20121105

राष्ट्रपती यादव लमजुङ तिर, पूर्वराजा ज्ञानेन्द्र भैरहवा तिर !


धार्मिक भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका सर्मथकहरुले ठाउँ--ठाउँमा भव्य स्वागत गरेका छन् । भ्रमणका क्रममा आज बिहान स्थलमार्ग हुँदै भैरहवा लागेका शाहलाई धादिङ, चितवन, नवलपरासी लगायतका विभिन्न स्थानमा उनलाई भव्य स्वागत गरिएको हो । भैरहवा जान लागेका शाहलाई बाहुनडाँडा स्थित मुक्तिनाथ मन्दिरमा स्थानीय राजावादी तथा मुक्तिनाथ सेवा समितिले बाजागाजा सहित रातो कार्पेटमा भव्य
स्वागत गरेका थिए। सडकदेखि मन्दिर सम्म लामो लाम लागेर महिला, बालबालिका, खेलाडीले जयजयकार गाउँदै फुल मालाले स्वागत गरेका थिए। ३ दिने भ्रमणमा निस्किएका पूर्वराजा शाह आज भैरहवास्थित निर्वाणा होटलमा बस्ने बताइएको छ । शाहले भोलि नवलपरासीको हरपुर गाविसस्थित गोपालपुरमा निर्माण गरिएको महायोगी गुरु गोरक्षनाथ मन्दिरको उद्घाटन गर्ने छन् । भैरहवा बसाईका क्रममा शाहले आफ्ना सर्मथक र शुभचिन्तकहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले चितवनमा शुभचिन्तकका सामु हिँडेर स्वागत बटुल्न चाहे। तर बुढेसकालमा हिँड्न नसक्दा उनलाई आपत पर्‍यो। यसअघि चितवनको सौराहामा पटक- पटक आएर बसे पनि उनी सार्वजनिक कार्यक्रममा हिँडेका थिएनन्।
 अन्य जिल्लामा पूजापाठ र कार्यक्रममा सहभागी भएका उनी चितवनमा कम समर्थक भएकाले पनि नआएको हुनसक्ने स्थानीयहरु बताउँछन्। राजतन्त्र हटेको करिब ६ वर्षपछि सोमबार पहिलो पटक चितवनका शुभचिन्तकसँग उनले हिँडेरै आधा किलोमिटर बाटो काटे। उनलाई स्वागत गर्न शिव सेना, नागरिक समाज चितवन, महिला समूह, पञ्चेबाजा समूह लगायतको टोली नारायणगढको पोखरा बसपार्कमा १२ बजेदेखि लाइनमा बसेका थिए।
धादिङबाट बा ४ च ३८०७ नम्बरको जीपमा आएका पूर्वराजा ज्ञानेन्द्र पोखरा बसपार्कमा सडकमा ओर्लेर शुभचिन्तकबाट फूलमाला ग्रहण गरे। अघि-अघि सुरक्षाको लागि खटिएका प्रहरी, त्यसपछि पञ्चेबाजा अनि शुभचिन्तकको हुलमा कालो चस्मा, सेतो धोतिकुर्तामाथि हाफ ज्याकेट लगाएका पूर्वराजा ज्ञानेन्द्र जन्तीका बिचमा नयाँ बेहुला जस्ता देखिएका थिए।
वरपर रहेकाहरुले राजा आऊ ,देश बचाऊ भन्दा पूर्वराजा मुसुमुसु हाँसेका थिए। त्यहाँबाट हिँड्दै लाम लागेका सर्वसाधारण र शुभचिन्तकलाई हात जोडेर नमस्कार गर्दै र स्वागत खाँदै पुल्चोक जाने मुख्य सडकको आधाबाटो पुगेपछि भने उनलाई थकाई लाग्यो। उनले सुटुक्क आफू नजिककालाई गाडी चढ्छु भने। पूर्वराजाको पछिपछि आइरहेको उनको जिपमा उनी अभिभावदन गर्दै चढे। करिब एक किलोमिटर दुरीको सो बाटो तय गर्न चर्को घाममा पूर्वराजालाई हम्मेहम्मे परेको थियो। निधारमा चिटचिट पसिना काढ्दै केही बेर हिँडे पनि उनी आधा बाटोभन्दा बढी हिँड्न सकेनन्।
बीच बाटो पुगिन्जेल फूलमाला दिने शुभचिन्तक भन्दा उनलाई हेर्ने सर्वसाधारणको ताँती बढी थियो। घरको छत, बार्दली, सडक छेउ जताततै पूर्वराजा हेर्नहरु थिए। खै त पूर्वराजा भनेर आँखा तानिरहेका सर्वसाधारणले उनी गाडीमा गएपछि हेरेको हेर्‍यै भएका थिए।
उनको आगमनमा सुरक्षाको एक टुकडी नै खटाइएको थियो।
ट्राफिक प्रहरी सडक रोकेर उनको आवागमनलाई सहज पारिरहेको थियो भने प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका थिए। पूर्व तथा पश्चिमबाट नारायणगढ हुँदै पश्चिम,पूर्व र काठमाडौँ जाने सवारी र यात्रुहरुलाई पुल्चोक तथा पूर्वराजा आउँदा जहाँ थियो, त्यहीँ रोकिएको थियो। पूर्वराजा बीचबाटै गाडी चढेर नवलपरासी लागेपछि भने सवारी चाप धानिनसक्नुको थियो। एक दर्जन ट्राफिक प्रहरी पुल्चोकमा बसेर सवारी व्यवस्थापन गर्दा पनि उनीहरुलाई हम्मे परेको देखिन्थ्यो।
तेस्तै, सहमतिका लागि छलफलमा जुट्नु भएका राष्ट्रपति डा. रामवरण यादव आज लमजुङ जानु भएको छ । लमजुङको सर्वोदय उच्च माविको हीरक जयन्तीमा सहभागी हुन राष्ट्रपति यादव लमजुङ पुग्नु भएको हो । राष्ट्रपति यादवले सर्वोदय उच्च माविको शैक्षिक भवनको उट्घाटन पनि गर्ने कार्यक्रम छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक