20121002

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले आफ्नो स्वार्थका लागि नेपालमा संघीयताको विषय उचालेको आरोप लगाए

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले आफ्नो स्वार्थका लागि नेपालमा संघीयताको विषय उचालेको आरोप लगाएका छन् । उनले मुलुकलाई संघीयतामा लगिए राष्ट्रियता निकै कमजोर हुने चेतावनी दिए । ‘संघीयतामा जाँदा मुलुक स्वतन्त्र रहँदैन,’ उनले ठोकुवा गरे । अखिल नेपाल किसान संघ केन्द्रीय समितिले भू तथा पर्यावरण संरक्षणका लागि आज बुटवलमा आयोजना गरेको राष्ट्रिय भेलामा केसीले संघीयताका कारण राष्ट्रियता माथि खतरा बढेको बताए । नेपाली जनताको हित नचाहने राजनीतिक दलहरुले मात्र संघीयताको विषय उचालेको उनको आरोप छ । ‘संघीयताको चाहना नेपालीको पक्षमा छैन,’ उनले भने, ‘मुलुक विदेशीको हातमा सुम्पन संघीयताको विषय उठेको छ ।’ मुलुकलाई विखण्डनबाट जोगाउने भूमिका अब कांग्रेस र एमालेको काँधमा आएको टिप्पणी गर्दै नेता केसीले कांग्रेस र एमालेले पनि जातीय राज्य स्वीकार गरे मुलुक नरहने बताए । दुबै माओवादीले ४ वर्षको अवधिमा
सबैभन्दा बढि भ्रष्टाचार गरेर कम्युनिष्ट राजनीतिको खिल्ली उडाएको उनको आरोप थियो । उनले विश्वका संघीय प्रणाली भएका मुलुकहरुमा पनि जातीय पहिचानसहितको संघीयताको कुरा नउठेको बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले दशैं अगाडि संघर्ष नगर्ने भन्ने अभिव्यक्ति आफूले नदिएको दाबी गरेका छन् । नेपाली कांगे्रसका सभापति सुशील कोइरालालले सहमतिको सरकार निमार्ण र सहमतीय राजनीतिलाई निरन्तरता दिन एमाओवादी पटक/पटक बाधक बनेको आरोप लगाएका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवास महाराजगञ्जमा आज विहान नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोड्डीसँगको भेटका क्रममा कोइरालाले एमाओवादीको गैर राजनीतिक क्रियाकलापले सहमतिमा समस्या आएको बताए ।
उनका निजी सहयोगी लक्ष्मण ढकालका अनुसार कोइरालाले एमाओवादीले सहमतिहरु कार्यन्वयन नगरेकै कारण मुलुकमा राजनीतिक अन्यौलता छाएको छ ।
सभपाति कोइरालाले राजदूत बोड्डीलाई सहमतिका आधारमा अगाडि बढ्न कांग्रेस तयार रहे पनि एमाओवादीको धोकाको राजनीतिले समस्या बनाएको गुनासो गरे । उनले भने, ‘एमाओवादी पूर्व सहमतिका आधारमा इमान्दार भएर आए निकास छिटो आउँछ ।’
भेटमा राजदूत बोड्डीले गत शनिबार कपनमा कोइराला माथि भएको आक्रमणप्रति चिन्ता जनाउँदै नेपाली राजनीतिका बिषयमा समेत गहिरो चासो देखाएका थिए ।
अध्यक्ष खनालले आज विज्ञप्ति जारी गरेर आन्दोलन रोक्ने जस्ता आशय बुझिने समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् । आफू सम्बन्धित आजका समाचार र पत्रपत्रिकाका प्रति अपात्ति जनाउँदै उनले गम्भीर ध्यानाकर्षण भएको जनाए ।
उनले दशैंअगावै राजनीतिक दलहरुले चाढपर्वलाई असर पर्ने गरेर संघर्ष नगर्ने विषयमा छलफल मात्रै गरेको बताए ।
‘विभिन्न पत्रपत्रिकामा मलाई उधृत गर्दै राजनीतिक दलहरुले दशैंअगाडि संघर्षका कार्यक्रमहरु नगर्ने भन्नेजस्तो आशय बुझिने समाचारहरु प्रकाशित भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खनालले विज्ञप्तिमा भनेका छन्, ‘सरकारबिरुद्ध प्रतिपक्षी दलहरुले सञ्चालन गर्ने संघर्षका कार्यक्रमले चाढपर्वलाई असर पुराउनु हुँदैन ।’
सहमति निर्माणको प्रक्रियामा चाढपर्वलाई ख्याल गर्नुपर्ने विषयमा कुराकानी भएको जनाएका उनले यसअघि नै निर्धारित आउँदो असोज–१९ गते काठमाडौंमा हुने एमालेको जनप्रदर्शनआदि कार्यक्रम स्थगित नगरिएको उल्लेख गरे ।
एमालेले गर्न लागेका कार्यक्रम पूर्वनिर्धारित समयमा प्रभावकारी र शानदारढंगले सम्पन्न गर्ने व्यापक तयारी भइरहेको उनले उल्लेख गरेका छन् ।
‘वर्तमान सरकारको जनविरोधी र राष्ट्रहितविरोधी क्रियाकलापका बिरुद्ध एमालेको आयोजनामा हुने प्रदर्शनलाई भव्यरुपमा सम्पन्न गर्न आग्रह गर्छु,’ खनालले भनेका छन् ।
विभिन्न पत्रपत्रिकामा खनाललाई उधृत गर्दै आन्दोलनका कार्यक्रम रोक्ने आशयका समाचार प्रकाशित भए पछि उनले खण्डन गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपति डा.रामवरण यादवले केही गर्न सक्ने परिस्थिति अहिले सिर्जना नभएको बताएका छन् ।
उनले भने, ‘राष्ट्रपतिलाई दलहरु स्वयंले विवादमा तान्न खोजेका छन् ।’
नेपाल प्रेस युनियन नुवाकोट शाखाले आज विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एकीकृत माओवादीले निष्पक्ष निर्वाचन गराउन नसक्ने दाबी गरे । ‘बर्तमान सरकारको नेतृत्वमा मुलुकमा नयाँ निर्वाचन सम्भव छैन,’ उनले भने ।
नेता केसीले एमाओवादी सडक र सरकार दुवैमा आफ्नो प्रभाव जमाएर सत्ताकव्जाको रणनीतिमा लागेको बताए ।
उनले एकीकृत माओवादीका नेताहरुले देश र जनतालाई पटक/पटक झुक्याईरहेको आरोप पनि लगाए । एमाओवादीले विगतका सहमति कार्यान्वयन गर्नुपर्ने नेता केसीको भनाई थियो ।
माओवादी लडाकु शिविर भित्र भएको अर्वै रकमको भ्रष्टाचार सम्बन्धमा सरकार, अख्तियार र विशेष समितिको मौनता रहस्यपूर्ण रहेको नेता केसीको टिप्पणी छ । उनले शिविर भित्रको भ्रष्टाचार छिटो छानविन गर्न माग गरे । विघटित संविधानसभाका दलहरुले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुले जिम्मेवारी साथ पहल गर्नु पर्ने बताएका छन् ।
काठमाडौंमा आज बसेको सर्वदलीय बैठकमा धारणा राख्ने अधिकांश दलहरु र नेताहरुले सहमति गरेर नयाँ निर्वाचनमा जानुपर्ने सुझाव दिएका हुन् । उनीहरुले निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा समेत सुझाव दिए ।
बैठकमा नयाँ निर्वाचनको सभासद् संख्या र प्रक्रियाका बारेमा पनि स्पष्ट हुनु पर्ने सुझाव आएको नेताहरुको भनाई छ ।
एमाले उपाध्यक्ष बामदेब गौतमले वर्तमान सरकारलाई निरन्तरता दिनु पर्ने सत्तारुढ दलहरुको सुझाव आएको बताए । यद्यपि आफूहरुले वर्तमान सरकार विस्थापित नहुँदा सम्म सहमतिमा समस्या हुने धारणा राखेको बताए ।
उनले भने, ‘पार्टीहरुले आ–आफ्ना अडान र विकल्प बारेमा बैठकमा धारणा राख्ने काम मात्रै भएको छ, ठोस निर्णय केही भएन् ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरुका बीच आगामी निर्वाचन र निर्वाचित हुने सदस्य संख्याबारे परामर्श भएको जानकारी दिए । उनले भने, ‘१ बर्षका लागि संविधानसभा र चार बर्ष संसद् रहने गरेर निर्वाचन गर्न सुझाव दिएको छु ।’
राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलहरु सहमतिमा मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न दबाव दिए पछि प्रमुख दलले सर्वदलीय बैठक बोलाएर सुझाव लिएका हुन् । सर्वदलीय बैठकका सुझाव अनुसार दलहरु अगाडि बढ्ने छन् । - sourya

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक