20120323

बर्खास्त मन्त्री सरिता गिरीद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईमाथि गम्भीर आरोप, सरकारलाई दिएको समर्थन आजैबाट फिर्ता, नयाँ मन्त्रीमा एमएस थापा दुई राज्यमन्त्रीको सरुवा

शुक्रबार मात्र प्रधान मन्त्री बाबुराम भट्टराईले हटाएका श्रम मन्त्री सरिता गिरीले आफूले भ्रष्टाचार गर्न नमानेकाले हटाइएको दाबी गरेकी छिन्। 'मलाई चार वटा नयाँ म्यान पावर दर्ता गर्न दबाब थियो, मानिन। त्यसैले मलाई भ्रष्टाचार गराउने योजना असफल भएपछि हटाइएको हो- उनले भनिन्। उनले नेपाल सरकारका सचिव र सहसचिव इमान्दर भए कुनै पनि किसिमको भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गर्दै आफू मन्त्री रहिरहँदा भ्रष्टाचार गर्न असजिलो भएकाले हटाइएको दाबीसमेत गरिन। आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे राजनीतिबाट संन्यास लिने घोषणा पनि उनले गरेकी छिन्। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा गिरीले राज्यका सम्पूर्ण संयन्त्र लगाएर आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्नसमेत प्रधान मन्त्रीलाई चुनौती दिइन्। उनले प्रधान मन्त्रीले कर्मचारीको दबाबमा परेर आफूलाई हटाएको दाबी गर्दै आफूबाट भ्रष्टाचार गराउने योजना असफल
भएपछि बाध्यताबस पदमुक्त गरेको आरोप लगाइन्।
आफूलाई प्रधान मन्त्रीले धेरै दबाब आयो राजिनामा दिएर सहयोग गर्नूस् भनेको उल्लेख गर्दै  प्रधान मन्त्रीलाई भ्रष्टाचारीको तर्फबाट दबाब आएकोसमेत बताइन्। आफूले मन्त्रालय र मातहतको कार्यालयलाई पारदर्शी गर्न पुनर्संरचनाको काम सुरु गरिसकेको अवस्थामा महानिर्देशकले सहयोग नगरेको आरोप लगाउँदै मन्त्रीलाई असहयोग गर्ने सहसचिवलाई तीन महिनाका लागि काज सरुवा गर्न नसक्ने मन्त्री पदमा बस्नुभन्दा नबस्नु नै उचित भएको टिप्पणी पनि गरिन्। प्रधान मन्त्रीले प्रशासनयन्त्रलाई आफ्नो पूर्ण नियन्त्रणमा पारेर शक्ति एकै ठाँउमा केन्द्रित गरेर कम्युनिष्ट शासन चलाउने योजनाअनुसार काम गरिरहेको आरोप लगाउँदै सचिवको गुनासो मुख्य सचिवले सुन्ने व्यवस्था गरेर मन्त्रीलाई स्वतन्त्र ढङ्गले काम गर्न नदिने वातावरण बनाएकोसमेत बताइन्। उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन आजैबाट फिर्ता लिएको घोषणा गर्दै अब  प्रधान मन्त्री चुनावसम्म मधेसीहरुलाई कुनै न कुनै रुपमा अल्झाएर खत्तम पार्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाइन्।
******
बैदेशिक रोजगार बिभागमा सुधारका काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउने श्रममन्त्री सरिता गिरीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्खास्त गर्नुभएको छ । दुई दिनअघि आफ्नै कार्यालयमा बोलाएर राजीनामा गर्न निर्देशन दिएपनि गिरीले राजीनामा दिनुको सट्टा उल्टै आफ्नो कदमको बचाउ गर्दै प्रचारवाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गर्नुभएको हो ।
गिरीलाई बर्खास्त गरिएपछि उहाँको स्थानमा आजै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह (एमएस) थापालाई श्रम तथा यातायात ब्यबस्था मन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री डा वावुराम भट्टराईले शुक्रवार दिउँसो नै राष्टपति डा रामबरण यादवको उपस्थितिमा सितलनिवासमा नव नियुक्त श्रम तथा यातायातमन्त्री एमएस थपालाई सपथ खुवाउनु भएको छ ।  यसअघि गिरिले हटाएका महानिर्देशक भट्टराईलाई पुर्नवहाली गरिने प्रधानमन्त्रीनिकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीले क्याबिनेट मन्त्रीलाई वर्खास्त गरेका घटना बिरलै सुन्न पाइन्छ । पछिल्लोपटक बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन सहयोगी भूमिका खेलेकी गिरीलाई माओवादी कोटामा रहेको श्रममन्त्रीमा नियुक्त गरिएको थियो । अनियमितता गरे आफ्नै मन्त्रीपरिषद् सदस्यलाई पनि नछाड्ने बताउंदै आएका भट्टराईले मन्त्रीलाई बर्खास्त गरेर बिबादमा तानिएका अन्य मन्त्रीलाई पनि सन्देश दिन खोजेको देखिएको छ ।
गिरीले आफुलाई मन्त्रीबाट नहटाउन माओवादी अध्यक्ष प्रचण्डसँग गुहार माग्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन् । प्रचण्डका सहयोगीले भेट नमिलाइदिएपछि पद थमौती गर्ने उनको प्रयास बिफल भएको थियो  ।
दुई राज्यमन्त्रीको सरुवा
यसैवीच मन्त्री र राज्यमन्त्रीवीच बिबाद भएका कारण मन्त्रालयको काममा असर परेपछि भुमिसुधार राज्यमन्त्री र पर्यटन राज्यमन्त्रीलाई सरुवा गरिएको छ । भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई पर्यटन राज्यमन्त्रीमा र हाल पर्यटन राज्यमन्त्री रहेका दिलिप महर्जनलाई भुमिसुधार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । भुमिसुधारमन्त्री भिमप्रसाद गौतम र राज्यमन्त्री साहवीच कर्मचारी सरुवाका बिषयमा बिबाद भएपछि राज्यमन्त्री साहलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्नुभएको थियो ।
किन बर्खास्त गरियो ?
बिदेश जाने नेपाली कामदारलाई अनुमति दिने सरकारी निकाय बैदेशिक रोजगार बिभागमा ठूलो आर्थिक चलखेल हुने गर्छ । सरकारले बनाएको एक अध्ययन समितिको प्रतिबेदनअनुसार बैदेशिक रोजगार बिभागदेखि एअरपोर्टसम्मको संजालले दैनिक २० लाख रुपैयाँसम्म घुस लेनदेन गर्छ । बिदेश जाने गरिव नेपाली कामदारबाट असुल गरिने यति ठूलो रकम बिभागका पियनदेखि महादिर्नेशकसम्म बाँडिने गरेको र घुसको ठूलो हिस्सा श्रममन्त्रीसम्म पनि पुग्ने गरेको वताइएको छ ।
यसलाई रोक्ने अभियानस्वरुप प्रधानमन्त्री भट्टराईले श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई बिभागको महानिर्देशकका रुपमा पठाउनुभएको थियो ।  उनी गएपछि बिभागमा सीसीटीभी राखियो भने वैंकमार्फत मात्र आर्थिक कारोवार गर्न पाइने ब्यबस्था गरियो । ठगि गर्ने म्यानपावरलाई कारवाही गर्नेदेखि ब्यक्तिगतरुपमा कामदार पठाउन कडाई गरेपछि बिभागका कर्मचारी र म्यानपावर ब्यबसायीको आम्दानीको स्रोत सुकेको थियो भने अघिल्ला महानिर्देशकलेजस्तो कमिसन मन्त्रीलाई नबुझाउने भएपछि मन्त्रीपनि असन्तुष्ट थिइन् । म्यानपावर ब्यबसायीले करिव १ करोड रुपैयाँ उठाएर श्रममन्त्रीलाई उपहार चढाएपछि केही दिनअघि महानिर्देशक भट्टराईलाई मन्त्रालयमा सरुवा गरिएको थियो ।
आफैंले खटाएर राम्रो काम गरिरहेका महानिर्देशकलाई हटाएकोमा आक्रोशित भएका प्रधानमन्त्रीले श्रम मन्त्रीलाई राजीनामा दिन भनेपनि नमानेपछि उनलाई बर्खास्त गरिएको हो ।
संचारमन्त्री एक-दुई दिनमै
यसैवीच प्रधानमन्त्री भट्टराईले रिक्त संचार मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने प्रयास थाल्नुभएको छ । जेपी गुप्ता जेल परेपछि खाली रहेको सो पदमा नयाँ ब्यक्ति पठाउन फोरम गणतान्त्रिकका नेताहरुलाई आग्रह गरेको भएपनि उनीहरुले नाम दिन नसक्दा नियुक्तिमा ढिला भएको बताइएको छ । ‘आज बिहान ७ बजेसम्म नाम दिन भन्नुभएको थियो’-स्रोतले भन्यो-’उहाँहरुले कुरा मिल्न सकेको छैन, एक दुई दिनमा दिन्छौं भनेपछि ढिला भएको हो ।’
यसैवीच मदिरा सेवन गरेर वीर अस्पतालका कर्मचारीलाई दुब्र्यबहार गर्ने स्वास्थ्य राज्यमन्त्री सरोज यादवले कर्मचारीसँग माफी मागेपछि बिबाद मिल्ने भएको छ । दुवै पक्षवीचको छलफलमा एकअर्काका कमीकमजोरी स्वीकार गरिएपछि बिबाद साम्य हुन लागेको बताइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक