20120603

'घटिया मान्छे, खाली लास हेर्न आउँछ ! बाँचुन्जेल वास्ता छैन !' यसरी सराप्दै गर्दा माओवादी अध्यक्ष प्रचण्ड सुनेको नसुन्यै गरी अर्कोतिर फर्किए !

'घटिया मान्छे, खाली लास हेर्न आउँछ ! बाँचुन्जेल वास्ता छैन !' शोकमग्न सहयात्रीका माझ एकजना पूर्वसहयात्रीले यसरी सराप्दै गर्दा माओवादी अध्यक्ष प्रचण्ड सुनेको नसुन्यै गरी अर्कोतिर फर्किए । प्रसंग मंगलबार बिहान आर्यघाटको हो । भारतका निम्ति राजदूत बनाउन ठिक्क पारिएका तर प्रचण्डले कुनै कार्यकारी पदमा नराख्न बाबुरामलाई दबाब दिएका कारण थान्को लागेका माओवादी नेता राम कार्की -पार्थ क्षेत्री) की ८८ वषया आमा रत्नदेवीको अत्येष्टिका क्रममा प्रचण्ड आर्यघाट पुगेका थिए । माओवादीमै रहेर फरक-फरक गुटमा विभक्त र पार्टी छाडी अन्यत्र लागेका नेताहरूको पनि त्यहाँ बाक्लो उपस्थिति थियो । प्रचण्ड पुग्नुअघि नै अर्कै माओवादी पार्टी गठन गरेका मात्रिका यादव त्यहीँ थिए । हस्याङफस्याङ गर्दै पुगेका प्रचण्डको आँखा मात्रिकासँग जुध्न पुग्यो । प्रचण्डले मुस्कुराउँदै सोधे, 'ओहो मात्रिका जी, के छ हालखबर ?' त्यसरी प्रचण्डले हालखबर सोध्लान् भन्ने नै नसोचेका मात्रिका के बोल्नु-के बोल्नु भन्ने दोधारमा पुगे । त्यसैले सोध्नेबित्तिकै एकछिन आँखा तानेर हेरे, अनि नहाँसीकन जवाफ दिए, 'ठिकै छ, के हुनु र ? यस्तै त हो नि !' यसपछि प्रचण्डबाट अलिक पर हटेका मात्रिकाले छेउमा बसेका साथीहरूसँग कुरा गर्दै प्रचण्डप्रतिको रिस पोखे । त्यस क्रममा उनले एलपी ग्यास दुर्घटनामा परी दिवंगत भएकी तत्कालीन सभासद् रामकुमारी यादवको निधन प्रसंग सुनाए । 'पहिला मास्टर्नी आमै भनेर बास बस्न र भात खान पुग्थ्यो । दुर्घटना भएपछि उपचारतिर वास्तै गरेन । म दिल्ली लानुपर्छ भनेर सरकारसँग माग गरिरहेको थिएँ । प्रचण्ड वीर अस्पतालमा भेट्न आयो । मैले दिल्ली लैजाने माग राख्छु भनेको, बोल्दै बोलेन । टेडो आँखाले हेरेर हिँड्यो । आज मलाई हालखबर सोध्छ !' मात्रिकाले प्रचण्डको पोल खोले, 'रामकुमारी बिरामी पर्दा काठमाडौंको अस्पतालमा बल्ल-बल्ल हेर्न
आयो, दिल्लीमा आफू गएन, अरूलाई पनि पठाएन । मचाहिँ आफ्नै खर्चमा गएँ । मरेपछि भने झन्डा ओढाउन आयो ।' उनले राम कार्कीको राजनीति सिध्याउने प्रचण्डसँग उनकी आमालाई श्रद्धाञ्जली दिने नैतिक आधार नभएकोतर्फ इंगित गरिरहेका थिए । आर्यघाटमा उपस्थित एमाओवादीकै नेताहरू पनि एकापसमा व्यंग्य गर्दै थिए, 'पार्टीको हालखबर के छ ?' भन्दै ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक