20110903

पैसा, सत्ता र मोजमस्तीमा लिप्त भएका माओवादी भित्रैका नेताहरुलाई कारबाही गरेर बैद्यपक्षले क्रान्ति थाल्ने घोषणा !

 'माओवादी नेता अहिले आफै तस्कर बने'


पाँचखालस्थित समाज कल्याण चौरमा शनिवार आयोजित सभाबाट १० वर्षे जनयुद्धलाई बिर्सिएर पैसा, सत्ता र मोजमस्तीमा लिप्त भएका माओवादी भित्रैका नेताहरुलाई कारबाही गरेर बैद्यपक्षले क्रान्ति थाल्ने घोषणा गरिएको हो । कार्यक्रम नगर्नको लागि संस्थापन पक्षको आक्रमण, धम्कीका बाबजुद पनि क्रान्तिको घोषणा गर्नको लागि बैद्यपक्षले आयोजना गरेको निरन्तर क्रान्तिका लागि जागरण जनसङ्गीत अभियानमार्फत माओवादी पार्टीका नेताहरुलाई कारवाही गरेरै क्रान्ति थाल्ने घोषणा गरे । लडाकु शिविरको हतियार-कन्टेनरको साँचो बिशेष समितिलाई बुझाउने निर्णय विरुद्धमा उत्रेका माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले पार्टी भित्रैबाट क्रान्ति थाल्ने घोषणा गरेको छ । माओवादीभित्र सामन्ती चरित्र पलाएकाले त्यसलाई तोड्नुको एक मात्र विकल्प क्रान्ति भएको भन्दै केन्द्रीय सदस्य माइला लामा बिशाल जनसमूदायको माझ क्रान्ति सुरु गर्ने औपचारिक घोषणा गरेका थिए । 'हिजो भ्रष्ट र तस्करलाई कारवाही गर्ने माओवादी नेता अहिले आफै भष्ट र तस्कर बने,' घोषणा सभामा बोल्दै उनले भने 'नेताहरु सत्ता, पैसा र मोजमस्तीमै लागे । १० वर्षे जनयुद्धमा हामीले बगाएको रगतलाई बिर्सिए ।'भष्ट र तस्कर माओवादी नेताहरुलाई कालोमोसो दलेर घुमाउनको लागि जनसमूदायलाई उनले आहृवान समेत गरे ।  बैद्यपक्षलाई कार्यक्रम गर्न नदिनको लागि संस्थापन पक्षका कार्यकर्ताले शुक्रवार उनीहरु माथि पाँच खालमै कार्यक्रमको तयारी गरिरहेको अवस्थामा आक्रमण समेत गरेका थिए । ठग र भष्टहरुलाई साथ दिनको लागि हिजोसँगै एउटै मोर्चामा लडेकालाई कुट्न सम्म नेताहरु पछि नपरेको उनले बताए । 'जनयुद्ध लडेका हामीहरुको अहिले
सम्म क्रान्ति पुरा भएको छैन,' उनले भने 'क्रान्तिलाई पुरा गर्नको लागि पार्टी भित्रका भ्रष्ट र तस्करलाई अब हामी कारवाही गर्दछौ, ।'   उनीहरुले माओवादी क्षेत्र.न. ३ का सभासद् एंव बैद्यपक्ष तेजबहादुर मिजार सहित अन्यलाई नियन्त्रणमा लिएका थिए । संस्थापन पक्षको आक्रमणमा परि नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य लेखराज गजमेर र पाँचखाल एरियाका सेक्रेटरी सिताराम दाहाल घाइते भएका छन । दाहालको टाउको र हातमा चोट लागेको छ । दुबै पक्षको झडप हुन सक्ने अवस्था सिर्जना भएपछि कार्यक्रमस्थलमा प्रहरी र सशस्त्रले कडा सुरक्षा दिएका थिए भने पाँचखाल एरिया वरिपरि दुबै सुरक्षा निकायका सहित १ सय भन्दा बढी सुरक्षाकर्मी प्रशासनले परिचालन गरेको थियो ।

लडाकुका हतियार भण्डारण गरिएका कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएपछि उत्पन्न विवाद मिलाउन बसेको बैठकमा चर्काचर्की भएको छ ।
शनिबार साँझ बसेको स्थायी समिति बैठकमा संस्थापन पक्ष र उपाध्यक्ष मोहन वैद्य समूहबीच चर्काचर्की भएको हो । निर्णय फिर्ता गर्नुपर्ने वैद्य समूहको मागप्रति प्रधानमन्त्री बाबुराम भट्टराईसहित संस्थापन समूहले आपत्ति जनाएपछि चर्काचर्की भएको हो ।
विवाद नमिलेपछि पुनः आइतबार दिउँसो एक बजे बैठक बस्ने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । 'सवै कमरेडहरुले एकसरो बोल्नेक्रम सकिएको छ,' बैठकपछि शर्माले भने, 'भोलि निष्कर्ष निस्कन्छ ।'
पार्टीभित्र बहस र छलफल उत्कर्षमा पुगे पनि विभाजन नहुने प्रवक्ता शर्माले सञ्चारकर्मीलाई बताए । 'बहस र छलफल हुन्छ, सडकसम्मै भइरहेको छ,' उनले भने, 'तर माओवादी त्यस्तो पार्टी हो जुन विभाजन हुन जानेको छैन ।'
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्यसहित सवै स्थायी समिति सदस्य सहभागी थिए । साँचो विवाद मिलाउन शुक्रबार बिहान बोलाइएको बैठक वैद्य पक्षधर नआएपछि स्थगित गरिएको थियो ।
कन्टेनरको साँचो बुझाउने निर्णयको विरोधमा वैद्य पक्षधर सडक आन्दोलनमा नै उत्रिएको छ । उसले शुक्रबार बिहान देशभर एक घण्टा सडक जाम गर्‍यो भने साँझ मसाल जुलुस निकाल्यो ।
प्रधानमन्त्री अध्यक्ष रहेको सेना समायोजन विशेष समितिको बैठकमा माओवादीले सहमति जनाएपछि बिहीबार र शुक्रबार गरेर सात वटै लडाकु शिविरको साँचो बुझाइएको हो ।
साँचो बुझाउनु 'आत्मसमर्पण र जनसेना विघटन' गर्नुसरह भएको भन्दै वैद्यले विज्ञप्ती जारी गरेका थिए । जवाफमा अध्यक्ष दाहालले पनि बक्तब्य जारी गर्दै वैद्यको क्रियाकलाप पार्टी पद्धतिविपरीत भएको भन्दै आलोचना गरेका थिए ।

शिविरमा रहेका माओवादी लडाकुका हतियार राखिएका कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई हस्तान्तरण गरेकोमा रोल्पाका माओवादी कार्यकर्ताले विरोध जनाएका छन् ।
बाबुराम नेतृत्वको सरकार र माओवादीले गरेको उक्त निर्णय पार्टी र क्रान्ति विपरीत भएकाले तत्काल सच्याउन नेताहरुले माग गरेका छन् । माओवादी सचिव चुडामणि वलीले विज्ञप्ति निकाली सेना समायोजनको बारेमा छलफल चल्दै गरेका बेला लिइएको उक्त निर्णय आत्मघाती भएको जनाएका छन् ।
'यो निर्णयले जनमुक्ति सेनालाई निःशस्त्रीकरण गर्ने, विघटन गर्ने र जनयुद्धको मूल्य मान्यतालाई ध्वस्त पार्ने गरेकाले नसच्याए आन्दोलन गर्ने निश्चित छ,' उनले भनेका छन् । उनी उपाध्यक्ष मोहन बैद्य धारका रोल्पा अगुवा हुन् । पार्टीले यस्तो निर्णय लिएर पुरानै सत्ताको झल्को दिन खोजेको उनले बताए । सेना सामायोजनको मोडालिटी र पुनः स्थापनाको प्याकेजबारे कुरा चलिरहेको बेला यस्तो निर्णय हतारमा लिनु पार्टी पद्धति विपरीत भएको यो पक्षको चेतावनी छ ।



एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले कन्टेनरका साँचो बुझाउने निर्णय खारेजीको माग गरेका छन् ।
वैद्य र थापाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै साँचो बुझाउने कदम नितान्त निःशस्त्रीकरणको प्रक्रिया भएकाले यसमा आफूहरू सैद्घान्तिक रूपमा सहमत हुन नसक्ने उल्लेख गरेका छन् । यसलाई उनीहरूले 'राष्ट्रिय आत्मसमर्पणवादको संकेत' समेत भनेका छन् ।
 'हतियार रहेको कन्टेनरको चाबी बुझाउने प्रश्न निःशस्त्रीकरणको मान्यताअनुरूपको एउटा कदम हो । बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानमा स्पष्टतः 'सेना समायोजन' को उल्लेख गरिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'निःशस्त्रीकरण गरी सिभिलियन (नागरिक) बनाएर व्यक्ति भर्नाको परिकल्पना गरेको छैन । चाबी बुझाउने कदम नितान्त निःशस्त्रीकरणको प्रक्रिया भएकाले यसमा हामी सैद्धान्तिक रूपले कदापि सहमत हुन सक्दैनौं ।'
अध्यक्षले पदाधिकारीहरूलाई जानकारी नदिई रहस्यमय ढंगले कमान्डरहरू भेला पारी चाबी बुझाउने निर्णय गरेको उनीहरूको आरोप छ । 'निर्णय गर्ने प्रक्रियामा पनि अध्यक्षबाट पदाधिकारीहरूलाई जानकारी नदिने मात्र होइन, महासचिव तथा सुरक्षा विभाग प्रमुख बादललाई समेत कुनै जानकारी नदिई क्यान्टोन्मेन्टबाट केही कमान्डर कमरेडहरूलाई जम्मा गरी सहस्यमय ढंगले निर्णय गरिएको छ,' विज्ञप्तिमा भनिएको छ । 
उनीहरूले स्थायी समिति बैठकमा अध्यक्षले कन्टेनरको चाबी बुझाउने प्रस्ताव ल्याएपछि छलफल हुँदा अन्तरिम संविधान र बृहत् शान्ति सम्झौताकै सैद्धान्तिक मान्यताविपरीत भएको भनी त्यसलाई सर्वसहमतिबाटै अस्वीकृत गरिएको दाबी गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक