20111209

बाबुराम सरकारले आफु सफल रहेको बताएकै दिन काठमाडौंमा दुई मानिसको लाश भेटियो, ओएचसीएचआरको म्याद नथपेर सरकारले गडबड गर्न लागेको शँका !

काठमाडौंमा दुई जना पुरुष मृत फेला परेका छन् । ललितपुर भट्टेडाँडा ४ का ४३ वर्षीय डेन प्रसाद तिमिल्सिनाको शव नापी कार्यालय कलंकी अगाडि फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौंको नयाँ बस्ती बाग्मती करीडोर नजिक नाम ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय
पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुबै शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । सरकारले आफ्नो सय दिन सफल रहेको दावी गरेको छ । सरकारका प्रवक्ता एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरी शान्ति प्रकृया र संविधान निर्माण कार्य अघि बढाउन र नागरिकलाई राहत दिन सरकार सफल भएको बताउनुभयो । विगतमा दलीय सहमति नभएकोले शान्ति र संविधानमा प्रभाव परेपनि धमिलिएको राजनीति सात बुँदे र ६ बुँदे सहमतिबाट सङ्लिएको सरकारको दाबी छ । राज्यपुर्नसंरचना अयोगलाई चाहिने सबै काममा सहयोग गर्न सरकार तयार रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । समावेशी विधेयकको नयाँ मस्यौदा तयार भैरहेको सम्मेलनमा जानकारी गराइएको छ । आर्थिक अवस्थामा सुधार भएको दावी गर्दै सोधानान्तर स्थितिमा सुधार भएर ३४ अर्ब सञ्चित भएको पनि उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । मुद्रा स्फ्रिति सामान्य भन्दा धेरै भएको र राजश्व १६ प्रतिशत भन्दा धेरैले बढेको दावी सरकारले गरेको छ । शान्ति सुरक्षामा अपेक्षित सुधार भएको दावी गर्दै भ्रष्टाचार विरुद्धको कानुन बन्दै गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । तत्काल राहतमा २ सय ४३ कार्यक्रम मध्ये धेरै कार्यानवयन भएको र नेपालको अन्तराष्ट्रिय संवन्धमा सुधार आएको पनि सरकारले दावी गरेको छ । भदौ ११ गते प्रधानमन्त्रीमा निर्वाचित भएका डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले यसै साता सय दिन पुरा गरेको छ । पत्रकार सम्मेलनमा सरकारले सय दिनमा भएका ‘सफलता’ सार्वजनिक गरेको थियो ।
राजनीतिक दलका नेताहरुले सरकारले सहमति विपरित राष्ट्रसंघीय मानवअधिकार उच्च आयूक्तको कार्यालय (ओएचसीएचआर) को समय नथपेर सहमति तोडेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार गरेको कार्यक्रममा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले चार दलको बैठकले म्याद थप्न गरेको सहमति सरकारले तोडेको दावी समेत गरेका छन् ।

सत्तारुढ एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनले ओएचसीएचआरको उपस्थिति नेपालमा संविधान निर्माण सम्पन्न भएर नयाँ निर्वाचन नहुँदा सम्म आवश्यक रहेको भन्दै सक्रमणकालमा फिर्ता पठाउन नहुने बताउनुभयो । शेरचनले ओएचसीएचआरको म्याद नथपिएकोमा दुख व्यक्त गर्दै ओएचसीआर ल्याउने र सक्रमणकालभरी राख्ने विषयमा दलहरुबीच पहिला नै सहमति भैसकेको दाबी गर्नुभयो ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले शान्ति प्रक्रियाको सुरुवात सँगै आएको संस्था ओएचसीआर शान्ति प्रक्रिया जारी नै रहँदा फिर्ता गर्ने निर्णय गर्नु दुखद भएको भन्दै यसमा सरकारको बदनीयत देखिएको आरोप लगाउनुभयो ।

यस्तै नेकपा एमालेका नेता भरतमोहन अधिकारीले प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमै ओएचसीएचआरको म्याद थप्ने विषयमा सहमति भएको अवस्थामा सरकारले सहमतिको उल्लङ्घन गरेको आरोप लगाउँदै मानवअधिकार उल्लघनको घटना जारी रहेकोले म्याद थप्नु पर्ने बताउनुभयो ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओएचसीएचआरलाई हटाउने काम पूर्वाग्रही रुपमा गरिएको दाबी गर्नुभयो । यादवले सरकारको म्याद नथप्ने निर्णयले मुलुकको हित नगर्ने र नेपालको छवि बिगार्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग्नुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग गर्नुभएको हो ।

सरकार गठन भएको सय दिनमा भट्टराई नेतृत्वको सरकारले कुनै गतिलो काम गर्न नसके उहाँले आरोप लगाउनुभयो । ‘उहाँले अब सत्ता छोड्नु राम्रो हुन्छ’, प्रधानमन्त्री भट्टराई तर्फ संकेत गर्दै सिंहले भन्नुभयो, ‘यो सरकारले अहिले सम्म कुनै गतिलो काम गर्न सकेन ।’

कांग्रेसका विभिन्न भातृ संगठन सहभागी कार्यक्रममा बोल्दै महामन्त्री सिंहले भट्टराई नेतृत्वको सरकारमा नेपाली कांग्रेस कुनै पनि हालतमा सहभागी नहुने बताउनु भयो । काँग्रेस एमाले सहितको राष्ट्रिय सहमतिको सरकार बनाउने भट्टराईको भनाई उहाँको निजी विचार भएको महामन्त्री सिंहले टिप्पणी गर्नुभयो । उहाँले शान्ति प्रक्रिया टुङ्गो पुगेर नयाँ संविधान जारी भएपछि मात्रै काँग्रेसले सरकारको नेतृत्व दावी गर्ने बताउनु भयो ।

महामन्त्री सिंहले लडाकुलाई दिएको भत्ता लिनु माओवादीको राज्यमाथिको भ्रष्टाचार मात्रै नभई पार्टी भित्रैबाट समाप्तीको संकेत भएको टिप्पणी समेत गर्नुभयो । उहाँले फर्जी लडाकुको नाममा लिएको रकम तत्काल राज्यकोषमा जम्मा गरेर आफू माथि लागेको भ्रष्टाचारको आरोपको अन्त्य गर्न माओवादीलाई सुझाव समेत दिनुभयो ।

तत्काल रकम फिर्ता नगरे फर्जी लडाकुको संख्या देखाएर माओवादीले राज्यको ढुकुटी रित्याएको सम्वन्धमा छानबीन गर्न काँग्रेसले माग गर्ने महामन्त्री सिंहले बताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक