20120109

माओवादी उपाध्यक्ष एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन : " माओवादी पार्टीभित्र भ्रष्टाचार र विकृति मौलाएकोछ, विचार विहीनताको अवस्था छ, एकले अर्कालाई नर्टेने अवस्था छ"

माओवादी बैठकले "संविधान निर्माणमा भएका सहमतिलाई उल्टाउने निर्णय, दाहाल र वैद्यको प्रस्ताव थाति, जनसंविधानका लागि माओवादीले जनपरिचालन गर्ने, दबाब दिने" निर्णय

Communist Party of Nepal (Maoist) leader and prime ministerial candidate Baburam Bhattarai, center, smiles as he is flanked by party leaders Narayan Kaji Shrestha, left, and Pushpa Kamal Dahal after submitting his documents to contest for the post in...
माओवादी उपाध्यक्ष एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टीभित्र भ्रष्टाचार र विकृति मौलाएको बताएका छन्। 'पार्टीभित्र विचार विहीनताको अवस्था छ, एकले अर्कालाई नर्टेने अवस्था छ, यो अवस्थाको तत्काल अन्त्य हुनु जरुरी छ,' उनले भने। आज एकीकृत नेकपा(माओवादी)को केन्द्रीय कार्यालय पेरिसडाँडामा कम्युनिष्ट नेता जय गोविन्द साहको २२ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा श्रेष्ठले अहिलेकै अवस्था लामो समयसम्म रहने हो भने एमाओवादी पार्टी संशोधनवादी पार्टीमा परिणत हुने बताए। राजनीतिक सङ्क्रमणको रोग पार्टीभित्र पनि फैलँदै गएको बताउँदै श्रेष्ठले भने, 'यसलाई हल गर्न पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताले समयमै ध्यान दिनुपर्दछ।' उनले भने, 'मधेशका जनतालाई अधिकार सम्पन्न बनाउन धेरै काम गर्न बाँकी छ तर मधेशका नाममा केही अवसरवादीहरुले ढाँटिरहेका छन्,
त्यसलाई जनताका बीच नङ्ग्याउन क्रान्तिकारीहरुले वस्तुनिष्ठ र वैज्ञानिक कदम चाल्नुपर्दछ।' कार्यक्रममा एकीकृत नेकपा(माओवादी)का स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जनतालाई अधिकार सम्पन्न नबनाउँदासम्म परिवर्तनको प्रक्रिया नरोकिने बताए। उनले भने, 'पार्टीलाई एकढिक्का बनाएर क्रान्तिको मार्गमा अगाडि बढाउनु नै आजको आवश्यकता हो। यो आवश्यकतालाई पूरा नर्गदासम्म नेपाली जनताले छुट दिंदैनन्।' माओवादीको आज बसेको पदाधीकारी बैठकले शान्ति र संविधान निर्माण प्रकृयामा खतरा उत्पन्न भएको भन्दै पार्टी विभाजितरुपमा नभई एक भएर अगाडि बढ्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्यले पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको फरक फरक प्रस्ताबसमेत तत्काल स्थगित गरेको छ। 'शान्ति र संविधान निर्माणमा खतरा उत्पन्न भएकाले विभाजितरुपमा अगाडि नबढ्ने निर्णय भएको छ,' बैठकपछि संचारकर्मीसँग बैद्यपक्षमा रहेका नेता तथा सचिव सिपी गजुरेलले भने, 'अहिलेको अवस्थामा एक ढिक्का भएर अगाडि बढ्ने निर्णय भएको हो।' उनकाअनुसार पार्टीको आधारभूत नीति अनुसार नै संवैधानिक समितिमा संविधानका विविध पक्षमाथि कुरा उठाउनेसमेत सहमति भएको छ। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्तरिक विवाद तत्काललाई थाँती राखेर अगाडि बढ्न सहमति भएको जानकारी दिए।
शिक्षा मन्त्री तथा एकिकृत माओवादी नेता दीनानाथ शर्माले लोकतन्त्रप्रति माओवादी प्रतिबद्ध रहेको बताएका छन्। गैरआवासीय नेपाली सघं युकेले नागरिकतासम्बन्धि नेपाल सरकारको धारणा बुझ्न आइतबार अल्डरसोटस्थित निरमायां रोधीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले लोकतन्त्रप्रति पार्टी प्रतिबद्ध रहेको दोहोर्‍याएका हुन्। लोकतन्त्रकै लागि माओवादीले १० वर्षे शसस्त्र आन्दोलन गरेको स्पष्ट पार्दै उनले माओवादीको नियतमाथि शंका नगर्न आग्रह गरे।

एनआरएनको नागरिकता बचाउ अभियानप्रति आफनो पार्टी स्पष्ट भएको उनले बताए। 'माओवादी एनआरएनलाई नागरिकता दिन तयार रहेपनि एउटा पार्टीको निर्णयलेमात्र त्यो सम्भव नहुने उनले बताए। उनले नागरिकताका सम्बन्धमा अन्य दलसँग छलफल गर्ने आश्वासन दिए।

'गोर्खा भर्ति केन्द्र बन्द गर्ने पार्टीको सोच छैन,' उनले भने, 'बेलायत सरकारसँग भएका पुराना सन्धी सम्झौता पुनरावलोकनको चर्चासमेत नचलेको अवस्थामा गोर्खा भर्ति बन्द हुन्छ भन्नु निराधार छ।'

शिक्षा मन्त्रीस्तरीय ३ दिने शैक्षिक कार्यक्रममा भाग लिन शिक्षा सचिव किशोर थापासहित आइतबार बेलायत आएका मन्त्री शर्माले बेलायतमा अध्यायनरत नेपाली विद्यार्थीहरुको सबालमा सरकार गम्भीर भएको जानकारी दिए।

एनआरएन युकेका अध्यक्ष कूल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसेले एनआरएन नेपालका लागि 'स्ट्राटेजिक रिसोर्स' भएको बताए। उनले एनआरएनबाट नेपालले धेरै आशा गरेकोले उनीहरुको जायजमाग राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए।

शिक्षा सचिव किशोर थापाले बेलायतले शैक्षिक निति खुकुलो बनाएयता करिब २२ हजार ७ सय विद्यार्थीले मन्त्रालयबाट 'नो अब्जेक्सन लेटर' लिएको जानकारी दिए। सचिव थापाले नेपालमा आचरणविपरीत काम गरिरहेका कन्सल्टेन्सीलाई अनुगमन गर्ने संयन्त्र निर्माण भइरहेको जानकारी दिए।

कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष क्याप्टेन हितमान गुरुङले एक पटकको नेपाली सधैंको नेपाली भएर बाँच्न चाहेकाले त्यो अधिकारबाट वञ्चित नगर्न आग्रह गरे।

सल्लाहकार डा. राघव प्रसाद घितालले विश्वका केहि मुलुकमा मात्र दोहोरो नागरिकताको प्रवाधान भएकोले भारत तथा सार्क मुलुकमा रहेका नेपालीदेखि सरकार डराउन नपर्ने तर्क गरे।

कार्यक्रममा एन आर एन युकेका उपाध्यक्ष महेन्द्र कंडेलले शिक्षामन्त्री शर्माको सहभागिताले सिंगो एन आर एनको साख बढेको बताए। उनले कार्यक्रमका सहभागिहरुलाई स्वागत मन्तव्य दिएका थिए।

सो अवसरमा मन्त्री शर्मा तथा सचिव थापालाई एनआरएन अध्यक्ष कूल आचार्यले खादा लगाई स्वागत गरेका थिए। कार्यक्रममा सहभागी एनआरएन युकेका सल्लाहकारलाई शिक्षा मन्त्री शर्माले खादा लगाई सम्मान गरे। मन्त्री शर्मालाई सहभागीले गोर्खा भर्ति, एनआरएनको दोहोरो नागरिकता, संविधान निर्माण एवं शान्ति प्रक्रिया एवं पार्टीभित्रका आन्तरिक विवादबारे जिज्ञासा राखेका थिए।
माओवादीले केन्द्रीय समितिमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यको प्रस्ताव थाति राख्ने निर्णय गरेको छ ।

सोमबारको पदाधिकारी बैठकले दुवै प्रस्ताव थाति राख्दै फोरम बनाएर छलफलका लागि लैजाने निर्णय गरेको सचिव सीपी गजुरेलले जानकारी दिए । 'दुवै प्रस्तावलाई भोटिङमा लगेर बहुमत र अल्पमतमा नपार्ने निर्णय भयो,' उनले भने, 'पार्टीको कार्यदिशालाई पुर्नपुष्टि गर्न तल्लो तहसम्म छलफल चलाइन्छ ।' केन्द्रीय समिति बैठकमा दाहालको शान्ति र संविधानको कार्यदिशासहितको प्रतिवेदनलाई चुनौति दिंदै वैद्यले जनविद्रोह प्रस्तावसहितको प्रतिवेदन पेश गरेका थिए ।

केन्द्रीय समिति बैठकमा संस्थापन र वैद्य पक्षधरले मिलेर एउटै दस्तावेज तयार पार्न केन्द्रीय सदस्यहरुले दबाब दिएपछि नेताहरु एकीकृत दस्तावेज तयार पार्न सहमत भएका हुन् । यस विषयमा अध्यक्ष दाहाल र वैद्यबीच दाहाल निवास नयाँबजारमा सोमबारै छलफल भएको थियो । बैठकले पार्टी नीतिविपरीत संविधान निर्माणमा भएका सहमतिलाई उल्टाउने निर्णय गरेको छ । 'पार्टी नीतिविपरीत संविधानको अन्र्तवस्तुमा सहमति नगर्ने निर्णय भएको छ,' गजुरेलले भने । बैठकले शान्ति, जनसंविधान र राष्ट्रिय स्वाधिनताका लागि जनपरिचालन गर्ने निर्णय गरेको छ ।

देशव्यापी रूपमा गरिएको एक जनमत सर्वेक्षणले नेपालको राजनीतिले जनतामा निराशा बढाउँदै गएको देखाएको छ । इन्टरडिसिप्लिनरी एनालिस्ट (आईडीए) ले गरेको पछिल्लो सर्वेक्षणले राजनीतिक संरचनाले ल्याएको जनअसन्तुष्टि विस्तारै निराशामा परिवर्तन भइरहेको देखाएको हो । सर्वेक्षणमा सहभागी जनसंख्याको ठूलो हिस्साले देश गलत दिशामा गइरहेको देखाएको छ । जुनै दलको सरकार भए पनि जनताका निराशा हटाउन केही नगरेको उनीहरू ठान्छन् ।

सन् २०१० अगस्ट, २०११ का फेब्रुअरी र जुनमा गरिएका सर्वेक्षणमा ३५ जिल्लाका ३० हजार जनालाई सहभागी गराइएको थियो । उनीहरूले सबभन्दा ठूलो निराशाको उदाहरण दलहरू सहमतिमा पुग्न नसक्नु र नयाँ संविधान जारी हुन नसक्नुलाई लिएका छन् ।

जनताका मुख्य तीन सरोकार गरिबी, मूल्यवृद्धि र बेरोजगारीलाई कुनै सरकारले पनि सम्बोधन गर्न नसकेकामा निराश छन् । त्यसैले जनता सरकारको मूल्यांकन नकारात्मक हिसाबले गरिरहेका छन् र उनीहरूकोे बुझाइमा सरकारले अति कम प्रगति र विकास गरेको छ ।

सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले देशको मुख्य प्राथमिकता संविधान निर्माणलाई दिएका छन् । धेरैले अहिलेको समस्या संविधान नबन्नु नै ठानेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक