20111110

बाबुरामले केही गर्छन् भन्ने उनका मतियारहरुले अझैपनी गुणगान गाउने कि यता पनि ध्यान दिने ??

हत्यारालाई माफी दिने, हत्यारालाई मन्त्री बनाउने बाबुरामका नाममा उनकी श्रीमती हिसिला यमीले पनि कम फाईदा उठाएकी छैनन !
- राजन नेपाल
माओवादी राजनीतिक वृत्तभित्र आक्रामक स्वभावका कारण चर्चामा रहने गरेकी हिसिला यमी यतिखेर आफू देशको प्रथम महिला भएको दाबी गर्छिन्। संसदीय मर्यादाक्रममा उनका पति प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्थान दोस्रो भए पनि राष्ट्रपति आलंकारिक राष्ट्रप्रमुखको हैसियतमा रहेकाले हिसिलाको दाबीमा दम छ भन्ने उनका समर्थक धेरै छन्।
परम्परागत नेपाली मान्यताअनुसार राजकाजमा पोथी बास्नु अशुभ मानिन्छ। नेपालको शाहवंशमा पोथी बास्न थालेपछि राजतन्त्रको शक्ति चुक्दै गएको बताउँछन् इतिहासकारहरू। जब जब रानीहरूले राजालाई 'ओभरटेक' गरे, तब तब नेपाली राजतन्त्र संकटमा पर्‍यो। रानी ऐश्वर्यको चुरीफुरी नबढेको भए २०४६ सालमा हिसिलाहरूले उनलाई पम्फादेवीको नाम दिनै पाउने थिएनन्।
नयाँ नेपालमा नयाँ अवतारका रूपमा देखापरेकी हिसिलाले पुराना मान्यतामा विश्वास गर्ने कुरै भएन। आफ्नो सहयोगबिना आफ्ना विद्वान पति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शक्ति र सत्ताको नैया एक्लै पार लगाउलान् भन्ने विश्वास हिसिलालाई छैन। आफ्नी पत्नीको राजनीतिक क्षमतामा विश्वास गर्दै आएका विद्वान बाबुरामले राजनीतिमा आवश्यक तत्वका रूपमा अनिवार्य हुँदै गएको तिकडम, छलछाम र जालझेलको जिम्मा उनैलाई दिएका छन्। बाबुरामलाई सत्ताको 'हट सिट'मा टिकाइराख्न हिसिला आफ्नो काँधमा जग बलियो बनाउने जिम्मेवारी
आएको बताउँछिन्। आफू निकटका सञ्चारकर्मी हुन् या शुभचिन्तक, हिसिला खुलेर कुरा गर्छिन्, 'बाबुराम सोझा छन्। सत्ताबारे केही जान्दैनन्। उनले गर्न नसक्ने काम मैले गर्दा के बिग्रियो?'
दोस्रो जनआन्दोलनलगत्तै काठमाडौँमा हिसिला 'एक्सटोर्सन क्विन' को उपनामले चर्चित थिइन्। व्यापारीहरू चन्दा उठाउन हिसिला आफैँ सुटकेस बोकेर आफ्नो घरमा आएको बताउँथे। अहिले ती व्यापारीहरू गुमनाम बस्न रुचाउँछन्। उनीहरू देशकी प्रथम महिलाको अगाडि देखापर्नै चाहँदैनन्।
काठमाडौँको रैथाने नेवारकी छोरी हिसिला केन्द्रीय राजनीतिको केस्रा केस्रा बुझेको दाबी गर्छिन्। नेपाली राजनीतिका विवादास्पद व्यक्तित्व धर्मरत्न यमीकी कान्छी छोरी हिसिला प्रधानमन्त्री पत्नी बनेपछि उनको चुरीफुरी बढेको छ। जोरीपारी कुरा काटन थालेका छन्। माओवादीकी एक प्रभावशाली नेत्री भन्छिन्, 'कमरेड यमीको बारेमा कुरै नगर्नुस्। तपाईँहरूले जे सुन्नुभएको छ, हामीले पनि त्यही सुनिरहेका छौँ। उहाँले शक्तिको स्वाद मज्जाले लिइरहनुभएको छ।'
यतिबेला माओवादी पार्टीमा हिसिलाको विपक्षमा बोल्नसक्ने कोही देखिएका छैनन्। पार्टीमा वैचारिक विवाद भएकाले पनि अवस्था अप्ठ्यारो छ। यस्तो बेलामा हिसिलाको आँखी बन्न डराइरहेका छन्, उनकै प्रतिस्पर्धी पनि।
यमीको विवाद यात्रा
कमरेड यमीको गतिविधि मन्त्री हुँदा पनि विवादरहित बन्न सकेको थिएन। र, अहिले फस्ट लेडी (प्रधानमन्त्री पत्नी) भएपछि यसले झन तीव्रता पाएको छ। 'आर्थिक मामिला र आफन्तलाई पक्षपोषणमा उहाँ वान हुनुहुन्छ,' अनौपचारिक कुराकानीमा एक माओवादी नेताले यमीबारे आफ्नो विश्लेषण सुनाए।
विसं २०६३ मा पहिलो अन्तरिम सरकारको भौतिक योजना तथा निर्माण मन्त्रीमा नियुक्तिसँगै उनले सत्तामा आफ्नो प्रयोगको खुबीको प्रर्दशन गरेकी थिइन्। सरकारको नेतृत्व कांग्रेसको हातमा थियो। तैपनि उनको रवाफ हेर्नलायक थियो। आफ्नो मन्त्रालयअर्न्तगत राजनीतिक नियुक्ति गर्नसक्ने सबै ठाउँमा आफ्ना पारिवारिक चौघेराका सदस्यलाई उनले दिएको नियुक्तिले खुबै चर्चा पाएको थियो त्यो बेला। आलोचनाको प्रतिवादमा उनले प्रयोग गरेको 'सक्षम व्यक्ति' शब्दावली 'जोक' बनेको थियो।
हिसिला पहिलोपटक मन्त्री हुँदा मेलम्ची खानेपानीको ठेक्का र एडिबीसँग ऋण लिने मामिलामा भएको करोडौँको डिल अहिले पनि चर्चित छ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा उनले नेपालमा भारतीय एयर मार्सल राख्न दिनुपर्छ भन्दै जोडदार लबिङ गरेर आफ्नो विवादित छविलाई निरन्तरता दिएकी थिइन्।
'हाम्रा कमरेडहरू त्यागी छन्,' एक माओवादी बुद्धिजीवी भन्छन्, 'श्रीमतीहरू भने पाएसम्म दुवै हातले सोहोर्ने प्रवृत्तिका। मौका मिल्नासाथ गुटमुट्याइहाल्ने। श्रीमान् शक्तिमा भएका बेला चुप लागेर बस्ने बिरलै छन्। कमरेड हिसिला यो मामिलामा दुई कदम अगाडि देखिनुभएको छ।'
प्रशासन र कर्मचारीतन्त्रमा आफ्नो विशेष दक्षता रहेको दाबी गर्ने यमी अहिले छाया सरकार चलाइरहेकी छिन्। पर्यटन आफ्नो रुचि र ज्ञान भएको क्षेत्र भएकाले त्यसमा आफ्नो प्रत्यक्ष हस्तक्षेप हुनुपर्ने उनको जिकिर छ। कानुनतः उनले सरकारको कुनै पनि गतिविधिमा हस्तक्षेप गर्न सक्दिनन्। तर, प्रधानमन्त्रीको पत्नीको रवाफको शक्तिको दुरुपयोग गरिरहेकी छिन्।
प्रधानमन्त्री भट्टराईको भनाइ र गराइमा एकरूपता नहुनुमा 'फस्ट लेडी' हिसिलाको यही प्रतिभाले काम गरेको बाबुराम निकटकै टिप्पणी सुनिन्छ। बाबुराम भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको भाषण गर्छन्। हिसिला अंकमा शून्य थप्दै चन्दा संकलन गर्छिन्। मितव्ययी हुने भाषण गरे पनि निजी सचिवालायमा ४० कर्मचारी भर्ना गरेर रेकर्ड तोडिनुमा हिसिलाकै योगदान बढी देखिन्छ।
माओवादीमा जनवादी केन्द्रीयताको अभ्यास जिवितै छ भन्ने देखाउन पार्टी हेडक्वाटरले राजनीतिक नियुक्तिको सूचि तयार पार्छ। तर हिसिलाको जिद्दीले सूचि बिग्रने गरेको छ। जानकारका अनुसार बाबुराम धुरुधुरु रुँदा पनि हिसिला हाँसिरहन सक्ने पात्र हुन्। राजनीतिक नियुक्ति दिने बेला प्रधानमन्त्री बाबुरामका अगाडि हिसिला आफन्तको नामको सूचि लिएर ठिंग उभिन्छिन्।
पर्यटन बोर्ड गठनका बेला उनले आफ्ना नातेदार पर्नैपर्ने ढिपी गरकै कारण अहिलेसम्म बोर्ड गठन हुन सकेको छैन। नयाँ सरकारको महान्यायाधिवक्ता नियुक्तिमा उनले आफ्नो शक्ति देखाइसकेकी छिन्। मुक्ति प्रधानले उनकै जोडबलमा महान्यायाधिवक्ता बन्ने सौभाग्य पाएका हुन्।
सिंहदरवार मूलढोकाअगाडि नै सम्पर्क कार्यालय खोलेर उनले 'फस्ट लेडी'को जिम्मेवारी पूरा गरिरहेकी छिन्। कार्यालयलाई पत्रिकाको आवरण दिइएको छ। तर, मन्त्रालयका सचिवलाई फोनमार्फत फाइल मगाएर निर्देशन दिन उनले त्यही कार्यालयको उपयोग गरिरहेकी छिन्। 'प्रधानमन्त्रीज्युलाई फाइल बुझाउनुअगाडि मलाई भन्नुहोला,' हिसिलाको निर्देशन सुनाउँदै एक सचिवले नाम उल्लेख नगर्ने सर्तमा भने, 'तपार्इँहरूले सोझो देखेर फसाउन सक्नुहुन्छ।'

प्यारो पारिवारिक घेरा
हिसिला यमी यतिविघ्न कम्युनियल छिन् की उनलाई नेवारै चाहिन्छ। अझ त्यसमा पनि यमी र तुलाधर थर भएका उनको पहिलो प्राथमिकतामा पर्छन्। अन्य नेवार थर भएकाहरूलाई उनी सकेसम्म स्पेस दिन्नन्। मन्त्री हुँदा दिदी कोयोदेवी यमीलाई राष्ट्रिय योजना आयोग सदस्य, अर्की दिदी तिमिला यमीलाई काठमाडौँ खानेपानी योजना समितिको अध्यक्ष र दिदी चिरक शोभा यमीलाई त्यही समितिको सदस्य नियुक्ति गरेकी थिइन्। उनले गरेको नियुक्तिको पार्टीभित्र चर्को विरोध भएपछि उनले क्षमतावान्लाई नियुक्त गरेको भन्दै टारेकी थिइन्।

भाडामा बसेको घर किन्ने तयारी
प्रधानमन्त्रीको रूपमा बाबुराम भट्टराईले प्रधानमन्त्रीको कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उनकी श्रीमतीको नाममा फुट्या कौडी छैन। बरु उनकै खातामा चार लाख रुपैयाँ छ। छोरी मानुषीको खातामा करिब १० लाख रुपैयाँ देखिन्छ।
विश्वस्त स्रोतका अनुसार उनै सर्वहाराकी नेत्री हिसिला यतिखेर सानेपामा आफैँ भाडामा बसिरहेको घर किन्ने तयारीमा छिन्। स्रोतका अनुसार उनले भाडाको घरको मर्मतसम्भार र आन्तरिक सजावटका लागि मात्रै ३० लाख रुपैयाँ खर्च गरिसकेकी छिन्। अब उनी सो घर आफ्नै बनाउने तयारीमा छिन्। स्रोतका अनुसार यमीले घरधनीसँग घरको मूल्यबारे छलफल गरिसकेकी छिन्। अमेरिकामा रहेका घरधनीले घरको मूल्य तीन करोड रुपैयाँभन्दा माथिको बताएका छन्। तर, हिसिला सो घर जसरी पनि डेढ करोडमै आफ्नो स्वामित्वमा ल्याउने तयारीमा छिन्।

खुलेआम एक्सटोर्सन
कानुनतः जुनसुकै प्रयोजनका लागि जबर्जस्ती रकम उठाउनु गैरकानुनी हो। अरूको इच्छाविपरीत रकम संकलन गर्ने कानुनी कारबाहीका भागिदार हुन्छन्। तर, प्रधानमन्त्री पत्नी हिसिला सार्वजनिक रूपमा आफूले पैसा उठाएको स्वीकारमात्र गर्दिनन्, पार्टीको निर्देशनमा यस्तो काम गरेको समेत हाकाहाकी बताउँछिन्।
विभिन्न जनवर्गीय संगठन चलाउन चाहिने आवश्यक रकम जुटाउन कार्यकर्ताका लागि नेत्री यमी सहज रहेको उनीहरूको टिप्पणी छ। मोटो रकम मागे पनि यमीले सजिलै बन्दोबस्त गरिदिने गरेकी छिन्। कुन कुन ठाउँबाट पैसा लिन सकिन्छ, त्यहाँबाट उठाएर दिन ठाडो आदेश दिन्छिन् उनी। कतिपय ठाउँमा उनका सहयोगीहरूलाई अप्ठ्यारो पर्ने गरेको छ। गोप्य ढंगले गर्नुपर्ने काममा पनि उनी सिधै भनिहाल्छिन्, 'फलानोसँग लिनुहोस् न, उसको काम गराइदिउँला नि।'
बाबुराम आफ्नी पत्नीका बारे केही बोल्न चाहँदैनन्। कसैले केही भनिहाल्यो भने भन्छन्, 'कामरेड हिसिला आफ्नै बलबुताले पार्टीको नेतृत्वमा हुनुहुन्छ। उहाँको आफ्नै राजनीति छ।' तर, राजनीति आआफनै भए पनि पार्टी एउटै छ, घर एउटै छ, कोठा एउटै छ। - नागरिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक