20120303

"जेठ १४ मा संविधान जारी नभए जनमत संग्रहमा जान सकिने" - कांग्रेस सभापति सुशील कोइराला

पत्रकार र लेखकलाई समेत खबरदारी गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले भने 'तपाईंहरू (पत्रकार/लेखक) ले पनि जेठ १४ मा संविधान नआए केही हुन्न, यसको विकल्पमा जान सकिन्छ भन्ने खालका टीका-टिप्पणी र लेख नलेख्नुहोस्'
 प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया टुंग्याएर जेठ १४ भित्र नयाँ संविधान जारी गर्न नसके मुलुक अर्को युद्धमा फस्ने बताएका छन् । 'जेठ १४ मा शान्ति प्रक्रिया टुंग्याएर संविधान ल्याउन सकिएन भने ठूलो दुर्भाग्यपूर्ण हुन्छ, त्यतिबेलाको स्थिति कल्पना पनि गर्न सकिँदैन,' सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसमा शनिबार प्रधानमन्त्रीले भने, 'यो मैले कल्पना गरेर भनिरहेको छैन, जिम्मेवारीसाथ भनेको हुँ ।'
जेठ १४ मा संविधान जारी नभए जनमत संग्रहमा जान सकिने भनी कांग्रेस सभापति सुशील कोइरालाले हालै दिएको अभिव्यक्तिप्रति लक्षित हुँदै भट्टराईले जारी 'शान्ति प्रक्रिया र संविधान निर्माणको कुनै विकल्प हुन नसक्ने' बताए । '११/१२ हजारको बलिदानले मुलुक यो अवस्थासम्म आइपुगेको हो, यो उपलब्धि संस्थागत गर्न सकेनौं भने भोलि पचासौं हजार मारिन सक्ने दुर्घटनामा मुलुक पुग्छ,' पत्रकार र लेखकलाई समेत खबरदारी गर्दै उनले भने, 'तपाईंहरू (पत्रकार/लेखक) ले पनि जेठ १४ मा संविधान नआए केही हुन्न, यसको
विकल्पमा जान सकिन्छ भन्ने खालका टीका-टिप्पणी र लेख नलेख्नुहोस् । विकल्पतर्फ सोच्यौं भने दुर्भाग्य हुनेछ ।' कांग्रेस सभापति कोइरालाले माओवादीले गाँठो अड्काएको आरोप लगाए । 'सम्पूर्ण प्रक्रिया माओवादीले गाँठो नफुकाउँदा अघि बढ्न सकेको छैन, प्रधानमन्त्रीले विशेष समिति बैठक निरन्तर डाकेर गाँठो फुकाउनोस्, त्यति भयो भने पन्ध्र दिन होइन, ७ दिनमै संविधान बन्छ,' कोइरालाले भने, 'तर माओवादीले इमानदारिता देखाउनुपर्छ ।' शान्ति प्रक्रिया कसरी अघि बढाउने र संविधान कस्तो बनाउने भन्नेमा दलहरूबीच मतान्तर स्वाभाविक भए पनि विकल्पमा जान सकिन्छ भन्ने विचार खतरनाक रहेको टिप्पणी गर्दै प्रधानमन्त्री भट्टराईले कांग्रेसलाई 'गाँठो' नकस्न आग्रह गरे । 'सुशीलजीले गाँठो फुकाउनुहोस् भन्नुभयो, हामी गाँठो फुकाउँदै जाने, तपाईंहरू पार्दै जाने हो भने समस्या हुन्छ । तपाईंहरू गाँठो नपार्नुहोस्, हामी फुकाउँछौं । म त्यसमा लाग्छु ।'
प्रधानमन्त्रीले 'किसुन'जीको स्नेह र माया आफूले चिनेदेखि अन्तिम अवस्थासम्म पाएको चर्चा गर्दै पहिला आफू कांग्रेस नजिक रहेको खुलाए । 'कांग्रेसले गणतन्त्रवादी नीति लिँदा म कांग्रेससँग नजिक थिएँ तर ३३ सालपछि राजासँग मिलेर जाने निर्णय गरेपछि टाढिएँ,' उनले भने । भट्टराईले 'किसुन'जी र आफ्नै अनुभव नियाल्दै आदर्श र व्यवहार सँगसँगै अघि बढाउन गाह्रो हुने बताए । 'किसनुजी असल र आदर्शवान् हुनुभयो, तर कति सफल हुनुभयो ? त्यो इतिहासले मूल्याकंन गर्ला तर यहाँ असल मान्छे सफल नहुने र सफल मान्छे असल नहुने हुँदोरहेछ,' प्रधानमन्त्रीले भने ।
कोइरालाले भट्टराई शान्तिमार्गी नेता रहेको उल्लेख गर्दै सहमति, वार्ता र एकताका माध्यमबाटै जारी शान्ति प्रक्रिया पूरा हुन सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । 'शान्ति प्रक्रिया टुंग्याउने आधार सातबुँदे सहमतिले खडा गरिसकेको छ । त्यसमा कुनै किसिमको बाधाव्यवधान आउन भएन,' उनले भने ।
सभामुख सुवास नेम्वाङले दलहरूले आफूभित्र र आपसी एकता गरेर शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । 'जारी शान्ति प्रक्रिया र संविधान निर्माण संस्थागत गर्न सके किसुनजीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ,' उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले नेपाली समाजले राजनीतिक दर्शनका धेरै विचारधारा पाइसकेको उल्लेख गर्दै नेताहरूले समाजलाई मूल्य र निष्ठाको बाटोमा हिँडाउन सक्नुपर्ने बताए । भट्टराई प्रतिष्ठानको कार्यक्रममा भट्टराईको जीवनमा आधारित वृत्तचित्र र फोटो प्रदर्शन गरिएको थियो ।
माओवादीको उपाध्यक्ष मोहन बैद्य किरण पक्षले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने माग गरेको छ ।
बैद्य, महासचिव रामबहादुर थापासहितका नेताहरुले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटी आफ्नै पार्टीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. भट्टराईको राजीनामा मागेका हुन् । प्रधानमन्त्री भट्टराईले राजीनामा दिएलगतै माओवादीकै नेतृत्वमा सरकार बन्ने बैद्य पक्षको भनाई छ ।
जवाफमा माओवादी अध्यक्ष प्रचण्डले भने माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको छ । ‘उहाँहरुले प्रधानमन्त्रीको राजीनामा माग्नु भएको थियो’ बैठकमा सहभागी एक नेताले भने-’अध्यक्षले माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने पक्का नभएसम्म यही सरकारलाई अघि बढाउनु पर्छ भन्नु भएको छ ।’
भेटमा बैद्य पक्षले लडाकूलाई नेपाली सेनामा समायोजन गर्दा बि्रगेडियर जनरल पाउनु पर्ने अडान नछाड्न समेत अध्यक्ष प्रचण्डलाई खबरदारी गरेका छन् । जवाफमा प्रचण्डले भने तीन दलबीच छलफल जारी रहेको र पार्टीको अडान कायमै रहेको बताउनु भयो ती नेताले भने-’उहाँहरुले समायोजनमा बि्रगेडियर जनरल पाउनु पर्ने अडान नछाड्न दबाव दिनु भएको छ ।’
प्रचण्ड निवासमा भएको भेटमा शान्ति संविधान निर्माणमा भइरहेको छलफल र पार्टीको बटमलाइन, स्थायी समिति बैठक बोलाउनु लगायतका विषयमा समेत छलफल भएको थियो । बैद्य पक्षीय नेता देव गुरुङले शान्ति, संविधान र सरकारबारे प्याजेकमा नै सहमति गर्नेबारे छलफल भएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक