20111127

प्रचण्ड र बाबुरामका "जग्गा फिर्ता" मात्र नाटक, बैद्यको कृयाकलाप सबै शंकास्पद, कहाँ छ प्रहरी प्रशासन ? कहाँ छ न्याय ?

अर्काको लुट्न, हडप्न, खोसेर, कब्जा गरेर खान पल्केका माओवादीहरुद्वारा जग्गा फिर्ता गरेकै भोली पल्ट फेरी कब्जा 
बर्दिया प्रयागपुरका किसान विनोदध्वज चन्द शुक्रबार राति खुसी हुँदै सुतेका थिए, कब्जा भएको जग्गा ११ वर्षपछि फिर्ता जो पाएका थिए। बिहान उठ्दा राजापुर गाविसको प्रयागपुरमा रहेको आफ्नो खेतभरि राता झण्डा फर्फरिएका देखेपछि उनको खुसी फासफुस भयो। शुक्रबार फिर्ता पाएको ४३ बिघा जमिनमा शनिबार बिहानै हँसिया हथौडा अंकित ४३ वटा झण्डा देखेपछि चन्द रन्थनिए। भने, ‘सम्पत्ति फिर्ताको खुसी एकै दिन पनि रहेन।' राजापुर गाविसका पूर्वगाविस अध्यक्ष चन्द र उनका दाजु कांग्रेस नेता विनयध्वज चन्द लगायत ६ जनाको नाममा रहेको त्यो जमिन जिल्लामा गठित प्रमुख तीन दलको घरजग्गा फिर्ता कार्यदलको पहल र प्रशासनको रोहवरमा शुक्रबार फिर्ता भएको घोषणा गरिएको थियो। शुक्रबार दिउँसो चार बजे जग्गा फिर्ताको घोषणा गरेको आठ घण्टापछि नै एमाओवादीका वैद्य समूहका कार्यकर्ताले मध्य राति सोही ठाउँमा
झण्डा गाडेका थिए। गाडिएको झण्डा बिहानपख इलाका प्रहरी कार्यालय राजापुरबाट गएका प्रहरीले निकालेका थिए। वैद्य समूहका कार्यकर्ताकै निर्देशनमा शनिबार दिउँसो उक्त जग्गा ट्याक्टर लगाएर जोतिएको छ। राजापुरभन्दा बाहिरका व्यक्तिले झण्डा गाडेर गएको गाउँलेले बताए। जग्गाधनी विनोदध्वजले एमाओवादीको प्रचण्ड पक्षले पनि शुक्रबार सहमतिका बेला गोलमटोल कुरा गरेको बताए। कब्जा गरिएको जग्गाकै छेउमा शनिबार नागरिकसँग उनले भने, ‘द्वन्द्वमा साथ दिनुभो, असली जग्गाधनी त तपाईंहरू नै हो भनी फकाए, अनि जोतेको हकमा तपाईंहरू पनि मालिक हुनु भो भनी जोताहा किसानलाई सम्झाए।'
जग्गा जोतभोग गर्दै आएका दस किसान, घरजग्गा फिर्ता कार्यदलमा रहेका काँग्रेसका जिल्ला सभापति सञ्जय गौतम, एमालेका अध्यक्ष दीपबहादुर राना, एमाओवादीका तिलक शर्मा, प्रजिअ रामकृष्ण सुवेदीलगायतको उपस्थितिमा जग्गा फिर्ताको घोषणा भएको थियो। विनोदध्वजका अनुसार फिर्ता जग्गा अधियाँ वा ठेक्कामा लगाउनु परे जोताहा किसानलाई नै दिनुपर्ने र जग्गा बेच्न परे जोताहाकै सहमति लिनुपर्ने मौखिक सहमतिसमेत भएको थियो। फिर्ता गरिएको जग्गामा वैद्य पक्षले रातारात झण्डा गाडेपछि शुक्रबार फुकुवा कार्यक्रममा सहभागी दलका नेता र प्रजिअसमेत अन्योलमा परेका छन्।
घरजग्गा फिर्ता कार्यदलका सदस्य एवं कांग्रेस सभापति गौतमले माओवादीले दोहोरो चरित्र देखाएको आरोप लगाए। कात्तिक १५ गते भएको सातबुँदे सहमतिअनुसार कब्जा घरजग्गा सहज फिर्ता हुनुपर्नेमा माओवादीले बेइमानी गरेको उनले बताए। उनले भने, ‘कब्जा घरजग्गा जग्गाधनीको पूर्ण स्वामित्वमा नआई द्वैध अभिव्यक्ति दिने काम माओवादीबाट भयो। पूर्ण स्वामित्वको अनुभूति जग्गाधनीले गर्न पाउनु पर्छ। कुनै पनि बहानामा कब्जा जग्गा फिर्ताका लागि आलटाल गर्न पाइँदैन।'
राजापुर गाविसका चन्दलगायत ८६ व्यक्तिको घरजग्गा माओवादीले द्वन्द्वकालेदेखि नै कब्जा गरेका छन्। उनीहरूले जग्गाको उब्जनी किसान र माओवादीले बाँडेर लिने गरेको बताए। बर्दियामा २ कट्ठादेखि सगोलको सम्पत्तिका रूपमा रहेको ८० बिघासम्म जमिन कब्जा गरेको विवरण प्रशासन कार्यालयमा छ। प्रजिअ सुवेदीका अनुसार २ सय ४२ जनाको ९ सय ९२ बिघा जग्गा कब्जा भएकाले फिर्ता पाउँ भनी निवेदन परेको छ।
जिल्लामा गठित घरजग्गा फिर्ता कार्यदलमा रहेका तीन दलका प्रतिनिधि र प्रशासनबीच शनिबार यसबारे राजापुरमा छलफल भएको थियो। फिर्ता गरिएको जग्गा पुनः वैद्य पक्षले कब्जा गरेपछि बसेको बैठकमा कुनै निष्कर्ष निस्केन। बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्षका केन्द्रीय सदस्य आरसी चौधरीले राज्यले भरपर्दो व्यवस्था नगर्दै जग्गा छोड् भन्न कठिन हुने उल्लेख गर्दै अप्ठेरोमा परेको सुनाएको एक सहभागीले बताए।
एमाओवादीको थारुवान राज्य समिति सचिवालय सदस्य आइपी खरेलले भने जग्गा फिर्ता नभई कब्जा गर्दै जाने बताए। वैद्य पक्षका खरेलले भने, ‘प्रचण्ड र बाबुरामलाई नयाँबजार र बालुवाटार मिल्यो भन्दैमा सर्वहाराले जग्गा फिर्ता गर्दैनन्। सर्वहारा जनता प्रचण्ड र बाबुरामका नोकर होइनन्।'
कार्यदलमा रहेका दलका प्रतिनिधि र प्रशासनबीच आइतबार गुलरियामा छलफल हुने भएको छ। - Dinesh Gautam/Nagarik

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक