(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121117

कसैले कसैलाई थप्पड हान्नु राम्रो काम होइन यसो नगरौं, तर हेर्नुस् त जनताको आक्रोस कसरी अभिब्यक्त हुँदैछ, नेताहरुलाई चेतना भया !

झलनाथलाई थप्पड हान्ने देबी प्रसाद भन्छन "अब थप्पड हान्ने होइन, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हामी जनता जाग्नुपर्छ र संसद भवनअगाडि ६ सय १ जनालाई अट्नेखालको खाल्टो खनेर वहाँहरुलाई जिवितै सर्लक्कै हाल्नुपर्छ । त्यहाँबाट वार्ता मिल्छ कि ? सदनबाट त वार्ता मिलेन !’
"प्रचण्डलाई पड्काउनेलाई छोड्नुपर्छ, छाड्दिँन भनेर हुन्छ र ? उनीहरुले आफ्नो पालामा जनतालाई माफी दिएका छन् त ? जनतालाई त जबरजस्ती लगेर गोली हानेका छन् नि । जनतामा अहिले त्यो ताजा घाउ छँदैछ । उनीहरुले दुनियाँका छोराछोरीलाई ड्याङ कि ड्याङ गोली हानेर मार्दा उनीहरुले चाँहि जनताले माफी दिनु पर्ने, अनि जनताले चाँहि गलत बाटो नहिँड है, सचेत होऊ भनेर यसो छुँदा पनि माफी नदिने ? यस्तो व्यक्तिलाई कारवाही गरियो भने भोलि यसले कुन रुप लिन्छ भन्ने कुरो नेताहरुले सोच्न जरुरी छ ।"

नेतालाई गाला चड्काउने अभियानका प्रारम्भकर्ता हुन् सुनसरीका देवीप्रसाद रेग्मी । जसले, एमाले अध्यक्ष झलनाथ खनाललाई गत माघमा इटहरीमा सार्वजनिकस्थलमा थप्पड हानेका थिए । तर, नेता कुटेकोमा रेग्मीलाई अहिलेसम्म पछुतो लागेको रहनेछ । शुक्रबार भृकुटीमण्डपमा माओवादी अध्यक्ष प्रचण्डमाथि देवीप्रसादकै शैलीमा हातपात भएपछि अनलाइनखबरले रेग्मीलाई प्रश्न गर्‍यो- ‘एमाले नेता खनालमाथि हातपात गरेकोमा तपाईलाई अहिले पछुतो लागेको छ कि छैन ?’ रेग्मीले जोसिंदै भने, ‘किन पछुतो लाग्ने ? मलाई त गर्व लागेको छ, अब यी नेतालाई संसद भवन -?) अगाडि खाडल खनेर जिउँदै हाल्नुपर्छ, अनिमात्रै यिनीहरु सहमतिमा आउँछन् ।’ आफ्नै पथ पछ्याउँदै प्रचण्ड पिटिएपछि रेग्मी भन्छन्- मैले पहिले हात उठाएँ, तर सबैले एउटै पेशा गर्न मिल्दैन ।’  
अहिले के गर्दै हुनुहुन्छ ?
–खेती किसान गर्ने मान्छे, धान काट्ने र थन्क्याउने काम गरिँदैछ सर ।
तपाईले झलनाथ खनाललाई पिट्दा लागेको मुद्दा अझै बाँकी छ कि सिद्धियो ?
–छैन, त्यतिखेरै समाप्त भैहाल्यो नि । ५ दिन थुनामा बसियो अनि तारेखचाँहि ४/५ महिना धाइयो ।
तपाईले नेता खनालसित माफी मागेपछि छुट्नुभएको होइन ?
–मैले माफी माग्ने कारणै छैन । मैले किन माफी माग्ने ? हल्ला त उनीहरुले जे पनि गर्छन् नि, नेताहरुको बोलीको ठेगानै छैन । अहिले बोलेको कुरो अहिले हामीले गरेको होइन भन्छन् ।
तपाईले किन त्यसरी नेतालाई थप्पड हान्नुभएको ?
–मैले भलनाथलाई शिक्षाको रुपमा दिएको हुँ । वहाँ जतिबेलासम्म राजनीतिक पेशामा रहनुहुन्छ, त्यतिबेलासम्म नयाँ सोचविचार आओस् भनेर हानेको हुँ । नेताहरु हिँडेको बाटो साह्रै अप्ठ्यारो छ क्या ! उनीहरुलाई राक्षसले पनि आक्रमण गर्न सक्छन् । त्यही भएर सही बाटो हिड्नु है भनेर मैले शिक्षा दिएको हो ।
माओवादीका कुरा सुनेर तपाईले पिट्नुभएको होइन ?
–भन्नलाई त जे भने पनि हुन्छ तर, मेरो विचार र सिद्धान्त त्यही (एमाले) नै हो । अहिले म एमालेका लागि विरोधी भएको छु, तर म एउटा स्वच्छ विचारधाराको व्यक्ति हो र मैले ३ करोड जनताको हितका लागि क्रान्ति गरेको हो । खनाललाई पिटेकोमा म अहिले गर्व गरिरहेको छु । पहिले १० वर्षसम्म मुढाले झिंजा डढायो, अहिले झिँजाले मुढा डढाउन थालेको छ, त्यसैले म गर्वमा छु ।
तपाईले नेता पिट्न थालेपछि झक्कुप्रसाद सुवेदी, सुसील कोइराला र प्रचण्डले पनि पिटाइ खाए नि ?
–चुटाइ भनेर घाइते नै पार्न खोजेको होइन । तपाईहरु सुध्रनोस् भनेरै यस्ता घटनाहरु दोहोरिएका हुन् । तर, अब जति गर्दा पनि भएन त्यसैले अब म के भन्छु भने मैले शुरुमा हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन । अहिले तेस्रो घटना भैसक्यो । अब यस्तो गर्नुभन्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हामी जनता जाग्नुपर्छ र संसद भवनअगाडि ६ सय १ जनालाई अट्नेखालको खाल्टो खनेर वहाँहरुलाई जिवितै सर्लक्कै हाल्नुपर्छ । त्यहाँबाट वार्ता मिल्छ कि ? सदनबाट त वार्ता मिलेन । अब सबैले यतातिर सोचिदिए हुन्थ्यो भन्ने मलाई लागेको छ ।
अब प्रचण्डलाई के सल्लाह दिनुहुन्छ ? पिट्ने मान्छेलाई आफूलाईजस्तै ५ दिन थुनेर छाडिदिनु भन्नुहुन्छ कि ?
–छाड्दिँन भनेर हुन्छ र ? उनीहरुले आफ्नो पालामा जनतालाई माफी दिएका छन् त ? जनतालाई त जबरजस्ती लगेर गोली हानेका छन् नि । जनतामा अहिले त्यो ताजा घाउ छँदैछ । उनीहरुले दुनियाँका छोराछोरीलाई ड्याङ कि ड्याङ गोली हानेर मार्दा उनीहरुले चाँहि जनताले माफी दिनु पर्ने, अनि जनताले चाँहि गलत बाटो नहिँड है, सचेत होऊ भनेर यसो छुँदा पनि माफी नदिने ? यस्तो व्यक्तिलाई कारवाही गरियो भने भोलि यसले कुन रुप लिन्छ भन्ने कुरो नेताहरुले सोच्न जरुरी छ ।
यसरी नेतालाई सार्वजनिक ठाउँमा थप्पड हान्नु जंगली तरिका भएन र ?
–ठीकै छ सर, यसबारेमा म कामरेड प्रचण्ड, झलनाथ खनाल वा जुनसुकै ठूला नेतासित मैले फोनमार्फत् बोल्नुपर्‍यो भने म जवाफ दिन्छु । एक किसिमले म आफ्नो ज्यान त्यागेको व्यक्ति हुँ । तीन करोड जनताका अगाडि मलाई मेरो ज्यानको कुनै पर्वाह छैन ।
अझै केही भन्नु छ कि ?
–सरलाई धेरै-धेरै धन्यवाद । देश र जनताले सुख पाउन्, सबैले शान्तिसँग हिँड्न पाउन् । सबै हामी नेपाली दाजुभाइ एकै हौं, हातेमालो गरेर अघि बढौं । यही नै मेरो चाहना हो ।

प्रचण्डलाई कुट्नेमाथि कति होला सजायँ ?

२ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई बाग्लुङका पदम कुँवरले शुक्रबार सार्वजनिक स्थलमा थप्पड हाने । तत्कालै बसेको एमाओवादी पदाधिकारी वैठकले घटनालाई देशी, विदेशी प्रक्रियावादीको नियोजित खेल बतायो । माओवादी कार्यकर्ताको सख्त पिटाइ खाएका कुँवर यतिबेला प्रहरी अस्पतालमा उपचारत् छन् । जंगबहादुरका पालाको कानून भएको भए प्रचण्डलाई पिट्नेमाथि पैंचो चुक्ता भैसकेको छ, तर लोकतन्त्र र कानूनी शासनलाई मान्ने हो भने प्रचण्डको गालामा थप्पड हान्नेमाथि अब कानुनबमोजिम सजायँ हुनेछ । तर, नेपालको कानूनअुनसार प्रचण्डमाथि कुटपिट गर्नेलाई के-कति सजायँ होला ? यस विषयमा नेपाली कानून अस्पष्ट र दुर्बल छ ।
पदम कुँवरमाथि दुईवटा कानुन लाग्न सक्छन्, एउटा मुलुकी ऐनको महल ९ अनुसार ‘कुटपिटको’ र दोस्रो सिडियोले गर्ने कारवाही अन्तरगत केही सार्वजनिक (अपराध नियन्त्रण) ऐन । कुँवरले साथमा धारिलो हतियार नबोकेको र खुनी प्रकारको आक्रमण नगरेका कारण उनीमाथि ‘ज्यान मार्ने उद्योग’ जस्तो कडा कानुन प्रभावित हुने स्थिति छैन । कानून सबैलाई समान हुने हो भने प्रचण्डलाई कुटे पनि वा सामान्य नागरिकलाई कुटे पनि दोषीमाथि एउटै सजाँय हुन्छ ।
कुटपिटको महल
मुलुकी ऐृन ‘कुटपिटको’ महल १ मा भनिएको छ- ‘कसैले कसैलाई हात हतियार उठाई वा अरु कुनै प्रकारले रगतपच्छे वा चोट अंगभंग पारेमा वा जीउमा अरु पीडा नोक्सान हुने काम गरेमा कुटपिट गरेको ठहर्छ ।’ तर, मुलुकी ऐनमा कुटपिट गरी अंगभंग वा घाउ खत नभएकोमा कुनै पनि सजायँको व्यवस्था गरिएको छैन । महल नं ११ मा कुटपिट गरी नील पारेमा एक नीलको एकसय रुपैया जरिवाना उल्ल्ेख गरिएको छ । दाँत भाँच्नेलाई एक दाँतको तीन सय जरिवाना उल्लेख छ । जीउमा पीडा पुर्‍याउनेलाई पीडा विचार गरी अढाइसय रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । कुटपिटबाट अंगभंग भएको खण्डमा चाँहि खत हेरी ८ वर्षसम्म कैदको व्यवस्था मुलुकी ऐनमा गरिएको छ ।
पदम कँवरलाई कुटपिटअन्तरगत कारवाही चलाउने हो भने प्रचण्डले सर्वप्रथम आफ्नो घाउजाँच गराउनेदेखि लिएर प्रहरीसमक्ष कुँवरविरुद्ध नालिस गर्नुपर्छ, त्यसपछि बल्ल मुद्दा अगाडि बढ्छ । घाउचोट नलाग्ने गरी बेइज्यत गर्ने उद्देश्यले सार्वजनिक ठाउँमा सामान्य झापड हान्नेलाई कति सजायँ गर्ने भन्ने व्यवस्था मुलुकी ऐनमा छैन । नेताहरु आफैं कानून बनाउने ठाउँमा छन्, त्यसैले यस्तो अव्यवहारिक कानूनलाई बेलैमा समयानुकूल सुधार गर्न जरुरी देखिन्छ ।
केही सार्वजनिक (अपराध नियन्त्रण) ऐन-२०२८
चोट नलाइगे गरी कुटिएको घटनामा प्रहरीले केही सार्वजनिक अपराध ऐन अनुसार पनि मुद्दा चलाउन सक्छ । जस्तो कि एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हान्ने देवीप्रसाद रेग्मीविरुद्ध यही ऐन अन्तरगत मुद्दा चलाइएको थियो । सार्वजनिक अपराध ऐनको दफा २ (ख) मा ‘सार्वजनिक स्थानमा छुटपीट वा हुल हुज्जत गरी शान्ति भंग गर्ने’ कार्यलाई सार्वजनिक अपराधको परिभाषाअन्तरगत राखिएको छ । सो ऐनको दफा ३ अनुसार प्रहरीले दोषीलाई घटनास्थलबाट विना वारेन्ट पक्राउ गर्न सक्छ । प्रहरीले त्यस्तो व्यक्तिलाई ७ दिनभित्र प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाउनुपर्छ । म्याद थप्दै दोषीलाई प्रहरीले ३५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न पाउँछ । यस्तो मुद्दा लागेको दोषीमाथि मुद्दाको शुरु कारवाही किनारा गर्ने अधिकार ऐनको दफा ५ ले सिडियोलाई दिएको छ । सीडियोको निर्णयमा चित्त नबुझे पुनरावेदन अदालतमा पुनरावेदन गर्न पाइन्छ ।
कुँवरमाथि कति सजायँ होला ?
सार्वजनिक अपराध ऐनको दफा ६ अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कुँवरलाई ३५ दिन हिरासतमा राख्न आदेश दिन सक्नेछन् । पीडितपक्षको चश्मा फुटेकोमा सीडीओले बिगो भराउनुका साथै दोषीमाथि १० हजार रुपैयाँसम्मको जरिवाना सुनाउन सक्नेछन् । जरिवानाले मात्रै नपुग्ने भई थुनामै राख्नुपर्ने भएमा दुईवर्षसम्म कैदका लागि पुनरावेदन अदालतसमक्ष प्रजिअले लेखी पठाउन सक्ने कानुनमा व्यवस्था छ । यो व्यवस्थाअनुसार कुँवरले बढीमा अब ३ महिना थुनामा बस्नुपर्ने देखिन्छ । थप थुनामा राख्नेबारे काठमाडौंमा प्रजिअले पुनरावेदन अदालत पाटनमा लेखी पठाएमा कुँवरले प्रचण्डसँग मुद्दा लड्नुपर्ने छ ।
माफी पाउन सक्ने
न्यायको सिद्धान्तमा ठूला मानिसहरुले सामान्य मान्छेसित मुद्दा मामिलामा अल्मलिनुलाई शोभनीय मानिँदैन । यस्तो अवस्थामा सामान्य मान्छेले आवेशमा आएर गरेको कामप्रति माफी दिने प्रचलन छ । प्रचण्डमाथि हातपात गर्ने कुँवर विगतमा प्रचण्डकै कार्यकर्ता रहेकाले उनीमाथि प्रचण्डले तत्कालै माफी दिए भने त्यसलाई नेताको महानता मान्न सकिन्छ । माओवादी नेता झक्कुप्रसाद सुवेदीले पनि आफूलाई पिट्ने व्यक्तिलाई माफी दिएका थिए । एमाले नेता झलनाथ खनालले पनि निकै ढीलो गरी माफी दिएका थिए । आफूमाथि कुर्सी प्रहार गर्ने कार्यकर्तामाथि कांग्रेस सभापति सुशील कोइरालाले तल्कालै सहानुभूति व्यक्त गर्दै उनीमाथि हातपात नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले कुँवरलाई माफी दिएको खण्डमा भने उनीमाथि कुनै सजायँको जरुरत पर्दैन । विगतमा एमाले अध्यक्ष झलनाथमाथि आक्रमण हुँदा एमाओवाद अिध्यक्ष प्रचण्डले त्यसलाई जनताको आक्रोशको संज्ञा दिँदै जनताले जुत्ता पनि हान्न सक्ने सम्भावना औंल्याएका थिए । शुक्रबार उनीमाथि भएको घटनालाई जनताकै आक्रोश नभए पनि कार्यकर्ताको आक्रोशका रुपमा लिन सकिन्छ । तर, प्रचण्डमाथि यस्ता सुरक्षा चुनौतीहरु आफ्नै कार्यकर्ता बाटै बढिरहेको प्रमाणचाहिँ यसअघि भृकुटीमण्डपमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उनीमाथि भएको कुर्सी प्रहार पनि हो । तर, के अब प्रचण्डले कार्यकर्ताहरुको आक्रोस र कुण्ठा मथ्थर पार्न मुद्दा मामिला र थुनछेकको विधि अपनाउलान् ? यस्तो अनुमान लगाउनु राजनेतामाथिको अपमान हुनेछ । एकीकृत माओवादीले प्रचण्डमाथिको झापडलाई देशी-विदेशी प्रतिक्रियावादीको खेल भनेको छ । यसको मतलव सिंगो पार्टी पदम कुँवरविरुद्ध लड्न तयार रहेको संकेत देखिन्छ ।
छानविनको अर्थ
सरकारले प्रचण्डमाथिको आक्रमणबारे छानविन प्रारम्भ गरेको छ । तर, जोकसैको उक्साहटमा कुँवरले घटना गराएको प्रमाणित भए पनि कुँवरमाथि वा उनका मतियारमाथि हुने सजायँ भनेको उही काठमाणडौं जिल्ला प्रशासन मार्फत् नै हो । कानुनभन्दा बाहिरबाट वा कानूनभन्दा बढी कसैलाई पनि सजायँ हुँदैन । त्यसैले यस्तो घटनामा छानविन समिति बनाउनु भनेको कार्यकर्ताको आक्रोशलाई सामान्यीकरण गर्नु र नेतामाथिको कार्यकर्ताको वितृष्णालाई विषयान्तरमात्रै गर्नु हो । फेरि पनि प्रचण्डका सामु उही विकल्प रहने छ, कुँवरविरुद्ध कानुनी कारवाही चलाउने वा उनलाई क्षमा दिने ?
प्रचण्डलाई मार्न खोजेको भन्दै कुटपीट
प्रचण्डलाई मार्ने षड्यन्त्र गरेको आरोपमा कार्यकर्ताको अपहरणमा परेर चर्काे यातना पाएका एक युवा यतिबेला एकीकृत माओवादीमै क्रियाशील छन् । माओवादीका पूर्वबटालियन कमाण्डर कृष्ण अधिकारी -रवि) मणि थापातिर लागेपछि केही वर्ष पहिले उनलाई अपहरण गरी कामीडाँडामा पुर्‍याएर चर्काे यातना दिइएको थियो । त्यही यातनाले शरीर दुख्ने रोग लागेका रवि यतिवेला एमाओवादीमै कार्यरत् छन् । आफूले प्रचण्डलाई मार्ने कल्पनासम्म नगरेको भन्दाभन्दै पनि अमानवीय यातना दिइएको अधिकारीले कब्जाबाट फुत्केपछि सार्वजनिक गरेका थिए । यो घटना प्रचण्डलाई जानकारी दिएर गराइएको थियो या कार्यकर्ताले आफ्नै लहडमा रविमाथि कुटपिट गरेका थिए, अहिलेसम्म प्रष्ट छैन ।
झापडको परिणाम : अझै पश्चगमन
प्रचण्डमाथि हातपात भएपछि सरकारले विशिष्ट व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने बताएको छ । यसले सुरक्षाका नाममा नेताहरुलाई जनताबाट झनै कटाउने र टाढा बनाउँदै लैजाने छ । जनतासित डराएर सुरक्षा घेरामा बस्नुभन्दा जनतामा लोकपि्रय हुने विधि अपनाउनु नै नेतृत्व सुरक्षाको सबैभन्दा उत्तम विधि हो । नेतालाई सार्वजनिक स्थलमा थप्पड हान्नाले जनतालाई फाइदा र उपलब्धी भन्दा पनि थप घाटा हुँदोरहेछ भन्ने सरकारको यस्तो पश्चगामी निर्णयले प्रमाणित गरेको छ । थप्पड खाएका प्रचण्डले अब लाजिम्पाटको भन्दा बलियो दूर्ग बनाए भने त्यो अनौठो हुने छैन । नेताहरुले सुरक्षाका नाममा राज्यको स्रोत दुरुपयोग गर्ने आधार प्रदान गरेको छ यो घटनाले । विगतमा तत्कालीन प्रधान न्यायाधीश केदारनाथ गिरीमाथि एक युवकले छुरी हान्ने प्रयास गरेपछि न्यायाधीशलाई हतियारसहित सुरक्षा गार्ड प्रदान गरिएको थियो । तर, हतियार बोकेका गार्डले पनि न्यायाधीश रणबहादुर बमको रक्षा गर्न सकेनन् ।अनलाइनखबर

1 comment:

  1. prachanda bhanne manchhe lai galama chadkan matrai haina ki herdai januhola nepal ma pani pakistan ma neta haru lai dyang dyang goli hanera sidhyae jasto dekhna paunu hunechha yedi ajhai pani netale aafno lagi matrai soche vane.yo ta samanya ho.prachandale yudda garda kati manchhe mareko chha tha chha?manchhelai nuh khorsani dalera mareka chhan maobadile teskaran yi aparaadhi harulai kunai din manab adhikarko gambhir ulanghan vayeko mudda hega adalat ma garnu jaruri chha.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक