20120404

माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई दक्षिणपन्थी र अवसरवादी भएको माओवादी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाको आरोप

माओवादी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले पार्टी फुटाउन लागेको भनेर संस्थापनले आफ्नो पक्षलाई तर्साउन खोजेको उल्लेख गर्दै त्यसविरुद्ध संघर्ष गर्ने बताएका छन् । दुई नेताले सोमबार संयुक्त विज्ञप्ति जारी गरी पार्टी दुई लाइन संघर्षप्रति असहिष्णु र 'एकमनावादी' भएको जनाएका छन् ।  'अध्यक्षले पार्टीभित्रका अन्तर र फुटका कुरालाई निकै चर्को रूपमा उठाएर भिन्न मत राख्नेलाई तर्साउने प्रयास गर्दै आउनुभएको छ,' विज्ञप्तिमा भनिएको छ, 'यो दुई लाइन संघर्षप्रतिको असहिष्णु चिन्तनमात्र होइन गम्भीर प्रकारको एकमनावाद पनि हो । क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकास संघर्षकै बीचबाट हुन्छ र संघर्षको कुनै विकल्प छैन ।'  वैद्य-थापाले दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई दक्षिणपन्थी र अवसरवादी भएको आरोपसमेत लगाएका छन् । 'अध्यक्षले आफ्नो विचारधारात्मक लाइनलाई स्पष्ट रूपमा
क्रान्तिकारी धारविरुद्ध सोझ्याउनु भएको देखिन्छ,' उनीहरूले भनेका छन्, 'दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादीले क्रान्तिकारी माक्र्सवादीमाथि जडसूत्रवादी, अराजकतावादीलगायत अनेकौं आरोप लगाउने गरेका छन् र यहाँ पनि ठीक त्यसै कुराको भिन्न तरिकाले पुनरावृत्ति हुन पुगेको छ ।' उनीहरूले संस्थापन शान्ति र संविधान निर्माणका सम्बन्धमा षड्यन्त्रमा फसेको ठहर गर्दै आफूलाई शान्ति र संविधानविरोधी भनेकोमा आपत्ति जनाएका छन् । 'एक पक्षीय रूपमा शान्ति तथा संविधान निर्माणमा मात्र जोड दिइएको छ र प्रतिक्रियावादीबाट शान्ति, सेना समायोजन तथा संविधान निर्माणबारे हुँदैआएको, भइरहेको र हुनसक्ने गम्भीर षड्यन्त्रप्रति अलिकति पनि ध्यान दिइएको छैन,' विज्ञप्तिमा भनिएको छ, 'यसबारे सतर्क गराउन खोज्ने आफ्नै पार्टीका कमरेडलाई उल्टै शान्ति र संविधानविरोधीको बिल्ला भिराउने दुष्प्रयास गरिएको छ ।'
 अध्यक्ष दाहालले नै केन्द्रीय समितिका निर्णय उल्लंघन गरेको आरोप उनीहृरूको छ । 'अध्यक्ष कमरेडद्वारा गम्भीरतापूर्वक ग्रहण गरिनु त परै जाओस्, बरु उल्टै अवज्ञा गर्ने काम हुन गयो,' उनीहरूले भनेका छन्, 'यो समग्र प्रक्रियामा प्रचण्डद्वारा एकातिर गत केन्द्रीय समितिको बैठकमा पारित प्रस्तावको कार्यान्वयनमा आवश्यक ध्यान दिइएन भने अर्कोतिर पार्टीमा विद्यमान दुई लाइन संघर्षका समस्याको समाधान गर्नेबारे पनि ठोस पहल भएन ।'संस्थापनले यही सरकारलाई निरन्तरता दिई राजनीतिक मूल्य-मान्यता त्यागेको आरोप उनीहरूको छ । 'राजनीतिक मूल्य र संस्कारविपरीत जान हुँदैन भन्नु धेरै राम्रो कुरा हो,' विज्ञप्तिमा भनिएको छ, 'सरकार निर्माण गर्नका लागि मधेसी मोर्चासित गरिएको ४ बुँदे सहमति, घरजग्गा फिर्ताका लागि स्थानीय प्रशासनलाई प्रधानमन्त्रीद्वारा दिइएको निर्देशन, बिप्पा, पञ्चेश्वर तथा उच्च कोशी बाँधलगायतका विषयमा भारतसित गरिएको हालैको सहमति कुन राजनीतिक मूल्य र संस्कारअन्तर्गत पर्दछन् ?'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक