20120205

यो सबै प्रचन्ड, बैद्य र बाबुरामको कुटनितिक जालझेल हो, उनिहरुकै निर्देशनमा यि कामहरु भैरहेका छन, सबैलाई चेतना भया !

सुर्खेत, माघ २२ - सुर्खेतको दशरथपुरमा रहेको माओवादी लडाकूको छैटौ डिभिजनबाट विदा भएर घर जान लागेका २५ जनाको चेक शिविरका कमाण्डर एटमले लुटेका छन् । स्वेच्छिक अवकास रोजेका चन्द्रबहादुर थापा, रुपबहादुर बुढा, रामचन्द्र धमला, हरिबहादुर बम, पौरख मल्ल लगायतका २५ जनाको चेक कमाण्डर एटमले लुटेर लगेको पौरखले जानकारी दिनुभयो । पौरखले भन्नुभयो “चेक बुझेर घर फर्कन लागेका थियौं, कमाण्डरले चेक दिन्छौं कि बल प्रयोग गरौं भन्दै धम्क्याएर चेक खोसेर लगे ।” यसबारेमा बुझ्न मोबाईल मार्फत सम्पर्क गर्दा एटमले यसबारेमा पछि कुरा गर्छु भन्दै मोबाईल काटिदिनुभयो । दोहोर्‍याएर फोन गर्दा एटमले मोबाइल नै उठाउनु भएन ।सुर्खेतको दशरथपुरमा स्वेच्छिक अवकाश रोजेका लडाकुहरुलाई चेक वितरण भइरहेकै बेला भित्र पसेर अनमिनको प्रमाणिकरणमा नपरेका 'अयोग्य' लडाकुहरुले तोडफोड गरेका छन्। उनीहरुले आफ्ना केही माग भएको बताउँदै भित्र पसेर यसरी काम अवरुद्ध पारेका हुन।  यस विषयमा छलफल गर्न माओवादी शीर्ष नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बसेको छ। बैठकपछि पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउने भनिएको छ। आजै दिउँसो सुर्खेतका केही कमाण्डरहरुले लडाकुले पाएको चेकबाट पार्टीले पनि केही अंश पाउनुपर्ने भन्दै चेक नै लुटेको समाचार आएको
 थियो।


रोल्पाको दहबनमा दर्जा विवाद-
लडाकुको दर्जा नमिलेपछि पाँचौ डिभिजन मुख्यालय रोल्पाको दहबनमा केही लडाकुको चेक बाँकी छ। 'दर्जा' विवादका कारण स्वेच्छिक अवकाश रोजेका केही लडाकुको 'चेक' थाँती रहेको एक सहायक कमाण्डरले बताएका छन्।
दर्जा मिलान नगरिएको भन्दै यस डिभिजनका अवकाश रोजेका थुप्रै लडाकुले चेक बुझेका छैनन्। चेक नबुझ्नेमा 'विग्रेड सहायक कमाण्डर' सम्मका छन्। यद्यपि चेक नलिनेहरुको एकिन सङ्ख्या भने नरहेको मुख्यालयले जनाएको छ। 'दर्जा नमिलाइएको भन्दै हाम्रा थुप्रै साथीहरुले चेक लिनुभएको छैन', पाँचौ मुख्यालयका सहायक कमाण्डर रामलाल रोकाले भने- तर उहाँहरुको सङ्ख्या भने एकिन छैन।

दर्जा मिलानको माग राखेका लडाकुहरुले पछि सहमतिबाटै माग सम्वोधन गरिनुपर्ने भन्दै अहिले चेक नबुझ्ने अडान लिएका छन्। 'दर्जा मिलानका विषयमा पछि सहमतिबाट टुङ्ग्याइनुपर्छ भन्दै साथीहरुले अहिले चेक बुझ्दैनौ भन्नुभएको छ', रोकाले भने- यो माग सहमतिबाटै टुङ्ग्याइनुपर्छ। उनले यस विषयमा तत्काल अर्को 'निर्णय' गरिनुपर्ने बताए। उनका अनुसार दर्जा मिलानको माग राखेका लडाकुहरु चेक बुझ्ने ठाउँसम्म पनि गएनन्। वैद्य पक्षीय मानिने यी सहायक कमाण्डर रोकाले पनि स्वेच्छिक अवकाश रोजेका छन्। उनले भने चेक लिइसकेका छन्।

संयुक्त राष्ट्र सङ्घले प्रमाणीकरणका क्रममा उल्लेख गरेको शैक्षिक योग्यता नभई हालको योग्यताका आधारमा तह निर्धारण गरिनुपर्ने उनीहरुको माग छ। रोकाका अनुसार हालको शैक्षिक योग्यताका आधारमा तह निर्धारण गरी रकम दिइनुपर्ने माग राखेका उनीहरु यसो नगरिए कत्ति पनि रकम नलिने अडानमा  छन्। 'युएनले उल्लेख गरेको तह नभई हालको शैक्षिक योग्यताका आधारमा तह निर्धारण गरी रकम दिइनुपर्छ भन्ने साथीहरुको माग हो', सहायक कमाण्डर रोकाले भने- यसो नगरिए उहाँहरु रकम नलिने अडानमा हुनुहुन्छ, उहाँहरुको माग सुनुवाई नभए थप समस्या उत्पन्न हुन सक्छ।

महिला तथा घाइते, अपाङ्ग लडाकु आन्दोलनको तयारीमा
यसैबीच आफूहरुको उचित व्यवस्थापनको माग राख्दै आएका ५ औँ डिभिजनअन्तर्गतका महिला तथा घाइते अपाङ्ग लडाकुहरु अब के गर्ने भन्ने रणनीतिमा लागेका छन्। आफूहरुका माग पूरा नभएको भन्दै असन्तुष्ट उनीहरु आन्दोलनको तयारीमा जुटेको मुख्यालय स्रोतले जनाएको छ। महिला तथा घाइते अपाङ्ग लडाकुहरुले पुनर्वर्गीकरणका क्रममा स्वेच्छिक अवकाश रोजेका छन्। घर फर्किएपछि कसरी जीवन चलाउने भन्ने चिन्तामा रहेका उनीहरुले यसअघि आफूहरुका माग पूरा गर्न सरकार तथा आफ्नो पार्टी माओवादीलाई अल्टिमेटमसमेत दिएका थिए। घाइते अपाङ्गहरुले आफ्ना छोराछोरीलाई शिक्षाको व्यवस्था, आजीवन पेन्सन , उपचारको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका छन्।

उनीहरुले वर्गीकरण भइरहेकै समयमा रोल्पा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दहाल, प्रधान मन्त्री डा. बाबुराम भट्टराईलगायत् माओवादीका अन्य नेतालाई समेत आफूहरुका माग पूरा गरिदिन आग्रह गरेका थिए। त्यसबेला एक हप्ता अल्टिमेटम दिएका उनीहरुले माग पूरा नभए सडक आन्दोलन गर्नेसम्मको चेतावनी दिएका थिए। सरकारले मागबारे छलफल गरेर टुङ्ग्याइने जनाएपछि उनीहरुले आन्दोलन स्थगित गरेका थिए। तर बिदाई प्रक्रिया सुरु हुँदासम्म आफूहरुका मागका विषयमा सम्वोधन नगरिएको भन्दै उनीहरु सरकार र माओवादीप्रति असन्तुष्ट छन्। आफूहरुका माग पूरा गराउनका लागि अब कसरी अघि बढ्ने भन्नेमा उनीहरु छलफलमा व्यस्त रहेको लडाकुहरुले बताएका छन्।
कांग्रेस नेता रामशरण महतले अवकास रोजेका लडाकुलाई दिइएको रकमको चेक र परिचय-पत्र कमाण्डरले कब्जामा लिएको बताएका छन् ।
'लडाकुलाई दिइएको चेक, आईडी कार्ड कमाण्डरले कब्जामा लिएको भनिएको छ,' सिंहदरवारमा आइतबार तीन दलको बैठकपछि महतले भने, 'यस विषयमा विशेष समितिको बैठक बोलाउन प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ बुझ्दैछु, बुझ्दैछु भन्नुहुन्छ ।' प्रधानमन्त्री बाबुराम भट्टराई लडाकुको रेखदेख, समायोजन, र पुनःस्थापना विशेष समितिका संयोजक हुन् ।
महतले यस विषयमा छलफल गर्न बैठक बोलाउन भने पनि प्रधानमन्त्री गम्भीर नभएको आरोप लगाए । उनले पहिले गरेका कतिपय निर्णय कार्यान्वयन नभएकोबारे पनि ध्यानाकर्षण गराइएको बताए । प्रधानमन्त्रीले बैठक बोलाउन नचाहेपछि भित्र केही कुरा छ भन्ने प्रस्ट भएको बताए । उनले कमाण्डरले लडाकुसँग ४० प्रतिशत मागेको दाबी गर्दै पारदर्शी हुन पनि छलफल आवश्यक रहेको बताए ।
अवकाश रोजेका ७ हजार ३ सय ६५ लडाकुलाई तहअनुसार ५ देखि ८ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापतको आधा रकम चेकमार्फत र बाटो खर्च नगदै दिएर बिदाइ गर्नेक्रम जारी छ ।

अवकाश प्राप्त लडाकूले पाउने रकममध्ये शिबिर छाडेर पछि रकम दाबी गर्न आएका लडाकूबाट आधा रकम कमाण्डरहरुले लिने गोप्य सहमति भएको दाबी एक लडाकूले गरेका छन् ।
‘पुनः वर्गीकरण गर्नुअघि शिबिरमा थोरैमात्र लडाकू थिए, पैसा पाइन्छ भनेपछि हतार-हतार बाहिरबाट आएर अवकाश रोजेका हुन्, कतिपय त वैदेशिक रोजगारीमा दुबई गैसकेकाले पनि शिविरमा आएर अवकाश रोजेका छन्, तर, त्यस्ताले आफूले पाउने आधार रकम जनसेनालाई दिने सहमति भएको छ ।’- स्रोतले भन्यो ।
स्रोतका अनुसार जनसेनाका कमाण्डरहरुले अवकाश रोज्ने लडाकूलाई दुई वर्गमा बाँडेका छन्, पहिलो शुरुदेखि हालसम्म शिविरमै बस्नेहरु र दोस्रो, शिविर छाडी आफ्नो व्यवसायमा लागेर पुनवर्गीकरणका बेलामा मात्रै हाजिर हुनेहरु ।
पहिलो वर्गका लडाकूले आफूले पाउने चेकको सबै रकम लैजान पाउने तर दोस्रो वर्गका लडाकूहरुले भने आधार रकम कमिसन दिनुपर्ने समझदारी भएको बताइन्छ ।
तर, सम्बन्धित व्यक्तिलाईमात्रै विशेष समितिले उसैका हातमा एसी पेइङ -सोझै खातामा जम्मा हुने) चेक दिने भएकाले उनीहरुबाट कसरी कमिसन लिने भन्नेबारेमा कमान्डरहरु अप्ठ्यारोमा परेका छन् । यसका लागि उनीहरुलाई २८ गतेसम्म विदाइका लागि भन्दै शिबिरमै राखेर बार्गेनिङ गर्ने वा बाहिर गए पनि दबावमा पारेर असुल गर्ने योजना कमान्डरहरुले बनाइरहेको स्रोत बताउँछ ।
चेक विवाद
यसैवीच चौथो डिभिजन नवलपरासीमा पार्टीलाई कमिसन चाहिने भन्दै कमाण्डरहरुले केही अवकाशप्राप्त लडाकूहरुको चेक नियन्त्रणमा लिएको चर्चा बाहिर आएको छ । तर, माओवादी लडाकू कमाण्डरहरुले भने त्यस्तो हल्ला निराधार भएको र आफूहरुलाई कसैको पनि गुनासो नआएको दाबी गरेका छन् । डिभिजन कमाण्डर तेजबहादुर बली प्रतिकले भने-’हामीले किन माग्ने रकम ।’ अग्योग लडाकूलाई दिन रकम मागेको भन्ने अरोप छ नि भन्ने प्रश्नमा उनले भने-’यसबारे सरकार र पार्टीले नै निर्णय गर्छ । हामीले अवकास रोजका लडाकूहरुको रकम लिएर उनीहरुलाई दिनु आवश्यक छैन ।’
उता विशेष समितिका सदस्य एवं कांग्रेस नेता रामशरण महतले पनि लडाकूको चेक कमाण्डरले कब्जा गरेको रिपोर्ट आफूहरुकहाँ आएको दाबी गरेका छन् । दर्जा विवादका कारण केही लडाकूले चेक लिन नमाने पनि अवकाश रोजेर बाहिर बसेका कतिपय शिविरका लडाकूहरुको समेत चेक वितरण हुन नसकेको स्रोत बताउँछ । तर, त्यस्तो चेकको संख्या भने यकिन हुन सकेको छैन ।
सचिवालय सदस्यलाई थाहा छैन
चौथो डिभिजनमा खटिएका सचिवालय सदस्य षडानन्द कुर्मीले रकम मागेको आफूले पनि सुनेको तर प्रष्ट जानकारी नआएको बताएका छन् । ‘मैले पनि २/३ ठाउँबाट रकम मागेको सुनेँ, तर मेरो कार्यक्षेत्रमा यस्तो केही भएको जानकारी छैन’ उनले भने-’झडप भएको र प्रक्रिया रोकिएको भन्ने चाँही गलत हो ।’ सचिवालयका एक अधिकारीका अनुसार माओवादीले लडाकूहरुको रकम लिने आशंकामा नै एकाउन्ट पे चेक दिइएको हो । ‘हामीले एकाउन्ट पे चेक दिनुको अर्थ नै रकम अरुले लिन नपाओस् भनेर हो’ उनले भने-’अब एकाउन्ट पे चेक लिएर सकैले आफ्नो रकम दिन्छ भने त हामीले के नै गर्न सक्छौं र ?’
पूर्व लडाकूहरुद्धारा तोडफोड
दशरथपुरस्थित छैटौ डिभिजनमा स्वेच्छिक अबकासमा जाने लडाकूहरुलाई चेक वितरण भइरहेको अवस्थामा पूर्व लडाकूहरुले शिविरमा छिरेर तोडफोड गरेका छन् ।
करिव ५० जनाको संख्यामा रहेका पूर्व लडाकूहरुले शिविरमा छिरेर तोडफोड गर्नुका साथै विशेष समिति अन्तरगतको सचिवालयका ससदस्हरुलाई हातपात गरेका छन् । ‘उनीहरुले आएर तोडफोड गरेका छन्’ सचिवालय सदस्य एवं टोली नेता दिपक भट्टले भने-’केही साथीहरुमाथि हातपात भएको छ ।’ उहाँका अनुसार पूर्व लडाकूहरुको आक्रमणबाट तीन वटा ल्यापटपमा षति पुर्‍याएका छन् भने चार बटा पाल त्यातेका छन् । पूर्व लडाकूहरुको तोडफोडपछि अबकासमा जाने लडाकूहरुलाई चेक वितरण कार्य रोकिएको छ । भट्टले भने-’अहिले काम रोकिएको छ, भोली आवश्यक तयारी गरि काम थालिनेछ ।’ अहिले शिविरको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको टोली शिविरमा पुगेको थियो ।
माघको तलब पनि पाउने
यसैवीच अवकाश पाई चेकसहित बाहिरिने लडाकूहरुले सरकारबाट माघ महिनाको तलब -६ हजार ५ सय) समेत पाउने माओवादी स्रोतले बतायो । अहिले बाटोखर्च र चेकमात्रै दिइए पनि २८ गते विदाइका बेलासम्म यो महिनाको तलब दिने आश्वासन अवकाशप्राप्त लडाकूलाई कमाण्डरहरुले दिएका छन् ।
सुर्खेतमा अयोग्य लडाकुहरूले शिविरभित्रै तोडफोड गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले घाइते, अपाङ्ग, प्रमाणिकरण नभएका लडाकुलाई प्याकेजमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
सुर्खेतको घटनापछि पार्टी शीर्ष नेता र कमाण्डरहरूको बैठकमा भट्टराईले लडाकुहरूको समस्या सम्बोधन गर्ने बताएका हुन्। आइतबार अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा लडाकुको समस्या प्याकेजमा गर्ने निर्णय भएको हो।
अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई अर्थमन्त्री वर्षमान पुन, लडाकु कमाण्डर नन्दकिशोर पुन, पोलिटव्युरो सदस्य जनार्दन शर्मा बैठकमा सहभागी थिए। 'सुर्खेतमा केही समस्या देखिएकाले थप प्याकेजहरू सार्वजनिक गर्ने निर्णय भएको छ', नन्दकिशोर पुनले भने।
घाइते, अपाङका लागि कार्यदलले दिने प्रतिवेदन अनुसार प्याकेजलाई सरकारले लागु गर्ने तयारी भएको छ। अयोग्य लडाकुहरू शान्ति प्रक्रियाको अभिन्न अंग भएकाले समस्या समाधान गर्न सरकारले प्याकेज तय गर्नेमा प्रधानमन्त्री तयार भएको शर्माले बताए।
शान्ति मन्त्रालयले प्याकेज बनाइरहेको जानकारी कमाण्डररुलाई गराएका थिए।
अयोग्यहरूका लागि प्याकेज दिने तयारी भए पनि कुन प्रकार हुने यकिन भएको छैन।  सुत्केरी, बालबालिकालाई सरकारले प्याकेजको घोषणा गरी लागु गर्ने तयारी भएको कमाण्डरहरूलाई प्रधानमन्त्रीले जानकारी गराएका थिए। 'विदाइ भएका लडाकुहरूलाई तत्कालै सरकारको तर्फबाट प्रमाणपत्र दिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनु भयो', शर्माले नागरिकसँग भने।
शिविरबाट लडाकु चेक बुझेर विदाइ हुने क्रममा घाइते, अपाङ्ग लडाकुहरुले बुझ्न मानेका थिएनन्। घाइते, अपाङ्गको दीर्घकालीन समस्या समाधानका लागि सरकारले प्याकेज बनाएर सार्वजनिक घोषणा गर्ने आइतबारको बैठकमा लडाकु कमाण्डरसँग सहमति भएको छ। विदाइ भएका लडाकुलाई सरकारले प्रमाण पत्र दिने तयारी भएको पनि भट्टराईले बताएका छन्।
 नवलपरासीको झ्यालटुङ्ग डांडामा स्वच्छिक अवकाशमा निस्केका कम्पनी सहकमाण्डर विष्णु रोकायले आफूले पाउने रकमको बीस प्रतिशत रकम डिभिजनमा बुझाउन नमानेकोले  आइतबार दिउंसो कुटपिट भएको छ । रोकायले आफूले पार्टीको निर्णय वेगर कुनै पनि रकम नदिने भन्दै त्यसको विरोध गरेपछि हातपात भएको हो । उहाँले आफ्नो सुरक्षा नभएको भन्दै आफ्नो साथीको घर लुकेर बसेको टेलिफोनमार्फत स्थानीय पत्रकारलाई जानकारी दिनुभयो । पार्टीमा इन्द्र उपनामले चिनिने रोकायले आफूलाई व्रिगेड सहकमाण्डर रणदीपले हातपात गरेको बताउनुभयो  । डिभिजन कमाण्डर लगायतले विवाद विषय छलफलमा लगेर टुंग्याउने भन्दाभन्दै रणदीपले आफूमाथि एक्कासी हातपात गरेको उहाँले बताउनुभयो ।  कालिकोटको धौलागोह घर भएका रोकायले स्वच्छिक अवकाश रोजेवापत पांच लाख रकम पाउनेमा पहिलो किस्तावापत दुई लाख ५० हजारको चेक पाउनु भएको थियो । यसबारे सोमबार पत्रकारसम्मेलन गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक