(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121106

संसारको आँखा अमेरिकामा, राष्ट्रपतीय निर्वाचन आज, बाराक ओबामा र मिट रोम्नी को अत्यन्त कडा प्रतिस्पर्धा, मत सर्बेक्षण हेर्दा दुबैको बराबरको स्थिती !

अमेरिकी राष्ट्रपतिको आज निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन पार्टीका तर्फबाट मासाचुसेट्स राज्यका गभर्नर मिट्ट रोम्नी मुख्य उम्मेद्वार छन् । उनीहरूबाहेक अन्य चार उम्मेद्वार पनि मैदानमा छन् । लिबर्टारियन पार्टीका गेरी जोनसन, ग्रिनन पार्टीका
जिल स्टेन, कन्टिच्युसनका भर्जिल गुड र जस्टिसका रकी एन्डरसन पनि चुनावी मैदानमा छन् । रमाइलो कुरा के छ भने गेरी जोनसन यहाँको न्यु मेक्सिकोका २९ औं गभर्नर हुन् । जोनसनले सन् २००३ मे ३० मा सगरमाथाको सफल आरोहण गरेका थिए । हिउँले खाएर खुट्टा औंला काला हुँदाहुँदै उनले आरोहण गरेका हुन् । तर साना दलका उम्मेद्वार मात्र उम्मेद्वार हुन्छन् । डेमोक्र्याटिक पार्टी र रिपब्लिकन पार्टीले नै सत्ता सम्हाल्दै आएका छन् । त्यसैले राष्ट्रपति ओबामा वा गभर्नर रोम्नीमध्ये एक राष्ट्रपति हुनेछन् । यी दुवै हार्भर्डका विद्यार्थी हुन् । आज दिने नागरिकको मतपछि पनि राष्ट्रपति चयनका लागि अमेरिकामा अर्को एउटा खुट्किला छ भन्ने चाही धेरैले थाहा नपाएको हुनसक्छ ।
 राष्ट्रपति ओबामा : परिचय
सन् १९६१ अगस्त ४ मा हवाई राज्यमा जन्मेका ओबामा सन् १९९६ मा इलिनोय राज्यबाट सिनेटमा चुनिनुभएको थियो ।  सन् २००८ मा उम्मेद्वारी दिएर विजयी ओबामा अमेरिकाको पहिलो अफ्रिकन-अमेरिकन राष्ट्रपति हुन् । उनले मिसेल ओबामबसँग विवाह गरेका छन् । उनीहरुका दुई छोरी : साशा र मालिया छन् ।
गभर्नर रोम्नी : परिचय
सन् १९४७ मार्च १२ मा मिसिगन राज्यको डेट्रोयट शहरमा जन्मेका रोम्नी एक व्यवसायी हुन् । उनले सन् १९९९ मा साल्ट लेक सिटीमा भएको ओलम्पिक खेलको मुख्य कार्यकारी अधिकारी भएर काम गरेका थिए । उनी सन् २००४ मा मासाचुसेट्स राज्यको गभर्नर पदमा निर्वाचित भएका हुन् । पछिल्लो निर्वाचन सन् २००८ मा उम्मेद्वारी दिए पनि पार्टीभित्रै पराजित भएका रोम्नीले एन रोम्नीसँग विवाह गरेका छन् । उनका ५ छोरा र १८ नाति-नातिना छन् ।
जनताको मतपछिको खुट्किला : इलेक्टोरल कलेज
अमेरिकी राष्ट्रपति चयनका लागि नोभेम्बर ६ को निर्वाचन अन्तिम होइन । यो निर्वाचनमा खसेको मतलाई ‘पपुलर भोट’ भनिन्छ । पपुलर भोटले कुन दलले कति मत पायो भन्ने स्पष्ट गर्छ । त्यहि मतका आधारमा राष्ट्रपति कुन दलका चुनिए भन्ने पनि हुन्छ । तर अमेरिकी नागरिकले राष्ट्रपतिका लागि मत हाल्छन त्यो मत नै राष्ट्रपति छान्ने अन्तिम होइन । राष्ट्रपतिको चयनका लागि बनाइएको हुन्छ- इलेक्टोरल कलेज । इलेक्टोरल कलेजका सदस्यलाई इलेक्टोर भनिन्छ । इलेक्टोरहरूको चयन राज्यपिच्छे राजनीतिक कार्यकर्ता र पार्टी सदस्यले गर्छन ।
अमेरिकाको माथिल्लो र तल्लो सदनमा जम्मा हुने सदस्य संख्या बराबर ५ सय ३५ मा ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ बाट ३ गरी हुने ५ सय ३८ को संख्या नै इलेक्ट्रोरल कलेजका सदस्य संख्या हो । स्मरणरहोस्, माथिल्लो सदनलाई सिनेट भनिन्छ, जसमा १ सय सदस्य रहन्छन् भने तल्लो सदन- हाउस अफ रिप्रजेन्टेटिभमा ४ सय ३५ सदस्य रहन्छन् । तर इलेक्ट्रोरल कलेजको निर्माण भने सांसद चयन गरेजस्तो हुँदैन र कुनै सांसद नै इलेक्टोरल कलेजमा हुनुपर्छ भन्ने पनि छैन । संख्याका हिसाबले मात्र यी दुईबीच एकरूपता हो । तर प्रक्रिया र यसको काम-कारवाहिका हिसाबले फरक छ । संसद र इलेक्टोरल कलेजबीच कुनै सम्बन्ध पनि हुँदैन ।
जब राष्ट्रपतिको निर्वाचन हुन्छ, तब उम्मेदवारका पक्षमा खस्ने मतले नै इलेक्टोरल मत कसको पक्षमा गयो भन्ने तय गर्छ । कुनै पनि राज्यमा खसेको मतको सबैभन्दा बढी मत जुन उम्मेदवारको पक्षमा जान्छ, त्यस राज्यका सबै इलेक्टोरको मत उसैको गनिन्छ । यस निर्वाचनमा जनताले हालेको मतलाई लोकप्रिय मत- पपुलर भोट भनिन्छ । मानौं : क्यालिफोर्निया राज्यमा खसेको कूल मतमध्ये ६० प्रतिशत ओबामाका पक्षमा, ४० प्रतिशत रोम्नीका पक्षमा गयो । त्यस राज्यको ५५ इलेक्टोरको मत पनि करिब-करिब ओबामाकै पक्षमा जान्छ । बुशका पक्षमा शुन्य मत हुन्छ । यसरी नै सबै राज्यको इलेक्टोरको मत जोडेर जसले २ सय ७० वा सो भन्दा बढी इलेक्टोर संख्या आफ्नो पक्षमा पार्छ, उ नै राष्ट्रपति पदका लागि विजयी ठहर्छ ।
इलेक्टोरल कलेजको निर्वाचन
नोभेम्बर महिनाको पहिलो सोमबारपछिको पहिलो मंगलबार हुने राष्ट्रपति निर्वाचन भएकै वर्षको डिसेम्बर महिनाको दोस्रो बुधबारपछिको पहिलो सोमबार तिनै ५ सय ३८ जना इलेक्टोरले फेरि एउटा राष्ट्रपति र उपराष्ट्रपति छान्ने निर्वाचनमा भाग लिनुपर्ने हुन्छ । त्यस निर्वाचनमा जसको विजय हुन्छ, उ नै अमेरिकाको राष्ट्रपति हुन्छ । यस वर्ष इलेक्टोरल कलेजको मतदान डिसेम्बर १७ मा छ ।
नोभेम्बरको निर्वाचनमा विजयी भएको उम्मेदवार डिसेम्बरमा पराजय पनि हुनसक्छ । तर अमेरिकाको इतिहासमा यस्तो घटना भएको कमै छ । डिसेम्बरको निर्वाचनमा कुनै पनि उम्मेदवारले २ सय ७० वा सोभन्दा बढी मत आफ्नो पक्षमा नल्याए वा यसको निर्णय विवादमा परेका खण्डमा कांग्रेसलाई सबैभन्दा बढी मत ल्याउने तीन उम्मेदवारबाट राष्ट्रपति छान्ने अधिकार दिइएको छ र यसरी कांग्रेसले राष्ट्रपति छान्ने प्रक्रियासम्म पुगेको घटना पनि कमै छ । त्यसैगरी डिसेम्बरको निर्वाचनमा उपराष्ट्रपति छान्न हालिएको मत उम्मेदवारका पक्षमा बहुमतको नरहे सिनेटलाई सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबाट उपराष्ट्रपति छान्ने काम जिम्मा लगाइन्छ । -- राजेश कोइराला

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक