20120627

बैद्य पक्षका नेताहरु पनि ओइलाएको साग झैं ओइलाएका छन् !

 
 मूल माओवादीमा हुँदासम्म मोहन बैद्य किरण र उहाँ पक्षधर नेताहरुको कुरा सुन्दा मान्छे झस्कन्थे । आफ्नो पार्टीले नेतृत्व गरेको सरकार र संस्थापन पक्षलाई उनीहरु विपक्षीले भन्दा बढी गाली गर्थे । जनविद्रोह र जनसत्ताको ठूल्ठूला र मान्छे तर्सने भाषण गर्थे । तर मूल घरमा छँदासम्म झगडा गरेर छिमेकीलाई समेत
तर्साउने छोराहरु छुट्टाभिन्न भएर व्यवहार र जिम्मेवारीमा फसेजस्तो बैद्य पक्षका नेताहरु पनि ओइलाएको साग झैं सेलाएका छन् ।

‘यो स्वभाविक कुरा हो, अरुलाई गाली गरेर र चर्का कुरा गरेर मात्र आफ्नो सिद्धान्त र विचारलाई स्थापित गर्न सकिन्न’ विश्लेषक मुमाराम खनालले भन्नुभयो -’अब पहिले जस्तो गाली र उग्र कुरा गरेर मात्र हुँदैन भन्ने उनीहरुले बुझिसके, एक हिसाबले व्यवहारिक भए भनौं न ।’ खनालको यो भनाईमा वैद्य नेतृत्वको नेकपा-माओवादीका नेता हरिभक्त कँडेल पनि समर्थन गर्नुहुन्छ । ‘हो पहिले बिरोध गर्दा संस्थापन टाउकोमा थोपर्न पाईन्थ्यो, तर अहिले त हाम्रो पनि जिम्मेवारी हुन्छ’ कँडेलले भन्नुभयो -’बिरोध गरेर मात्रै हुँदैन, यसो भन्नुको मतलब हामीले पहिले गलत गरेका थियौं भन्ने चाहिं होइन ।’ पहिले आफूहरुले पार्टीको खराब प्रवृत्ति बिरुद्ध आवाज उठाएको र अहिले नयाँ ढंगले आफूहरु अगाडि बढ्न लागेको अवस्थामा केही सचेत भएको उहाँको भनाई छ ।

सँगै हुँदा पाखुरी सुर्कन र घुर्की लाउन सजिलो थियो । प्रचण्डले यसो गरेनन्, बाबुरामले बढी गरे, यो भएन, त्यो भएन, यसो नभए देखाइदिन्छौं, जंगल र्फकन्छौं, जनबिद्रोह गछौर्ं भन्न पहिले सजिलो थियो । घरमूलीलाई परिवारका अरु सदस्यहरुले भने र सोचेजस्तै पहिले एउटै पार्टीमा हुँदा संस्थापन पक्षको आलोचना गर्न बैद्य पक्षलाई सहज थियो । जे भनेपनि र जस्तोसुकै घुर्की लाउँदा पनि केही हुन्न थियो । तर यतिबेला बैद्य पक्ष नयाँ पार्टी खोलेर बसेको अवस्था छ । छुट्टाभिन्न भएर नयाँ घर बनाउन लागेका परिवार जस्तै वैद्य पक्षका नेताहरु नयाँ नीति, कार्यविभाजन र आगामी रणनीति तय गर्न व्यस्त छन् । ‘अहिले बिरोध मात्रै गर्ने बेला होइन, नयाँ ढंगले अघि बढ्नुपर्ने बेला हो’ माओवादी नेता कँडेलले भन्नुभयो -’त्यसैले हामी संयमित भएका छौं ।’

त्यसो त पछिल्लोपटक कम्युनिष्टहरु सुध्रँदै गएको विश्लेषण पनि गर्न थालिएको छ । ‘केही वर्ष पहिलेसम्म कम्युनिष्ट नेताहरु एकअर्कालाई जसरी गाली गलौज गर्थे, त्यो क्रम अहिले घट्न थालेको छ’ विश्लेषक खनालले भन्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक