20121129

एउटा पढ्नै पर्ने स्मरण : "एउटा डिक्टेटरको आवश्यकता परे जस्तो छ तिमीहरुलाई ।मार्कोस जस्तो ? कहाबाट ल्याउने ? पत्रिकामा 'वान्टेड' बिज्ञापन दिने ? समयले ल्याउछ, आवश्यकता नै अविस्कारको जननी हो भन्ने नभुल ।"

From: NNSD@yahoogroups.com [mailto:NNSD@yahoogroups.com] On Behalf Of Dr Ramesh Khatiwada , Sent: Sunday, November 25, 2012 12:49 AM, To: NNSD, Subject: [NNSD] आवश्यकता
 यो ईमेल फोरममा "डिक्टेटर" बहस चली रहंदा काम बिसेसले मनिलामा छु । सम्झन्छु १९८६ तिर मार्कोसको भर्खर अन्त्य भएको, अनि सम्झन्छु रत्नपार्क पुरानो बसपार्क - कुर्सीमा राखेको टेप रेकर्डरमा घन्की रहेछ पद्मरत्न तुलाधरको आवाज - " ... होइन भने हामी पनि बनाई दिन्छौ फिलिपिन्सका मार्कोसको जस्तो हाल...।" नेपालीहरु उसै पनि कम छन् मनिलामा । एक शनिवार कसैसंग समय मिल्न सकेन, सोचे जानु पर्यो एक्लै कतै घुम्न । यहा एउटा "ग्रीन बेल्ट" भन्ने ठाउँ छ। मध्य शहरमा ४-५ वटा शपिंग कम्प्लेक्स, अनि होलान 200-300 रेस्टुराँ र क्याफे एकै ठाउमा । हरियो, शुन्दर, अनि रमाइलो पनि । घुम्दा घुम्दै थकान मेटाउन बसें एउटा क्याफेमा एक कप कफी समाएर । छेउको टेबुलमा एक भद्र कफीको स्वाद संगै "ट्याब्लेट" संग जिस्किरहेका थिए ।केहीबेरको हेराहेर र निशब्द मुस्कानको आदान-प्रदान पछि उसले सोध्यो- "एक्लै?" मैले भने- "तिमि जस्तै"। उसले भन्यो - "होइन, यो सुन्दर देश हेर्न बिदेशीहरु प्राय जोडीमा आउछन भन्न खोजेको पो त" । मैले
हास्दै भने - "म पनि एकदमै सुन्दर देशबाट आएकोले तिम्रो देशको सुन्दरता नियाल्न एक्लै पनि फरक नपर्ला नि"। सामान्य परिचयबाट शुरु भै ति फिलिपिनोसंग कुराकानी लामै भो । राजनीतिशास्त्रका प्राध्यापक रहेछन, मनिलाको कुनै विश्वबिद्यालयमा। नेपालको बारे सामान्य जानकारी रहेछ - राजदरबार हत्याकाण्ड, माओबादी बिद्रोह, राजतन्त्रको अन्त्य इत्यादि। माओबादीहरु अहिले सत्तामा छन् भन्दा अचम्म माने। साठीको दशकमा फिलिपिन्समा पनि कमुनिस्ट बिद्रोहीहरुले सताएका र मार्कोसले उनीहरुलाई तह लगाएको बारे सुनाए - “ मार्कोसलाई आज मान्छे गालि गर्छन, तर के था उ नभएको भए हाम्रो हाल पनि कम्बोडियाको जस्तै हुन्थ्यो कि?” कम्बोडिया र भिएतनाममा कमुनिस्टहरुले गर्दा आर्थिक प्रगतिमा फिलिपिन्स भन्दा धेरै पछाडि भएको सुनाए। आफ्नो देशको इतिहास, राजनीति बारे जानकारी दिए। हालका विश्वका जल्दा-बल्दा कुरोहरुमा पनि उनले आफ्नो भिज़न राखे । मैले पनि नेपालको बारेमा आफुले जाने बुझेको सुनाए। छुट्टने बेलामा उनले सोधे – “फेरि भेट हुन सक्ला हाम्रो?” "अवश्य" मैले भने।"अर्को शनिवार भेटुन, म पनि एक हप्तामा तिम्रो देशको बारे स्टडी गर्छु।" मोबाइल नम्बर साटासाट पछि फेरी भेट्ने बाचा गर्दै बिदा भइयो । अर्को शनिवार बिहानै 'एसएमएस' आयो - " त्यहि ठाउँ, त्यहि समय, ओके? मैले पनि लेखिदिए - "ओके"। फिलिपिन्समा 'एसएमएस' गर्ने चलन अति नै छ। मान्छेहरु प्राय फोन गर्दैनन्, 'एसएमएस' का लागि मोबाइलका बटन नै दाबीरहेका हुन्छन । म पुग्दा कफी लिएर बसीसकेका रहेछन। उनको मुस्कान अलि 'सिरियस' भएको जस्तो लाग्यो । च्वास्स मुटुमा घोच्यो - ‘कतै मेरो देशको सप्पै नराम्रो कुरो पो पढन भ्यायो कि ?’ एकछिनको लागि उनको अगाडि निर्वस्त्र उभिएको भान भो। हिम्मत गरेर सोधे – “कस्तो रह्यो 'रिशर्च?” "खासै गर्न पाइन, अकस्मात एउटा सेमिनारमा २-३ दिन बिजी हुनुपर्यो" अलि राहत महशुस गर्दै कफी बुक गरी उनको अगाडि बसे। “तिम्रो देशमा त कमुनिस्ट पार्टीहरुले झन्डै दुइ तिहाई भोट ल्याएका रहेछन नि?” मैले भने – “हो, के गर्ने जनताले उनीहरुलाई लाइ नै भोट दिएपछि। जान्ने सुन्नेहरु भन्छन, पहिले राजाहरुले प्रजातन्त्रबादी शक्तिलाई तह लाउन कमुनिस्टहरुलाई उचाले, पछि त्यहि नै मोनार्की सकिने कारण बन्यो।“ “ कस्तो बिडम्बना, आफु त गए देशलाई पनि भीर मा पुगाएछन्, यो गन्जागोल अनि जहाँ यति धेरै मानिसहरु एउटा युटोपियामा बिस्वास गर्छन, त्यो देशलाई अगाडि बढ्न गारो हुन्छ, दशकौ लाग्न सक्छ, पुरै जेनेरेशन नै 'लस्ट' हुन सक्छ । “कुन युटोपिया?” मैले सोधे । “मार्क्सबाद र साम्यवादको” उनले भने । “मार्क्सबादले फेरि पकड जमाउदै छ भन्ने हल्ला छ नि?” “त्यो सब बेकारको कुरो हो, जब जब संसारमा आर्थिक मन्दी आउछ, सो हल्ला समाजबादी बुद्धिजीवीहरुको लागि सबभन्दा बिकाउ बस्तु हुन जान्छ। त्यसमा उनीहरु आफ्नो महत्तता देख्छन।“ “ अनि वाल स्ट्रीट घेराउ, बैंकहरुको ताण्डव, टप म्यनेंज्मेंट, जसले अकुत तलब पाउछन नि?” “यसको साम्यवाद र पुजिबादसंग कुनै रिलेशन छैन । यो त हुमन नेचर "लोभ" संग गासिएको बिषय पो त हो।“ “अनि अमेरिकी चुनाव नि ? बाराक अबामालाई अहिले "लेफ्ट-सेंत्रिस्ट" सरकार भन्छन नि, अमेरिकी जनता पनि बायाँ ढल्केका हुन् त ? “यो चुनाव डेमोक्रेटले जितेका होइनन, रिपब्लिकनले आफै पो हारेका । दुइजना सेनेटरले अबोर्शनको बारे त्यसरी नबोलेको भए रिज़ल्ट अर्कै पनि हुन सक्थ्यो। म बिश्वस्त छु, डेमोक्रेटको उम्मेदवार गोरो भएको भए उनीहरुको कुनै चान्स थिएन । अमेरिका इमिग्रेन्टको देश हो, दायाँ या बाँया भन्ने प्रश्न नै छैन।तिमि त रसियामा २० वर्ष बसेको भन्छौ, तिम्रो विचार के छ, साम्यवाद बुझेको होलाऊ नि?” “खासै बुझेको त भन्न सक्दिन तर भोगेको छु, पढ्दा कोर्स मै केहि किताब पढ्नु पर्थ्यो लेनिनका । मेरो यसमा आफ्नै विचार छ। मेरो हजुरबुवा ठुलो पण्डित हुनुहुन्थ्यो रे सबैले मान्ने, पुजा पाठ, मान्छेको चिना बनाउनु हुन्थ्यो रे, महंगा उपहार दिन्थे रे, एकदिन बुवाले सोध्नु भएछ – ‘बाबा, मलाइ पनि हजुरको यो बिद्धया सिकाइ दिनुस न - होइन बाबु तिमि साहित्य पढ, बिज्ञान पढ, के गर्छौ यो ठग बिद्या पढेर भन्नु भएछ।' मलाइ यो कमुनिस्ट राजनीति पनि त्यस्तै ठग राजनीति लाग्छ। यिनीहरु हामीसंग पहिले १०० रुपैयाँ खोस्छन। केहि समय पछि ५० फिर्ता दिन्छन र भन्छन- ‘ओहो , जनता तपाईहरु कस्तो भाग्यमानी हामी जस्तो शासक पाउनु भएको छ। हामी त सबैलाई ५०-५० रुपैयाँ बाँड्छौ' । पहिले शान्त देशमा मारकाटको रडाको मचाउछन् । अनि अहिले आएर भन्छन- 'हामीले शान्ति ल्यायौं। हेर तिमीहरु कति भाग्यमानी' । हाम्रो पुरै शान्ति खोसेर आधि शान्ति बाँडेर हामीमा राज गर्ने शुरमा छन्, नेपालका कमुनिस्टहरु। अनि तपाइको बिचारमा हाम्रो देशको निकास चाहि के छ त ?” मैले फेरि सोधें। “चुनाव हुनेछ । तर यो राजनीतिक केलेदेस्कोप्मा त्यसले पनि समाधान कसरि देला र? केहि समयलाई तिमीहरुले एउटा तितो औषधि निल्नुपर्ने देखिन्छ ।“ “के हो त्यो तितो औषधि ?” मैले सोधे । “एउटा डिक्टेटरको आवश्यकता परे जस्तो छ तिमीहरुलाई ।“ “मार्कोस जस्तो ? कहाबाट ल्याउने ? पत्रिकामा 'वान्टेड' बिज्ञापन दिने ?” “समयले ल्याउछ, आवश्यकता नै अविस्कारको जननी हो भन्ने नभुल ।“ केहि समय बिताई हामी छुट्टियौं। हिड्ने बेलामा भन्दै थिए - “ नेपालको बारे कुनै थेसिस लेख्नु पर्ला।“ मैले सोधे- “डिक्टेटर बारे ?” हास्दै भने –“ होइन, प्रजातन्त्रको बारे, जो ६० बर्षमा पनि आउन सकेन ।"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक