(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120221

सर्बोच्च अदालत द्वारा अर्को एतिहासिक फैसला, बाबुराम भट्टराईका भ्रस्टाचारी संचारमन्त्री जेपी गुप्तालाई डेढ बर्ष कैद,८४ लाख नौ हजार ९ सय २८ रुपियाँ जरिवाना र त्यति नै बराबरको सम्पत्ति जफत गर्ने आदेश ! भ्रस्टाचारी गुप्ताको सम्पूर्ण नालिबेली हेर्नुस् !

गुप्ता जेल चलान, अरु भ्रस्टाचारी मन्त्री र नेताको पनि मुटुमा ढ्याङ्रो, सलाम छ भ्रस्टाचारीलाइ जेल हाल्ने फैसला गर्ने सर्बोच्च अदालत र यसका बहादुर न्यायाधिशहरुलाई !
सञ्चार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचार गरेवापत् सर्वोच्च अदालतले डेढ वर्ष कैद र ८४ लाख नौ हजार ९ सय २८ रुपियाँ जरिवाना र त्यति नै बराबरको सम्पत्ति जफत गर्ने आदेश गरेको छ।  न्यायाधिशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलाशले लामो सुनुवाईपछि आज फैसला सुनाएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ मा 'गैरकानुनी रूपमा आर्जन गरेको प्रमाणित भए त्यसरी आर्जन गरेको सम्पत्तिको बिगो अनुसार दुई वर्षसम्म कैद र जरिवाना गरी आर्जन गरेको गैरकानुनी सम्पत्ति जफत हुने' उल्लेख छ। फैसला सुन्न मन्त्री गुप्ता लामो समयदेखि इजलासमा बसेका थिए। अपराह्न पाँच बजिसकेपछि बल्ल सर्वोच्चको आदेश आएको थियो। बहालवाला मन्त्री संलग्न भएको मुद्दा भएकोले यसमा सर्वसाधारण र मिडियाले निकै चासोका साथ हेरिरहेको थियो। सर्वोच्चले गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरी सजाय सुनाएपछि जेपी गुप्ताको..
 बीबीसी नेपाली सेवा प्रमुख रबिन्द्र मिश्रको प्रतिकृया  "सर्वोच्च अदालतमा राजनीतिज्ञ र उच्च अधिकारीहरुसंग सम्वन्धित अझै दर्जनौं मुद्दाहरूको सुनुवाई हुन बांकी छ। तिनको पनि छिटोछिटो फैसला भैदिए र दोषीहरू कारवाहीमा परिदिए, यो देश कति सुन्दर हुन्थ्यो होला ! "

राजनीतिक भविष्य लगभग सकिएको छ। गम्भीर प्रकृतिको यस्तो फौजदारी मुद्दामा सजाय भएपछि उनले भविष्यमा कुनै पनि सार्वजनिक पद धारण गर्न कानुनले दिँदैन। फैसलाअघि नै मधेस हिंस्रक आन्दोलनको मनस्थितिमा छ भन्दै विवादास्पद अभिव्यक्ति दिएका गुप्ताले जेल जाँदाजाँदै पनि प्रचारमुखी काम गर्न छाडेनन्। उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले मन्त्री पदबाट राजीनामा दिएको 'हल्ला' गरे। यद्यपि, भ्रष्टाचारको अभियोग प्रमाणित भएपछि पद स्वतः खारेजीमा पर्ने व्यवस्था  भ्रष्टाचार निवारण ऐन २०५९ ले गरेको छ। गुप्ताले प्रहरी समक्ष आत्मसमर्पण गरे। यसरी आत्मसमर्पण गरेवापत् उनको सजाय २५ प्रतिशत कम हुने व्यवस्था छ।  उनलाई आजै डिल्लीबजार जेल चलान गरिएको छ। सर्वोच्चको फैसलाले भ्रष्टाचारी ठहर गरेलगत्तै उनको मन्त्री र सभासद् पद निलम्बनमा परेको छ। गुप्ता उपेन्द्र यादव नेतृत्वको  मधेसी जनअधिकार फोरमबाट  सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उनले गत जेठ ९ गते सो पार्टी फुटाएर आफ्नो अध्यक्षतामा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन गरेका थिए।  पार्टी फुटाएको ठीक आठ महिनापछि उनी भ्रष्टाचारी ठहरिँदै जेल चलान भएका हुन्।  यसअघि पूर्वमन्त्री चिरन्जीवी वाग्ले पनि भ्रष्टाचारी ठहरिँदै हाल जेलमा कैद सजाय भोगिरहेका छन्। 

सार्वजनिक पद धारण गर्नु अघि जेपी गुप्ताको बैँक खातामा २२ हजार रुपियाँ मात्र थियो। तर पदमा भएपछि उनको बैँकमा लाखौँ रुपियाँ जम्मा भएको अख्तियारको अनुसन्धानले देखाएको छ।
पदमा हुनुअघि  उनको एकमात्र बैंक खाता थियो- कृषि विकास बैंक, रत्नपार्क शाखामा। त्यसमा २२ हजारमात्र जम्मा थियो। २०४८ सालमा उनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार बने। २०५४ सालमा सञ्चार राज्यमन्त्री, ५५ सालमा सञ्चार मन्त्री अनि ५६ सालमा कृषि मन्त्री बने। २०५८ सालमा फेरि सूचना मन्त्री बने। सार्वजनिक पदमा बसेपछि उनको र उनकी पत्‍नीको बैँक खातामा अस्वभाविक रकम बढेको अनुसन्धान पछि अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ।

सार्वजनिक पदमा नरहँदा उनको खातामा रकम जम्मा नभएको पनि अनुसन्धानले देखाएको छ।


 
(१) निजले सार्वजनिक पद धारण गर्नु पूर्वको २ वर्षको अवधिभित्रमा कृषि विकास बैंक, रत्नपार्क शाखामा रु. २२ हजार मात्र जम्मा गरेको, तर २०४८।३।३ देखि २०५१।३।३० सम्म रु. ४,०४,५००।- नगद जम्मा गरेको। (२) २०५४।८।१८ देखि २०५९।६।१८ सम्म अर्थात् ३ वर्ष ९ महीना ८ दिनको अवधिमा सूचना तथा संचार राज्यमन्त्री, मन्त्री, कृषि तथा सहकारी मन्त्री रहेको समयमा करिब ८५ लाख ५५ हजारभन्दा बढी मूल्य बराबरको अचल सम्पत्ति भ्रष्टाचार गरी गैरकानूनी ढंगले आर्जन गरेको।
(३) २०५१।८।१ देखि २०५४।८।१७ सम्म अर्थात् ३ वर्ष १६ दिनको अवधिमा जननिर्वाचित प्रतिनिधि सभाको सदस्य हुँदा करिब रु. ५३ लाख मूल्य बराबरको घर जग्गा र गाडी खरीद गरेको।
(४) मिति २०५१।८।१ देखि २०५९।६।१८ सम्म अर्थात् ७ वर्ष १० महीना १७ दिनको अवधिमा सार्वजनिक पद धारण गरेका बखत आफू र आफ्नी श्रीमतीका नाममा रहेका बैंक खाताहरुमा रु. ८७,८५,३००।- नगद सम्पत्ति जम्मा गरेको।
प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई देश र जनताप्रति निभाउनु पर्ने पदीय उत्तरदायित्व जति जति बढ्दै गएको छ, त्यति त्यति नै सम्पत्ति आर्जन गर्ने कार्यमा पनि तिव्रता देखिन्छ। प्रतिवादीले सार्वजनिक जवाफदेहीको पदलाई नै अवमूल्यन गरी भ्रष्टाचारमा संलग्न भई गैरकानूनी ढंगले सम्पत्ति आर्जन गरेको देखिन्छ।  अख्तियारले उनको २ करोडभन्दा बढी सम्पतिको स्रोत नखुलेको अभियोग लगाएको छ। यसमा घर, जग्गा र विभिन्न बैँकमा जम्मा गरेका रकम पर्छन्। विशेष अदालतले ती सम्पत्तिको स्रोत खुलेको भन्दै गुप्तालाई सफाइ दिए पनि सर्वोच्चले भने ८४ लाख नौ हजार ९ सय २८ रुपियाँको मात्रै स्रोत नखुलेको ठहर गरेको छ।

के के थियो स्रोत नखुलेको सम्पति ? (स्रोतः अख्तियार अभियोगपत्र)

स्रोत नखुलेको सम्पत्ति सम्बन्धी अख्तियरको अभियोग पत्रमा विश्लेषणः
(१) क्र.सं. १ मा उल्लिखित का.जि.का.म.न.पा. ९ कि.नं. २२५, ४६३ र ३७९ का जग्गाहरु २०५२ र २०५९ सालमा खरीद गरेको देखिएको छ। आधुनिक घर २०५३ सालमा निर्माण भएको छ। स्रोतको सम्बन्धमा घर जग्गाधनी जयप्रकाश प्रसाद गुप्ताले आफ्नो स्वआर्जन, पारिश्रमिकको बचत, पैत्रिक सम्पत्तिको आय आदिबाट जग्गा खरीद गरेको र सोमा घर निर्माण गर्दा पैतृक आय, ऋण सापटी र विदेश भ्रमणको आयबाट बनेको भनी बयान कथनमा उल्लेख गरेको पाइन्छ।
तर निजले सार्वजनिक पद धारण गर्नु पूर्व निजको एकमात्र बैंक खाता रहेको कृषि विकास बैंक, रत्नपार्क शाखामा रु. २२ हजारमात्र जम्मा गरेको देखिएबाट निजको पैतृक सम्पत्तिबाट हुने आयको बचत नगन्य हुने भई सामान्य जीविकोपार्जनका लागि मात्र पुग्ने देखिएकोले पैतृक सम्पत्तिको आयको बचतबाट समेत जग्गा खरीद गरी घर निर्माण गरेको भन्ने जिकीरमा कुनै सत्यता पाइन्न।
पैतृक सम्पत्तिको आय आर्जनको लामो समयावधिभित्र कुनै प्रकारको सम्पत्ति खरीद गरेको नदेखिनु तर, सार्वजनिक पद धारण गरे पश्चात सम्पत्ति आर्जन गरेको देखिएको छ। श्रीमतीको नाममा जग्गा खरीद गर्ने कार्य आफ्नो नाममा दर्ता भएको जग्गामा आधुनिक घर निर्माण कार्य एकलौटी भएका छन्। जग्गा खरीद गर्न र घर निर्माण गर्न रकम उपलब्ध गराउन सक्ने पैतृक सम्पत्तिको आम्दानी पनि देखिंदैन। निजका एका घरको कान्छा भाइ विनयकुमार गुप्ताको बयान कथन अनुसार ललितपुर जिल्ला सुनाकोठी गाउँ विकास समिति ढोलाहिटी स्थित निजको घर जग्गाको स्रोतमा जग्गा ससुराली तर्फबाट पाएको भनी जिकीर गरेको र घर फाइनान्स कम्पनीको ऋणबाट निर्माण गरेको भनी पैतृक सम्पत्तिको कुनै पनि आय स्रोत त्यसमा लागेको कुरा उल्लेख नगरेबाट पनि पैतृक सम्पत्तिको आय बचत रहन नसक्ने स्पष्ट छ।
एकै सगोल परिवारका छोराहरुमध्ये मन्त्री पद समेतको जिम्मेवारी पाएका जयप्रकाश प्रसाद गुप्तालाई मात्र जग्गा खरीद गर्न र घर निर्माण गर्न पैतृक सम्पत्ति उपलब्ध हुने र निजको तुलनामा अरु भाईहरुलाई त्यस्तो सम्पत्ति प्राप्त नहुने भन्ने कुरामा विश्वास गर्न सकिंदैन। जयप्रकाश प्रसाद गुप्ताको पारिश्रमिक र अन्य बैध स्वआर्जनबाट नगद सम्पत्ति बचत भई सो सम्पत्ति आर्जन हुन सक्ने देखिंदैन। अतः यस्तो वैधानिक स्रोत खुल्न नसकेको रु. ४५,२७,१६१।- लाई माग दावीमा लिइएकोछ।
(२) क्र.सं. २ र ३ मा उल्लिखित श्रीमती सरस्वती पुरी (गुप्ता) को नाममा रहेको क्रमशः जि. सप्तरी धरमपुर गाउँ विकास समिति वडा नं. ८ र जिल्ला भक्तपुर दुवाकोट गाउँ विकास समिति वडा नं. १(घ) कि.नं. १२०९ को एउटै मितिमा जग्गा खरीद गर्दाको स्रोत पनि स्वआर्जन, पैतृक सम्पत्ति आदिलाई देखाएको र सोको स्रोतका सम्बन्धमा आफ्ना पति जयप्रकाश प्रसाद गुप्तालाई नै जानकारी रहेको आफूलाई थाहा नभएको भनी निज पुरीको बयान कथन रहेको छ। प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताको बयान कथन भने सो जग्गा खरीदको स्रोत पनि आफ्नो स्वआर्जन नै हो भन्ने छ। त्यस्तो स्वआर्जनको स्रोत के हो देखाउन सकेको छैन। जग्गाधनी भनिएकी सरस्वती पुरी (गुप्ता) ले आफ्नो नाममा खरीद गरेको उक्त सम्पत्तिको स्रोतको विषयमा अनभिज्ञता प्रकट गर्नु तथा निजका श्रीमान् जयप्रकाश प्रसाद गुप्ताको पैतृक सम्पत्तिको आय र निजको स्वआर्जनको नगद प्रवाहबाट मौद्रिक बचत भै थप सम्पत्ति खरीद गर्न सक्ने स्थिति पनि देखिंदैन। वैधानिक स्रोत नखुलेको रु. ११,१०,५००।- मूल्य बराबरको जग्गालाई स्रोत नखुलेको सम्पत्ति भएकोले दावीमा लिइएको छ।
(३) क्र.सं. ४ र ५ मा उल्लिखित प्रतिवादीको नामका मोटर गाडीहरुका सम्बन्धमा स्वआर्जन, पारिश्रमिक, पैतृक सम्पत्ति आदिबाट खरीद गरेको भन्ने बयान कथन छ। निजकै बयान अनुसार पनि ती दुबै मोटर गाडीको मूल्य क्रमशः १८ लाख र १५ लाख रहेको पाइन्छ। ती मध्ये मिति २०५८।१।२२ मा बा.३ च. ७७३९ नं. को ल्याण्ड रोभर जीप खरीद गर्दा आफूसँग सो अघि साँसद सुविधा अन्तर्गत खरीद गरेको बा.अ.ञ ९६०२ नं. को कार रु. १५ लाखमा बिक्री गरी प्राप्त रकममा आफूसँग रहेको रकम थप गरी सो जीप खरीद गरेको भनी बयान गरेको भए पनि निजले बिक्री गरेको भनेको उक्त कार निजले आफ्नै नाममा राखी राखेको स्वीकारेबाट सो कार बिक्री गरेको मान्ने अवस्था छैन। त्यसैगरी राज्यले सांसदहरु कर्तव्यप्रति सचेत र उत्तरदायी समेत हुन सकुन भन्ने उदेश्यले नब्बे प्रतिशत भन्सार छूट गरिदिएको मान्न सकिन्छ। यसरी भन्सार सुविधाबाट खरीद गरेको गाडी आफ्नो मर्यादित पद माथि प्रतिकूल असर पर्ने गरी भाडामा लगाई आय आर्जन समेत गरेको भनी निजले बयानमा जिकीर लिई प्रमाण समेत पेश गर्ने प्रयास भएको छ। यस्ता काल्पनिक भनाइबाट आफूले गरेका गैरकानूनी कार्य ढाकछोप गरी नभएको स्रोतलाई वैधानिक स्रोत हो भन्ने देखाउने प्रयास गरिएको स्पष्ट नै छ। यस्तो भाडामा लगाएको भनिएको गाडी खरीद गर्दाको रकमको नै स्रोत खुल्न सकेको छैन।
सांसद सुविधा अन्तर्गत रु. ६,६३,०१५।२५ मा खरीद गरेको बा.अ.ञ. ९६०२ नं. को सन्नी कारको स्रोतको सम्बन्धमा स्वआर्जन, पारिश्रमिक र पैतृक सम्पत्ति भनी प्रतिवादीले बयानमा उल्लेख गरेको छ। सो समयसम्मको पारिश्रमिक वा स्वआर्जन भने पनि निजले २०४८ साल असारदेखि २०५० भाद्रसम्म प्रधानमन्त्रीको पे्रस सल्लाहकारका हैसियतमा रु. १,७५,०६८।८० आर्जन गरेको देखिन्छ। त्यसैगरी २०५१।२०५२ देखि २०५८।२०५९ सम्मको पूरै अवधिमा सांसदको नाताले प्राप्त गरेको कूल रु. १३,०३,२७५।- र कोशीटप्पु जग्गा समस्या समाधान आयोगको अध्यक्षको हैसियतले काम गरेको १ वर्ष ७ महिनाको जम्मा आय रु. १,०२,७१०।-समेत गरी जम्मा रु. १४,०५,९८५।- प्राप्त गरेको देखिन्छ। आ.व. २०५१।५२ देखि आ.व. २०५८।५९ सम्ममा निजले वैधानिक रुपमा प्राप्त गरेको रकम रु. १४,०५,९८५।- लाई ९ वर्षले भाग लगाउँदा प्रति वर्ष रु. १,५६,२२०।५६ हुन आउँछ। उक्त गाडी खरीद गरेको आ.व. २०५३।५४ (२०५३ चैत्र) सम्म प्राप्त हुने रकम रु. ४,६८,६६१।६८ र प्रधानमन्त्रीको सल्लाहकार हुँदा प्राप्त गरेको रकम रु. १,७५,०६८।८० गरी जम्मा रु. ६,४३,७३०।४८ प्राप्त गरेको देखिन्छ।
निजले सो रकमबाटै आफ्नो र आफ्ना आश्रित परिवारको पालन पोषणमा खर्च गरेको, निर्वाचन प्रक्रियाद्वारा सार्वजनिक पद धारण गर्ने सिलसिलामा कानून बमोजिम वैधानिक रुपमा आर्जन गरी बचत गरेको नगद सम्पत्तिको ठूलो हिस्सा चुनावको समयमा खर्च भै जाने र सो समयमा निजको उल्लिखित आयस्रोत बाहेक अर्को कुनै आय आर्जन हुने वैधानिक स्रोत रहेको पुष्टि भएको छैन। सांसद सुविधाबाट प्राप्त भएको पूरै रकम रु. ६,६३,०१६।२५ खर्च गरी कार किन्न सक्ने आर्थिक हैसियत पनि देखिन्न। निजले आफ्नो आयको सम्पूर्ण रकम खर्च गर्दा सो कार किन्न सक्ने अवस्था नदेखिएको स्थितिमा वैधानिक स्रोतबाट सो खरीद गरेको भनी मान्न सकिने अवस्था छैन।
त्यसैगरी मिति २०५८।१।२२ मा रु. १८ लाख खर्च गरी बा.३ च. ७७३९ नं. को बेलायतमा निर्मित ल्याण्डरोवर जीप र मिति २०५३।११।६ मा रु. ६,६३,०१६।२५ खर्च गरी बा.अ. ञ. ९६०२ नं. को कार समेत गरी दुबै गाडी खरीद गर्दाको वैधानिक स्रोत खुल्न नसकेकोले जम्मा रु. २४,६३,०१६।२५ को स्रोत नखुलेको सम्पत्तिको रुपमा गणना गरी दावीमा लिइएको छ।
(४) क्र.सं. ६ मा उल्लिखित प्रतिवादीका नाममा रहेको बैंक अफ काठमाडौंको खाता नं. ०१००००००४६०९ मा मिति २०५३।१२।३० देखि २०५६।६।२६ सम्म रु. १७,२८,०००।- जम्मा गरेको रकममध्ये मिति २०५६।६।२६ मा एकै दिन एउटै बैंक भौचरबाट वैधानिक स्रोत नखुलेको रु. १५ लाख बैंकमा जम्मा गरेको देखिन्छ। उपरोक्त जम्मा गरेको रकममध्ये हाल झिकिन बाँकी बैंक मौज्दात रु. ४,५८,०५५।- को वैधानिक स्रोत खुल्न नसकेकोले दावीमा लिइएको छ। झिकिसकिएको रकमलाई पनि स्रोत नखुलेको सम्पत्ति मानी दावीमा समावेश गरिएको छ।
त्यसैगरी क्र.सं. ७ मा उल्लिखित जयप्रकाश प्रसाद गुप्ताका नाममा उक्त बैंक खातामा २०५६।६।२६ मा रु. १५,००,०००।- निजका भाइ विनयकुमार गुप्ताले जम्मा गरेको छ। सो सम्बन्धमा विनयकुमार गुप्ताको दाजु जयप्रकाश प्रसाद गुप्ताले राख्न दिएको नगदै रुपैयाँ जम्मा गरेको हो, स्रोतको विषयमा थाहा छैन भन्ने विनयकुमार गुप्ताको बयान कथन रहेको छ। यस्मा प्रतिवादीले वैधानिक स्रोत खुलाउन सकेको देखिंदैन। स्रोत खुल्न नसकेको उक्त रकम झिकी केमा खर्च भएको हो? सो पनि खुलाउन सकेको छैन। उक्त नगद सम्पत्ति बैंकबाट झिकेपश्चात सो बराबरको चल अचल सम्पत्ति संग्रह गरेको पनि स्थापित नभएकोले उक्त नगद सम्पत्ति लुकाउने कार्य मात्र गरेको देखिन्छ। अतः उक्त खातामा गैरकानूनी रुपमा आर्जन गरेको नगद सम्पत्ति एकै दिन एकमुष्ट जम्मा गरेको रु. १५ लाख नगद सम्पत्तिमध्ये लुकाउने छिपाउने दुराशय राखी विभिन्न व्यक्तिहरुको नाममा चेक काटी झिकेको रु. १०,४४,४४५।- (१५ लाख मध्ये ४,५८,०५५।- हालसम्म मौज्दात रहेकोले मौज्दात रकममा नै दावी लिई बाँकी रहेको) को स्रोत नखुलेकोले स्रोत नखुलेको सम्पत्तिको रुपमा दावीमा लिइएको छ।
सोही खातामा मिति २०५३।१२।३० मा खाता खोल्दाको बखत जम्मा गरेको रु. ७८,०००।- र मिति २०५४।१२।३ मा जम्मा गरेको रु. १,५०,०००।- समेत कूल रु. २,२८,०००।- स्वाभाविक पारिश्रमिक वा प्रतिवादीले भनेका अन्य आम्दानीबाट बचत भएको रकम नै हुन सक्ने भएकोले खर्च रकमलाई दावीमा लिइएको छैन।
(५) क्र.सं. ८ मा उल्लिखित श्रीमती सरस्वती पुरी (गुप्ता) को नेपाल बंगलादेश बैंक खाता नं. ००८८२१ बैंक खाताहरुमा मिति .२०५६।६।६ देखि २०५८।६।१२ नगद सम्पत्ति उक्त बैंकमा रु. ३६,००,०००।- जम्मा गरेको रकमको स्रोतका सम्बन्धमा प्रतिवादी गुप्ताले घरायसी सरसापट, व्यवसायबाट आउने रकम, पैतृक सम्पत्ति समेतबाट आएको भन्ने बयान कथन रहेको छ। तर रु. ३६ लाख ठूलो परिमाणको नगद सम्पत्ति भएकोले कोबाट सापट लिएको? कुन कुन व्यवसाय गरी आर्जन गरेको? सो खुलाउन नसकेको हुँदा वैधानिक स्रोत खुल्न नआएको उक्त रकम रु. ३६ लाखको स्रोत खुल्न सकेको पाइदैन। उपरोक्त जम्मा गरेको रकममध्ये बैंक मौज्दात बाँकी रु. ३६,७०३।५८ रकम स्रोत खुल्न सकेको छैन। अतः यो झिक्न बाँकी मौज्दात रकमलाई स्रोत नखुलेको सम्पत्ति भएकोले दावीमा लिइएको छ। झिकी सकिएको रकमका हकमा छुट्टै दावी लिइएको छ।
क्र.सं. ९ मा उल्लिखित श्रीमती सरस्वती पुरी (गुप्ता) को नाममा रहेको उक्त बैंक खातामा वैधानिक स्रोत नखुलेको रु. ३६ लाख नगद सम्पत्तिमध्ये २०५८।६।१२ मा एकै पटक निकालेको रु. ३५,९०,०००।-रकम आयको स्वेच्छिक घोषणा कार्यक्रम लागू हुने समयमा लुकाउने, छिपाउने उद्देश्य राखी झिकिएको देखिन्छ। उक्त रकम झिकेपछि निजले कुनै प्रकारको चल अचल सम्पत्ति संग्रह गरेको देखिंदैन। खातावाला भनिएकी सरस्वती पुरी (गुप्ता) र निजका श्रीमान् जयप्रकाश प्रसाद गुप्ताले समेत सोको स्रोत र सो रकम केमा प्रयोग गरियो भनी खुलाउन सकेको छैन। स्पष्ट रुपमा लुकाउन झिकिएको सो रकमलाई स्रोत नखुलेको सम्पत्तिको रुपमा दावी लिइएको छ।
(६) क्र.सं. १० मा उल्लिखित प्रतिवादी गुप्ताको नाममा रहेको कृषि विकास बैंक, रत्नपार्क स्थित खाता नं. २५२४९० मा निज सार्वजनिक जवाफदेहीको पदमा नियुक्त हुनु पूर्व खुलेको भएता पनि निजले सार्वजनिक जवाफदेहीको पद संहालेपछि गैरकानूनी तबरबाट आर्जन गरेको नगद सम्पत्ति रु. ३८,६१,८००।- रकम पटक पटक जम्मा गरेको देखिन्छ। तत्कालिन मन्त्रिपरिषद्को सदस्यको हैसियतले सम्पत्ति न्यायिक छानविन आयोग गठन गर्न संलग्न रहेका प्रतिवादीले आयोग गठन मिति २०५८।११।२४ मा भएपछि बैंक खातामा मौज्दात रहेको रु. ९,२२,३०६।९७ रकम झिकी एकाएक उक्त बैंक खाता मिति २०५९।१।२३ मा बन्द गरी आफ्नो कसूर लुकाउने प्रयत्न गरी सार्वजनिक पदको समेत अवमूल्यन गरेको देखिन्छ। निजले उक्त रकम लुकाउने दुराशय राखी वेपत्ता पारेको सो रकमलाई स्रोत नखुलेको सम्पत्तिको रुपमा गणना गरी दावीमा लिइएको छ।
त्यसैगरी उक्त बैंक खातामा सार्वजनिक पद धारण गरे पश्चात पटक पटक गरी जम्मा गरेको ३८,६१,८००।- रकम मध्ये २९ लाख ३९ हजार भन्दा बढी रकम विभिन्न मितिमा झिकेको देखिएको र सो समयमा प्रतिवादीले काठमाडौंमा जग्गा खरीद गरी घर निर्माण गरेको देखिएको हुँदा उक्त झिकेको रकम समेत घर जग्गामा प्रयोग गरेको हुन सक्ने भएकोले सोही नगद सम्पत्ति स्थिर सम्पत्तिमा परिणत गरेको घर जग्गा नै दावीमा लिइएको हुँदा उक्त रु. २९ लाख ३९ हजार रकमलाई यहाँ उल्लेख मात्र गरिएको छ।
जयप्रकाश प्रसाद गुप्ताले आफ्नो र आफ्नी श्रीमतीको बैंक खाताहरुमा निजले सार्वजनिक पद धारण गरे पश्चात करिव ९२ लाख रकम जम्मा गरेको विषयमा विभिन्न समयमा व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एकमुष्ट जम्मा गरेको भनी बयान कथनमा उल्लेख गरेको पाइन्छ। तर, निजले सार्वजनिक पद धारण गरेपछि कुनै व्यापार व्यवसाय गरेको प्रमाण पेश गर्न नसकेको र आर्जन गरेको सम्पत्ति मध्ये रु. ९२ लाख बचत गरी बैंकमा जम्मा गरेको रकमको कर तिरेको समेत नदेखिएको हुँदा २०४८ सालभन्दा पछि एकदशकको अवधिमा गैरकानूनी कार्य गरी कसूर ढाकछोप गर्ने दुराशय राखी झूठा बयान दिएको देखिन्छ। प्रतिवादीले वैधानिक व्यापार व्यवसायमा संलग्न रही सार्वजनिक पद धारण गरेको एकदशकको अवधिभित्र सम्पत्ति संग्रह गरेको भए संग्रह भएको रु. ९२ लाख (रु. ६ लाख रकम बाहेक) रकमको चेक, ड्राफ्टबाट रकम जम्मा हुनु पर्ने, सो गरिएको छैन। ठूलो परिमाणको अचानक स्रोत नखुलेको नगद सम्पत्ति निज र निजकी श्रीमतीको बैंक खातामा जम्मा भएबाट वैधानिक आय नभएको थप पुष्टि मिल्दछ।
(७) क्र.सं. ११ मा उल्लिखित सप्तकोशी कोल्ड स्टोरेज कम्पनी प्रा.लि. नम्बर १३३००/०५७।५८ बाट मिति २०५७।३।२८ मा दर्ता भएको देखिन्छ। उक्त कम्पनीको अधिकृत पूँजी ३ करोड र जारी पूँजी २ करोड रहेको देखिन्छ। कम्पनीको संस्थापक शेयर धनीमा जयप्रकाश प्रसाद गुप्ता र उज्ज्वलप्रसाद शर्मा सापकोटा रहेका देखिन्छन्। कम्पनीको शेयर संरचनामा प्रति शेयर रु. १००।- का दरले ३,००,०००।- थान साधारण शेयर मध्ये जयप्रकाश प्रसाद गुप्ताले लिन कबूल गरेको शेयर संख्या १,८०,००० थान र अर्का शेयरधनी उज्जलप्रसाद शर्मा सापकोटाको ४००० थान शेयर रहेको छ। यसरी कबूल गरिएका शेयरहरु मध्ये जयप्रकाश प्रसाद गुप्ताको ९७.७८ प्रतिशत र उज्ज्वल प्रसाद शर्मा सापकोटाको २.२२ प्रतिशत रहेको देखिन्छ।

कम्पनीलाई कृषि विकास बैंकको संचालक समितिको मिति २०५७।७।२८ को बैठकले ऋण/स्वलागत अनुपात ७१ः२९ हुने गरी स्थिर पूँजी तर्फ रु. १,९५,००,०००।- र चालू पूँजी तर्फ १९,४२,०००।- गरी जम्मा रु. २,१४,४२,०००।- कर्जा स्वीकृत भएको देखिन्छ। कृषि विकास बैंकबाट प्राप्त प्रमाण कागजातको आधारमा जयप्रकाश प्रसाद गुप्ताको स्वलागत पूँजी गणना गर्दा रु. ६९,३१,६२४।२० लगानी गरेको देखिन्छ।
सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि.ले कृषि विकास बैंकबाट बैंक कर्जा लिंदा ऋणी भनिएको उक्त कम्पनीको तर्फबाट संस्थापक शेयरधनी जयप्रकाश प्रसाद गुप्ताले पेश गरेको परियोजनाको वित्तीय विश्लेषणको आधारमा बैंकले निर्धारण गरेको ऋण/स्वलागत पूँजी अनुपात ७१ः२९ ले स्वलागत पूँजी रु. ८१,९२,०००।- मध्ये आफ्नो पैतृक जग्गा ीबलम बलम मभखभयिऊभलत बापत रु. ११,०३,०००।- उल्लेख भएको हुँदा सो स्वलागत पूँजीमा घटाई आउने रु. ७०,८९,०००।- मध्ये बाँडफाँड गरिएको शेयर बमोजिम ९७.७८ प्रतिशत शेयर हिस्सा जयप्रकाश प्रसाद गुप्ताको रहेबाट निजको स्वलागत पूँजी रु. ६९,३१,६२४।२० रहेको देखिन्छ।
स्वलागत पूँजीको स्रोतको विषयमा २०५३ सालदेखि २०५७ सालसम्म बिक्री भएको पैतृक सम्पत्तिको आय रु. ११,०३,०६२।५० का हिस्सेदारहरुमा चार भाग लगाउँदा हुने रु. २,७५,७६५।६२ प्रतिवादीले पाएको हुनसक्ने देखिएको छ। उक्त कुरा प्रतिवादीका भाइहरुको नाममा खरीद गरिएको जग्गाको स्रोतमा पैतृक सम्पत्तिको बिक्रीबाट भएको आम्दानीबाट समेत खरीद गरेको भनी बयानमा उल्लेख गरेबाट सो कुरा पुष्टी हुन आउँछ। उक्त रकम कम्पनी स्थापना गर्दा स्वलागत पूँजीमा लगाएको हुनसक्ने भएकोले स्वलागत पूँजी रु. ६९,३१,६२४।२० मा जग्गा बिक्री गरी प्राप्त भएको रु. २,७५,७६५।६२ घटाउँदा हुन आउने रु. ६६,५५,८५८।५८ को स्रोत नखुलेकोले दावीमा लिइएको छ।
सप्तकोशी कोल्ड स्टोरेज कम्पनीलाई कृषि विकास बैंक, कञ्चनपुर शाखाबाट मिति २०५८।६।११ सम्ममा २,०१,३८,३८५।- कर्जा प्रवाह भएको देखिन्छ। प्रतिवादीका भाइ दिपककुमार गुप्ताको बयान कथनमा उक्त कम्पनी २०५८ साउनदेखि परीक्षणको रुपमा संचालन भएको र २०५८ चैत्रदेखि व्यवसायिक रुपमा संचालन गरेको भन्ने भनाई रहेको छ। यस कम्पनीले कर्जा लिए पश्चात कुनै पनि रकम साँवा किस्ता भुक्तानी नगरेको र २०५९ साल पौष मसान्त सम्ममा रु. १२,०४,९९३।- व्याज भुक्तानी गर्न बाँकी देखिएको हुँदा निजले उक्त कम्पनीबाट आय आर्जन गरी सम्पत्ति बढे बढाएको देखिंदैन।

पेश गरेको अमिल्दो सम्पत्ति विवरणः

प्रतिवादीले आम्दानीका स्रोत भनी आयोग समक्ष पेश गरेको विवरण हेर्दा देहाय बमोजिम देखिएको छ।
(१) प्रधानमन्त्रीको सल्लाहकार, प्रतिनिधि सभा सदस्य, परराष्ट्र तथा मानव अधिकार समितिको सभापति र विभिन्न समयमा मन्त्री पदमा बहाल रहँदा तलब भत्ता र विदेश भ्रमणका लागि तोकिएको खर्च र हवाई टिकटको रकम समेत जम्मा रु. ३८,८६,३१२।४१ निजले बुझी लिएको भनी सम्बन्धित कार्यालयहरुबाट लेखी आएको र कोशी टप्पु वन्यजन्तु आरक्षण जग्गा समस्या समाधान समितिको अध्यक्षको हैसियतले प्राप्त गरेको पारिश्रमिक भत्ता लगायतका निजले उल्लेख गरे बमोजिमका रकम रु. १,८२,७००।– समेत जम्मा रु. ४०,६९,०१२।४१ देखिन्छ। उक्त रकमहरु मध्ये विदेश भ्रमणका रकममा हवाई टिकट समेतको रकम उल्लेख हुनुबाट सो बापत प्राप्त रकम त्यसै प्रयोजनमा खर्च भएको भन्ने स्पष्ट छ। सो बाहेकका रकम घर व्यवहार, जनसम्पर्क, निर्वाचनमा उम्मेदवार हुँदा भएको खर्च, चाडपर्व, स्वदेश देखि विदेश (बैंकक) मा भएका उपचार खर्च समेतलाई दृष्टिगत गर्दा ती सबै खर्च भई बचत हुन सक्ने नदेखिंदा सोलाई खर्च भई गएको सम्पत्तिको रुपमा लिइएको छ।
त्यसैगरी राजनीतिक क्षेत्रका व्यक्तित्वहरुले सार्वजनिक पद धारण गर्न सामान्यतः निर्वाचन प्रक्रियाबाट चुनिनु पर्दा उम्मेदवारीको प्रचार प्रसार, कार्यकर्ता तथा जन परिचालन, संचार तथा यातायात इत्यादिमा खर्च भई सार्वजनिक पद धारण गरेको अघिल्लो कार्यकालबाट प्राप्त गरेको आम्दानीबाट हुने बचतले त्यसरी निर्वाचन प्रक्रियामा खर्च भई जाने अवस्था हुंदा निजहरुले प्राप्त गर्ने तलब, भत्ता, सुविधामा अत्यन्त न्यून रकम मात्र बचत हुन सक्ने देखिन्छ।
(२) जग्गा भाडा बापत आएको भनिएको रु. ७३,५००।– प्राप्त गर्दाको समयमा निजको एकाघर सगोलको सप्तरी जिल्लाको कञ्चनपुर र फत्तेपुरमा जम्मा रु. ३५,२९,०५२।१० मूल्य बराबरको घर निर्माण भईरहेको र सो रकम सोही प्रयोजनार्थ खर्च भएको हुनसक्ने देखिएको छ।
(३) गाडी भाडा बापत रु. ७,६८,०००।– पाएको भनी निजले उल्लेख गरेको सम्बन्धमा भाडामा दिएको भनिएको गाडी सांसद सुविधा अन्तर्गत खरीद भएको र सो गाडी खरीद गरे पश्चात् निज लगातार सांसद मन्त्रीपदमा पदासीन रहेको देखिएको छ। राज्यले तत्कालीन मन्त्री र सांसदलाई मुलुकको आवश्यकता अनुसार उत्तरदायी बन्न सकून भनी राजश्वमा ठूलो हिस्सा छूट दिई गाडी सुविधा पाउने पदाधिकारीका हैसियतले सुविधाको गाडी खरीद गरिसकेपछि सांसद र मन्त्री जस्तो मर्यादित पदको छविमा प्रतिकूल असर पर्ने गरी सांसदले पाउने सुविधामा खरीद गरेको गाडी लाई नै भाडामा लगाई भाडा बापत रकम संकलन गरेको वैधानिक स्रोत भनी मान्न मिल्ने अवस्था देखिन्न। यस्को साथै गाडी खरीद गर्दाको सम्पत्तिको नै स्रोत खुल्न नआएको अवैध आयबाट खरीद भएको हुँदा सो गाडीलाई स्रोत नखुलेको आयको रुपमा दावी लिईएको छ।
(४) पैतृक सम्पत्तिको रुपमा रहेको घर भाडा बापत प्राप्त गरेको भनिएको कूल रु. ७,०१,१००।– निजको पैतृक सम्पत्तिको रुपमा रहेको जग्गामा पैतृक सम्पत्ति (जग्गा बिक्री गरेको रकम) बाट निर्मित घरहरु र ती घर मध्ये एउटामा निजका बाबु आमाको बसोबास रहेको र अर्कोमा निजको माइलो भाइ दीपककुमार गुप्ता आफ्ना पत्नी, छोरा छोरी सहितको परिवार लिएर बाबु आमाबाट अलग्गै बसेको निजहरुको बयानबाटै देखिनाले भाडामा लगाएको कुरा एकातिर पत्यारलायक देखिएन भने अर्को तर्फ उक्त घरहरु मध्ये भाडामा लगाएको भए पनि सो भाडा बापत प्राप्त हुने सीमित मासिक आय निजका बृद्ध बाबु आमाको भरण पोषणमा खर्च भै जाने अवस्था देखिंदा उक्त आयबाट मौद्रिक बचत हुने अवस्था देखिंदैन।
(५) निसान गाडी बिक्रीबाट रु. १५,००,०००।– आएको भनी निजले खुलाएको स्रोतका सम्बन्धमा सो गाडी निजले सांसदको हैसियतले भन्सार सुविधामा प्राप्त गरेको देखिएकोले ५ वर्ष सम्म बिक्री गर्न नै नपाउने, सो अवधि पछि बिक्री गरेको भए गाडीको नामसारी हुनु पर्नेमा सो भएको छैन। सांसद सुविधा बापत खरीद गरिएको निजको सो गाडी खरीद गर्दा लगानी गरेको सम्पत्तिकै स्रोत खुल्न नसकेको, स्रोत खुलेको वैधानिक आयको बचतको सम्पत्तिले मात्र गाडी खरीद गर्न सक्ने देखिंदैन। तसर्थ, सांसद सुविधा बापत खरीद गरेको गाडीको स्रोत खुल्ने आधार नरहेबाट उक्त गाडी जफतको दावी लिई सकिएको अवस्थामा आफ्नै नाम र स्वामित्वमा रहेको सम्पत्ति बिक्री भएको र सोबाट प्राप्त रकमले अर्को गाडी खरीद गरेको भनेर मान्न सक्ने अवस्था छैन।
(६) सुन्दरी पोल्ट्री फर्मबाट आ.व. २०४५।४६ देखि आ.व. २०५८।५९ सम्ममा कूल रु. २०,६२,४७६।– प्राप्त गरेको भन्ने सम्बन्धमा सो सुन्दरी पोल्ट्री फर्म जि. सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं. ६ बस्ने हेमराज तातेडको श्रीमती जयश्री तातेडको प्राइभेट फर्मको रुपमा दर्ता भएको देखिन्छ। ८०० कुखुरा पालन गरी मासु उत्पादन गर्ने उद्देश्य राखी दर्ता भएको सो फर्मको प्रोपाइटर जयश्री तातेडको आफ्नै नाममा रहेको जि. सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं. ८(ख) को कि. नं. ७७, १०१ र १०२ को जग्गा विगाहा १–१०–० र विलेती गोइतका नामको जग्गा समेत धितो राखी कृषि विकास बैंक कञ्चनपुर सप्तरी शाखाबाट मिति २०५२।५।२६ मा रु. १,००,०००।– ऋण लिएको र सो ऋण प्राप्त गर्ने समेतका कामको लागि निज जयश्री तातेडले आफ्ना पति हेमराज तातेडका नाममा कर्जा लिने प्रयोजनका लागि धितो सुरक्षण बैंकमा राख्न मञ्जुरनामा दिएको देखिन्छ। उक्त ऋण तिर्न नसकी ऋण बापत राखेको जयश्री तातेडका नामको उक्त धितो सुरक्षणमा रहेको जग्गा बैंकले मिति २०५८।६।१५ मा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरेपछि स्वयं बैंकले नै धितो सकार गरेको अवस्थासम्म पनि निज जयप्रकाश प्रसाद गुप्ताको सो फर्ममा कुनै प्रकारको व्यावसायिक संलग्नता रहेको देखिंदैन।
जुन फर्मले ऋण बापत लिएको रकमको साँवा व्याज बुझाउन नसकी धितो लिलाम भई धितो सुरक्षण नै बैंकको नाममा आइसकेको अवस्थामा त्यस्तो फर्म नाफामा संचालन भएको थियो भनेर विश्वास गर्ने कुनै आधार भेटिंदैन। यसरी लिलाम भैसकेको उक्त फर्ममा निजको कुनै व्यवसायिक संलग्नता नरहेकोले निजले रु. २० लाख भन्दा बढीको आय प्राप्त गरेको भनी उल्लेख गरेको कुरा अत्यन्त भ्रामक र कपोलकल्पित रहेको प्रष्ट हुन्छ।
(७) आफ्नो वैधानिक आम्दानीको स्रोत देखाउने प्रसंगमा प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले २०४८ सालदेखि २०५९ सालसम्मको आँप बगैंचाबाट भएको खूद आम्दानी भनी रु. ७,३५,०००।– देखाईएको छ। एक वर्षको खूद आँप १,००,०००।– सम्मको आँपको बिक्री हुन कति जग्गा आवश्यक पर्छ त्यो बढी विचारणीय प्रश्न छ। निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारका नाममा रहेको सबै जग्गाहरुको स्थिति र अवस्था हेर्दा जम्मा डेढ (ज्ञ½) का जग्गामा बगैंचा जनिएको पाइन्छ। त्यसै बगैंचालाई आँपको बगैंचा भनी मान्ने हो भने पनि त्यस बगैंचाबाट सरदर प्रति वर्ष ६६,८१८।– को खूद आँप हुने कल्पनासम्म पनि गर्न सकिन्न। सो बाहेक खेतीपातीको कारोबार निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारले गर्ने गरेको भन्ने निज र निजका भाइहरुको बयान कथन अनुसार आँप बेचेको कुनै सीमित रकम प्राप्त हुने भए पनि निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारलाई प्राप्त भई निजले नै खर्च गर्ने अवस्था देखिंदा निजको सो कथन पनि प्रतीतलायक छैन।
(८) खेतीको आम्दानी भनी प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताद्वारा देखाइएको सुनसरीको जग्गाबाट खेतीको आम्दानीमा २०४० सालदेखि २०५२ सालसम्म भनी उल्लेख गरेको गहुँ २०२१ मनको हुने ४,७६,४१०।– र सोही जग्गाको धान मन ४९९२ हुने रु. १०,६४,१८१।– गरी जम्मा रु. १५,४०,५९१।– उल्लेख गरेको पाइन्छ।
उक्त कुरा निजले सार्वजनिक पद धारण गर्नु पूर्वको निजको बैंक खाता लगायतका अन्य सम्पत्तिहरुसँग आवद्ध गरी हेर्दा झूठा देखिएको छ। २०४० सालदेखि २०५२ सालसम्म जम्मा १३ वर्षको खेतिको आय रु. १५,४०,५९१।– भन्ने निजको भनाई तर्फ हेर्दा वार्षिक रुपमा प्राप्त हुने खेतीको आयस्थालाई अंकमा उल्लेख भए अनुसार एकमुष्ट हुने होइन। जयप्रकाश प्रसाद गुप्ता र निजका भाइहरुले विद्यार्थी जीवन समाप्त गर्नासाथ आ–आफ्नो छुटृाछुटैृ पेशा र रोजगार गरेको देखिनाले खेतीमा बसी कृषकको हैसियतले खेती गरेको देखिंदैन। अरु व्यक्तिद्वारा खेती गराइएको स्थितिमा त्यति मूल्य बराबरको खाद्यान्न बाली प्राप्त गर्न सक्ने अवस्था हुँदैन। त्यसमा पनि कृषिमा लाग्ने मल, बीउ, मानवीय श्रम आदिको हिसाब गर्दा अत्यन्त सीमित रुपमा मात्र आय आर्जन हुन्छ।
सप्तरीको जग्गाको आम्दानीको सन्दर्भमा हेर्दा निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारका नाममा रहेको जग्गाा मध्येबाट २०३८ सालमा १–०–० विगाहा, २०४० सालमा १–६–१२ विगाहा, २०४१ सालमा १–१६–८ विगाहा र २०४२ सालमा ०–०–१९ विगाहा जग्गा बिक्री गरेको देखिन्छ। त्यसैगरी २०४८ सालमा आएर १–३–१० विगाहा, २०४९ सालमा ०–१–१३, २०५३ सालमा ०–०–१४ विगाहा जग्गा बिक्री गरेको देखिन्छ। यसरी एकातिर प्रतिवर्ष ती जग्गा बिक्री हुँदै जाने, अर्कोतर्फ माथि उल्लेख गरे बमोजिम जयप्रकाश प्रसाद गुप्ता र निजका भाइहरु विद्यार्थी जीवन पछि छुटृाछुटृै पेशा गरी छुटृाछुटृै रुपमा बस्दै आएको भन्ने बयान कथनबाट देखिंदा ती जग्गाहरुमा गरिएका खेती आफू स्वयंले नगरी अरु व्यक्तिहरुबाट गराइएको अवस्थामा प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले उल्लेख गरे बमोजिमको लागत र प्रतिफलको हिसाबले आय हुन सक्ने अवस्था नभै केही सीमित कृषि आम्दानी भएको हुन सक्ने र त्यसै आयबाट निजका बाबु आमा र परिवारका अन्य सदस्यहरुको पालन पोषण चाड पर्व आदिमा खर्च भई जान सक्ने देखिएको छ।
यसप्रकार कृषि व्यवसायबाट प्राप्त गरें भनिएको मौद्रिक आय स्थानीय बैंक वा वित्तीय संस्थामा कुनै पनि रकम जम्मा नभएको हुँदा निजहरुका परिवारलाई चाहिनेजति मात्र कृषिबाट खाद्यान्न बाली उत्पादन भइको प्रष्ट हुन्छ। यसरी आय आर्जन गरें भनिएको कुनै पनि आय निज जयप्रकाश प्रसाद गुप्ता र निजकी श्रीमतीको काठमाडौंस्थित बैंक खाताहरुमा ड्राफ्ट/चेक मार्फत रकम जम्मा भएको छैन। यदि, त्यस्तो रकम आम्दानी गरेको भए पनि हाल खर्च भई सकेको स्थितिमा पाइएकोले सार्वजनिक पद धारण गरेपछि आर्जन गरेको सम्पत्तिमा समाविष्ट हुन सक्ने अवस्था देखिएन। त्यसैगरी निजले धरमपुर प्रिप्रा पूर्व र धरमपुर सप्तरीका जग्गाबाट भएको आम्दानी हेर्दा निजले उल्लेख गरे बमोजिमको आय आर्जन हुन सक्ने अवस्था नदेखिएको र त्यसरी आय आर्जन भएको प्रमाण पेश पनि भएको नदेखिंदा प्रतिवादीका ती सबै कथनहरु कपोलकल्पित र झूठा देखिन्छन्।

(९) कृषि आय बापत २०४० देखि २०५८ सालसम्म कूल रु. ३०,५२,८२८।– आम्दानी भएको भनी प्रतिवादीले आयोग समक्ष पेश गरेको विवरणमा खुलाएता पनि सो बराबरको आम्दानी हुने जग्गाहरु देखिंदैनन्। निज वा निजको परिवारका अन्य सदस्य खेतीपातीमा प्रत्यक्ष रुपमा संलग्न रहेको नदेखिएको, कानून बमोजिम तिर्नु बुझाउनु पर्ने दै दस्तूर समेत कहिं कतै नबुझाएको सन्दर्भमा संगोलको खेतीपातीबाट हुने आयस्ता निजको सगोलको परिवारका सदस्यहरुको भरण पोषणमा खर्च भई जाने वास्तविकतालाई विचार गर्दा निजलाई त्यति ठूलो रकम आय प्राप्त भएको मान्न सक्ने तार्किक आधार छैन।
अतः उपरोक्त आधार एवं पृष्ठभूमिमा हेर्दा प्रतिवादीले सार्वजनिक पद धारण गर्नु पूर्व पैतृक सम्पत्तिमा रहेको खेतीपातीबाट कुनै प्रकारको चल अचल सम्पत्ति खरीद गर्ने कार्य भएको देखिंदैन भने त्यस समयमा कुनै प्रकारको व्यवसायबाट आय आर्जन गरी बचत गर्न सक्ने हैसियत नरहेको कुरा निजको बैंक खतामा रु. २२ हजारमात्र जम्मा भएको कुराले स्पष्ट गर्दछ। प्रतिवादीले सार्वजनिक पद धारण गरे पश्चात् निज र निजकी श्रीमतीका बैंक खाताहरुमा ठूलो परिमाणको रकम जम्मा हुँदै जानु, दुईवटा गाडी खरीद गर्नु, काठमाडौंको सिनामंगलमा जग्गा खरीद गरी आधुनिक घर निर्माण गर्नु, रु. ६६ लाखभन्दा बढी स्वलागत पूँजी (भ्त्रगष्तथ ऋबउष्तब)ि लगानी गरी कोल्ड स्टोरेज स्थापना गर्नु, सप्तरी जिल्लास्थित धरमपुर गाउँ विकास समितिमा आफ्नी श्रीमती सरस्वती पुरी (गुप्ता) को नाममा जग्गा खरीद गर्ने कार्य गरी करिव एक दशकको अवधिभित्र रु. २ करोड ८ लाख मूल्यभन्दा बढी रकमको सम्पत्ति आर्जन गरेको देखिएको छ। प्रतिवादीले मिति २०५१।३।३० देखि २०५१।८।१ (४ महीना १ दिन) सम्म सार्वजनिक पदमा नरहेको अवधिमा निजले बैंक खातामा नगद जम्मा गर्न तथा अन्य सम्पत्ति आर्जन गर्न नसकेको तर सार्वजनिक पद धारण गरेपछि मात्र आफू र आफ्नी श्रीमतीको नाममा चल अचल सम्पत्ति आर्जन गर्ने कार्य तीब्र रुपमा गरेको देखिएकोले राज्यले सुम्पेको मन्त्री र अन्य महत्वपूर्ण सार्वजनिक पदको अवधि र प्रतिवादीले आर्जन गरेको सम्पत्ति बीच सोझो सम्बन्ध स्थापित भएको छ।
सार्वजनिक पद धारण गरेपश्चात प्रतिवादीले तालिका नं. ५ देखि ९ सम्म उल्लिखित कूल सम्पत्ति रु. २,४३,३२,६६४।७८ आर्जन गरेको देखिएको छ। उक्त सम्पत्ति मध्ये तालिका नं. ११ मा उल्लेख भए बमोजिम रु. ३५,२४,६१८।४० को मात्र स्रोत खुल्न सकेको छ भने तालिका नं. १२ मा उल्लेख भएको चल अचल सम्पत्ति रु. २,०८,०८,०४६।३८ को वैधानिक स्रोत खुल्न सकेको छैन। आफ्ना नेतालाई जेल र जरिवानाको फैसला सुनाएको विरोधमा राजविराजको जनआन्दोलन चोकमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्। फैसला बारे मिडियामा समाचार आए लगत्तै कार्यकर्ताहरुले फैसलाको प्रति जलाए। उनीहरुले टायर जलाउँदै नाराबाजी गरिरहेका छन्।

 सर्वोच्चले जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदा यसअघि विशेष अदालतले गरेको फैसला नमिलेको भन्दै त्यस्तो फैसला गर्ने न्यायाधीशलाई समेत कारबाहीको सिफारिश गरेको छ।
 
 के छ सर्वोच्चको निर्णयमा ?
....विशेष अदालतमा फैसला गर्ने न्यायाधीशहरुले मिसिल संलग्न प्रमाणको मूल्याङ्कनमा गम्भीर लापरवाही र त्रुटी गरी जसरी भए पनि प्रतिवादीलाई सफाइ दिने भावनाबाट ग्रसित भई प्रतिवादीले बयानमा जिकिर लिए भन्दा बढी तथा बयानमा जिकिर नै नलिएका शीर्षकहरुबाट पारिश्रमिक आयलाई मान्यता दिएको, वैदेशिक भ्रमण भत्ताको रकमलाई पनि दोहोरो हिसाब गरी आयलाई मान्यता प्रदान गरेको वैदेशिक भ्रमणभत्ता वापत् आय दिएको रकममध्येबाट बचत हुने ७० प्रतिशतको गणना गर्दासमेत प्रतिवादीलाई लाभ पुग्ने गरी अंक कायम गरेको जग्गा भाडाबाट आय प्राप्त भएको भनी प्रतिवादीले बयानमा जिकिर लिए भन्दा बढी आयलाई मान्यता दिएको समेतबाट न्याय सम्पादन कार्यमा विचलित भएको प्रष्ट देखिएको हुँदा प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि यो फैसलाको प्रतिलिपिसहित न्याय परिषद् सचिवालयमा पठाउनु... 
 

विशेष अदालतका न्यायाधीश भूपध्वज अधिकारीसहितको इजलासले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाइ दिएको थियो। विशेषको फैसलाविरुद्ध सरकारले २०६४ कात्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेकोमा त्यसको दुई वर्षपछि मात्रै सर्वोच्चमा सुनुवाइ सुरु भएको थियो।
गुप्ता मंगलबार सर्वोच्च अदालतको इजालसमा चुपचाप बसिरहेका थिए । संभवत उनले आउने परिणामका बारेमा अनुमान लगाइसकेका हुँदा हुन् ।
उनले इजालसमा सुनुवाइ भइन्जेल कसैसँग बोलेनन् । शान्त मुद्रमा उनी चुपाचाप सुनुवाई सुनिरहे । उनको अनुहार भने केही गम्भीर देखिन्थ्यो । जब न्यायाधीश सुशीला कार्कीले फैसला सुनाउन थालिन् । उनको अनुहार आध्यरो हुँदै गयो ।
अर्का न्यायाधीश तर्कराज खड्काले फेसलामा सही थप्दै केही बुँदाहरू थपेपछि भने उनले अनुहार पुछे । यसरी एक जना नेपाली राजनीतिका खेलाडी लामो प्रकृयापछि भ्रष्टाचारी करार भए । उनलाई डेढ वर्ष कैद, ८४ लाख रुपैयाँ बराबरको विगो र जरिवाना असुल्ने फैसला गरियो ।
उनले आफैले भने अनुसार अब गुप्ता राजनीतिक नेता वा कार्यकर्ताका रूपमा फेरि मञ्चमा आउने छैनन् । सर्वोच्चबाट उनलाई प्रहरीले ट्रकमा राखेर लैजाने क्रममा समेत उनी गम्भीर नै देखिन्थे । प्रेस समक्ष नहडबडाई पुरानै शैलीमा छोटो भनाइ राखे ।
सञ्चार राज्यमन्त्री सुरिताकुमारी साह, पार्टीका सहअध्यक्ष राजकिशोर यादव, महासचिव आत्मप्रसाद झालगायतका नेता कार्यकर्ता अदालतमा उपस्थित थिए । उनलाई दोषी करार गरेको फैसला आएपछि अदालत परिसरमै नारावाजीसमेत भएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक