20130210

प्रचन्डलाई चाहियो रे जे भन्यो त्यही मान्ने अर्को गिरिजा बाबु ! त्यसो भए राजनीतिक निकास निस्किन्छ रे !

के के हुँदैछ नेपालमा अहिले नेपाल मा ?! हेर्नुस समाचार विवरण बिस्तारमा .......
नेपाली कांग्रेस र एमालेले भोलि सोमबार एकीकृत नेकपा माओवादीसँग निर्णायक वार्ता गर्ने भएका छन् । एमाले मुख्यालय बल्खुमा आइतबार बसेको कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकले जेठमा चुनाव गर्न तत्काल सहमति गर्नु पर्ने निष्कर्ष निकाल्दै भोलि माओवादीसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको हो । ‘वर्षाअघि नै निर्वाचन गर्न तत्काल सहमति गर्नुपर्छ’ कांग्रेस नेता रामशरण महतले  भन्नुभयो-’सहमतिको सरकार गठन, चुनाव लगायतका विषयमा माओवादीसँग अब निर्णायक वार्ता गर्ने निर्णय भएको छ ।’ माओवादीले अन्य दलहरुलाई अलमल्याउने काम मात्र गरेको भन्दै कांग्रेस र एमाले शीर्ष नेताहरुले तत्काल निकास निकास निकाल्नु पर्नेमा जोड दिएका छन् । ‘माओवादीले निर्वाचनको कुरा गर्ने तर, निर्वाचन टार्ने रणनीति ल्याए, त्यसमा हामीले गम्भीरतापूर्वक छलफल गर्‍यौं’ कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भन्नुभयो । बैठकले वार्तामा माओवादीको कुन सर्त मान्ने, कुन नमान्ने भन्ने निर्णय गर्ने अधिकार कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई
दिएको छ । 
एमालेका वरिष्ठ नेता केपी ओलीले प्रधानमन्त्री डा बाबुराम भट्टराईको सत्तालिप्साका कारण मुलुकले निकास नपाएको बताउनुभएको छ । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता ओलीले शान्ति र सहमतिको बाटोबाट सरकार छाड्न डा बाबुराम भट्टराईलाई बारम्बार आग्रह गरिएपनि सत्ता नछाडेकोले आन्दोलनमा जानुबाहेक अन्य विकल्प नभएको बताउनु भयो । “हामी सदैव वार्ता गर्न तयार छौं, तर माओवादीले धोका दिँदै आएको छ”, उहाँले भन्नुभयो -”नेपालमा जनताको आन्दोलनबाट शासकहरुको पतन भएको इतिहास छ । राजनीतिक दल र जनताको संयुक्त आन्दोलनबाट बाबुरामको सरकारलाई ढालिने छ ।” वर्तमान सरकारको नेतृत्व गरेको एमाओवादीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने भनी अघि सारेको प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने भन्दै उहाँले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषयमा दलहरुबीच कुनै किसिमको छलफल नभएको स्पष्ट गर्नुभयो । नेता ओलीले एमाओवादीले द्वन्द्वकालका विचाराधीन मुद्दालाई ओझलमा पार्न न्यायाधीशलाई प्रधानमन्त्री बनाउने चाल चलेको आरोप लगाउनुभयो ।
 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवलाई भेटी सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्वन्धी अध्योदश तत्काल पारित गर्न आग्रह गर्नु भएको छ ।
शितल निवासमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले सत्य निरुपण र संगठित अपराधसम्वन्धी अध्योदश तत्काल पारित गर्न आग्रह गर्नु भएको हो । सत्य निरुपणसम्वन्धी आयोग गठन नभएसम्म शान्ति प्रक्रिया पूरा नहुने भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिको ध्यानाकषर्ण गराउनु भयो । भट्टराईले भन्नुभयो ‘सत्य निरुपण र मेलमिलाप आयोगको गठनको विषयमा पनि हामीले तुरुन्तै सहमति कायम गरेर गठन गरिहाल्नु पर्दछ । त्यसो नगरीकन शान्ति प्रकिया पुरा हुँदैन ।’ सरकारले सत्यनिरुपण सहितका अध्यादेश पठाएको लामो समय भएपछि राष्ट्रपतिले रोकेर राख्नु भएको छ ।
भेटमा प्रधानमन्त्री भट्टराईले ९ महिनासम्म पनि दलहरुबीच सहमति नजटेकोले प्रधानन्यायाधीशकै नेतृत्वमा सरकार बनाएर भएपनि चुनावमा जानु पर्ने भन्दै त्यसको वातापवरण बनाइदिन आग्रह गर्नु भएको छ । ‘अब सबै विकल्पहरु हामीले हेर्‍यौं, दलहरुकै नेतृत्वमा राष्ट्रिय सरकार बन्दा राम्रो हुन्थ्यो’ भेटपछि प्रधानमन्त्री भट्टराईले भन्नुभयो-’तर, कुनै पनि दलले एकले अर्कोको नेतृत्व स्वीकार गर्ने अवस्था रहेन । स्वतन्त्र व्यक्तिमा पनि सहमति बन्ने अवस्था देखिन्न । त्यसैले अब अन्तिक विकल्पका रुपमा बाहालबाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउँदा सायद सबैलाई मान्य हुन्छ ।’
दलहरुबीचको सहमतिमा जोड दिएका राष्ट्रपतिले भने दुई दिन सहमति खोज्न आग्रह गर्नु भएको शितल निवास स्रोतले जनाएको छ ।
राष्ट्रपतिसंगको भेटपछि प्रधानमन्त्री दिएको प्रतिक्रिया जस्ताको तस्तै
सम्माननीय राष्ट्रपतिज्यूसँग मेरो छलफल भयो । आगामी जेष्ठको मध्यसम्ममा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्नु पर्दछ । त्यसको निम्ति राष्ट्रिय सरकार बनाउने प्रयत्न हामीले लामो समयदेखि गर्दै आएको प्रयत्न सफल हुन सकेन । अब हामिले अन्तिम प्रयत्न गरेर राष्ट्रिय सरकार बनाउनतिर जानु पर्छ । यो निर्णय गर्ने जिम्मा त राजनीतिक दलहरुको हो, त्यही पनि हामी सबैले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ, आ-आफ्नो धारणा पनि राख्नु पर्दछ भन्ने कुरा मैले सम्माननीय राष्ट्रपतिज्यूलाई पनि अवगत गराएँ ।
अहिलेसम्म सबै विकल्पहरु हामीले हेर्‍यौं, दलहरुकै नेताहरु मध्येबाटै राष्ट्रिय सहमतिको सरकार बन्दा राम्रो हुन्थ्यो । तर अहिले कुनै पनि दलले एकले अर्काको नेतृत्व स्वीकार्ने अवस्था देखा परेन, दोस्रो हामी स्वतन्त्र व्यक्तिमा जाँउ भन्ने पनि हामीले प्रयत्न गर्‍यौं । स्वतन्त्र व्यक्तिमा पनि सहमति बन्ने अवस्था हामीले देखिरहेका छैनौं । त्यसैले अन्तिम विकल्पको रुपमा संसारभरि कै प्रचलनअनुसार स्वतन्त्र र निष्पक्ष संस्था भनेको न्यायपालिका मानिन्छ । त्यसैले वहालवाला प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाएर अगाडी बढ्दा सायद यो सबैलाई मान्य हुन्छ । स्वतन्त्र निष्पक्ष निर्वाचन सुनिश्चित हन्छ । त्यसैले सायद यो विकल्पतिर जानु पर्छ कि भन्ने कुरा उठिरहेको छ । यो बिकल्प मलाई पनि व्यक्तिगत रुपमा ठीकै लागेको छ । तर यो दलहरुले निर्णय गर्ने हो, जुनमा निर्णय गर्दा पनि सरकार र मलाई व्यक्तिगत रुपमा मान्य हुन्छ । तर स्थिति हेर्दा अब शायद वहालवाला प्रधानन्यायधिश कै नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानु नै वढी उपयुक्त हुन्छ ।
यो सवै निर्णय गर्ने दलहरुले हो, अहिले पनि उहाँहरु चाहनुहन्छ भने कुनै दलको नेताको नेतृत्वमा जान मलाई त खुसी कै कुरा हुन्छ । होईन, कुनै स्वतन्त्र व्यक्ति भन्नु हुन्छ त्यसमा पनि आपत्ति छैन । तर अहिले ९ महिनासम्म प्रयत्न गर्दा संभव नभएको अवस्थामा सायद यो वहालवाला प्रधानन्यायधिशको नेतृत्वमा बन्ने सरकारबारे चाहीं त्यति बिवाद नहोला भन्ने मलाई लाग्छ । मैले राष्ट्रपतिज्यूलाई यही जानकारी गराएँ ।
दोस्रो कुरा, हामीले प्याकेजमै सहमति गर्नुपर्छ । सत्य निरुपण र मेलमिलाप आयोगको गठनको विषयमा पनि हामीले तुरुन्तै सहमति कायम गरेर गठन गरिहाल्नु पर्दछ । त्यसो नगरीकन शान्ति प्रकिया पुरा हुँदैन ।
तेस्रो, संगठित अपराध सम्बन्धि बिधेयक मन्त्रिपरिषद्को तर्फबाट मैले यहाँ पेश गरेको छु । त्यो जारी नगर्दा देश नै कालो सूचीमा पर्ने खतरा छ, त्यसैले यो पनि तुरुन्तै जारी गर्दा राम्रो हुन्छ भन्ने मैले सम्माननीय राष्ट्रपति ज्यूलाई जानकारी गराएको छु ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राजनीतिक पार्टनरको खोजीमा रहेको बताउनु भएको छ । धुलिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला जस्तो पार्टनर नभेटिएको बताउनु भयो । ‘गिरिजाप्रसाद जस्तो पार्टनर भेटिएन, उहाँ जस्तो पार्टनर भेटिएको भए देशले निकास पाइसक्थ्यो’ उहाँले भन्नुभयो-’म राजनीतिक पार्टनरको खोजीमा छु, भेट्नासाथ देशले निकास पाउँछ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच सहमति नभए देशमा निरंकुशता आउने चेतावनी दिनुभयो । राजा, पञ्चालय र ज्ञानेन्द्र जस्तो निरंकुशता नआएपनि निरंकुशता आउने उहाँको भनाई थियो ।
पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराएू र आफूको धेरै कुरा मिल्ने उहाँले बताउनु भयो । आफू तल्लो तहबाट र भट्टराई पढेर आएका केही मतभिन्नता रहेको भन्दै अध्यक्ष प्रचण्डले एकले अर्कालाई सुधारेर अघि बढ्ने बताउनु भएको छ ।
 नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार बर्हिगमनको अर्को विकल्प नरहेको वताउनु भएको छ । वैद्यले प्रधानमन्त्री भट्टराईकै कारण मुलुक संकटमा फसेकाले मुलुकलाई संकटवाट जोगाउन भएपनि सरकारवाट हटाउनु पर्ने वताउनुभयो ।
क्रान्तिकारी पत्रकार महासंघ अवध राज्य समिति आइतवार रुपन्देहीको बुटवलमा आयोजना पत्रकार भेटघाट कार्यक्रममा वैद्यले जनताका अधिकार स्थापित गर्न भएपनि आफ्नो पार्टीले सडक आन्दोलन चर्काउने चेतावनी दिनुभयो । वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार गठनका लागि गोलमेच सम्मेलनमा जानु पर्ने वैद्यको भनाई छ ।
वैद्यले काँग्रेस-एमाले लगायतका विपक्षी दलहरु मुलुकलाई निकास दिन नभई सत्ता प्राप्तिका लागि एक सुत्रियरुपमा आन्दोलनमा उत्रिएको आरोप लगाउनुभयो । उहाँले एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश खीलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरी नयाँ निर्वाचानमा जान गरेको प्रस्ताव औचित्यहीन भएको वताउनुभयो । वैद्यले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर चुनावमा जान नसकिने  स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेठभित्रै नयाँ निर्वाचनमा जाने गरी दलहरुवीच सहमति हुने दावी गर्नु भएको छ । मुलुकलाई निकास दिन दलहरु मिल्नुको विकल्प नरहेको भन्दै भट्टराईले केही दिनभित्रै मुलुकले निकास पाउने वताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवसको अवसरमा आइतवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले मुलुकलाई निकास दिन दलहरु अँध्यारो सुरुङबाट उज्यालोतिर उद्धत रहेको समेत वताउनुभयो । भ्रष्टाचारमुक्त राज्य संयन्त्रको स्थापनाबाट मात्र लोकतन्त्रलाई संस्थागत गर्न सकिने भन्दै उहाँले सबै दल एकभएर अघि वढ्नु पर्ने वताउनुभयो ।
भट्टराईले भन्नुभयो, ‘भ्रष्टाचारलाई जरैदेखि नकाटेसम्म समाजमा पक्षपात, भेद्भाव र शोषण रहिरन्छ र सोचेको जस्तो सुशासन कायम गर्न सकिंदैन, जसले नेपालको विकासलाई वर्षौँसम्म पछि धकेल्नेछ ।’ उहाँले सरकारले भ्रष्टाचार नियन्त्रणको विषयलाई प्राथमिकतामा राखेर शून्य सहनशीलता आम जनमानसमा विकास गर्ने प्रयत्न गरिरहेको बताउनुभयो ।प्रधानन्त्रीले अहिले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो कर्तव्य राष्ट्रसेवकको हातमा रहेकाले त्यसविरुद्धको अभियानमा लाग्न निर्देशन दिनुभयो ।
उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले फागुन १ गतेबाट सरकारविरुद्ध थाल्ने भएको छ । स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनसहितको माग राख्दै मोर्चाले आन्दोलन थाल्न लागेको हो ।
‘फागुन १ गते हामी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँछौं र आन्दोलन सुरु हुन्छ’ मोर्चामा अवद्ध ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङले अनलाइनखबरसँग भन्नुभयो । आन्दोलनका कार्यक्रमअनुसार ७ गते देशभर नै कोणसभा हुनेछ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन २४ गते नेपाल बन्दको कार्यक्रम राखिएको तामाङले जानकारी दिनुभयो । सरकारविरुघद्ध आन्दोलनरत विपक्षी कांग्रेस-एमालेसहितका दलहरुले आफ्नो एजेण्डा सम्बोधन नगरेको भन्दै उपेन्द्र नेतृत्वको मोर्चाले छुट्टै आन्दोलन गर्न लागेको हो ।
संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलका नेताहरुले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने एमाओवादीका अध्यक्ष प्रचण्डको प्रस्ताव अस्वीकार्य भएको बताएका छन् । ‘यो न्यायपालीकामा खेल्ने प्रयास हो’ फोरम नेपालका अध्यक्ष समेत रहेका मोर्चाका अध्यक्ष यादवले अनलाइनखबरसँग भन्नुभयो-’यो सहमतिका लागि हैन, सरकारको आयु लम्ब्याउन ल्याइएको प्रस्ताव हो । हामीलाई स्वीकार्य छैन ।’
स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने तपाईहरुको माग पनि हो नि भन्ने प्रश्नमा यादवले भन्नुभयो-’प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने हो भने दलहरुबीच छलफल र सहमति हुनुपर्छ । माओवादीको महाधिवेशनबाट घोषणा गरेका हुँदैन ।’ ताम्सालिङका अध्यक्ष तामाङले पनि प्रचण्डको प्रस्ताव स्वीकार्य नभएको बताउनु भएको छ ।
 राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने एनेकपा माओवादीको प्रस्ताव उत्तम विकल्प भएको बताएका छन् ।
आफ्नो दलले पहिला देखि नै स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनको माग गर्दै आएको प्रसंग निकाल्दै राप्रपा नेपालका अध्यक्ष थापाले भने, “अहिलको राजनीतिक गत्यावरोधको निकासका लागि माओवादी प्रस्ताव जायज छ ।”
हेटौडामा आयोजित एक कार्यक्रममा उनले प्रतिपक्षी दलहरु सत्ताको लागि मात्र आन्दोलनमा उत्रिएको आरोप लगाए । प्रतिपक्षी दल र माओवादीका कारण देश थप संकटमा फस्दै गएको भन्दै अध्यक्ष थापाले दलहरुबिच तत्काल सहमती नभए आफ्नो दल पनि सडक संघर्षमा उत्रिने चेतावनी दिए ।
उनले माओवादी सर्वसत्तावाद देशमा हावी हुनुमा काँग्रेस, एमालेसहितका दलहरु, नागरिक समाज र पत्रकारहरुको समेत भूमिका रहेको आरोप लगाए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक