20110818

खबरदार मोबाइल फोन प्रयोग गर्नेहरु, तपाईं के निम्त्याउदै हुनुहुन्छ थाहा छ तपाईंलाई ? !

- सम्झना शाक्य-
आजको मानवसभ्यताको विकासमा सञ्चारमाध्यमले एकदमै ठूलो प्रभाव पारेको छ । टेलिफोन, मोबाइल फोन, इन्टरनेटजस्ता सेवा आजभोलि हरेक क्षेत्र र वर्गका मानिसका लागि अत्यावश्यक भइसकेको छ । मोबाइल फोन नबोक्ने युवा तथा वयस्कहरू एकदमै कम भेटिन्छन् । कहीँ कतै जाँदा मोबाइल फोन छुट्यो भने फर्केर गएरसमेत लिन जान्ो गरिन्छ । यसबाट के बुझिन्छ भने हामी मोबाइल फोनप्रति अति निर्भर हुन थालिसकेका छौँ । हुन पनि आजको व्यस्त जीवनशैलीमा सामाजिक सञ्जालको रूपमा पनि यसले काम गरेको छ । साथीभाइ, इष्टमित्रहरूलाई मोबाइलबाट नै तुरुन्तै कुराकानी गर्न सकिन्छ । आज आएर मोबाइल देखासिकीमा मात्र सीमित छैन । मानिसको दैनिक जीवनसँग यसले प्रत्यक्ष सम्बन्ध राख्दछ । कामकुरोलाई छिटो-छरितो
गर्न, सूचनालाई तुरुन्त प्रवाह गर्न, आकस्मिक समस्याहरू परेका बेला मोबाइल फोनले ठूलो योगदान पुर्‍याउँदै आएको छ । यसैले मोबाइललाई आधुनिक संस्कृतिका रूपमा व्याख्या गर्न सकिन्छ ।
यद्यपि, हालै मेको अन्ततिर, क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान एजेन्सीले मोबाइल फोनलाई क्यान्सर गराउन सक्ने तत्त्वको रूपमा परिभाषित गरिदिएको छ । यो खबरसँगै विश्वको ध्यान मोबाइल फोन र स्वास्थ्यको सम्बन्धको विश्लेषणमा केन्द्रित भएको छ । यो हल्ला, यो चासो, यो चहलपहल पहिलाका वर्षहरूमा नभएका भने होइनन् । तर, गत वर्ष यही एजेन्सीले १३ वटा देशमा गरिएका अध्ययनको आधारमा मोबाइल फोनलाई क्यान्सर गराउने स्पष्ट कारक तत्त्वको रूपमा लिन नसकिने कुरा बताइएको थियो । तर, विज्ञान र प्रविधि समयको प्रवाहसँगै विकसित हुँदै जाने हुँदा, भर्खरै निस्किएको सनसनीपूर्ण खबरलाई नकार्न भने सक्दैनौँ । हुन त अझै धेरै अध्ययन अनुसन्धानहरू हुनु जरुरी छ, यद्यपि अत्यधिक मात्रामा मोबाइलको प्रयोग गर्ने मानिसमा ग्लिओमा नाम गरेको ब्रेन ट्युमरको केही प्रमाणहरू भेटिएका छन् । यिनै प्रमाणहरूको आधारमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान एजेन्सीले मोबाइल फोनलाई पनि क्यान्सरका अरू सम्भावित कारकतत्त्वहरूजस्तै कीटनाशक औषधिहरू, लिड, सिसीका अचारहरू, कफीको दर्जामा राखिदिएको छ ।
मोबाइल फोनलाई आधुनिक धुम्रपानको संज्ञा पनि दिइन्छ । यसप्रतिको मानिसहरूको निर्भरता र यसको क्यान्सरसँगको सम्बन्धले पनि यस्तो भनिएको हो । लगभग ४० वर्ष अगाडिसम्म पनि धुम्रपानलाई सानको रूपमा लिइन्थ्यो तर यो क्यान्सरको प्रमुख कारकतत्त्व बनेको छ । कतै मोबाइल फोन पनि यस्तै हुने त होइन भन्ने शङ्का विश्वभर व्याप्त भएको छ । त्यसैगरी स्वीडेनको लुन्ड युनिभर्सिटीले मोबाइल फोनको अत्यधिक प्रयोगबाट अल्जेमियर डिजिस -बिर्सिने रोग) र पारि्कन्सनस डिजिस (नशाजन्य रोग) हुन सक्दछ भनी शङ्का गरेको छ । म्ाोबाइल फोन पड्केको र मानिस मरेको घटनासमेत हामीले सुनेका पनि छौँ । अध्ययनहरूले प्रमाणित नै नगरे पनि मोबाइल फोनमा लामो समय कुरा गर्दा कान रन्किने, दिक्क लाग्ने, थाक्ने अनुभव त हामी आफैंले पनि गरेका छौँ । मोबाइल फोनबाट इलेक्ट्रोम्याग्नेटिक रेडियसन -एक प्रकारको विकिरण) निस्किने गर्दछ । यो मोबाइल फोन प्रयोगमा नरहेको बेला पनि निस्किरहन्छ । जसले शरीरमा विभिन्न नोक्सानी गर्न सक्दछ । यसले डीएनएको विनाश गर्छ भन्ने वैज्ञानिक धारणा छ । त्यसविपरीत, कुनै पनि मोबाइलहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पास गरेर बजारमा आएका हुँदैनन् । जति पनि मोबाइलहरू बजारमा आएका छन् तिनको गुणस्तर मापन गर्दा कहिले पनि स्वास्थ्यको हिसाबले सोचिँदैन न त हामी मोबाइल किन्दाखेरि नै त्यो कुरा सोच्दछौँ । हुन त कतिपय मोबाइलहरूलाई सुरक्षित तरिकाले बनाउन थालिएका पनि छन्, यसको विकिरणको असरलाई कम गर्ने चिप्सहरू टाँस्न पनि मिल्छ भन्ने सुनिन्छ । तर, यो सबैको पहुँचमा भने छैन ।
मोबाइल फोन र ब्रेन क्यान्सर
सुरुमा सन् १९९३ मा अमेरिकाको फ् लोरिडामा बस्ने एकजना व्यापारी डेभिड रेयनार्डले आफ्नी श्रीमती सुसनको ब्रेन क्यान्सरको कारण मृत्यु हुनुमा मोबाइल फोन प्रमुख कारकतत्त्वको रूपमा रहेको भनी क्षतिपूर्तिका माग गरेपछि मोबाइल फोन र ब्रेन क्यान्सरको विषयमा धेरै छलफल, अध्ययन तथा अनुसन्धान हुन थालेको हो ।
हाल विश्वमा मोबाइल फोन र स्वास्थ्य सरोकारको कुरा गर्दाखेरि प्रमुख चासोको विषय नै मोबाइल फोनले ब्रेन क्यान्सर हुन सक्छ भन्ने तथ्य हो । मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक रेडियसनले मस्तिष्कमा रहेका डीएनए भन्ने कोषहरूलाई विनाश गर्छ जसले गर्दाखेरि मस्तिष्कको क्यान्सर हुन सक्दछ भन्ने विश्वास छ । मोबाइल कानमा टाँसेर कुरा गर्दा यसबाट निस्किने रेडियसनले मस्तिष्कलाई बढी असर गरेको हो । बालबालिकाहरूको टाउको सानो हुने, टाउकोका हड्डी पनि पातला हुने र टिस्युको कनेक्टिभिटी पनि धेरै हुने हुँदा ठूला मानिसलाई भन्दा साना बालबालिकालाई मोबाइल फोनको दुष्प्रभाव बढी पर्न जान्छ ।
अस्पतालमा मोबाइल फोनको प्रयोग
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा मोबाइल फोनको प्रयोग गर्नु हुन्छ कि हुँदैन भन्ने विषयमा विभिन्न धारणाहरू छन् । अस्पताल एक आकस्मिक क्षेत्र भएको कारणले आकस्मिक सूचनाहरू यथाशक्य चाँडो प्रवाह गर्न अस्पतालमा मोबाइल फोनको ठूलो महत्त्व रहेको हुन्छ । तर, त्यसको विपरीत अनावश्यक रूपमा अस्पतालमा मोबाइल फोन प्रयोग गर्दा बिरामीलाई असुविधा पुग्न जान्छ । त्यति मात्र होइन, अध्ययनहरूले यो नै प्रमाणित गरिसकेको छ कि अस्पतालमा अति गम्भीर बिरामीहरूको हेरचाहमा प्रयोग गर्न मेसिन, मनिटर, भेन्टिलेटरजस्ता यन्त्रहरूमा मोबाइल फोनको विकिरणले नकारात्मक असर पुर्‍याउँछ । गम्भीर भएका बिरामीलाई राख्ने वार्डहरूमा मोबाइल फोनको प्रयोग गर्नु घातक हुन्छ । यसले भेन्टिलेटरजस्ता संवेदनशील साधनहरूको सिस्टम गोलमाल गरिदिने आदि गर्न सकिन्छ । अझ कहिलेकाहीँ त यस्ता यन्त्रहरू भ\mयाप्प बन्दसमेत भइदिन सक्छन् जुन कुरा गम्भीर बिरामीहरूका लागि ठूलो जोखिम बन्न सक्छ । यसैले आईसीयू, सीसीयूजस्ता संवेदनशील वार्डहरूमा झुक्किएर पनि मोबाइल फोनको प्रयोग गर्नुहुँदैन । यस्ता वार्डहरूमा काम गर्नुहुने स्वास्थ्यकर्मीहरूले पनि ड्युटीमा रहेको अवस्थामा मोबाइलफोनको प्रयोग कम गर्ने र बिरामी तथा यन्त्रहरूको छेउछाउमा प्रयोग गर्नुहुँदैन । बिरामी कुरुवा, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूलाई अस्पतालभित्र मोबाइल फोनको प्रयोग गर्नु एक किसिमको बाध्यता भए पनि बिरामी भेट्न जाने व्यक्तिहरूले अस्पताल परिसरभित्र मोबाइल फोन प्रयोग नगर्दा धेरै राम्रो हुन्छ ।
मोबाइल फोन र सवारी दुर्घटना
मोबाइल फोनको प्रयोगबाट कतिपय सवारी दुर्घटनाहरू हुने गरेका छन् । मोबाइलमा कुरा गर्दा चालकको ध्यान अन्यत्र जाने हुँदा सानो लापरबाहीले पनि ठूला-ठूला दुर्घटनाहरू हुन सक्दछ । यसैले सवारीसाधन साइड लगाएर रोकेर मात्र कुरा गर्नुपर्छ । अर्को कुरा हयान्ड्स फ्री गरेर कुरा गर्न पनि सकिन्छ जसले गर्दा स्टेरिङ छोड्नुपर्दैन । अथवा साथमा रहेको अर्को साथीलाई फोन उठाउन लगाउन सकिन्छ । मिल्छ भने स्वत: जवाफ दिने सिस्टम राख्न सकिन्छ जसले गर्दा तपाईंले कलको रेकर्ड पछि थाहा पाएर महत्त्वपूर्ण कलहरू पछि फर्काउन सक्नुहुन्छ । हुन त सवारी साधन चलाउँदै गर्दा मोबाइलको प्रयोग गर्नु कुनै हिसाबले राम्रो होइन तर यदि तपाईं जोखिम मोलेर कुरा गर्ने नै गर्नु भएको छ भने कृपया मोबाइल फोनलाई गाडीमा चट्ट हातले भेट्टाइहाल्ने ठाउँमा राख्नुहोस् ता कि मोबाइल फोन टिप्न तपाईंको आँखा यताउता घुमाउन नपरोस् ।
मोबाइल फोन र अपराध
मोबाइल फोनलाई धम्की, अपहरणजस्ता आपराधिक क्रियाकलापहरूमा पनि प्रमुख हतियारको रूपमा प्रयोग गरेको पाइन्छ । त्यस्तैगरी मोबाइल फोनको निहुँमाझैं झगडा, कुटपिट हुनुका साथै हत्यासमेत भएको पाइन्छ । मोबाइल फोनको चोरी हुने पनि सामान्य घटना भइसकेको छ । यसैले मोबाइल नम्बरको सही प्रयोग गर्नु तथा गोपनीयता राख्नु अत्यन्तै जरुरी छ । फेसबुक, मिग, ओर्कुटज्ास्ता सामाजिक सञ्जालहरूमा हतपति मोबाइल नम्बरहरू राख्नुहुँदैन । जनसम्पर्कमा रहनुपर्ने व्यक्तिहरूले कार्यालयको मोबाइल र आफ्नो व्यक्तिगत मोबाइल नम्बर अलग-अलग गर्दाखेरि राम्रो र सुरक्षित हुन्छ । मोबाइल फोनको कारणले घरायशी झैझगडा हुने र कतिको त डिभोर्स भएको र कतिजनाले त आत्महत्या नै गरेको समाचार पनि बेलाबेलामा सुनिन्छ । त्यसैले मोबाइल फोनको प्रयोगमा सामाजिक कारणले पनि सावधानी अपनाउनु अत्यन्तै जरुरी छ । त्यसको साथै मोबाइल फोनलाई आडम्बर, विश्वास-अविश्वासको कुरा, स्वाभिमानको कुरासँग जोड्नुभन्दा पनि मोबाइल फोन सञ्चारको एक माध्यम मात्र हो भन्ने तथ्यलाई सम्झिनुपर्छ ।
मोबाइलसँग सम्बन्धित केही स्वास्थ्यबर्द्धक टिप्स :
  - समेकर भन्ने यन्त्र प्रत्यारोपण गरेका बिरामीले पेसमेकर राखेकोतिरको हातबाट मोबाइलको प्रयोग गर्नुहुँदैन ।
  - वारीसाधन चलाउँदा-चलाउँदै मोबाइलमा कुराकानी गर्नुहुँदैन ।
-  अस्पतालजस्तो संवेदनशील क्षेत्रमा मोबाइल फोन स्विचअफ गर्नु आधुनिक सभ्यताको परिचय दिनु हो ।
-  बच्चाहरूलाई सकेसम्म मोबाइल फोनमा कुरा गर्न दिनुहुँदैन ।
  - बाइल फोनमा लामो समयसम्म कुराकानी गर्दा हेडफोन वा स्पिकरको प्रयोग गरी मोबाइल फोनको विकिरणको प्रभावलाई कम गर्न सकिन्छ ।
  - मोबाइल फोनको मेसेज पठाउने प्रविधिको बढी प्रयोग गरी प्रत्यक्ष गर्ने कुराकानीलाई कम गर्न सकिन्छ ।
  - बाइल फोनमा लामो कुराकानी गर्नेभन्दा पनि यसलाई आकस्मिक अवस्थामा प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।
  - बाइल फोनलाई सकेसम्म आफ्नो शरीरभन्दा टाढा राख्नु नै यसको सुरक्षाको प्रमुख उपाय हो ।
अन्तमा, मानवजीवनको पर्याय बनेको यो साधन आज स्वास्थ्यको चासो पनि बनेको छ । सूचना तथा सञ्चारको महत्त्व हामीलाई यति धेरै भइसकेको छ कि हामी मोबाइल फोन नै प्रयोग नगरौँ त हामी भन्न नै सक्दैनौँ । तर, आज सबैले एकपटक सोच्न जरुरी छ कि यो कतै हाम्रा लागि घातक त भइराखेको छैन ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक