20120117

व्यापारी पवन संघाईको अपहरण आरोपमा समातिएका सभासद श्‍यामसुन्दर गुप्‍ताको 'लेनदेन'मा भएको संवाद र अपहरणमा उनको संलग्नता रहेका प्रमाणहरु प्रहरीले सार्वजनिक गरेको छ !

जिरे खुर्सानीमा शिवहरी पौडेलको थेगो झै भन्न मन लाग्यो "प्वाक्क मुखमा हान्नु जस्ता दुवा तिर्कीहरु" मन्त्री, सभासद र पार्टी अध्यक्ष्य भए पछी यस्तै हुन्छ नयाँ गणतान्त्रिक नेपालमा ! अनी सापट लिन मन लाग्यो राजाराम पौडेलको थेगो "थुक्क डाँका" तर असिनेको ठाउँमा पूर्व मन्त्री, बर्तमान सभासद, सद्भावना पार्टी अध्यक्ष्य श्यामसुन्दर गुप्ता भन्नुपर्ने भयो । नियम कडा भए छोडेर होइन कारबाही गरेर देखाउ जुँगे हवल्दारहरु ! माथिल्लाले पाए भने घुस खाएर छोडिहाल्छन । यसो भने कसो होला !!!

प्रहरीका अनुसार अपहरणमा परेका संघाईलाई गुप्‍ताले भेटेको र उनलाई अपहरण गरी राखिएको काभ्रेसम्म आफैले 'स्कर्टिङ' गरी लगेका थिए। अपहरणमा गुप्‍ता योजनाकार तथा त्यसका
लागि मानिसको वन्दोवस्त गर्नेसम्मका कार्यमा सक्रिय थिए। प्रहरीले संघाई परिवार र गुप्‍ताबीच फिरौतीको बार्गेनिङ भएको अडियोसमेत सार्वजनिक गरेको छ। सुरुमा अपहरणकारीले २५ करोड रुपियाँबाट फिरौतीको बार्गेनिङ गरेकोमा अन्तिममा १ करोड रुपियाँमा सहमति भएको थियो। पत्रकार सम्मेलनमा आरोपितहरुले दिएको बयानको भिडियो पनि देखाइएको थियो। गुप्‍ताको उपस्थितिमै अन्य आरोपीहरुले 'पूर्व मन्त्रीले भनेपछि अपहरण गरेको' भिडियोमा बताएका छन्। टेलिफोन संवाद र अभियुक्तहरुको बयानले अपहरणमा गुप्‍ताको संलग्नता रहेको देखिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले दावी गरे। प्रहरीकाअनुसार आपूर्ति मन्त्री रहँदा गुप्‍ताले व्यापारी पवन संघाईलाई पेट्रोल पम्प खोल्न मिलाइदिएवापत रकम नदिएकोले अपहरण गरी असुल गरेको देखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको भन्दै प्रहरीले किशोर पाण्डे र अमिर आचार्यलाई पनि सार्वजनिक गरेको छ। व्यापारी पवन संघाईको अपहरणको योजनाकार भएको आरोपमा समातिएका पूर्व मन्त्री एवं सभासद श्‍याम सुन्दर गुप्‍तालाई काठमाडौं जिल्ला अदालतले ४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश भोजराज शर्माको इजलासले यस्तो निर्देशन दिएको हो। प्रहरीले जिल्ला अदालत पुर्‍याएपछि सद्‍भावना पार्टी (आनन्दीदेवी)का अध्यक्षसमेत रहेका गुप्‍ताले पत्रकारसामु आफूमाथि षड्यन्त्र भएको दावी गरेका थिए। 'मलाई मधेशी मोर्चा र माओवादी मिलेर षड्यन्त्र गरेका हुन्,' उनले अदालत परिसरमै भने, 'मेरो ४० वर्षे राजनीतिक जीवन समाप्‍त पार्ने षड्यन्त्र भएको छ।' प्रहरीले उनलाई हिजो भैरहवास्थित उनकै निवासबाट पक्राउ गरेर मध्यरातमा राजधानी ल्याएको थियो।
व्यापारी पवन संघाई अपहरणका 'मुख्य योजनाकार' भन्दै प्रहरीले संविधानसभा सदस्य तथा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता अहिले काठमाडौँमा प्रहरी थुनामा छन्। उनलाई चार दिन हिरासतमै राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई स्वीकृति दिएको छ। उनलाई सोमबार भैरहवास्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्दा गुप्ता जेठो छोराको बिहेको तयारी गरिरहेका थिए। भारतको बनारसका एक व्यापारिक घरानाकी छोरीसँग आउँदो बुधबार बिहे गर्ने पक्का भएपछि उनी शुक्रबारै भैरहवा पुगेका हुन्।

गुप्ता नेपाल सद्भावना पार्टी (आनन्ददेवी) का अध्यक्ष हुन्। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका- ५, बैंकरोडस्थित घरबाट हिजो दिउँसो पौने चार बजे गुप्तालाई पक्राउ गरेको हो। महाशाखा प्रमुख देवेन्द्र सुवेदीले संघाई अपहरणमा गुप्ताको संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जानकारी दिए। 'प्रारम्भिक अनुसन्धानमा उनैको योजनामा अपहरण भएको र फिरौती लिएर छाडिएको देखिएको छ,' उनले नागरिकसँग भने।

सभासद्लाई पक्राउ गर्नुअघि सभामुखको अनुमति लिनुपर्ने कानुनी प्रावधानअनुसार प्रहरीले आइतबारै सुवास नेम्वाङसँग 'गुप्ता फौजदारी अभियोगमा संलग्न देखिएकाले अनुसन्धान निम्ति पक्राउ गर्ने' मौखिक अनुमति लिएको थियो। पक्राउ गर्दा पार्टी कार्यकर्ताबाट अवरोध हुनसक्ने अनुमान गर्दै प्रहरीले गाडीमा हालेर फटाफट लुम्बिनी अञ्चल कार्यालय ल्याएको थियो। उनलाई हवाइजहाजबाट काठमाडौं ल्याउने भनिए पनि खराब मौसमका कारण उडान हुन सकेन। परिवारका सदस्य र शुभेच्छुकको आँखा छल्दै काठमाडौंबाटै लगेको गाडीमा राखेर रातारात ल्याइयो। मध्यरात काठमाडौं ल्याएर हनुमानढोका प्रहरी हिरासतमा राखिएको छ।

स्रोतअनुसार भित्र बिहेको तयारी भइरहँदा प्रहरीले उनको घर घेरा हालेको थियो। सादा पोसाकका प्रहरीको संख्या पनि बाक्लै थियो। अपराध महाशाखाबाट गएको टोलीले बैठक कोठामा पुगेर 'माननीयज्यू तपाईंसँग काम छ, एकछिन हामीसँग जानुपर्‍यो' भन्दै गुप्तालाई बाहिर निकालेको थियो।

'उहाँ सुरुमा केही अन्कनाउनुभयो,' अप्रेशनमा संलग्न एक प्रहरी अधिकृतले  भने, 'परिवारका सदस्यले किन लैजान लागेको भन्दै अवरोध गर्न खोजेपछि हामीले प्रहरी हौं भन्दै नियन्त्रणमा लियौं।'

संघाई अपहरण कसरी भयो?
पुस ७ गते बिहान ६ बजे कमलादी गणेशथान दर्शन गर्न जाँदा संघाई अपहरणमा परेका हुन्। त्यसको २० दिनसम्म प्रहरीले अपहरणकारी र अपहरित राखिएको ठाउँ पत्ता लगाउन सकेन। परिवारले फिरौती बुझाएर संघाईलाई अपहरणमुक्त गरे।

उनी २७ गते बिहान आफैं घर फर्किएपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो। महाशाखा स्रोतअनुसार संघाई अपहरणकारीबारे पाएको प्रारम्भिक सूचनाका आधारमा खोजी गर्दा उनीहरूले प्रयोग गरेका मोबाइल नम्बर हेटौंडा र काठमाडौंमा सक्रिय देखियो।

प्रहरीले त्यही नम्बर पछ्याउँदै गुप्ताका दुई सहयोगी आकाश लामा र विकास लामा भनिने जितबहादुर गोलेलाई आइतबार दिउँसो ५ बजे हेटौंडाबाट पक्राउ गर्‍यो। गुप्तासम्म पुग्ने प्रमुख आधार उनीहरू नै हुन्। अभियुक्तले बयानमा गुप्ताको नाम पोलेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो, जसमा संघाई अपहरण हुँदा लामा, गोले र गुप्ताबीच फोनमा कुराकानी भएको विवरण फेला पर्‍यो। यही आधारमा प्रहरीले गुप्तालाई पक्राउ गर्ने निर्णय गरेको हो।

फिरौती रकम माग गर्दा हिन्दी भाषामा टेलिफोन सम्पर्क गरिएकाले र अपहरण शैली निकै पोख्त देखिएकाले भारतीय समूह पनि संलग्न हुनसक्ने प्रहरीको निष्कर्ष छ।

'गुप्ताविरुद्धको प्रमाण भनेको पक्राउ अभियुक्तको बयान र फोन सम्पर्क हो,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'अनुसन्धान क्रममा उनी भैरहवा पुगेको र भारत जानसक्ने सूचना आएकाले सोमबारै पक्राउ गर्‍यौं।'

अनुसन्धान स्रोतअनुसार दुई महिनाअघि गुप्ताले गोले र लामा लगायतलाई व्यापारी अपहरण गर्ने योजना सुनाएका थिए। गुप्तासँग पुरानै चिनजान रहेको र पैसाको खाँचो भएपछि भेट्न जाँदा अपहरणको योजना सुनाएको दुवैले बयान दिएका छन्।

पुस ६ गते गुप्ताले दुवैलाई संघाईको दैनिकीबारे जानकारी दिएका थिए। उनी कमलादी गणेशथान र पशुपति मन्दिर दिनहुँ गइरहने सूचनाका आधारमा अपहरण निम्ति कमलादी छानेको प्रहरी स्रोतले बतायो। अपहरणमा उनीहरूसहित १० जना रहेको खुले पनि पूर्ण विवरण आएको छैन। अपहरण गरेर पाटन लैजान निर्देशन आएपछि उनीहरू बिहानै रातो गाडी लिएर कमलादी गणेशथानमा बसेका थिए। संघाई एक्लै हिँडिरहेको देखेपछि जबर्जस्ती गाडीमा राखेर पाटन पुर्‍याएको बयानबाट खुलेको छ।

'सुरुमा पाटन लैजानू भनेका थिए,' अभियुक्तको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'पाटन पुगेपछि काभ्रे लगेर राख्नू भन्ने निर्देशन आयो, हामीले त्यसै गर्‍यौं।'
उनीहरूले संघाईलाई काभ्रेको सरुयुखर्कमा रहेको विकासको आफन्तकहाँ २० दिन बन्धक बनाएर राखेको बताएका छन्। २६ गते बेलुकी 'पैसा आयो, संघाईलाई छाड्नू' भन्ने निर्देशन आएपछि भोलिपल्ट बिहानै काठमाडौं ल्याएर छाडेका थिए।

सुरुमा १० करोड रुपैयाँबाट मोलमोलाइ सुरु भए पनि ८५ लाख फिरौती बुझाएर संघाई मुक्त भएको प्रहरीले बताएको छ। अपहरणमुक्त भएपछि संघाईले नै रकम खुलाएका हुन्। तर, पक्राउ परेका दुई सहयोगीले नै ४/४ लाख रुपैयाँ पाएको बयान दिएकाले फिरौती रकम उच्च हुनुपर्ने अनुमान प्रहरीले गरेको छ। फिरौती भागबन्डाबाट पाएको रकममध्ये गोलेबाट २ लाख र लामाको साथबाट ३ लाख ५५ हजार फेला परेको थियो। उनीहरूले उक्त रकम गुप्ताले दिएको बताएका छन्।

'हामीलाई पैसा चाहिएको थियो,' उनीहरूको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'गुप्ताजीले जोखिम हुन्न, सबै म मिलाउँछ, व्यापारीको अपहरण गरेर सुरक्षित राख्नू भनेपछि मान्यौं।'

अपहरणमुक्त भएदेखि संघाई प्रहरी सम्पर्कमा नरहेको महाशाखा स्रोतले बतायो। मुक्त भएको दिन पनि उनले महाशाखा प्रमुख सुवेदी र डिएसपी सोमेन्द्रसिंह राठौरलाई 'आफैं अनुसन्धान गर्नुस्' भन्दै फर्काएका थिए।

सद्भावना पार्टीबाट तराईकेन्द्रित राजनीतिमा छिरेका गुप्ता आपूर्तिमन्त्री भएका थिए। २०४८ को संसदीय चुनावमा नेपाल सद्भावना पार्टी तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित गुप्ताले त्यसपछिका चुनाव जित्न सकेनन्। संविधानसभा चुनावमा रुपन्देही जिल्ला क्षेत्र नम्बर ७ बाट चुनाव लडेका उनले ४ हजार हाराहारी मत ल्याएका थिए।
रुपन्देहीको मर्चवार क्षेत्रका युवालाई इजरायल पठाउँछु भन्दै करिब ५० लाख रुपैयाँ असुलेको विवादमा समेत उनी मुछिएका थिए। टुक्रिएको सद्भावना पार्टीमध्ये उनी सद्भावना आनन्दीदेवीका अध्यक्ष र सभासद् हुन्। सरिता गिरी र उनीबीच पार्टीको अधिकारिकता विवाद क्रममा सर्वोच्च अदालतले गुप्तालाई मान्यता दिएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक