20120225

नौ महिनाअघि भैरहवाको एउटा विद्यालयबाट अपहरणमा परेका दस वर्षीय बालक दिवाकर यादवको शव भारतमा फेला, शव कुहिएर टुक्राटुक्रा !

बाबु परशुराम यादवले दुई भिन्दाभिन्दै आपराधिक समूहमा संलग्न व्यक्तिलाई ११ लाख रुपैयाँ बुझाएका थिए, त्यतिमात्रै होइन छोराको खोजीका लागि भारतको मुम्बईसम्म पटकपटक पुगेका परशुरामले झन्डै १० लाख रुपैयाँ थप खर्च गरिसकेका थिए, तर अपराधीहरुले पैसा पनि खाइदिए बालक पनि !
नौ महिनाअघि भैरहवाको एउटा विद्यालयबाट अपहरणमा परेका दस वर्षीय बालक दिवाकर यादवको शव भारत उत्तरप्रदेशको महाराजगञ्ज जिल्ला बडहरी गाउँमा शनिबार साँझ फेला परेको छ। यो गाँउ नेपाल-भारत सुनौली नाकाबाट पश्चिम-दक्षिण करिब ५० किलोमिटर दूरीमा पर्छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक प्रविण धितालको नेतृत्वका गएको टोलीले भारतीय प्रहरी र स्थानीयको सहयोगमा शव फेला पारेको हो। अपहरणमा संलग्न एक व्यक्तिले बालक अपहरणबारे स्थानीयलाई जानकारी दिएका थिए। त्यसका आधारमा नेपाल प्रहरी शव खोज्न यहाँ आएको हो। शव बडहरी गाँउको खोल्सामा भेटिएको छ। रातो सर्ट, कालो पाइन्ट र स्कुलको नामसहितको पेटी लगाएको अवस्थामा शव भेटिएको हो। शव कुहिएर टुक्राटुक्रा
भएको छ। भैरहवास्थित नेपाल नालन्दा आवासीय उच्च माविमा कक्षा २ मा अध्ययनरत यादव गत जेठ २२ गते ४ बजे स्कुल छुट्टी भएर घर फर्कदै गर्दा बाटैबाट अपहरणमा परेका थिए। अपहरणमा परेका छोरा दिवाकरलाई सकुशल मुक्त गरिदिने भन्दै व्यवसायी बाबु परशुराम यादवले दुई भिन्दाभिन्दै आपराधिक समूहमा संलग्न व्यक्तिलाई ११ लाख रुपैयाँ बुझाएका थिए। परशुरामले छोरा अपहरणमुक्त हुने आशामा गत भदौमै एकजनालाई १० लाख र अर्कोलाई १ लाख रुपैयाँ दिएका हुन्। ११ लाख रुपैयाँ असुली गरेपछि ती व्यक्ति सम्पर्कबाहिर भए।  परशुरामका अनुसार, रुपन्देहीको फरेनाका कुदरत मुसलमान भदौ २५ गते किहान उनको रोहिणीहवास्थित घरमा आए, बच्चा हेरेर आएको र आफूले जसरी पनि ल्याइदिने लामो बेलीविस्तार लगाएका थिए। रुपन्देहीको मर्चवार क्षेत्रकै अरमान मुसलमानले पनि छोरा ल्याइदिने भन्दै परशुरामसँग ५ लाख रुपैयाँ मागेका थिए। अहिले १ लाख रुपैयाँ दिने र छोरासँग कुराकानी गराइसकेपछि थप ४ लाख रुपैयाँ दिने सहमति गरेका थिए।
भदौ १५ गते उनले भारतीय सीमावर्ती गाउँ लौटनस्थित एक पेट्रोल पम्पमा पुगेर अरमानलाई एक लाख रुपैयाँ दिएका थिए। त्यो रकम पाएपछि अरमान पनि परशुरामबाट सम्पर्कविहीन भए। मध्यस्थकर्ता बन्दै रकम असुल्दै गरेको सुइँको पाएपछि प्रहरीले भदौको अन्तिमतिर अरमानलाई मर्चवारको सीमावर्ती गाउँ प्रिपैयाबाट पक्राउ गर्न सफल भएको थियो। मध्यस्तकर्ता बन्दै १० लाख रुपैयाँ असुल्ने कुदरतको प्रहरीले अहिले पनि खोजी गरिरहेको छ। त्यतिमात्रै होइन, छोराको खोजीका लागि भारतको मुम्बईसम्म पटकपटक पुगेका परशुरामले झन्डै १० लाख रुपैयाँ थप खर्च गरिसकेको थिए। छोराको कतै सुइँको पाउने आशामा ठाउँ ठाउँमा उनले विभिन्न व्यक्ति परिचालन गर्दा र आफैं हिँडडुल गर्दा उनको लाखौं खर्च भएको थियो। -शेरबहादुर केसी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक