(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120904

'सपनाको राजकुमार' डा. बाबुराम भट्टराई को एकवर्षे शासनकालले जनतालाई थप निराशा र बेचैन

- देवप्रकाश त्रिपाठी
माओवादी पथका भए पनि नेपाली जनताको दृष्टिमा डा. बाबुराम भट्टराई एकताक 'सपनाको राजकुमार'जस्तै हुनुहुन्थ्यो र उहाँको हातमा मुलुकको जिम्मेवारी आउँदा कायापलट नै हुनेछ भन्ने ठानिन्थ्यो। माओवादीका अन्य नेताहरूको तुलनामा उहाँमा देश निर्माणको 'भिजन' भएको विश्वास पनि गरिन्थ्यो। तर, उहाँको एकवर्षे शासनकालले जनतालाई थप निराशा र बेचैन तुल्याएको छ। पहिलेका प्रधानमन्त्रीहरूले झैं विपक्षीद्वारा सिर्जित अड्चन र परिस्थितिलाई दोष दिएर आफूलाई जोगाउने प्रयास बाबुराम भट्टराई पनि गर्दै हुनुहुन्छ। बाबुराम पनि असफल भइदिँदा जनतामा नेतृत्वप्रतिको आशा मरेको छ र यो मुलुकमा देश बनाउन सक्ने कुनै नेता नै नरहेको सन्देश प्रवाहित भइरहेको छ। त्यसैले विपक्षी र परिस्थिति देखाएर उम्कन पाउने–सक्ने अवस्थामा उहाँ हुनुहुन्न। यद्यपि बाबुराम भट्टराई भिजन भएको र केही गर्न चाहने नेता हुनुहुन्छ भन्ने विश्वासमा अझै पनि कतिपय मानिस छन्, तर तिनको यस्तो विश्वास पनि अब धेरै लामो समय कायम रहने विश्वास गर्न सकिँदैन। उहाँको कार्यकालमा राष्ट्रियता र राष्ट्रिय एकताको पाटो दुर्बल भएको छ, सार्वभौमिकता कमजोर हुन पुगेको छ, अर्थतन्त्र रुग्ण हुँदै गएको छ, औद्योगिक विकास हुन सकेको छैन, भरपर्दो रोजगारीको सिर्जना भएको छैन, मूल्यवृद्धि अनियन्त्रित हुँदा साधारण जनताको दैनिक जीवन कष्टकर बनेको छ, सामाजिक सद्भावमा क्षति पुगेको छ, जनताको जीउधनको सुरक्षा गर्न सरकार असफल भएको छ, आपराधिक गतिविधिमा नियन्त्रण
आउन सकेको छैन, राजनीतिक शक्तिहरूबीचको सौहार्दतामा गम्भीर क्षति पुगेको छ र राष्ट्रिय सहमतिको मार्ग दुर्बल भएको छ। समग्रमा मुलुक समृद्धिको मार्ग पूर्णतः अवरुद्ध हुन पुगेको छ। बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा निर्माण गर्नुभएको आशा र व्यक्तित्वको पहाड प्रधानमन्त्री भएपछि उहाँ आफैंले गर्ल्यामगुर्लुम ढाल्नुभएको छ।
किन असफल भए बाबुराम?
देशको जिम्मेवारी पाइसकेपछि कुनै पनि व्यक्ति या समूहको ध्यान देश निर्माण र जनताको दैनिक जीवन सहज तुल्याउने कुरामा केन्द्रित हुनुपर्ने हुन्छ। तर, बाबुराम र उहाँको समूह देश निर्माणमा केन्द्रित हुन सकेन, क्रान्ति सम्पन्न गर्नुपर्ने धङधङ्गीबाट उहाँले मुक्त हुने प्रयास नै गर्नुभएन। मुलुक निर्माणतिर लाग्ने कि क्रान्तियात्रालाई पूरा गर्ने भन्ने दुई विपरीत सोच र चिन्तनको चेपुवामा पर्नुभयो 
बाबुराम। निर्माणतिर मात्र केन्द्रित हुँदा संशोधनवादी–दक्षिणपन्थी होइने त्रासबाट उहाँ मुक्त हुन खोज्नुभएन– असफलताको मूल कारण यो नै बनेको छ। क्रान्तिका भ्रान्तिपूर्ण कुराबाट मुक्त भएर देश निर्माणमा मात्र केन्द्रित हुन सकेका भए एक वर्षको समय कम होइन, बाबुराम सफल हुन सक्नुहुन्थ्यो। नौजना राणा प्रधानमन्त्रीहरूमध्ये सबभन्दा कम समय तीन महिना मात्र प्रधानमन्त्री भएका देवशमशेर आफ्नो कामका कारण इतिहास स्मरणीय भएका छन्, तर देवशमशेरको भन्दा चारगुणा बढी समय पाएर पनि बाबुराम स्मरणीय बन्न सक्नुभएन, यो यथार्थलाई बाबुरामजीले सम्भवतः सत्ताबाट बाहिरिएपछि मात्र स्वीकार गर्नुहुनेछ। 
बाबुरामको मनोविज्ञान अध्ययन गर्दा उहाँ भावनात्मक रूपमा देशको समृद्धिसँग आफूलाई जोड्न चाहनुहुन्छ भन्ने देखिन्छ तर उहाँको विचार–दर्शन, राजनीतिक आबद्धता र सिद्धान्त तथा नीतिले नै उहाँलाई छेकबार लगाएको महसुस हुन्छ। माओवादी विचार बोक्ने मानिस जतिसुकै इमानदार र दूरदृष्टिवाला भए पनि तिनले देश समृद्धिको यात्रा तय गर्न सक्दैनन् भन्ने यथार्थको उदाहरणीय पात्र बाबुराम भट्टराई बन्दै हुनुहुन्छ। 
प्रधानमन्त्री भइसकेपछि डा. भट्टराईले धेरै लामो समय शान्ति र संविधानका नाममा खेर फाल्नुभयो। शान्ति र संविधान प्रधानमन्त्री बनेका कुनै एक व्यक्तिको बसको कुरा होइन–थिएन भन्ने हेक्का उहाँले राख्न सक्नुभएन। शान्ति र संविधान निर्माणको एउटा प्रक्रिया थियो र त्यस प्रक्रियामा धेरै शक्ति र व्यक्तिहरू सामेल थिए, त्यसलाई एउटा प्रक्रियामै छोडिदिएर आफूलाई मुलुक निर्माणमा केन्द्रित गर्न सकेको भए आज मुलुकको यसप्रकारको गति नहुने अनुमान गर्न सकिन्छ। प्रधानमन्त्रीको जिम्मेवारीमा रहेपछि देशको साझा नेताको भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्नुपर्थ्यो, तर बाबुराम पनि प्रचण्डझैं यदाकदा उत्ताउलो र केटौले व्यवहारमा प्रस्तुत हुनुभयो। विपक्षीहरूबाट सहयोग प्राप्त गर्ने र गरिरहने प्रकारको बोली–व्यवहार उहाँले दर्शाउन सक्नुभएन। सपना मुलुक समृद्धिको देख्ने, विपनामा क्रान्तिको भ्रान्ति–मार्गमा डुबुल्की लगाउने व्यवहार देखाउँदा बाबुराम आफ्नो लोकप्रियतासमेत जोगाउन नसक्ने गरी थला पर्नुभएको छ भन्दा उहाँको चित्त दुख्ला, दुखे पनि वास्तविकता यही नै हो। 
माओवादीले जनसाधारणमा राजनीतिक चेतना आउनुलाई जागरण आएको ठान्दछ, जब कि राजनीतिक चेतनाले मात्र मानिसलाई समृद्ध तुल्याउन सक्दैन र कोरा राजनीतिक चेतनाको मानिस देश र समाजको समृद्धिमा सदा अड्चन बनिरहन्छ। राज्यसत्ता अन्तिम गन्तव्य हो र समाजलाई राजनीतीकरण गर्दा नै गन्तव्य हासिल हुनसक्छ भन्ने विश्वासका आधारमा जनजनमा राजनीतिक महत्त्वाकाङ्क्षा जगाउने काम माओवादीले गरेको हो। अहिले सामान्य चियापसलदेखि पाँचतारे होटलसम्म जसरी राजनीतिक विषयमा चासो र चर्चा हुने गर्छ, यसलाई बदलेर अर्थतन्त्र र विकास निर्माणको मुद्दामा मानिसको ध्यान केन्द्रित गर्न सकेको भए देशले सफलताको यात्रा सुरु गर्न सक्दथ्यो। गरिब र गरिबीको पीडा र वेदनाका गीत गाएर मात्र मानिसलाई गरिबीबाट मुक्त तुल्याउन सकिँदैन। गरिबीबाट मुक्ति पाउन उद्यम–व्यवसाय गर्नुपर्छ, लगानीको वातावरण बनाइनुपर्छ र लगानी तथा लगानीकर्ताको सुरक्षा हुनुपर्छ भन्नेतर्फ प्रधानमन्त्रीका रूपमा बाबुरामको भूमिका मोडिएको भए ज्यादा राजनीतीकरणबाट नेपाली समाज मुक्त भई यसले नयाँ दिशा र गति प्राप्त गर्न सक्दथ्यो। बाबुरामको सोच र व्यवहार काशी जान कुतिको बाटो तय गर्ने यात्रीको जस्तै भइदिँदा उहाँ अलमलिनुभयो। राजनीतिक चेतनामा जोड दिएर आर्थिक उन्नति खोज्न सकिन्न, बाबुरामले त्यही नसकिने कार्यव्यवहार देखाइरहनुभयो। 
मुलुकको परराष्ट्रनीति पनि उहाँले सन्तुलित राख्न सक्नुभएन र नेपालको शान्ति र विकास प्रक्रियामा विदेशी शक्तिलाई उपयोग गर्ने सामर्थ्य पनि उहाँले दर्शाउन सक्नुभएन। श्री ३ जंगबहादुर राणालाई नेपालका इतिहास लेखकहरूले जतिसुकै नकारात्मक रूपमा प्रस्तुत गरे पनि भीमसेन थापाले असन्तुलित र असामान्य बनाएको परराष्ट्र नीतिलाई व्यावहारिक र देशका निम्ति लाभकारी तुल्याएको जस (यश) जंगबहादुरलाई नै जान्छ। भीमसेन थापा देशभक्त र क्रान्तिकारी अवश्य हुँदा हुन्, तर उनले अवलम्बन गरेको विदेशनीतिले देशमा तनाव बढाएको र अपूरणीय राष्ट्रिय क्षति पुर्‍याएको अवश्य हो। जंगबहादुर सत्तारुढ भएपछि उनले विश्व साम्राज्य बनेको ब्रिटिससँग तनाव होइन समझदारी बढाउने नीति लिए। उनीमाथि त्यसबेला ब्रिटिस भारतको पिछलग्गु बनेको आरोप लाग्यो र अझै पनि हामी जंगबहादुरलाई सोही रूपमा हेर्ने गर्दछौँ। ब्रिटिस भारतसँग समझदारी बनाएर जंगबहादुर एकथोपा रगत र पसिना नबगाई नयाँ मुलुक (हालको बाँके, बर्दिया, कैलाली र कञ्चपुर) फिर्ता गर्न सफल भए। भन्नेहरूले उनलाई त्यसबेला विदेशीको दलाल नभनेका होइनन् तर त्यसबाट जंगबहादुर विचलित भएनन्– भारतसँगको मिलापलाई उनले राष्ट्रिय स्वार्थपूर्तिका निम्ति उपयोग गरे। देशको सार्वभौमिक स्वतन्त्रता र सम्मानप्रति पनि जंगबहादुर सचेत थिए, एकपटक भारतमा ब्रिटिसहरूले राजा–महाराजाहरूको सम्मेलन आयोजना गरेका थिए र जंगबहादुरलाई पनि उक्त सम्मेलनमा निमन्त्रणा प्राप्त थियो। उनले ब्रिटिस शासकलाई प्रश्न गरे– सम्मेलनमा उपस्थित राजा–महाराजालाई कति तोपको सलामी दिइन्छ? ब्रिटिसले सत्र तोपको सलामी दिने जवाफ पठाएपछि जंगबहादुरले सम्मेलनमा भाग लिन आफू नआउने जानकारी भारतलाई गराए। आफू सार्वभौमसत्तासम्पन्न मुलुकको प्रमुख भएकोले राजा–रजौटाहरूको सम्मेलनमा भाग लिन नमिल्ने, यदि एउटा सार्वभौम मुलुकको प्रमुखलाई दिइने २१ तोपको सलामी दिइन्छ भने मात्र आफ्नो सहभागिता हुने जानकारी जंगबहादुरले ब्रिटिस भारतलाई गराए र सम्मेलनमा भाग लिन गएनन्। तर, डा. बाबुराम भट्टराई भारतको एउटा राज्यका मुख्यमन्त्रीले आयोजना गरेको कार्यक्रममा समेत प्रोटोकलको हेक्कै नराखी सहभागी हुन पुग्नुभयो। बाबुरामले एसडी मुनीहरूसँगको वैयक्तिक मित्रतालाई सिङ्गै भारतसँगको मित्रता ठान्नुभएको आभास भइरहेको छ। तात्कालिक राजा ज्ञानेन्द्रले कर्ण सिंहसँगको मित्रतालाई नै भारतसँगको मित्रता ठान्नुभएझैं बाबुरामले चाहिँ मुनीहरूसँगको सम्बन्धलाई ठान्नुभएको छ। छिमेकी हुनुका नाताले नेपालसँग भारतका पनि अपेक्षा छन्, भारतको अपेक्षा र चिन्ताप्रति छिमेकीका रूपमा हामी नेपाली पनि संवेदनशील हुनु स्वाभाविक हुन्छ। छिमेकी भारतको चासो र चिन्तासँग नेपालको राष्ट्रिय चिन्ता र चासोलाई जोडेर व्यवहार गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सक्नुभएको छैन। यस्तो व्यवहारले न भारतलाई सन्तुष्ट तुल्याउन सकेको छ न नेपालको राष्ट्रिय हितमा छिमेकी राष्ट्रको सहभागितालाई नै सकारात्मक र प्रभावकारी बनाउन सकेको छ। यसर्थमा जंगबहादुर राणाजस्ता निरक्षर प्रधानमन्त्रीभन्दा पीएचडीको डिग्रीधारी बाबुराम भट्टराई अपरिपक्व र असफल बन्नुभएको छ भन्न सकिन्छ।
जनताको दैनिक जीवन बाबुरामकालमा सर्वाधिक सङ्कटग्रस्त र असहज बन्यो। अन्तर्राष्ट्रिय कारण देखाउँदै एक वर्षभित्र पाँचपटक इन्धनको मूल्य वृद्धि गराएर उहाँले महँगी वृद्धिलाई तीव्र गति दिने काम गर्नुभयो। खाना बनाउने ग्यासको अभाव हुँदा जनता सडकमै ओर्लिएर ग्यास लुट्ने स्थिति बन्यो। हिंसा, अपहरण र लुटपाटका घटनालाई निरुत्साहित तुल्याउने कुनै प्रभावकारी कदम चालिएनन्, सडक सुरक्षामा ठ्याम्मै ध्यान पुर्‍याइएन, ऊर्जा सङ्कट समाधानका निम्ति परिणामुखी कुनै काम गरेको देखिएन, महँगी नियन्त्रण गर्न पूर्ण असफल भए, दिगो रोजगारी सिर्जना हुने गरी औद्योगिक वातावरण बनाइएन, मुलुकलाई लगानीमैत्री बनाउन सकेको पनि देखिएन, यति हुँदाहुँदा पनि पदमा बसिरहने चाहनाचाहिँ बाबुरामबाट कुनै न कुनै रूपमा प्रकट भइरहेको छ। बाबुरामको असफलताले उहाँको लोकप्रियतालाई मात्र क्षति पुर्‍याएको छैन, हाल क्रियाशील कुनै पनि नेताबाट यो देश बन्दैन कि भन्ने एउटा निराशाजनक प्रश्न र आशङ्का पनि पैदा गराएको छ। राजनीतिक क्षेत्रप्रति यसप्रकारको निराशा बढ्दा यसले कुनै न कुनै रूपको अधिनायकवाद स्थापनाको निम्ति आधारभूमि खडा गर्ने काम गरेको छ।
बाबुराम भट्टराईको कार्यकालमा केवल दुईवटा मात्र राम्रो काम भए भन्न सकिन्छ– एउटा उहाँले राजधानीको सडक फराकिलो पार्ने काम साहसका साथ अघि बढाउनुभयो, अर्को भारतीय लगानी नेपालमा भित्र्याउने उद्देश्यले बिप्पा सम्झौता गर्नुभयो। अहिलेको विश्वमा वैदेशिक लगानीबिना कसैले पनि आफ्नो अर्थतन्त्र सबल बनाउन सकेका छैनन्। नेपालमा लगानी गर्न अमेरिका र युरोप मात्र होइन छिमेकी भारतसमेत डराइरहेको अवस्थामा बिप्पा 
(सम्झौता) गरेर बाबुरामले लगानीमैत्री वातावरण बनाउन गर्नुभएको प्रयासलाई सकारात्मक मान्न सकिन्छ। नेपालमा विदेशीको लगानी सुरक्षित हुने भएपछि त्यसले स्वदेशी लगानीकर्ताहरूलाई पनि पे्ररित गर्ने विश्वास गर्नुपर्ने हुन्छ। विदेशी लगानीलाई सुरक्षित गरिदिने राज्यलाई स्वदेशी लगानीको सुरक्षा गर्न पनि कर लाग्छ। त्यसैले बिप्पाले तत्काल नेपालमा विदेशी लगानी नभित्र्याएको भए पनि त्यसले एउटा सकारात्मक सन्देश दिएको अवश्य मान्नुपर्ने हुन्छ।
वर्ष दिन त्यत्तिकै अलमलमा बिताउनुहुने प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब केही दिनमा धेरै गर्नुहोला भनेर विश्वास गर्न मिल्दैन, देशको समृद्धिका निम्ति राष्ट्रिय सहमतिको वातावरण मात्र बनाउने 'साहस' गर्नुभयो भने उहाँलाई हामी सबैले 'धन्य' भन्नैपर्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक