20120330

प्रचण्डले झुट, छलकपट, जालझेल र नगद मात्र होइन सिद्धान्त, कार्यक्रम, क्रान्ति, पार्टी, लोकतन्त्र, देशभक्ति जे देखाएर भए पनि सर्वेसर्वा आफैं भएको सन्देश दिन खोजिरहेका छन्

- देवप्रकाश त्रिपाठी 
हरेक मानिस विशिष्ट हुन्, त्यसर्थमा सबै मानिस भिन्न हुने नै भए। फराकिलो दृष्टिमा मानिसलाई प्राणीका रूपमा मात्र बुझ्न सकिन्छ, तर विशिष्टीकरण गर्दा हरेकको पहिचान नितान्त बेग्लाबेग्लै देखिन्छ। मानिसलाई चिन्न उसले अपनाएको पेसा, उसको मौलिक गुण या विशेषता, जात, धर्म, नाम, कार्यक्षमता, योग्यता आदिको सहारा लिने गरिन्छ। कुनै पनि मानिस आफूलाई प्राणी मात्रको रूपमा चिनाउन चाहँदैन, 'मानिसमध्येमा पनि फलाना' भनेर चिनिने आकाङ्क्षा सबैमा हुन्छ। महावीरले अहिंसाको पक्ष लिएर आफ्नो पहिचान स्थापित गराए। चंगेज खाँ, इदी अमिन र अरू कतिले हिंसाकै बलमा आफूलाई चिनाए। लेनिन, माओ त्से तुङ र स्टालिनले चाहिँ सत्ता प्राप्तिको साधन हिंसालाई बनाएर आफूहरूलाई विश्वसामु उभ्याएका हुन्। मानिस स्वभावैले विजय प्राप्त गर्न चाहने प्राणी हो र हरेक मानिस आफूले सुरु गरेको काममा या तय गरेको गन्तव्यमा सधैं विजयी बन्न चाहन्छ। पराजयको कल्पना कोही गर्दैनन्, कल्पना गरे पनि पराजयलाई आत्मसात् गर्ने क्षमताचाहिँ कसैमा
देखिँदैन। हरेक मानिस हरेक कदमकदममा विजय प्राप्त गर्न मात्र अग्रसर भइरहने कारणले मानिसको जीवन सधैं तनावमय र जटिल बन्न पुगेको हो। समाज या देशसेवाको सर्वोत्तम साधन मानिएको राजनीतिमा हारजितले सर्वाधिक महत्त्व राख्छ। सधैं विजयी बन्न राजनीतिकर्मीहरूबाट भइरहने प्रयत्नले राजनीतिलाई मात्र होइन देश र समाजलाई समेत तनावमय तुल्याइरहेको हुन्छ। खासगरी अल्पविकसित या अविकसित मुलुकको राजनीति तथा राजनीतिमा आबद्ध मानिसको सोच एवम् शैली सदैव तनाव पैदा गर्ने प्रकारको रहिआएको छ। एक अल्पविकसित मुलुकको रूपमा नेपाली राजनीति पनि कम्ती तनावमय मानिँदैन। मानदेवका पालामा विस्तारित नेपालको पूर्ण विवरण इतिहासले उपलब्ध गराउन नसके पनि बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अगुवाइमा सुरु भएको नेपाल एकीकरण अभियानको विवरणबारे इतिहास स्पष्ट छ। नेपालको एकीकरणमा छलकपट र हिंसालाई मुख्य साधन बनाइयो, देश विस्तारका निम्ति भएकाले त्यसबखत भएका हिंसा र कपटलाई क्षम्य मानिएको छ। विस्मार्क, नेपोलियन आदिले राष्ट्रिय स्वार्थ पूरा गर्न जे–जस्ता शैली अवलम्बन गरेका थिए पृथ्वीनारायणले त्योभन्दा धेरै भिन्न शैली अपनाएका थिएनन्। पृथ्वीनारायण शाहको निधनपछिको नेपाली राजनीतिक इतिहास हिंसा र कपटमुक्त रहन सकेन, फरक यति मात्र रह्यो– पृथ्वीनारायणले आफ्नो कौशल र शक्ति राज्य विस्तारमा उपयोग गरे, बाँकी अरूले सत्तास्वार्थका निम्ति मात्र। इतिहासमा पहिलोपटक तीस वर्ष लामो तानाशाही शासन चलाउने भीमसेन थापा तथा उनीअघिका राजेन्द्रलक्ष्मी र रणबहादुर शाह तथा भीमसेनपछिका जंगबहादुर राणादेखि वीरशमशेरसम्मका शासकहरूले हिंसा र कपटलाई साध्यप्राप्तिको साधन बनाएका हुन्। निरङ्कुश पञ्चायती व्यवस्थाको आरम्भ शान्तिपूर्ण ढङ्गले गरिएको भए पनि पञ्चायतले आफूलाई टिकाउनचाहिँ हिंसा र छलकपटको सहारा लिएको तथ्य कसैबाट छिपेको छैन। वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भइसकेपछि नेपालबाट कम्तीमा हिंसा र हिंसात्मक प्रवृत्तिको अस्त हुने विश्वास गरिएको थियो। चुनावी माध्यमबाटै जोकोही पनि सत्ताको शीर्ष भूमिकामा पुग्नसक्ने भएकोले सत्ताकै निम्ति इतिहासमा कसैकसैले रचेझैं हिंसात्मक घटनाको पुनरावृत्ति होला भन्ने सोचिएको थिएन। कम्युनिस्टहरूले आफ्ना दस्तावेजमा गुरिल्ला युद्ध, सशस्त्र सङ्घर्षजस्ता शब्दहरूको प्रयोग गरे पनि नेपालमा त्यसलाई असम्भव र धेरै टाढाको कल्पना मानिन्थ्यो। चाइना स्वयम् माओवादको संरक्षक नरहेको र विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतको काखमा रहेको हुनाले नेपालमा माओवाद मौलाउने कल्पना गरिएको थिएन। तर, अकल्पनीय घटना भयो, सिद्धान्तको दस्तावेजमा सीमित हिंसात्मक युद्धलाई व्यवहारमा अनुवाद गर्न मोहन वैद्य र प्रचण्ड सफल भए। युद्धको विचार वैद्यले लिए, त्यसलाई 'सफलतापूर्वक' प्रयोग गर्ने कार्य प्रचण्डले गरे। हिंसात्मक सङ्घर्षको आडमा जनवादी राज्यसत्ता स्थापना गर्ने सपना वैद्यको थियो, अझै छ। उनी सिङ्गै मुलुकमा परिवर्तनको कामना गर्दै युद्धको रापमा होमिए सायद! प्रचण्डले मुलुक परिवर्तनको साथै आफ्नो जीवनमा समेत भारी बदलावको कल्पना गरे। वैद्यको शास्त्र र विचारले मात्र हिंसात्मक युद्ध फस्टाउन मुस्किल थियो, यदि युद्ध सफल भएको मान्ने हो भने प्रचण्डको चातुर्य युद्ध–सफलताको मुख्य कारण बनेको यथार्थलाई स्वीकार गर्नुपर्छ। वैद्यले जीवनमा कहिल्यै बाङ्गोटिङ्गो बाटो हिँड्न चाहेनन्, प्रचण्डले सीधा हिँड्न कहिल्यै जानेनन् र उनी सीधा बाटो हिँड्न इच्छुक पनि छैनन्। वैद्यले पार्टी र क्रान्तिलाई देशको पक्षमा कसरी उपयोग गर्ने भन्नेबारेमा सदैव चिन्ता र चिन्तन गरिरहे, प्रचण्ड परिवर्तनपछिको आफ्नो स्थानप्रति सधैं चनाखो रहिरहे। त्यसैले प्रचण्ड सफलजस्ता र वैद्य असफलजस्तो देखिएका छन्। प्रचण्ड बाह्य सौन्दर्यप्रति ज्यादा सचेत देखिन्छन्। उनी आशिकी स्टाइलको कपाल र रङ्गीचङ्गी पहिरनमा ठाँटिएर प्रस्तुत हुँदा सायद सन्तुष्टि प्राप्त गर्दा हुन्, तर मोहन वैद्य सौन्दर्यशास्त्री भएर पनि उनी बाह्य सौन्दयप्रति उदासीन देखिन्छन्। सौन्दर्यशास्त्री वैद्य कहिलेकाहीँ कपालसमेत नकोरी सार्वजनिक रूपमा प्रस्तुत भइदिन्छन्। उनी भित्री सौन्दर्यका पक्षपाती भएको युवा पुस्ताले बुझ्न सक्ने विषय होइन। त्यसैले ग्ल्यामर मन पराउने नयाँ पुस्ताको आकर्षण प्रचण्डतिर देखिन्छ, सीधासादा, इमानदार र आदर्शवादी विचारका अनुयायी एवम् देशभक्तहरू वैद्यका वरिपरि झुम्मिएका छन्। वैद्यमा इमानदारीको मात्रा बढी देखिन्छ, प्रचण्डको इमानदारी 'आफू मरेपछि... राजा' भन्ने उक्तिबाट प्रेरित रहेको छ। वैद्य ज्यादा आदर्शवादी देखिएका छन्, आदर्शकै निम्ति उनले पद त्याग गरेर देखाएका पनि हुन्। तर, प्रचण्ड हजार वर्षदेखि तपस्यामा लीन ऋषिले अप्सरा पाएपछि तपस्या भङ्ग गरेझैं पदका लागि आदर्श सजिलै त्याग गरिदिन सक्छन्। वैद्य क्रान्ति र पार्टीलाई केन्द्रमा राखेर सोच्छन्, प्रचण्ड पार्टी र क्रान्तिका बीचमा आफूलाई सधैं खोजिरहन्छन्। मोहन वैद्य पार्टी कार्यकर्तालाई आफ्नो परिवारका सदस्य ठान्छन्, प्रचण्ड परिवारलाई पार्टी ठान्छन् र उनी पारिवारिक सदस्यबाहेक अरू कसैमाथि भर पर्न या विश्वास गर्न पनि सक्दैनन्। सशस्त्र युद्धकालमा मोहन वैद्यले आफ्नी छोरीलाई लडाकु बनाएर युद्धमोर्चामा खटाउँदा प्रचण्डले आफ्ना छोरीहरूलाई हतारहतार विवाह गराएर सुरक्षित तुल्याइदिएका थिए। यतिसम्म कि आफ्नी उमेर नपुगेकी छोरीको समेत उनले सिलिगुडीतिर विवाह गरिदिएका थिए। पार्टी युद्धमा होमिएपछि आफ्ना कारणले छोरी–ज्वाइँमाथि विपत्ति आइलाग्ने ठानेर प्रचण्डले आफ्ना एक थान छोरी–ज्वाइँलाई चितवनबाट भारतको पञ्जाव पुर्‍याई त्यहीँ बसोबास गर्ने व्यवस्थासमेत मिलाइदिएका थिए। अहिले प्रचण्डका कुनै पनि छोरी, ज्वाइँ अन्य अन्य नातेदार बेरोजगार छैनन्, कुनै न कुनै हैसियतको दर्जामा सुविधा भोग गरिरहेका छन्। मोहन वैद्य आफ्ना सन्तान तथा नातेदारहरूलाई सुखसुविधा उपलब्ध गराउनु त टाढाको कुरा, आफैंसमेत एक मित्रले उपलब्ध गराएको साँघुरो डेरामा जीवन काट्दै छन्। वैद्य कसैलाई आफ्नो - देवप्रकाश त्रिपाठी पक्षमा उपयोग गर्ने सामर्थ्य राख्दैनन्, न उनलाई कसैले उपयोग गर्न नै सक्छ। तर, प्रचण्ड आफ्ना निम्ति चाहेका बखत हरेकलाई उपयोग गर्ने क्षमता राख्छन्। त्यति मात्र होइन, अरू कसैद्वारा उपयोग हुने क्षमता पनि प्रचण्डमा देखिन्छ। उनी स्थान, पात्र, परिस्थिति र मौसमअनुरूपको कुरा गर्न सक्छन्, मोहन वैद्य जहाँ, जहिले र जसका अघिल्तिर पनि केवल एउटै राग अलापिरहन्छन्। त्यसैले प्रचण्डको गतिशील र अवसरवादी नेताको छवि बनेको छ, वैद्यले जडसूत्रवादी, शास्त्रीय क्रान्तिकारी र परम्परावादी नेताको छवि बनाएका छन्। इमानदारी, साधारण जीवनशैली र सोझो तथा स्पष्ट विचारवाहकका रूपमा मोहन वैद्य चिनिन्छन्। प्रचण्डले नयाँ शाही खानदानका रूपमा आफूलाई विकास गरेका छन्, उनको सोच, शैली र व्यवहार शाहीकोटिको विलासी एवम् निजी महत्त्वाकाङ्क्षाबाट पे्ररित देखिएको छ। प्रचण्ड आफ्ना हितका निम्ति जोसुकैसँग जस्तासुकै सम्झौता गर्न पनि सक्छन्, मोहन वैद्य पार्टी र क्रान्तिको हितमै हुन्छ भने पनि गलत सम्झौता गर्न खोज्दैनन्, कठोर र निर्मम छन् उनी। तर, वैद्यसँग भएका कुराकानीमा जो–कसैले विश्वास गर्न सक्छन्, उनी भित्र अर्कै कुरा राखेर बाहिर अर्को बोली बोल्न सायद उचित ठान्दैनन्। प्रचण्डमा बेग्लै प्रतिभा छ, उनी मनमा एउटा कुरा, पेटमा अर्कै कुरा, दिमागमा एउटा, घाँटीमा अर्को र जिब्रोमा अर्कै कुरा राखेर बाहिर अर्कै वाणी निकाल्न सक्छन्। प्रचण्डले बोलेकामध्ये कुनचाहिँ कुरा सही हो भन्ने प्रचण्डबाहेक कसैलाई जानकारी हुँदैन र कहिलेकाहीँ त उनी आफैं पनि आफूले बोलेकामध्ये कुन कुरा सही हो भनेर 'कन्फ्युजन'मा पर्ने गर्दछन्। 'पब्लिक' लाई पट्याउने कलामा प्रचण्ड अब्बल छन्, तर मोहन वैद्य आफू इमानदार, असल देशभक्त र सिद्धान्तनिष्ट भएको हुनाले आफूलाई जनताले साथ दिनुपर्छ भन्ने धारणा राख्छन्, तिनलाई प्रयोग गर्न बेग्लै कलाकािरता देखाउनुपर्छ भन्ने ठान्दैनन्। त्यसैले जनसाधारणका बीचमा प्रचण्ड 'एक्स्पोज' भइसकेका भए पनि नेताकै रूपमा 'प्रिय' छन् तर वैद्य आफैंमा प्रिय भए पनि जनदृष्टिमा प्रचण्डबराबरको हुन सकिरहेका छैनन्। प्रचण्डले झुट, छलकपट, जालझेल र नगद मात्र होइन सिद्धान्त, कार्यक्रम, क्रान्ति, पार्टी, लोकतन्त्र, देशभक्ति जे देखाएर भए पनि सर्वेसर्वा आफैं भएको सन्देश दिन खोजिरहेका छन्, तर वैद्यले आफूसँग बिक्री लायक तत्त्व धेरै भएर पनि 'व्यापार' गर्न सकिरहेका छैनन्, प्रचण्डले राजनीतिलाई समेत एउटा व्यापारको रूपमा प्रयोग गरिरहेका छन्। वैद्य सायद धर्मयुद्ध लड्न चाहन्छन् क्यारे! प्रचण्डको सम्बन्ध युद्ध जित्नु या गन्तव्य प्राप्त गर्न सक्नुमा केन्द्रित देखिन्छ। मानिसहरू वकिल, पत्रकार, चिकित्सक, व्यापारी, कर्मचारी, किसान, विद्यार्थी, मजदुर, शिक्षक, प्राध्यापक आदिलाई तिनको पेसागत संलग्नताका आधारमा दृष्टिकोण बनाएर को कस्ता हुन्छन् भनी धारणा बनाउने गर्छन्। प्रजातन्त्रवादी, कम्युनिस्ट, दक्षिणपन्थी र अन्य विभिन्नवाद तथा पन्थमा आबद्ध मानिसबारे पनि मानिसको बेग्लाबेग्लै धारणा बनेको छ। तर, एउटै विचार या पेसागत समूहमा भए पनि मानिस कतिसम्म भिन्नाभिन्नै हुन सक्छन् भन्ने कुराको चरम दृष्टान्त मोहन वैद्य र प्रचण्ड बनेका छन्। एउटै वर्ग, जात, धर्म, पेसा, विचार र राजनीतिक समूहमा भए पनि हरेक मानिस विशिष्ट र नितान्त बेग्लाबेग्लै हुन् भन्ने कुराको प्रमाण प्रचण्ड र मोहन वैद्य बन्न सकेका छन्, त्यसनिम्ति बधाई नै भन्नुपर्ला!

2 comments:

  1. I like this analytical but logical assessment article of Mr. Tripathi upon the leaders.

    ReplyDelete
  2. I like this analytical but logical assessment of Mr Tripathi upon the leaders.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक