20130102

शुशील बलीको बोको बने पछी प्रचण्ड र बाबुराम अर्को बोको खोज्दै

प्रधानमन्त्री छान्न दलहरुले पाएको पछिल्लो म्याद शुक्रबार बेलुका सकिँदैछ । राष्ट्रपतिबाट सातौंपटक दिइएको म्याद सकिनै लाग्दा राजनीतिक दलहरु कांग्रेस सभापति सुशील कोइरालाको विकल्प खोज्ने कि नखोज्ने भन्ने विवादतर्फ तानिएका छन् । एक महिना अघिबाटै अखबारका पानामा प्रधानमन्त्री बन्नुभएका कोइराला वास्तविक प्रधानमन्त्री नबन्दै सत्तारुढ नेताहरुबाट उहाँको विकल्पमा अर्को व्यक्ति खोज्न थालिएको हो ।

कोइराला निश्क्रिय
विपक्षी १५ दलका तर्फबाट प्रधानमन्त्रीमा प्रस्ताव गरिएका कांग्रेस सभापति कोइराला स्वयं पनि यतिबेला निश्क्रिय हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीका लागि दलहरुसँग घनिभुत छलफल गर्नतिर लाग्नुको साटो शिर निहुर्‍याएर वा प्रजातन्त्रसँग सम्झौता गरेर फोटो झुण्ड्याउनकै लागि प्रधानमन्त्री नबन्ने अडान सार्वजनिक गर्नुभएको छ । मंसिरको पहिलो साता विजय गच्छदार, महन्थ ठाकुर, प्रचण्ड लगायतसँग सामान्य छलफल गरे पनि त्यसयता कोइरालाले सरकार गठनका लागि खासै सक्रियता देखाउनुभएको छैन ।
बाबुराम आफैं विकल्पहीन
प्रधानमन्त्री डा. भट्टराईले कोइरालाको विकल्प खोज्न एमाले नेता माधव नेपाललाई आग्रह गरे पनि उहाँको सट्टा कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे प्रधानमन्त्रीले मुख खोल्न सक्नुभएको छैन ।
कोइरालाको विकल्पमा अन्य सम्भावित प्रधानमन्त्रीका रुपमा प्रचण्ड, माधव नेपाल, विजयकुमार गच्छदार, महन्थ ठाकुर वा नागरिक समाजका डा. देवेन्द्रराज पाण्डे वा दमननाथ ढुंगानाको नाम फाट्टफुट्ट चर्चामा आउने गरेका छन् । तर, विकल्प खोजौं भन्ने प्रधानमन्त्री स्वयं नै विकल्पहीन देखिनुभएको छ ।
भित्र के पाक्दैछ ?
एमाओवादी अध्यक्ष प्रचण्डले बैंककबाट फर्कने क्रममा अबको दुई दिनभित्र सहमति हुने दाबी गरेकै दिन बुधबार बिहानै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोटेश्वरमा एमाले नेता माधव नेपालसँग भेट गर्नुभएको थियो । नेता नेपालसँग प्रधानमन्त्री भट्टराईको आग्रह थियो, ‘कोइरालालाई हाम्रो पार्टीले कुनै हालतमा समर्थन गर्दैन, मलाई पनि कांग्रेसले स्वीकार गरेन, त्यसैले प्रधानमन्त्रीका लागि तेस्रो व्यक्तिको विकल्प खोजौं ।’
प्रधानमन्त्रीले तेस्रो विकल्प खोज्न आग्रह गर्नासाथ एमाले नेता नेपालको सक्रियतामा बुधबारै कांग्रेस कार्यालय सानेपामा दुई दलको बैठक बसेको थियो । कांग्रेस सभापति कोइरालाको विकल्प खोज्न प्रधानमन्त्री भट्टराईले राखेको प्रस्ताव कांग्रेस एमालेको बुधबारको बैठकले अस्वीकार गरेको छ भने शुक्रबारसम्म कोइरालाका नाममा एमाओवादी र मधेसी दलहरु सहमतिमा नआए आन्दोलनमा जाने निर्णय गर्दै बाबुराम भट्टराईलाई तत्काल प्रधानमन्त्रीबाट हट्न विपक्षी नेताहरुले चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीले एमाले नेता माधव नेपालको निवासमै पुगेर कोइरालाको विकल्प खोज्न आग्रह गरेपछि तत्कालै बसेको कांग्रेस एमालेका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेको हो ।
नागरिक अगुवाको दौडधूप
केही दिनअघि एमाले अध्यक्ष झलनाथ खनालको डल्लुस्थित निवासमा नागरिक समाजका अगुवा दमननाथ ढुंगाना र पद्मरत्न तुलाधर एकाबिहानै पुग्नुभएको थियो । बुधबार तुलाधरले अनलाइनखबरलाई दिनुभएको जानकारी अनुसार उहाँहरुले खनाललाई मात्रै नभएर प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सुशील कोइराला, प्रचण्ड, माधव नेपाल, मोहन वैद्य र महन्थ ठाकुरलाई समेत भित्रभित्रै भेट गरिरसक्नु भएको छ । कि तपाईहरु आफ्नै नेतृत्वमा छिटो सहमति गर्नाेस्, हैन भने नागरिक समाजलाई नेतृत्व गर्न दिनोस् भन्दै तुलाधर र ढुंगानाले नेताहरुलाई घर-घरमा गएर दबाब दिएको बुझिएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैंले पनि नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेलाई भेटिसकेको र कांग्रेसलाई भन्दा नागरिक समाजलाई नेतृत्व सुम्पन इच्छुक रहेको समाचारसमेत आइरहेको छ ।
नागरिक समाजको प्रधानमन्त्री को ?
नागरिक अगुवा तुलाधरका अनुसार नागरिक समाजबाट प्रधानमन्त्री छान्न पनि त्यति सजिलो चाहिँ छैन । नागरिक समाजभित्रै दलको गन्ध आउने भएकाले नागरिक समाजके नेतृत्व मान्ने भनिए पनि कांग्रेस नजिकको नागरिक अगुवालाई प्रधानमन्त्री बनाउने कि कम्युनिष्ट नजिकको व्यक्तिलाई बनाउने भन्ने विवाद पर्न सक्ने देखिन्छ । नागरिकको नेतृत्वमा जाँदा माओवादीले डा. देवेन्दं्रराज पाण्डेलाई सार्ने सम्भावना हुन्छ भने कांग्रेसले दमननाथ ढुंगानालाई उभ्याउने सम्भावना हुन्छ । यो अवस्थामा पाण्डे वा ढुंगानाको हालत पनि सुशील कोइरालाको जस्तै नहोला भन्न सकिने अवस्था छैन ।
महन्थको बाक्लो भेटवार्ता
प्रधानमन्त्रीका रुपमा प्रचारित अर्का नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुर यतिबेला एमाले नेता माधव नेपालको निवासमा बाक्लै धाउन थाल्नुभएको छ । बुधबार पनि बाबुराम भट्टराई र्फकनासाथ नेता ठाकुर नेपाल निवास पुग्नुभएको थियो । ठाकुर यसरी नेपाल निवासमा बाक्लै जानुको भित्री कारणचाँहि एमालेकै नेतालेसमेत पत्तो पाउन सकेका छैनन् । तर, सुशील कोइरालामा सहमति नहुँदा प्रधानमन्त्रीका सम्भावित दाबेदारका रुपमा ठाकुरको नाम चर्चामा आउने गरेको छ ।
विपक्षीद्वारा विकल्प नखोज्ने संकेत
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशील कोइरालाको विकल्प खोज्न भनेपछि विपक्षी गठबन्धनलाई एकप्रकारको दबाव उत्पन्न हुने अनुमान धेरैले लगाएका थिए । तर, बुधबार प्रधानमन्त्रीसँगको भेटमा एमाले नेता नेपालले सुशीलकै नाममा अडान राख्नुभएको थियो भने प्रम-नेपाल भेटलगत्तै सानेपामा बसेको दुईदलीय बैठकले पनि कोइरालाको नाममा पुरानै अडान दोहोर्‍यायो । सरकारले सहमतिमा नआएर चुनाव टार्न खोजेको आरोप विपक्षीहरुले बुधबार पनि दोहोर्‍याएका छन् । यद्यपि कांग्रेस र एमालेका नेताले पनि प्रचण्डले जस्तै दुई दिनभित्रै सहमति खोज्ने बताउन भने भुलेका छैनन् ।
सुशीलको नाममा मधेसी दल र एमाओवादीले सहमति नजनाएको खण्डमा सहमतिका लागि अब या त विपक्षी दलहरु कोइरालाको विकल्पमा तयार हुनैपर्छ, या सत्तारुढ दलले कोइरालालाई समर्थन गर्नुपर्छ । यी दुबै नभएको अवस्थामा तेस्रो विकल्प भनेको नागरिक अगुवा वा कांग्रेस-माओवादी बाहेकका दलबाट प्रधानमन्त्री छान्नुपर्ने हुन सक्छ ।
शीतलनिवासको अप्ठ्यारो
शुक्रबार बेलुकासम्म दलहरु सहमतिमा नपुगे राष्ट्रपति कार्यालयलाई समेत निकै अप्ठ्यारो अवस्था सिर्जना हुनेछ । शुक्रबार पनिसहमति हुन नसकेमा डेढ महिनाअघिकै आह्वानलाई निरन्तरता दिँदै जाने कि अन्य विकल्प खोज्ने भन्ने जटिल समस्यामा राष्ट्रपति कार्यालय रुमलिने निश्चित छ ।
राष्ट्रपति कार्यालयले मंसिर ८ देखि नै नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्दै आइरहेको छ । सात दिनभन्दा कम समय दिएर पटक-पटक गरिएको यस्तो आदेश डेढ महिना बित्न लाग्दा पनि फलदायी हुन सकेको छैन । कांग्रेस, एमाले लगायतको विपक्षी गठबन्धनले सुशील कोइरालको नाम प्रधानमन्त्रीका लागि अघि सार्दा पनि एमाओवादीले कोइरालालाई सत्ता हस्तान्तरण गर्न मानेको छैन ।

विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले सहमतीय सरकार गठनमा तेस्रो विकल्प खोज्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रस्ताव अस्वीकार गरेका छन् ।
दुई दलका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले एमाओवादी र कांग्रेस बाहेकको नेतृत्वमा सरकार गठनको विकल्प खोज्ने प्रधानमन्त्री भट्टराईको प्रस्ताव अस्वीकार गरेको हो । ‘तेस्रो विकल्प, दोस्रो विकल्प जे भने पनि यो सरकार टिकाइराख्ने र चुनाव नगर्ने षड्यन्त्र हो’ बैठकपछि कांग्रेस नेता गोपालमान श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो ।

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफूसमक्ष राखेको तेस्रो विकल्पको प्रस्ताव पेश गर्नु भएको थियो । एमाओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले बुधबार बिहान मात्र नेपाललाई भेटी एमाओवादी र कांग्रेस-एमालेले एकअर्कालाई स्वीकार गर्ने अवस्था नरहेकेको भन्दै तेस्रो विकल्प खोज्न प्रस्ताव गर्नु भएको थियो ।
प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दै कांग्रेस-एमालेले एमाओवादी र सरकार बैशाखमा चुनाव नगराउने पक्षमा रहेको निष्कर्ष निकालेको छ । ‘एमाओवादी र यो सरकार बैशाखमा चुनाव गराउन चाहन्न’ कांग्रेस नेता अजुर्ननरसिंह केसीले अनलाइनखबरसँग भन्नुभयो-’वैशाखमा चुानाव हुन नदिने षड्यन्त्रविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकीकृत हुनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।’
बैठकले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गरेर चुनावमा जाने पूरानै अडानमा कायम रहने र राष्ट्रपतिले दिएको पछिल्लो समयसीमा भित्र सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ । सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय शुक्रबार सकिँदैछ ।- onlinekhabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक