20120626

ब्राजिलबाट फर्केलगत्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बताए

ब्राजिलबाट फर्केलगत्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बताएका छन् । ब्राजिलको रियोमा आयोजित संयुक्त राष्ट्रसंघीय दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिएर सोमबार अपराह्न स्वदेश फर्केका प्रधानमन्त्री भट्टराईले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
भट्टराईले भने, ‘कसैले माग्दैमा राजीनामा दिने कुरा आउँदैन । प्रधानमन्त्री पद भनेको बच्चाको खेलौनाजस्तो होइन । कसैले माग्दैमा खुरुक्क पद छाड्ने र कसैले भन्दैमा चुपचाप लागेर बस्ने कुरा आउँदैन ।’ उनले आºनो राजीनामा माग गरिनुलाई बालहठको संज्ञा दिए । ‘केही नेताले साना बच्चाले हठ गरेजस्तै राजीनामा मागिरहेका छन्,’ भट्टराईले सञ्चारकर्मीलाई भने, ‘बालहठ गर्ने केटाकेटी थाकेपछि चुप लागेर बस्छन् । तपार्इं कहिले राजीनामा दिने भनेर बालहठजस्तो एकोहोरो प्रश्न नगर्नुहोस् । सबै कुरा बुझेर पनि नबुझेजस्तो गर्नुको
अर्थ छैन ।’
प्रधानमन्त्री भट्टराईले अर्को संविधानसभाको निर्वाचनबाट परिणाम नआउन्जेल आºनै नेतृत्वको सरकार रहने दाबी गरे । उनले भने, ‘अहिले मैले राजीनामा दिएँ भने मुलुकमा ठूलो संवैधानिक संकट आउनेछ र त्यसपछिको परिस्थिति १९ माघको जस्तै हुन्छ । त्यसैले म त्यो परिस्थिति निम्तिन दिन्नँ ।’ उनले आफूले पदबाट राजीनामा दिने कुरा कहिल्यै नगरेको जिकिर गरे । ‘मैले यही सरकारलाई राष्ट्रिय सहमतिको बनाउन सकिन्छ मात्र भनेको हुँ,’ उनले भने, ‘आवेगमा आएर कांग्रेस, एमालेका साथीहरूले सरकार छाडे, म उनीहरूलाई पुन: यही सरकारमा आउन आग्रह गर्छु ।’
आºनो सरकारको विकल्प नरहेको उल्लेख गर्दै प्रधानमन्त्री भट्टराईले अहिले कुनै पनि दल ठूलो–सानो भन्ने अवस्था नरहेको बताए । ‘कसैले आफूलाई ठूलो दलका रूपमा लिन खोजिरहेको छ, उहाँहरूलाई म आग्रह गर्छु, निर्वाचनबाट आफू ठूलो भएको प्रमाणित गर्नेतिर लाग्नुस् ।’ तोकिएकै मितिमा संविधानसभाको निर्वाचन गर्ने जिकिर गर्दै उनले संविधानसभाको विघटन सरकारले नभएर सर्वोच्च अदालतको फैसलाका कारण भएको जिकिर गरे ।
‘शान्ति र संविधानको प्रक्रिया जहाँ पुगेर अड्किएको छ, सहमतिका आधारमा पुग्न त्यहीँबाट अघि बढाउनु जरुरी छ,’ भट्टराईले भने, ‘त्यसका लागि दलहरू जिम्मेवार हुनुको विकल्प छैन ।’ दलहरूबीच सहमति भए संविधानमा लेखिएको कुरालाई पनि संशोधन गरेर जान सकिने उनको तर्क थियो । उनले थपे, ‘राजनीतिक दलहरू बल्झाउनेतिर नभई समाधान गर्नेतिर लाग्छन् भन्नेमा म विश्वस्त छु र यसका लागि वार्ता प्रक्रिया अघि बढिसकेका छन् ।’
आफूसँग भएको भेटमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहदेखि राष्ट्रसंघीय महासचिव बान–की मुनसम्मले नेपाल सरकारले शान्ति–संविधानमा देखाएको प्रतिबद्धताको सराहना गरेको दाबी भट्टराईले गरे । अन्तर्राष्ट्रिय स्तरमा नेपालको इमेज राम्रो रहेको उनको भनाइ छ ।
एमाओवादीका उपाध्यक्षसमेत रहेका भट्टराईले पार्टी फुटलाई आफूले ठूलो रूपमा नलिएको बताए । उनले भने, ‘कहिलेकाहीँ घरझगडा हुन्छ, त्यतिबेला परिवारका सदस्य केही दिन बाहिर बस्न सक्छन् । हाम्रो पार्टीमा त्यही भएको हो । फुटेर बाहिर गएको भनिएका साथीहरू पछि पार्टीमै मिसिन्छन् ।’ एक अर्को प्रसंगमा भट्टराईले अध्यादेशबाटै नयाँ आर्थिक वर्षको बजेट ल्याउने जानकारी गराए । उनले भने, ‘यसअघि जस्तै सरकारले बजेट पनि अध्यादेशबाटै ल्याउँछ, यसबारे आवश्यक प्रक्रिय अघि बढिरहेको छ ।’
पत्रकार सम्मेलनमा प्रधानमन्त्री भट्टराईले आºनो भ्रमण निकै उपलब्धिमूलक रहेको दाबी पनि गरे । ‘सम्मेलनबारे नेपालमा नकारात्मक प्रसार–प्रचार भयो,’ उनले थपे, ‘यो १० वर्षयताकै सबैभन्दा ठूलो सम्मेलन हो । हाम्रो बुझाइमा कमी भएकाले समस्या देखियो ।’
फर्कंदा विमानस्थलमा तनाब
कामचलाउ सरकारले राष्ट्रप्रमुखको हैसियतमा विदेश भ्रमण गरेको भन्दै कांग्रेस, एमालेलगायत राजनीतिक दलका भ्रातृसंगठनले विमानस्थलमा विरोध प्रदर्शन गरे । उनीहरूले प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्दा पनि विरोध प्रदर्शन गर्दै विमानस्थलभित्रै कालो झन्डा प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्रीको फिर्तीमा अवरोध पुर्‍याउन सक्ने त्रासमा प्रहरीले त्रिभुवन विमानस्थल र त्यस आसपासका क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको थियो । प्रहरीको कडा सुरक्षालाई तोड्दै प्रदर्शनमा उत्रिएका तरुण दल र नेविसंघका पाँच प्रदर्शनकारी प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । उनीहरूको महेन्द्रनारायणनिधि स्मृति अस्पतालमा उपचार भइहरेको छ । त्यस्तै, प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरू सबैलाई साँझ छाडेको छ ।
प्रधानमन्त्री भट्टराई स्वेदश फर्किंदा राजधानीको सम्पूर्ण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । प्रधानमन्त्रीको स्कर्टिङका लागि सडक पूरा खाली गराइएको र सडकछेउका सटरसमेत बन्द गराइएको थियो । प्रहरीले त्रिभुवन विमानस्थल वरपरको क्षेत्रमा पैदल यात्रुलाई समेत हिँड्न दिएका थिएनन् । चक्रपथ भएर चल्ने कुनै पनि रुटको गाडीलाई चल्न दिइएको थिएन ।
प्रधानमन्त्रीको पौने चार बजे मात्र विमानस्थलबाट बाहिरिने समय तालिका रहे पनि प्रहरीले दिउँसो साढे दुई बजेबाटै विमानस्थल आसपासका क्षेत्रमा सवारीसाधन रोकेको थियो । विमानस्थलअगाडिको रुटबाट सवारीसाधन चल्न नदिएपछि राजधानीको सवारी व्यवस्था अस्तव्यस्त बनेको थियो । ट्राफिक प्रहरी कार्यालयका अनुसार राजधानीको सवारीसाधन तीन घन्टासम्म अस्तव्यस्त रह्यो ।
कामचलाउ सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले त्यसको कारण देखाउ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सुशीला कार्कीको एकल इजलासले अध्यादेशमार्फत पूर्ण बजेट ल्याउनुको कारण सरकारसँग माग गरेको हो ।
‘अध्यादेशमार्फत किन पूर्ण बजेट ल्याउन लागिएको हो ? त्यसको लिखित जवाफसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र छलफलका लागि उपस्थित हुनु,’ आदेशमा भनिएको छ । यो संवैधानिक व्याख्याको विषय भएकाले १७ असारमा लिखित जवाफसहित उपस्थित हुन भनिएको छ ।
कामचलाउ भइसकेको सरकारले पूर्ण बजेट ल्याउन मिल्ने या नमिल्ने विषयमा सत्ताधारी र प्रतिपक्षी दलबीच जुहारी चलिरहेका बेला सर्वाेच्च अदालतले यसमा चासो दिएको हो । सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेपछि अधिवक्ता राजेश सिलवालले त्यसलाई रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वाेच्चको आदेशअनुसार १७ जेठभित्र बजेट आउन नसक्ने भएको छ । सके राजनीतिक सहमतिमा र नसके सत्ताधारी दलको समर्थनमा मात्र भए पनि पूर्ण बजेट ल्याउने तयारी अर्थमन्त्रीले गरेका थिए । अधिवक्ता सिलवालले कामचलाउ भइसकेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन नमिल्ने, अध्यादेशको म्याद ६ महिना मात्र हुने भन्दै पूर्ण बजेट रोक्न माग गरेका थिए । अध्यादेशमार्फत ल्याइएको बजेट ६ महिनाभित्र व्यवस्थापिका संसद्बाट अनुमोदन गराउनुपर्ने कानुनी प्रावधान छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक