20110714

संसद स्थगित, रोकियो बजेट, अर्थमन्त्रीले बजेटको ब्रिफकेससमेत संसदमा पुर्‍याइसकेका बेला बजेट पेश गर्न नसकेकामा क्षमायाचना

Exclusive News from Nepal
कांग्रेस, माओवादी र एमाले तीन दलले मात्र सहमति गरेर ल्याउने बजेट आफूहरुलाई मान्य नहुने : मधेसवादी दल
अर्थ मन्त्री भरतमोहन अधिकारीले बजेटको ब्रिफकेससमेत संसदमा पुर्‍याइसकेका बेला बजेट पेश गर्न नसकेकामा देशबासीसँग क्षमायाचना गरेका छन्। उनले पत्रकार सम्मेलनमार्फत् भने- मैले सहमतिमै बजेट ल्याउँछु भनिसकेकाले लाचार भएर राष्ट्रिय हितका लागि पनि बजेट रोकेको हुँ। बजेट पेश गर्न
नसकेपछि संविधान सभा भवनमै आयोजना गरेका पत्रकार सम्मेलनमा उनले भने- म बजेट पेश गर्न सघाउन सबै दललाई आग्रह गर्छु। उनले मधेसी मोर्चाको आग्रह र प्रमुख तीन दलको सहमतिमा भोलि १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको पनि बताए। अर्थ मन्त्री अधिकारीले सहमति र सहकार्यविना अघि बढ्न नसकिने भन्दै भोलि बजेट पेश गर्ने बताए। र भने- भोलिसम्म मधेसी मोर्चाका साथीहरु कन्भिन्स हुनेछन् भन्ने विश्वास छ। उनले सरकारको तर्फबाट कमजोरी भएको पनि स्वीकार गरे।


संसद भोलिसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री, अर्थमन्त्रीसँग मधेसवादी दलका नेताहरुबीच भएको छलफलपछि वैठक स्थगित भएको हो। तीन दल माओवादी, कङ्ग्रेस र एमालेले मधेसवादीको मागका बारेमा छलफल गर्ने निर्णय गरेका छन्। भोलि १ बजेसम्मका लागि बैठक स्थगित भएको हो। यसअघि मधेसी दलबीच हुने भनेको वार्ता बसिनसक्दै स्थगित भएको छ। अर्थ मन्त्री भरतमोहन अधिकारीले मधेसी दलका नेतालाई वार्ताका लागि बोलाएपनि पाँचवटै मधेसी दलका नेताले वार्ताको वातावरण नबनाएको भन्दै छलफल बहिस्कार गरे। 'हामीले वार्गेनिङ गरेको होइन,' वार्तामा सहभागी फोरम गणतान्त्रिकका सहअध्यक्ष राजकिशोर यादवले भने, 'अब कुनै वार्ता हुँदैन। हामी बजेट ल्याउन दिन्नौं।'
मधेसवादी दलका एक नेताले कुनै पनि हालतमा बजेट ल्याउन नदिने दावी गरेका छन्। सरकारमा सहभागी मधेसी जनअधिकार फोरमबाट टुक्रिएको फोरम (गणतान्त्रिक) का सह-अध्यक्ष राजकिशोर यादवले मधेसी दललाई चौथो शक्तिका रुपमा स्वीकार नगरेकोले बजेट ल्याउन नदिने बताए। 'अर्थमन्त्रीलाई हामीले प्रस्तुत गरेका मागपत्रको विषय अब गौण भयो, मधेसी मोर्चालाई चौथो शक्तिका रुपमा स्वीकार गर्ने कि नगर्ने भन्ने विषय प्रमुख हो', उनले भने। यादवले कांग्रेस, माओवादी र एमाले तीन दलले मात्र सहमति गरेर ल्याउने बजेट आफूहरुलाई मान्य नहुने स्पष्ट गरे। यसअघि अर्थ मन्त्री भरतमोहन अधिकारीले बजेट भाषण गर्नुअघि नै मधेसवादी दललाई सम्वोधन नगर्ने हो भने आजको बजेट भाषण गर्न उनलाई रोस्टमसम्म पुग्न नदिने एक मधेसवादी नेताले बताएका थिए। तराई मधेस लोकतान्त्रिक पार्टीका सह महामन्त्री जितेन्द्र सोनारले नागरिकन्युजसँग भने, 'हामीलाई रेस्पोन्स गरिएन भने अर्थमन्त्री रोस्टमसम्म पनि पुग्न पाउने छैनन्।' उनले मधेसवादी दलहरु हिजोकै निर्णयको अडानमा रहेको दावी गरे। बजेट त गोप्य हुन्छ नि भन्ने प्रश्नमा सोनारले भने, 'हामीले राजश्वजस्तो संवेदनशील विषयमा के छ भनेका छैनौ, हामीले राखेको तर बताउन मिल्ने कुरामात्र खोजेका हौं।' मधेसवादीको माग पूरा नभए कुनै पनि हालतमा बजेट आउन नदिने दावी गरे। 'हाम्रो विरोध माओवादीको भन्दा कडा हुनसक्छ,' उनले भने, 'सरकारले गर्ने व्यवहारमा नै त्यो निर्भर हुन्छ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक