20121208

कैलालीको टीकापुर स्थित मुक्तकमैया शिविर पुग्नुभएका प्रधानमन्त्री बाबुराम भट्टराईले मुसाको अचार, ढिकरी र जाँड खानुभयो

प्रधानमन्त्री बाबुराम भट्टराई मुसाको चटनी र जाँड खाँदै कैलाली तिर यता प्रचण्ड शुशिल लाई प्रधानमन्त्री नबनाउने भन्दै मधेशी हरु उछाल्न ब्यस्त, मुसाको चटनी खाने बाबुराम र प्रचण्डको जलझेलले एमाले, कङ्रेस र सबै ट्वां !
जनताको घरमा बास बस्ने अभियान अन्तर्गत कैलालीको टीकापुर स्थित मुक्तकमैया शिविर पुग्नुभएका प्रधानमन्त्री बाबुराम भट्टराईले मुसाको अचार, ढिकरी र जाँड खानुभयो । टीकापुर नगरपालीकाको
विजयनगरका बाबुराम चौधरीको घरमा बस्नुभएका प्रधानमन्त्रीलाई थारु परम्परा अनुसार स्वागत सत्कार गरिएको थियो । प्रधानमन्त्रीलाई दिन तयार पारिएको जाँड देखेर उहाँले भन्नुभयो ‘मलाई मदिरा पिउने बानी छैन् तर, सम्मानको लागि एक घुट्को लिन्छु ।’ मुसाको अचार पनि प्रधानमन्त्रीले मिठो मानेर खानुभयो । थारु परम्परा अनुसार आफ्नो घरमा आउने पाहुनाहरुका लागि मुसाको चटनी, जाँड तथा ढिकरीको परिकार खुवाउने र खुट्टा धोएर ढोग्ने चलन रहेको छ । सोही परम्पराअनुसार बाबुरामको परिवारले प्रधानमन्त्रीको स्वागत गरेपनि उहाँले खुट्टा धोएर ढोग्न भने मान्नुभएन । ‘यो सामन्ती संस्कार चाहिं मलाई नगराउनुस’ भन्दै खुट्टा धुन दिन भट्टराईले अस्वीकार गर्नुभएको थियो । प्रधानमन्त्री भट्टराईको स्वागतका लागि पुरै मुक्त कमैया बस्तीका बासिन्दा २ दिनदेखि नै खानपान र बसोबास व्यवस्थापनका लागि जुटेका थिए । ‘मुक्त कमैया शिविरमा प्रधानमन्त्री आउनु भनेको सवै कमैयाको घरमा आउनु जस्तै हो’ भन्दै उनीहरुले प्रधानमन्त्रीको स्वागत गरेका थिए । साँझ खानपानसँगै प्रधानमन्त्रीले मुक्त कमैयाका गुनासाहरु पनि सुन्नुभएको थियो ।
तस्वीर सौजन्य : दिनेश श्रेष्ठ/प्रम निजी सचिवालय
प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गठवन्धनले २७ गतेसम्म सहमति नभए वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिई मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको गठवन्धनको बैठकले राष्ट्रपतिले पछिल्लोपटक थपेको ६ दिनभित्रै सहमतिका लागि पहल गर्ने र नभए मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । ‘राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमति गरी वैशाखमा निर्वाचन गर्ने सुनिश्चित गर्न दलहरुलाई आहृवान गरिएको छ’ गठवन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले भन्नुभयो-’यदि सहमति भएन भने मन्त्रिपरिषद् विस्तार गरेर अघि बढ्ने निर्णय भएको छ ।’ सहमतिका लागि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार नगरिएको भन्दै उहाँले अब पर्खन नसक्ने बताउनु भयो । हाल आठवटा मन्त्रालय प्रधानमन्त्री मातहत रहेका कारण दैनिक कार्यसम्पादनमा समेत समस्या भइरहेको छ । बैठकले मन्त्रिपरिषद् विस्तारपछि पनि आगामी वैशाखमा संविधानसभाको निर्वाचन गराउन पहल गर्ने गठवन्धनले निर्णय गरेको छ । सहमतीय सरकार गठन र निर्वाचनसहितका विषयमा प्याकेजमा सहमति हुनु पर्ने अडान पनि गठवन्धनले दोहोर्‍याएको छ । अन्तरिम संविधानको धारा ३८ को उपधारा १ अनुसार सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले पछिल्लो पटक २७ गतेसम्मको समयसीमा दिनु भएको छ । यसअघि २ पटक गरेको १४ दिन समय दिनु भएको थियो । पटक-पटक समय थप भएपनि एमाओवादी र कांग्रेसले सरकारको नेतृत्व दावी गर्दा सहमति जुट्न सकेको छैन । पछिल्लो पटक माओवादी नेतृत्वको गठवन्धनले प्याकेजमा सहमति हुनु पर्ने बताएको छ भने कांग्रेस-एमालेले पहिले सहमतीय सरकार बन्नु पर्ने अडानमा  छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र माओवादी बाहेकका दलको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव गर्नुभएको छ ।
एमाले नेता कृष्णलाल महर्जनको निवासमा आज बिहान भएको छलफलमा कांग्रेस र एमालेले वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्व अस्वीकार गरेपछि प्रचण्डले दोस्रो विकल्पमा जान प्रस्ताव गर्नु भएको हो ।
‘अहिले कांग्रेसले हाम्रो र हामीले कांग्रेसको नेतृत्व स्वीकार गर्ने अवस्था देखिएन’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो-’दोस्रो विकल्पमा जाउँ ।’
प्रचण्ड ‘बिकल्प’बारे नखुलाए पनि मधेसी दलको नेतृत्वमा सरकार गठन गर्नेतिर संकेत गरेको बताइएको छ । प्रचण्डले यसअघि नै सार्वजनिक रुपमा बाबुराम भट्टराईको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने पहिलो विकल्प भएको भन्दै माओवादी नेतृत्वमा सहमति नहुने हो भने माओवादी नेतृत्वको गठवन्धनमा रहेका मधेसी दलबाट हुनु पर्ने विकल्प अघि सार्नुभएको थियो ।
प्रचण्डको प्रस्ताव कांग्रेसले भने अस्वीकार गरेको छ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेस नेतृत्व स्वीकार नगर्नुको कारण माग्नुभएको थियो । ‘सिटौलाजीले प्रचण्डको प्रस्ताव मान्नु भएन’छलफलमा सहभागी एक नेताले भने-’यो-यो कारण कांग्रेसको नेतृत्व स्वीकार्य हुँदैन भनेर कारण दिनुस् भन्नुभयो ।’
छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालले भने कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने सिटौलाको प्रस्तावमा मौन समर्थन जनाउनुभएको थियो । आफ्नो प्रस्ताव अस्वीकार भएपछि माओवादी अध्यक्ष प्रचण्डले ‘प्याकेज मै सहमति गर्नु पर्ने’ अडान दोहोर्‍याउनु भएको थियो ।
तीनैजना नेता सुरक्षाकर्मी नलिई अनौपचारिक भेटका लागि बिहानै महर्जन निवास ललितपुर पुगेका थिए ।

एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार एकाबिहानै एमाले नेता कृष्णलाल महर्जनका घरमा भएको छलफलमा कांग्रेसबाहेकको पार्टीबाट प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको छ । प्रचण्डले मधेसी दलबाट प्रधानमन्त्री बनाउन चाहेको बताइएको छ । मधेसीभित्र ‘इमान्दार नेता’ भनेर प्रचण्डले महन्थ ठाकुरलाई संकेत गरेको बताइए पनि यसअघि उहाँले लाजिम्पाटमा आयोजित पत्रकार भेटघाटमा मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारको नाम लिनुभएको थियो ।
प्रचण्डले किन सुशील कोइरालाको ठाउँमा मधेसी मोर्चाको नाम प्रस्ताव गर्नुभएको होला ? यसबारे उहाँको मनसाय खुलस्त नभए पनि प्रचण्डद्वारा राखिएको यस्तो प्रस्तावले पार्ने प्रभावचाँहि सहजै अनुमान लगाउन सकिन्छ । आगामी सरकार सकभर माओवादीकै नेतृत्वमा बनाउने, नभए मधेसी गठबन्धनबाट बाहिर उम्कन नदिने प्रचण्डको रणनीति यसमा प्रष्टै देखिन्छ । यद्यपि कांग्रेसको नाममा सहमति हुन नसकेको र एमाओवादीलाई कांग्रेसले नमानेका कारण तेस्रो विकल्प खोज्नुपरेको प्रचण्डको तर्क छ । एमालेको नेतृत्व मान्न मधेसी दलहरु बढ्ता नकारात्मक देखिन्छन् ।
प्रस्तावले मधेसी दलमा विवाद बढाउने
मधेसी दलबाट प्रधानमन्त्री छान्ने प्रचण्डको प्रस्तावले मधेसी मोर्चाकै घटकहरुभित्र विवाद बढाउने प्रायः निश्चितै छ । मधेसी मोर्चाको संयोजक रहेको र उपप्रधानमन्त्री पनि भैसकेको नाताले विजयकुमार गच्छदारले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविकै हुनेछ । तर, मोर्चाका अन्य घटकहरु गच्छदारको विकल्पमा ठाकुरको पक्षमा एक मत देखन्छिन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा ५ दल छन् । गच्छदार अध्यक्ष रहेको लोकतान्त्रिक फोरम, महन्थ ठाकुरको तमलोपा, राजेन्द्र महतोको नेपाल सद्भावना, राजकिशोर यादवको गणतान्त्रिक फोरम र महेन्द्रराय यादवको तमलोपा नेपाल मधेसी मोर्चाका घटक हुन् । तर, यीमध्ये चारदल ठाकुरको पक्षमा रहेको बताइन्छ ।
राजेन्द्र महतोको पार्टीबाट अनिल झा अलग भएकोमा गच्छदारलाई दोष दिने गरिएको छ । त्यसैगरी महेन्द्ररायलाई उकासेर तमलोपा फुटाएको र गणतान्त्रिक फोरममा पनि नन्दनकुमार दत्त र राजकिशोर यादववीच झगडा चर्काएको आरोप गच्छदारमाथि लाग्ने गरेकाले मधेसी मोर्चाले उहाँलाई प्रधानमन्त्री छान्ने सम्भावना न्यून रहेको स्रोत बताउँछ । ठाकुर भने सर्वसम्मत् छानिन सक्ने दाबी गरिएको छ ।
अन्य मधेसी दलसमेत गच्छदारको विपक्षमा
मोर्चामा रहेका बाहेक मोर्चा बाहिरका मधेसी दलहरुसमेत विजय गच्छदारलाई प्रधानमन्त्रीमा रुचाउने पक्षमा छैनन् । गच्छदारबाट फुटेर राष्ट्रिय मधेस समाजवादी पार्टी बनाएका शरदसिंह भण्डारी महन्थ ठाकुरका पक्षमा खुलेर लागेका छन् भने उपेन्द्र यादव नेतृत्वको फोरम नेपालका नेताहरुले कांग्रेस नेतालाई भेटेर विजय गच्छदार स्वीकार्य नहुने बताइसकेका छन् ।धेरै मानिसहरुले महन्थ ठाकुरलाई दक्षिणतिरको छिमेकीले पत्याएको नेता मान्छन् । यो आधारमा पनि ठाकुरको भागमा प्रधानमन्त्री पद पर्न सक्नेे अनुमानचाँहि यसअघिदेखि नै लगाइँदै आएको छ । स्रोतका अनुसार मधेसी मोर्चाको तर्फबाट प्रधानमन्त्री बन्ने स्थिति आएमा नेपाली कांग्रेसले समेत गच्छदारलाई भन्दा ठाकुरलाई नै रोज्ने सम्भावना बढी छ । तर, आफूले सभापति सुशीललाई उमेद्वार तय गरिसकेको अवस्थामा कांग्रेसले मधेसी दलको नेतृत्व स्वीकार्ने सम्भावना सहज भने देखिँदैन ।
फुटाउनकै लागि प्रधानमन्त्री वितरण ?
राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्री छान्न नसकेका दलहरु एक-अर्काको मोर्चालाई फुटाउन र कमजोर बनाउनका लागिसमेत प्रधानमन्त्रीको पद बाँड्ने अभियानमा लागेको देखिन्छ ।एकसाता अघि भएको आन्तरिक भेटमा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डलाई तपाईको नेतृत्वमा भए हामी आउन सक्छौं, तर बाबुरामलाई स्वीकार्न सकिँदैन भन्दै प्रचण्डलाई उक्साएको चर्चा एमाओवादीभित्र चलेको छ । त्यलगत्तै प्रचण्डसँग भएको आन्तरिक छलफलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामीलाई फुटाउन र खेल्न खोजिएको हो, तपाईलाई पनि प्रधानमन्त्री दिँदैनन् भन्दै प्रचण्डलाई भ्रममा नपर्न भन्नुभएको थियो । साथै आगामी चुनावपछिको कार्यकारी प्रमुखमा आफूले प्रचण्डलाई पूर्ण सहयोग गर्ने र महाधिवेशनमा पनि उहाँकै नेतृत्व स्वीकार्ने भट्टराईले स्पष्ट पारेपछि बाबुराम-प्रचण्डवीच खेल्ने एमाले नेताको प्रयास असफल पारिएको माओवादी सूत्र बताउँछ ।
बाबुराम र प्रचण्डवीच खेल्न नसकेपछि कांग्रेस र एमालेका नेताहरुले मधेसी मोर्चालाई आफूतिर तान्ने रणनीति लिन लागेको र यसैक्रममा महन्थ ठाकुर, विजयकुमार गच्छदार र उपेन्द्र यादलाईसमेत कांग्रेस सभापति सुसील कोइरालाले भेटिसकेको अवस्थामा प्रचण्डबाट मधेसी नेतालाई प्रधानमन्त्री बनाउने प्रस्ताव आउनुमा कांग्रेस-एमालेसित मधेसी मोर्चालाई नजिक हुन नदिने एमाओवादीको रणनीति पनि हुन सक्छ । यद्यपि कुनै भित्री चालबाजी नभई मिल्नकै लागि कांग्रेस-माओवादबिाहेकको तेस्रो विकल्प खोजौं भन्ने प्रचण्डको इमान्दार प्रस्ताव हो भने चाँहि त्यो त्यति नाजायज विकल्प नहोला ।
माओवादी अध्यक्ष प्रचण्डले फालेको यो पासाको जवाफ कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले कसरी दिन्छन्, त्यो हेर्न अझै केही दिन लाग्ला । विपक्षीले सुशील कोइरालालाई प्रधानमन्त्रीका लागि छनौट गरिसकेका छन् । अब मधेसी मोर्चाले पनि अर्काे प्रधानमन्त्री छाने भने प्रधानमन्त्रीका दाबेदारहरु ४ जना हुनेछन् । नेकपा-माओवादीले रामबहादुर थापा वादललाई यसअघि नै प्रधानमन्त्रीका लागि प्रस्ताव गरिसकेको छ भने राजावादी किशोरी महतोले प्रधानमन्त्रीको दाबी गर्दै शीतलनिवासमा निवेदन नै हालिसकेका छन् ।
कतिपयको तर्क के छ भने घुमाई-फिराई प्रचण्ड आफैं प्रधानमन्त्री बन्न चाहन्छन् । तर, डा. बाबुरामको विकल्पमा आफैं बन्छु भन्न प्रचण्डलाई अप्ठ्यारो छ । मधेसी मोर्चाबाट पनि सुशील कोइरालाको जस्तै नाम प्रस्ताव गर्न लगाउने र त्यसमा कांग्रेस, एमालेले मानेनन् भन्ने देखाएर आफैं अगाडि बढ्ने प्रचण्डको मनोविज्ञान रहेको दाबी केही विश्लेषकहरुको रहेको छ । तथापि माधव नेपालले प्रचण्डलाई प्रधानमन्त्री हुन गरेको भित्री आग्रहबाहेक यो दाबीलाई पुष्टि गर्नेगरी घटनाक्रम परिपक्व भैसकेको छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक