै दुःखी छु ।
अनि पूर्वयुवराज्ञी भएर जनताबीच जाँदा कस्तो अनुभव हुँदोरहेछ ?
म पहिले पनि स्थानीय जनताकोमा गएकी हुँ । स्थानीय दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष्य रूपमा भेट्दा मलाई निकै खुसी लाग्छ । त्यतिखेर मलाई स्थानीय जनताकै छोरीबुहारी हुँ जस्तो महसुस हुन्छ ।
युवराज्ञी भनेर सम्बोधन सुनिरहेकाले अहिले पूर्वयुवराज्ञी भन्दा दुःख लाग्दैन ?
यसमा मलाई सरोकार छैन ।
कुनै वेला फेरि युवराज्ञी होइन्छ जस्तो लाग्दैन तपाईंलाई ?
यो जनताको चाहनाको कुरा हो । नेपाली जनताले जे चाहन्छन्, त्यही हुनुपर्छ । मलाई लाग्छ, यो विषय नेपाली जनतालाई छाडिदिनुपर्छ र नेपाली जनतालाई निर्णय गर्न दिनुपर्छ । यो विषयमा निर्णय गर्न जनतामा जानुपर्छ । हामीले जनताको निर्णय मान्नुपर्छ ।
अरू देशमा पनि राजपरिवार र राजनीतिक परिवारका सदस्यहरू ट्रस्ट खोलेर सामाजिक काममा सक्रिय भएको देखिन्छ । तपाईंले पनि उनीहरूको अनुशरण गर्नुभएको हो कि ? 
मेरो व्यक्तिगत रुचि र समाजप्रतिको कतव्र्यले म यो क्षेत्रमा आएकी हुँ । यसमा अरू कारण केही होइन ।

यो काम गर्नुपर्छ है भनेर तपाईंलाई सल्लाह चाहिँ कसले दियो ? 
कसैको सल्लाह र प्रेरणामा भन्दा पनि सामाजिक परिवेश र नेपाली जनताको प्रेरणाबाट म यो क्षेत्रमा आएकी हुँ ।
यो विषयमा तपाईंलाई आ-आफ्ना ससुरा र पतिले के भन्नुहुन्छ ? 
उहाँहरूबाट सहयोग पाइरहेकी छु । उहाँहरूको सहयोग र प्रेरणाबाट नै म यो क्षेत्रमा आएकी हुँ । हो, उहाँहरूको चाहना पनि त्यही थियो ।
तर, ट्रस्टमा किन पूर्वराजपरिवारका सदस्यहरू मात्र छन् ?
परिवारका सदस्यहरूको समजासेवाप्रतिको चाहनाले अहिले उनीहरू संलग्न भएका हुन् । तर, परिवारबाहिरबाट पनि यहाँ -ट्रस्टमा) हुनुहन्छ । हामीले सदस्यता बढाउँदै छौँ ।
तर, तपाईंले दोलखा नै किन रोज्नुभयो ? 
काँही न काँहीबाट कार्यक्रम त सुरु गर्नै पर्ने थियो । म व्यक्तिगत काममा दोलखा गएको वेला त्यहाँका स्थानीय दाजुभाइ र दिदीबहिनीले मलाई जसरी माया देखाउनुभयो र आफ्ना समस्या जसरी राख्नुभयो । त्यसपछि मलाई यहीँबाट नै कार्यक्रम सुरु गरौँजस्तो लाग्यो । अहिले हामी दोलखाको नाम्दु गाविसलाई नमुना गाविस बनाउँदै छौँ । त्यहाँबाट अनुभव लिएर हामी अरू जिल्ल्ाामा जान्छौँ । शिक्षा, स्वास्थ्य, युवा र विकास निर्माणका कार्यक्रमहरू विस्तार गर्दै जाने हाम्रो नीति छ । प्रत्येक महिना एउटा एउटा नयाँ कार्यक्रम थप्दै जाने हाम्रो योजना छ ।
तपाईंले कोषमा लगानी गर्नुभएको पैसा व्यक्तिगत हो कि कतैबाट आएको सहयोग ?
अहिले ५० लाख रुपैयाँ छ । अहिलेसम्म हामी कार्यसमितिका सदस्यहरूले व्यक्तिगत रूपमा जुटाएको रकम हो । तर, सहयोग आउने क्रम जारी छ । हिमानी ट्रस्टमा सहयोग आइरहेको छ । यसमा सहयोग गर्न खासगरी दाताहरू र केही आइएनजिओहरूले चासो देखाउनुभएको छ । काम गर्दै जाँदा हामीलाई सहयोग त चाहिन्छ नै । 
कार्यक्रमका लागि तपाईं पटक-पटक दोलखा पुग्नुभयो, तर के जनताको घरघरमा जानुभएको छ, उकालो ओरालो हिँडेर जनताको सुख दुःख बुझ्नुभएको छ ?
सुख दुःख बुझ्न नै मैले ट्रस्ट खोलेकी हुँ । म अहिलेसम्म मोटरबाटोसम्म मात्र गएकी छु, तर दुर्गम जिल्लाहरूमा पैदल यात्रा गरेर स्थानीय जनताको पीडा दुःख र स्थिति प्रत्यक्ष्य रूपमा बुझ्ने मेरो ठूलो चाहना छ । खासगरी कणर्ाली अञ्चलको दुर्गम जिल्लाहरूमा हिँडेर पुग्ने मेरो चाहना छ ।
ट्रस्टबाट तपाईंले के पाउनुभयो र के दिनुभयो ?
समाजसेवा गर्ने र जनताको सुख दुःखलाई नजिकबाट नियाल्ने अवसर मैले हिमानी ट्रस्टबाट पाएकी छु । यसैगरी समाजसेवा क्षेत्रमा केही गर्ने हौसला पनि मैले पाएकी छु । जहाँसम्म मैले के दिएँ भन्ने कुरा हो, यसको मूल्यांकन त नेपाली जनताले नै गर्नेछन् ।
ट्रस्टका अहिलेसम्मको खास काम के-के हो ?
तामाकोसीमा तारजाली वितरण गरिएको छ, दोलखाको भुस्ती निमाविमा भवन निर्माण, शौचालय निर्माण र पटक-पटक गरिएका स्वास्थ्य शिविरहरू यसको अहिलेसम्मका कामहरू हुन् । स्वास्थ्य शिविरलाई अध्यावधिक गर्न हामीले एम्बुलेन्स, औषधि र शवबाहनका सेवा पनि पुर्‍याउँदै छौँ । यसैगरी हामीले दोलखाको नाम्दु गाविसलाई नमुना गाविस बनाउँदै छौँ । अब अरू जिल्लामा कार्यक्रम सुरु गर्दै छौँ ।
ट्रस्टमा सहयोगका लागि कसैसँग अनरोध गर्नुभएको छ ?
हो, सहयोगका लागि आग्रह गरेका छौँ । थोपाथोपा मिलेर समुद्र बन्ने नै हो ।
तर, एनजिओमा दिइएको सहयोगमा भ्रष्ट्राचार हुन्छ भनिन्छ नि ?
हामीसँग त्यस्तो हुँदै हुँदैन । हामी एकदमै पारदर्शी छौँ । दाताहरूले दिएको सहयोग कस-कसमा कति-कति खर्च भयो भनेर हामीले पारदर्शी ढंगले दाताहरूलाई जानकारी गराउने गर्छौं । 
सरकारले सहयोग गरे, तपाईं सहयोग लिन तयार हुनुहन्छ ?
राष्ट्रले सहयोग गरे, हामी सहयोग लिन्छौँ । किनभने हामीले देश र जनताकै लागि काम गर्ने हो ।
फेरि व्यक्तिगत जीवनमै फर्कौं, तपाईंको श्रीमान् पूर्वयुवराज पारस वेलावेलामा विवादमा आइरहनुहुन्छ । यसरी विवादमा आउँदा तपाईंलाई कस्तो लाग्छ ?
उहाँको विषयमा विवाद कसरी आए भन्ने पनि हो । ती विवाद वास्तवमै सही भएको भए स्वभाविकै हुने थियो, तर कहिलेकाँही ती विवाद यथार्थभन्दा बाहिर गएर आउने गर्छन् । सत्यतथ्य नबुझेर मिडियामा समाचार आउँदा मलाई दुःख लाग्छ । त्यसकारण सत्यतथ्य बुझेरमात्र समाचार आउने गरेको भए हुन्थ्यो जस्तो मलाई लाग्छ ।
पारिवारिक जीवनमा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 
म पूर्ण रूपमा सन्तुष्ट छु ।
तपाईंको श्रीमान्ले मदिरा नखाए हुन्थ्यो भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?
हरेक नेपाली र हिन्दू नारीले आफ्नो श्रीमान्ले मदिरा नखाओस् भन्ने नै चाहन्छन् । त्यसरी नै म पनि मेरो श्रीमान्ले मदिरा नखाइदिए हुँदो हो भन्न्ने नै चाहन्छु ।
मदिरा नखान सल्लाह पनि दिइरहनुहुन्छ होला नि ?
यो त निजी कुरा भयो ।
राजसंस्था ढल्दा तपाईंलाई दुःख लागेको थियो ?
यो त नेपाली जनताको कुरा हो । भइसकेको कुरा भयो । नेपाली जनताले जे चाहन्छन्, त्यही हुनुपर्छ भन्ने मेरो भनाइ हो ।
विदेश गएर उतै बस्न मन लाग्दैन ?
विदेशमा बस्ने कुनै सोचाइ बनाएकी छैन ।
तपाईं निकै राम्री हुनुहुन्छ नि ?
खोई, मलाई त त्यस्तो लाग्दैन । आम नेपालीसरह नै छु ।
फेसनेबल पनि हुनुहुन्छ नि ?
त्यस्तो होइन । आफूलाई जे मन पर्छ, जे सजिलो हुन्छ । त्यही लुगा लगाउने गर्छु ।
तपाईंलाई धर्मकर्ममा रुचि छ कि छैन ?
धर्ममा मलाई रुचि छ । धार्मिक कार्यक्रममा सहभागी हुन मन लाग्छ ।
मन्दिर पनि जानुहुन्छ ?
मन्दिर जाने गर्छु । खासमा शिव मन्दिरमा जाने गर्छु । पशुपतिनाथ मन्दिरमा जान्छु ।
तस्बिरः ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

1 comment:

  1. who is the present princess?.... a princess is always princess there is no former princess... she is always the princess of our proud kingdom. the queen of england is not known as the former queen... she is also always princess

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक