20121019

११ जना सहसचिवलाई सचिवमा बढुवा, नेपाल टेलिभिजनको महाप्रबन्धकमा लक्ष्मण हुमागाईं, दीपक रौनियार जलविद्युत् विकास तथा लगानी कम्पनीमा प्रबन्ध निर्देशकमा नियुक्त

सरकारले ११ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको हो । बैठकले नारायणगोपाल मलेगो, आत्माराम पाण्डे, जनार्दन नेपाल, शान्तराज सुवेदी, शारदाप्रसाद त्रिताल, रणबहादुर श्रेष्ठ, उद्धव बाँस्कोटा, शान्तबहादुर श्रेष्ठ, नरेन्द्र दाहाल, लक्ष्मणप्रसाद पोखरेल र सुमनकुमार शर्मालाई बढुवा गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।  यसैगरी, सरकारले अर्थसचिव कृष्णहरि बाँस्कोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । अर्थसचिवमा बढुवा भएका सचिव शान्तराज सुवेदीलाई लगिएको छ ।
सरकारले कृषि विकास सचिव गणेशराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगेको छ । कृषि विकास मन्त्रालयमा जयमुकुन्द खनाललाई सरुवा गरिएको छ । त्यस्तै, शान्ति मन्त्रालयका सचिव ध्रुवराज शर्मालाई राष्ट्रपति कार्यालयमा र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेलाई शान्ति मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि सचिव बढुवा समितिले विभिन्न मन्त्रालय र निकायमा रिक्त १२ सचिवमध्ये कानुन सेवाबाहेकका ११ पदमा पदोन्नतिका लागि ३३ सहसचिवलाई सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका सहसचिवमध्येबाटै ११ जनालाई सचिवमा बढुवा गरिएको हो । असार र पुसमा मात्र बढुवा गर्ने परम्परा भए पनि अख्तियार, महिला र उद्योग, राष्ट्रपति कार्यालयसहित ११ महत्त्वपूर्ण निकाय प्रशासनिक नेतृत्वविहीन भएकाले बढुवा समितिले सरकारको निर्देशनअनुसार बढुवाका लागि गत असोज
अन्तिम सातामै सिफारिस गरेको थियो । मन्त्री यादवका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल टेलिभिजनको महाप्रबन्धकमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । त्यस्तै, दीपक रौनियार जलविद्युत् विकास तथा लगानी कम्पनीमा  प्रबन्ध निर्देशकमा नियुक्त भएका छन् । बैठकले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न थप एक करोड रुपियाँ दिने निर्णय पनि गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक