(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120622

दशैंमा काट्नका निम्ति तोकिएको राँगो या खसीबोका झनै राम्रो स्याहार र सुविधा पाउने गर्दछ, प्रचण्ड–बाबुरामले विदेशीहरूबाट ठीक त्यस्तै सेवासुविधा प्राप्त गरिरहेका छन् !

- देवप्रकाश त्रिपाठी
विक्रम सम्वत् ०३८ साल असोज २ गते नेपालमा चीनविरोधी दिवस मनाइएको स्मरण गर्नेहरूलाई थाहा छ– त्यसको आयोजना तात्कालिक नेकपा चौथो महाधिवेशन उर्फ मशाल (जसलाई अहिले नेकपा माओवादीका रूपमा चिनिदै छ) ले गरेको थियो। चिनियाँ नेतृत्वले विश्व सर्वहारावादी आन्दोलनलाई धोखा दिँदै संशोधनवादी मार्ग अवलम्बन गरेकोमा त्यसका विरुद्ध भित्तेलेखन र पर्चाका माध्यमबाट देशव्यापी प्रचारप्रसार गरिएको थियो। मोहनविक्रम सिंह र निर्मल लामालाई नेता मान्ने कार्यकर्ताहरू त्यसनिम्ति देशैंभरि परिचालित भएका थिए। त्यसयता उक्त राजनीतिक समूहले क्रान्तिकारी अभियानको एउटा मूल हिस्साका रूपमा चिनियाँ नेतृत्वविरुद्धको प्रचारात्मक कार्यलाई पनि बनाएको थियो। देङ सियाओ पिङ जो आधुनिक चाइनाका 'डिजाइनर' अर्थात् 'अर्किटेक्ट' मानिन्छन्, उनलाई गद्दार, संशोधनवादी र प्रतिक्रान्तिकारी घोषणा गर्न पाउँदा यस कालखण्डका प्रचण्डहरू त्यसकालका मोहनविक्रम सिंह र निर्मल लामाहरूले निकै गौरव अनुभूति गरेका थिए। रसियामा स्टालिनको पदचाप नपछ्याएका कारण खु्रस्चेवले संशोधनवादी गद्दारको विशेषण प्राप्त गरेकै शैलीमा देङले त्यस दिन प्रतिक्रान्तिकारी गद्दारको संज्ञा पाएका थिए। माओत्सेतुङको उपाध्यक्ष रहेका देङ
सियाओ पिङले माओका सस्ता क्रान्तिकारी विचारसँग विमति जनाउँदा निकै ठूलो सास्ती व्यहोर्नुपरेको थियो। देङपुत्री देङ रोङद्वारा आफ्ना पिताबारे लेखिएको पुस्तिकामा माओले विमति राख्नेहरूलाई कसरी सताउँथे भन्ने कुराको सूक्ष्म जानकारी दिइएको छ। चीनको विकासका निम्ति आफूले प्रस्तुत गरेको धारणा माओत्सेतुङसँग नमिलेपछि देङलाई माओले सबै जिम्मेवारीहरूबाट मुक्त मात्र गरेनन् सजायस्वरूप दुर्गम क्षेत्रमा खोलिएको एउटा कारखानामा मजदुरी गर्न पठाएका थिए। माओकाल चीन र चिनियाँ जनताका लागि कतिसम्म सकसपूर्ण 
थियो भन्ने जानकारी देङ रोङको पुस्तकबाट प्राप्त गर्न सकिन्छ। त्यसबेला अहिलेजस्तो सञ्चारको विकास भएको थिएन। बाहिर विश्वका निम्ति चीन एउटा रहस्यको पिण्डजस्तै थियो। देङ सियाओ पिङको उदयपश्चात् मात्र चीनबारे बाह्य संसारले जानकारी पाउन थालेको हो। देङ सत्तारुढ भएको दुई वर्ष बित्न नपाउँदै माओका चेलाहरूले उनीमाथि गद्दारीको आरोप लगाउन थालेका थिए। जब कि समयाक्रममा देङ एक दूरदर्शी, इमानदार र देशभक्त नेता भएको प्रमाणित भइसकेको छ। आज चाइनाका बासिन्दा माओभन्दा कैयन गुणा बढी देङप्रति सम्मानजनक भाव प्रकट गर्ने गर्दछन्। एकदलीय अधिनायकवादलाई कायम राखेर पनि एक हदसम्म आर्थिक स्वतन्त्रता दिन सकिन्छ भन्ने अभ्यास देङले गरेका थिए। कम्युनिस्ट सत्ताले आर्थिक नीति प्रजातन्त्रवादीको अवलम्बन गरेपछि चिनियाँ अर्थतन्त्रमा अनपेक्षित ढङ्गले सुधार हुनपुग्यो। विश्व शक्तिराष्ट्रका रूपमा चीन स्थापित हुँदै जानुमा देङको योगदानलाई नै प्रमुख मानिएको छ। नेपाली माओवादी चीनको सद्भाव र साथ प्राप्त गर्न सदैव लालयित देखिन्छन्, तर उनीहरूले देङलाई एउटा क्रान्तिकारी नेताको रूपमा अहिलेसम्म स्वीकार गरेका छैनन्। आफ्ना दस्तावेजहरू लेनिन र माओका गुणगानहरूले मात्र भरिएका छन्।
चीनविरोधी दिवस बनाउने क्रममा हालका माओवादीहरूले महँगा राता किताबहरू वितरणमा ल्याएका थिए। किताबमा देङ सियाओ पिङ कसरी माओवादबाट पलायन भए र उनी कसरी संशोधनवादी गद्दार बने भन्ने कुराको सविस्तार व्याख्या र विश्लेषण गरिएका थिए। चीनभित्रको आन्तरिक गतिविधिबारे जानकारी प्राप्त गर्न माओवादीसँग कुनै संयन्त्र र सामर्थ्य थिएन, न त्यसप्रकारका समग्र प्रकाशन गर्न सक्ने आर्थिक हैसियत नै उनीहरूको थियो। रिमका नाममा उपलब्ध गराइने त्यस्ता पुस्तकहरू अमेरिका र बेलायतमा छापिएका हुन्थे। माओवादीहरू ती पुस्तक नेपालको बाटो हुँदै चीनसम्म पुर्यााउने काम गर्दथे। देङलाई संशोधनवादी गद्दार घोषणा गरिसकेपछि विश्व कम्युनिस्ट आन्दोलनमा विहङ्गम फाटो आई तेस्रो धारको जन्म भएको थियो। यस्तो कार्य अमेरिका या ब्रिटेनजस्ता शक्तिसम्पन्न राष्ट्रबाहेक अरूबाट भएको थियो भनी पत्याउन मुस्किल पर्दछ।
यतिबेला माओवादीलाई अमेरिका र युरोपबाट बलियो साथ–समर्थन प्राप्त भइरहेको देखिन्छ। अमेरिकी राजदूत डेलिसीले विभिन्न सन्दर्भमा प्रचण्ड–बाबुरामको प्रशंसा गर्ने गरेको पनि जानकारीमा आउने गरेको छ। विश्वको शक्तिशाली प्रजातान्त्रिक मुलुक अमेरिका जसले कम्युनिस्ट र माओवाद भन्ने शब्द सुन्न पनि चाहँदैन। अमेरिकामा कसैलाई निम्नकोटीको गाली दिनुपर्योक भने कम्युनिस्ट शब्द प्रयोग गर्ने गरिन्छ। अमेरिकी राष्ट्रपतिको गत निर्वाचनमा उम्मेदवार बनेका बाराक ओबामालाई विपक्षीहरूले होच्याएर गाली गर्नुपर्दा कम्युनिस्ट भन्ने गर्दथे। कम्युनिस्टहरूप्रति अत्यन्त नकारात्मक रहेको अमेरिकाले नेपालमा प्रचण्ड–बाबुरामप्रति जुन सद्भाव र साथ प्रकट गरेका छन्, यो अत्यन्त अस्वाभाविक र रहस्यपूर्ण देखिन्छ। नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्न अमेरिका र अन्य पश्चिमी मुलुकहरूले माओवादीलाई साथ दिएको विश्वास गर्न सकिँदैन। विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतको बाबुराम भट्टराईका प्रति सद्भाव छ भने पनि त्यो नेपालमा अधिनायकवादी शासनसत्ता स्थापनाका लागि हो भन्न सकिँदैन। नेपालको प्रजातान्त्रिक आन्दोलनको हित माओवादीमार्फत हुन सक्दैन भन्ने विश्वास विश्वभरिका कुनै पनि प्रजातान्त्रिक मुलुकलाई छैन भन्नेमा शङ्का गरिरहनुपर्ने छैन। यदि विश्वका कुनै पनि मुलुक नेपालमा माओवादीको अधिनायकवादी सत्ता स्थापना भएको हेर्न चाहँदैनन् भने उनीहरू यहाँ प्रचण्ड–बाबुरामलाई किन साथ दिँदै छन् भन्ने विषयमा गम्भीरतापूर्वक विचार–विमर्श हुन आवश्यक छ। कुनै बेला देङ सियाओ पिङका नाममा चीनविरोधी गतिविधिलाई ऊर्जा र उचाइ दिनुको अर्थ विश्व कम्युनिस्ट आन्दोलनमा फाटो ल्याउनु थियो भन्ने पुष्टि भइसकेको सन्दर्भलाई आधार बनाएर हेर्ने हो भने नेपालमा प्रचण्ड–बाबुरामलाई विदेशीहरूको साथ सहयोग हुनुको परिणाम पनि प्रजातान्त्रिक आन्दोलनका निम्ति सकारात्मक नै हुने आशा गर्न सकिन्छ। प्रचण्ड–बाबुरामलाई अघि सारेर विदेशीले आफ्नो मात्र हित संरक्षणको मार्ग प्रशस्त गर्न खोजेका हुन् भने आमनेपाली यसतर्फ सचेत रहन आवश्यक हुन्छ। प्रचण्ड–बाबुरामलाई साथ दिनुको दीर्घकालिक अर्थ जे भए पनि तत्कालका लागि यहाँ प्रजातान्त्रिक आन्दोलन र प्रजातन्त्र पक्षधर शक्तिलाई क्षति पुगेको छ। नेपाली काङ्गे्रस र एमालेलगायतका प्रजातान्त्रिक शक्तिहरू अहिले रक्षात्मक अवस्थामा पुगेका छन्। विदेशीको आडभरोसा पाएपछि प्रचण्ड–बाबुरामहरू काङ्गे्रस, एमालेलगायतका शक्तिलाई क्षतविक्षत तुल्याउन विशेष रूपमा क्रियाशील भएका छन्। दुईतिहाई बहुमत हासिल गरेर आफूले चाहेजस्तो संविधान निर्माण गर्ने घोषणा प्रधानमन्त्रीका रूपमा डा. भट्टराईले गरिसकेका छन्। बाबुराम–प्रचण्डले सपना देखेजस्तै उनीहरूलाई सम्भावित निर्वाचनमा दुईतिहाई मत प्राप्त हुन सक्यो भने नेपालमा पूर्ण लोकतान्त्रिक संविधान निर्माण नहुने बरु जातीय आधारमा राज्य विभाजन गरिने र सोही कारण यहाँ गृहयुद्ध सुरु हुनसक्ने देखिन्छ। जातीय राज्य निर्माणकै निम्ति प्रचण्ड–बाबुरामलाई विदेशी साथ सहयोग प्राप्त भएको हो भने हालका दिनमा उनीहरूलाई उपलब्ध विदेशी सहयोग अन्ततः नेपालको बर्बादीकै निम्ति हो भन्ने स्पष्ट हुनेछ।
प्रचण्ड–बाबुरामहरू आफूले साम्राज्यवादी, पुँजीवादी र विस्तारवादी विशेषण दिएका मुलुकहरूबाट साथ प्राप्त किन भइरहेको छ भन्नेबारेमा अहिलेसम्म किञ्चित सचेत देखिएका छैनन्। विश्वका सबैखाले प्रजातान्त्रिक मुलुकहरूको सहयोगमा नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने सोच उनीहरूले बनाएका हुन् भने योभन्दा ठूलो अर्को भ्रम केही हुनेछैन। काङ्गे्रस, एमालेलगायत प्रजातान्त्रिक शक्ति र राष्ट्रवादीहरूलाई कमजोर तुल्याउँदा केही कालका निम्ति प्रचण्ड–बाबुरामलाई सत्ता प्राप्ति त हुनसक्ला, तर यहाँ दीर्घकालसम्म माओवादी सत्ता स्थापना हुन असम्भव छ। विदेशीको साथ सहयोग पाएर 'सुन्निएका' प्रचण्ड–बाबुरामहरू समेत अन्ततः यही कारणले थला पर्नुपर्ने अवस्था आउन सक्छ। उनीहरूमा देश, जनता र प्रजातन्त्रप्रति थोरै मात्र भए पनि जिम्मेवारीबोध छ भने राष्ट्रिय शक्तिहरूको एकताका प्रति संवेदनशील हुनुपर्ने हो। होइन भने दशवर्षे हिंसात्मक युद्धमा कतिपय मुलुकबाट माओवादीलाई सहयोग हुनुको परिणाम नेपाललाई अहिले प्राप्त भएको छ। माओवादी सफल हुँदा देशमा इसाईकरणले तीव्रता पाएको छ, सात वर्षभित्र सात हजारभन्दा बढी गिर्जाघर खुलेका छन्। हिन्दू राष्ट्रको मौलिक पहिचान मेटिएको छ र हिन्दुत्व नै सङ्कटमा परेको छ। देशमा कायम सामाजिक, जातीय एवम् क्षेत्रीय सद्भाव खलबलिएको छ। सामाजिक जनजीवन कष्टकर बनेको छ। मुलुक गृहयुद्धको भुमरीमा फस्न सक्ने आधारहरू उब्जिएका छन्। माओवादी सफल हुँदा समग्रमा मुलुकचाहिँ असफल भएको छ। प्रचण्ड–बाबुराम अझै सफल हुँदै जाँदा देश थप बर्बादीतर्फ जाने निश्चित भइसकेको छ। नेपालमा खसी–बाख्रालाई आम्दानीको राम्रो स्रोत मानिन्छ। किसानहरू राँगो र खसी–बाख्राको निकै राम्रो हेरचाह किन गर्छन् भने त्यसबाट अन्ततः आफैंलाई राम्रो लाभ हुनेछ भन्ने उनीहरूले बुझेका छन्। अझ दशैंमा काट्नका निम्ति तोकिएको राँगो या खसीबोकाले त झनै राम्रो स्याहार र सुविधा पाउने गर्दछ। प्रचण्ड–बाबुरामले विदेशीहरूबाट ठीक त्यस्तै सेवासुविधा प्राप्त गरिरहेका छन् जसरी एउटा किसानबाट खसी–बोकाले पाउने गर्दछन्। विदेशी मित्रहरू प्रचण्ड–बाबुरामको भुलभुलैयामा परेका होइनन् भने उनीहरूले माओवादी नेतृत्वलाई सुधि्रने मौका दिँदै साथ दिएका पनि हुन सक्छन्। यो बेग्लै तथ्य हो कि प्रचण्ड–बाबुराममा सुधार आउने विश्वास गर्न सक्ने अवस्था अहिलेसम्म देखिएको छैन। यदि प्रचण्ड–बाबुरामहरू दशैंका लागि छुट्याइएका राँगा या खसीबोकासरह पालितपोषित भएका हुन् भने त त्यसले अन्ततः उनीहरूलाई मात्र क्षति पुर्याुउला, होइन भने प्रचण्ड–बाबुरामहरूमार्फत यो मुलुक नै क्षतविक्षत तुल्याइने निश्चित छ, आमनेपाली सचेत हुन ढिलो भइसकेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक