20120925

पूर्वराजा ज्ञानेन्द्र शाहको पश्चिम भ्रमणअन्तर्गत स्याङ्जामा खिचिएको दृश्‍य। भिडियो : टेकनारायण भट्टराई



पूर्वराजा ज्ञानेन्द्र शाहको साताव्यापी धार्मिक भ्रमण अत्यन्त सफल भएको पोखरामा उनको स्वागतार्थ गठित समितिले जनाएको छ । शाहको भ्रमणलाई माओवादीसहित केही दलहरूले अवरुद्ध गर्ने चेतावनी दिए पनि भ्रमण सफल भएको समितिले दाबी गरेको हो । भ्रमणलाई लक्षित गरी त्यहाँका राजनीतिक दलहरूले जिल्ला बन्द आह्वान गरेपछि उनको म्याग्दी भ्रमण स्थगित भएको थियो । पूर्वराजाको भ्रमणलाई केही राजनीतिक दल र तीनका नेताले शक्ति जाँच गर्ने र परीक्षण गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन् । तर, राजावादीहरूले भने कुनै बेला राजसंस्थाको वकालत गर्दा घरमा लुक्नुपर्ने अवस्था अब अन्त्य भएको टिप्पणी मात्र गरेका छैनन्, अब छिट्टै राजतन्त्र फर्कन सक्नेसमेत दाबी गर्न थालेका छन् । उनीहरूको बुझाइमा दलहरूले निर्धारित समयमा शान्तिप्रक्रिया टुंगोमा पुर्‍याएर संविधान जारी गर्न नसक्नु, तत्कालीन संविधानसभामा रहेका केही सभासद् विभिन्न काण्डमा मुछिनु र दलहरू जनताको जनजीविकाप्रति भन्दा पनि सत्ताकै लागि मरिहत्ते गर्नुले पूर्वराजाप्रतिको आकर्षण बढेको हो । पूर्वराजाको भ्रमणको प्रचार स्वयं बन्दकर्ताले नै गरिदिएको राजावादी दल राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ बताउँछन् । पूर्वराजा शाह स्वयं पनि यो भ्रमणबाट निकै उत्साही रहेको बुझ्न कठिन छैन । उनले सोमबार पत्रकाहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदा ‘यो भ्रमणमा जनताको सहभागिता तपाईं स्वयं देखिरहनुभएको छ’ भन्दै उत्साह व्यक्त गरेका थिए । यसैबीच, पूर्वराजा शाहले मंगलबार पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिरको दर्शन गरेका छन् । शाहले सो क्रममा करिब तीन किलोमिटर पैदल यात्रागरी शुभेच्छुक तथा समर्थकको स्वागत ग्रहण गरेका थिए । मन्दिर दर्शनका लागि नालाको मुखदेखि पैदल यात्रा गर्दै विन्ध्यवासिनी पुगेका उनको स्वागतका लागि उल्लेख्य मात्रामा शुभेच्छुक तथा समर्थकको उपस्थिति रहेको थियो । शुभेच्छुकले शाहको समर्थनमा ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायत नाराबाजी गरेका थिए । पञ्चेबाजासहित घडा राखेर उनको स्वागतमा रहेका शुभचिन्तकले पूर्वराजाको जयजयकार गरे । उनले विन्ध्यवासिनीको दर्शन अगाडि मंगलबार नै पोखराको सिर्जनाचोकस्थित पशुपति मन्दिर, गणेशटोलको भैरव मन्दिर र गणेश मन्दिरको पनि दर्शन गरेका थिए । उनको सुरक्षार्थ जनपथ प्रहरी र सशस्त्र प्रहरीका अलावा शिव सेनालगायतको सहभागिता थियो । पूर्वराजा शाहले मंगलबार पोखराका विभिन्न शक्तिपीठमा पूजाआजामा झन्डै चार घन्टा बिताए । गत बिहीबार पोखरा आएका पूर्वराजाले यसअघि बाग्लुङ, पर्वत, स्याङ्जा र तनहुँका विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै शुभेच्छुकसँंग भेट गरेका थिए । विन्ध्यवासिनी मन्दिरको दर्शनपछि उनी अघिल्ला दिनजस्तै मंगलबार पनि आफ्नै लगानी रहेको फेवातालपारीको फिस्टेल लजमा नै बसेका छन् । पूर्वराजाको घोषित धार्मिक यात्रा मंगलबार सकिएको भए पनि उनले बुधबार पोखराको अनदुडाँडास्थित शान्ति स्तुपका साथै अन्य केही बौद्ध गुम्बाको दर्शन गर्ने स्वागत अभिवादन समितिका सहसंयोजक केशव भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार पूर्वराजा शाहले बुधबार नै आफ्नो भ्रमणबारे प्रतिक्रिया दिने सम्भावना रहेको छ । उनी असोज ११ गते काठमाडौं फर्किने कार्यक्रम छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक