20120917

दलहरुलाई सहमति गर्न यसअघि पनि पटक–पटक आग्रह गर्दै आउनुभएका राष्ट्रपति यादवले अब पनि सहमति नभए आफुले कदम चाल्ने बाध्यात्मक स्थितिमा पुग्ने संकेत

राष्ट्रपति डा रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई सहमतिको राष्ट्रिय सरकार निर्माण गरी न्युनतम राजनीतिक सहमतिको आधारमा संविधानसभाको निर्वाचनमा जान आग्रह गर्नुभएको छ । साथै उहाँले दलहरुसंँगको सहमति विना सरकारले पठाएको अध्यादेश जारी गर्न नसक्ने पनि बताउनुभएको छ । यसअघि दलहरुलाई सहमति जुटाउन मात्र आग्रह गर्दै आउनुभएका राष्ट्रपति यादवले यसपटक भने संविधान निर्माणका लागि शीर्ष नेताहरुलाई विकल्प सहित सुझाव दिनुभएको हो । 
दलहरुलाई सहमति गर्न यसअघि पनि पटक–पटक आग्रह गर्दै आउनुभएका राष्ट्रपति यादवले अब पनि सहमति नभए आफुले कदम चाल्ने बाध्यात्मक स्थितिमा पुग्ने संकेत समेत दिनुभएको छ । भदौ मसान्तसम्ममा निकास निकाल्छौ भनेका शीर्ष दलहरुले सहमति जुटाउन नसकेपछि निकै चिन्तित बनेका राष्ट्रपति यादवले छिटो संविधान निर्माण गर्ने दलहरुको मुल एजेण्डा हुनुपर्ने पनि बताउनुभएको छ । आइतवार राष्ट्रपति यादवले एकीकृत माओबादी, नेपाली कांग्रेस, नेकपा एमाले र सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुलाई आफ्नै निवासमा बोलाएर तत्काल सहमतिको सरकार निर्माणमा सहमति गर्न र संविधानसभाको निर्वाचनमा जान आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले नेपाल समाचारपत्रलाई बताउनुभयो । मुलुकलाई संविधान चाहिएको छ भन्दै राष्ट्रपति यादवले शीर्ष दलहरुलाई छिटो संविधान दिनुस भनी आग्रह
गर्नुभएको दाहालले बताउनुभयो । 
स्रोतका अनुसार प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपति यादवले चाँडो सहमति गरि मुलुकलाई निकास दिन कडा शब्दमा दबाब दिनुभएको थियो । राष्ट्रपतिले दलहरुले सहमति गर्न नसके अब चुप लागेर नबस्ने भन्दै कदम चाल्ने संकेत गरेको स्रोतको भनाई छ । शीर्ष नेताहरुको भेटमा गम्भीर मुद्रामा दखिनुभएका राष्ट्रपतिले आफुले नचाहदाँ नचाहदैँ पनि दलका नेताहरुका कारण सक्रिय हुनुपर्ने अबस्था आएको संकेत गर्नुभएको थियो । 
शीर्ष नेताहरुसँंग राष्ट्रपति यादवले बारम्बार सहमति कायम गर्न आग्रह गरेपनि सरकारले दलहरुबीचको सहमति विपरीत अध्यादेश सिफारिस गर्दै आफुलाई पठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । ‘अन्यौलको अवस्थामा मलाई अध्यादेश जारी गर्न गाह्रो हुन्छ’ राष्ट्रपतिका प्रेस सल्लाहकार दाहालले भन्नुभयो– ऐन कानुन भन्दा संविधान निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने राष्ट्रपतिको धारणा हो । मुलुकमा राजनीतिक सहमति भयो भने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई कुनै अप्ठ्यारो हुने छैन– दाहालको भनाई थियो । 
सो अवसरमा राष्ट्रपति यादवले दलहरुले चाँडै सहमति गछौं भनेपनि छलफल र सम्वादलाई निरन्तरता नदिएका कारण देश लामो समयसम्म संवैधानिक संकटमा चल्ने अवस्था आएको बताउनुभएको थियो । चारदलका शीर्ष नेताहरुसंग राष्ट्रपति यादवले लामो समय मुलुकलाई अध्यादेशबाट चलाउन नसकिने बताउनुभएको थियो । सरकारले वधाअड्काउ फुकाउने समेतका अध्यादेश पठाएको प्रति लक्षित गर्दै उहाँले पहिले मेरो बाधा अड्काउ फुकाउनुस् अनि पछि म तपाईंहरुको बाधा अड्काउ फुकाउँला भन्नुभएको थियो । 
राष्ट्रपति यादवसंँगको भेटपछि चारदलका शीर्ष नेताहरु एकदम छिटो सहमति जुटाएर मुलुकलाई निकास दिन्छौ भनि उठेको राष्ट्रपति निकट स्रोतले बताएको छ । बैठपछि पत्रकारहरुसँग कुरागर्दै एमाओवादीका अध्यक्ष प्रचण्डले छलफल सकारात्मक रहेको र राष्ट्रपतिले छिटो सहमति गर्न आग्रह गरेको बताउनुभएको थियो । 
प्रमुख दलहरुको बैठकमा राष्ट्रपतिले मुलुकमा विद्यमान गतिरोध अन्त्यको लागि दलहरुले छिटो पहल गर्नुपर्ने बताउँदै नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले भन्नुभयो– ‘दलहरुंले छिटो सहमति नगरे आफ्नो जिम्मेवारी पुरा गर्न आफुले कदम चाल्न बाध्य हुने राष्ट्रपतिले बताउनु भएको छ । राष्ट्रपतिले तपाईहरु अझै प्रयास गर्नुस नत्र मेरोपनि जिम्मेवारी छ भन्नुभएको छ’ – कोइरालाको भनाई थियो । 
राष्ट्रपति समक्ष तीनदल वीचको समस्याहरु पनि राखेको बताउँदै एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको लागि अधिकतम प्रयास गर्ने बताउनु भएको थियो । खनालले शीर्ष तीनदल बाहेका अन्य दलका कुराहरुपनि राष्ट्रपति समक्ष राखेको बताउनुभयो । एमाओबादी आफ्नो अडानबाट अलि लचिलो भए सहमति जुट्न सक्ने अध्यक्ष खनालको भनाई थियो । संयुक्त लोकतान्त्रिक मोर्चाका संंयोजक समेत रहेका विजयकुमार गच्छेदारले पनि राष्ट्रपति यादवले दलहरुलाई छिटो सहमति गर्न आग्रह गर्नुभएको बताउनुभएको थियो । उहाँले दलहरुवीच सहमति गर्ने अन्तिम प्रयास भैरहेको पनि बताउनुभएको थियो । 
राष्ट्रपति यादवले पटक–पटक सहमति गर्ने बाचा गरेर उठ्ने शीर्ष नेताहरु रित्तो हात आइतवार फेरी सहमति बेगर आएकोमा दुखेसो पोखेको समेत समाचार स्रोतले बताएको छ । एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरुले यसअघि भदौ अन्तिमसम्म सहमति गर्ने भन्दै सार्वजनीक अभिव्यक्ति दिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक