20130204

माओवादी महाधिबेशनमा के के भैरहेको छ अहिले ? कङ्रेस एमाले र अन्य दल के के गर्दै छन ?

"लोकतन्त्रनै धरापमा पार्ने माओवादीसंग कुनै सहमति हुँदैन":
कोइराला

प्रचण्ड ढाँटको खेती गर्न सिपालु,   दलबीच फाटो ल्याउन कहिले प्रधानमन्त्री, कहिले राष्ट्रपति वनाई दिन्छु भन्दै तुरुप फाल्ने गरेको  माधव नेपालको स्मरण 
‘माओवादीले लोकतन्त्रको रक्षा गर्नु भनेको बाँदरले बाली जोगाउनुजस्तै हो’: ओली
वर्तमान सरकारको उपहार भनेकै हत्या, हिंसा, भ्रष्टाचार र बलात्कार: वामदेव गौतम
आफूहरुलाई एक्ल्याएर सखाप पार्न लागिएको भन्दै यसलाई गम्भीरतापूर्वक नलिइए पार्टी पनि सिद्धिने र आफूहरु पनि सिद्धिने प्रचण्डको  विश्लेषण
 एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादीलाई पूर्वराजा ज्ञानेन्द्रको जस्तै हविगत बनाउने चेतावनी दिएका छन् । अहिलेको आन्दोलन एमाओवादीलाई तह लगाउनको लागि भएको वताउँदै उनले नसुध्रे ज्ञानेन्द्र शाहको हालतमा पुर्‍याइदिने वताए । संयुक्त जनआन्दोलन परिचालन समिति
कास्कीद्वारा सोमबार पोखरामा आयोजित संयुक्त विरोध सभामा उनले एमाओवादी अधिनायकवादी, सप्तालिप्सा र ढटुँवा पार्टी भएको आरोप लगाउदै प्रचण्ड ढाँटको खेती गर्न सिपालु भएको बताए । उनले माओवादीले अन्य दलबीच फाटो ल्याउन कहिले प्रधानमन्त्री, कहिले राष्ट्रपति वनाई दिन्छु भन्दै तुरुप फाल्ने
गरेको स्मरण गर्दै त्यसको विश्वास नगरी आन्दोलनवाट तह लगाउने वताए । प्रचण्ड ढटुँवा, वोलीको विश्वास नभएको भ्रमित नेता भएको आरोप लगाउँदै उनले त्यस्तो व्यक्तिले नेतृत्व गर्ने पार्टीले देशलाई वर्वाद वनाउने बताए । उनले माओवादीको मुल सिद्वान्त भनेकै सत्ता, शक्ति र पैसा भएको वताए । कांग्रेस उपसभापति
रामचन्द्र पौडेलले राष्ट्रपतिले देशलाई नयाँ प्रधानमन्त्री दिन असफल भएकोले आन्दोलनले निकास दिने वताए । राष्ट्रपति गणतन्त्रको प्रतिनिधि भएकोले देशलाई निकास दिन उचित कदम चाल्नुपर्ने उनको भनाई थियो । उनले सर्वसत्तावादी माओवादीलाई हटाएर संविधान सभाको चुनाव, स्थानीय निकायको रिक्तताको अन्त्य नगरेसम्म आन्दोलन पछि नहटने वताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर जवराले माओवादीले लडाकु, सहकारी, वेरोजगारको नाममा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै यो सरकारलाई कुनैपनि हालतमा हटाउनुपर्ने वताए । उनले बाबुराम भट्टराईको सरकारले संविधान सभाको चुनाव गराउने झुटो नाटक गरिरहेको वताउँदै सवै लोकतान्त्रिक दल मिलेर परास्त गर्नुपर्नेमा जोड दिए ।विरोध सभामा राष्ट्रिय जनशक्ति पार्टी, नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चाका नेताहरुले भट्टराई नेतृत्वको सरकारको अन्त्य नभएसम्म पछि हट्न नहुनेमा जोड दिएका थिए ।
एमाले उपाध्यक्ष वामदेव गौतमले नेपाली जनतालाई वर्तमान सरकारको उपहार भनेकै हत्या, हिंसा, भ्रष्टाचार र बलात्कार रहेको आरोप लगाएका छन् । नेता गौतमले रासस प्रतिनिधिसँग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नयाँ सूत्र मुख र पुच्छर एकै भएको जन्तुजस्तै हो र त्यो जनतालाई भ्रममा राख्ने चालमात्र भएको बताए । उनले एमाओवादीले ल्याएको स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा हुन नसक्ने बताउँदै राजनीतिक समावेशीका आधारमा अब नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमति सरकार हुनुपर्ने बताए ।
गौतमले एमाओवादीसँग भएको १२ बुँदे समझदारीको सहयात्री नेपाली काँग्रेसलाई हटाएर कुनै पनि राजनीतिक सहमति कायम हुन नसक्ने दाबीसमेत गरे । कांग्रेसको अडानका कारण नै विगतमा देशमा संविधानसभाको निर्वाचन भएको र गणतन्त्र स्थापना भएको बताउँदै नेता गौतमले राजनीतिक सहमति कायम भएमा अझै पनि आगामी जेठमा संविधानसभाको निर्वाचन हुन सक्ने धारणा राखे ।
सामन्ती संस्कारका बेला महिला तथा गोरुलाई नत्थी लगाउने चलन भएको प्रसङ्ग उल्लेख गर्दै नेता गौतमले अब राजीतिक दलहरूले एमाओवादीलाई पासो लगाइ तह लगाउने चेतावनी दिए ।
नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत माओवादीलाई लोकतन्त्रको जिम्मा दिएर कांग्रेस-एमालेले पनि गल्ती गरेको बताउनुभएको छ । सरकार बिरुद्ध आन्दोलनको क्रममा मंगलबार कैलालीको धनगढीमा भएको आमसभालाई सम्बोधन गर्दै ओलीले एमाओवादीबाट लोकतन्त्रको रक्षा हुनै नसक्ने बताउनुभयो ।
‘माओवादीले लोकतन्त्रको रक्षा गर्नु भनेको बाँदरले बाली जोगाउनुजस्तै हो’ ओलीले व्यंग्य गर्दै भन्नुभयो-’बाँदरलाई बाली कुर्ने जिम्मा दिएर कांग्रेस-एमालेबाट पनि गल्ती भयो ।’ सम्बोधनको अधिकाँश समय माओवादीको बिरोध गरेका ओलीले उसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने दावी गर्नुभयो । ओलीले सडक आन्दोलनको बलबाटै सरकार ढाल्ने पनि बताउनुभयो ।
एमाओवादीको जारी महाधिवेशनले सहमतिको कुनै सूत्र ल्याउन नसक्ने ओलीले दावी गर्नुभयो । ‘नेतृत्व उही हुने हो, सरकारमा उसैगरी हालीमुहाली गर्न खोज्ने हो’ ओलीले भन्नुभयो-’पछाडि बस्ने कुर्सी, अगाडि खाने थाल, अघिपछि जताबाट पनि फाइदा खोज्नेहरुबाट सहमतिको के आशा गर्ने ?’ माओवादीले भनेको उत्पादनको नीति मोहन बैद्यसित दोहोरी खेल्नु बाहेक अरु केही नभएको ओलीले टिप्पणी गर्नुभयो । ‘बिद्रोह भनिरहेको नेकपा-माओवादीलाई टक्कर दिन ल्याएको गफ मात्रै हो, अरु केही होइन’ ओलीले भन्नुभयो ।
सभालाई सम्बोधन गर्दै कांग्रेस नेता डा. रामशरण महतले पनि एमाओवादीको उत्पादन नीति गफ मात्रै भएको टिप्पणी गर्नुभयो । ‘उद्योगधन्दा तहसनहस बनाउने र खेतीयोग्य जमीन कब्जा गर्नेहरुले कसरी उत्पादन गर्न सक्छन्’ महतले आरोप लगाउँदै भन्नुभयो-’उत्पादन भनेको मात्रै हो, केही हुँदैन ।’ उहाँले देशलाई यो अवस्थामा ल्याउन माओवादी दोषी भएको भन्दै वर्तमान सरकार नहटाउँदासम्म मुलुकले निकास नपाउने दावी गर्नुभयो ।
वर्षाका कारण आमसभा ढिलो गरी शुरु भएको थियो । सभाअघि धनगढीका बिभिन्न ठाउँबाट जुलुस प्रदर्शन गरिएको थियो । एकीकृत माओवादी नेतृत्वको वर्तमान सरकार सहमतिको बाधक भन्दै विपक्षी दलहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सडक आन्दोलनकै बलमा वर्तमान सरकार ढालेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दावी गर्दै आएका छन् ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सर्वसत्तावादी सोचका कारण मुलुक इतिहासकै कमजोर अवस्थामा आरोप लगाउनु भएको छ । उहाँले भट्टराईले मुलुकमा संकट सिर्जनमा गरेर मुलुकलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको वताउनुभयो ।
मंगलवार जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले राष्ट्र कमजोर अवस्थामा पुगेका वेला मुलुकलार्इ बचाउन दलहरु मिल्नुको विकल्प नरहेको वताउनुभयो । कोइरालाले वर्तमान सरकार नै सहमतिको बाधक भएकाले वर्तमान सरकारलाई आन्दोलनवाटै घुँडा टेकाउने चेतावनी दिनुभयो । आफुहरुले सरकारविरुद्ध थालेको आन्दोलन सत्ताका लागि नभएर सरकारमा रहेका एमाओवादीसहितका दलहरुलाई सहमतिमा ल्याउनका लागि भएको कोइरालाको भनाई थियो ।
उहाँले एकीकृत माओवादीले पटक-पटक झुटको खेती गरेर आफूहरुलाई झुक्याएकाले उसंग सहमतिका नाममा अब कुनै नयाँ सम्झौता हुन नसक्ने वताउनुभयो । कोइरालाले भन्नुभयो,’लोकतन्त्र नै धरापमा पार्ने एमाओवादसंग कुनै सहमति हुँदैन । ‘ कोइरालाले एमाओवादीले विभिन्न बहानामा सत्ता लम्ब्याउन खोजेको आरोप लगाउनुभयो । कोइरालाले एमाओवादीले अन्तरिम संविधानको मर्मलाई लत्याउदै जनतालाई झुटो आश्वासन बाँड्ने गरेको आरोप लगाउनुभयो ।
एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र आफू स्टालिनजस्तै बनेको स्वीकार्नुभएको छ । साथै उहाँले अब अलिकति पनि ‘मिस’ गर्ने हो भने आफूहरु धरासायी हुने र एमालेजस्तो भएर पनि सुख नपाउने बताउनुभएको छ ।
‘हामी सबैमा स्टालिनको कमजोरी छ । अहिले ममा पनि रहेछ भन्ने महसुस हुन थालेको छ । एकमनावादी, अर्को विचार भएकोलाई अलि अर्कैजस्तो ठानिहाल्ने स्वभाव ।’- हेटौडामा जारी महाधिवेशनमा प्रतिनिधिहरुको हात-हातमा थमाइएको पार्टीको मुखपत्र ‘माओवादी’मा प्रचण्डले भन्नुभएको छ-’हामी गुटबन्दी किन गरिहाल्छौं त ?त्यसो भैहाल्दावित्तिकै हामी ठूला ठूला संगीन आरोप किन लगाइहाल्छौं त ?’
‘सर्वहारा वर्गको पार्टी हजारौं, लाखौं विवेकको केन्द्रीकरण गरेर सामुहिकरुपले शक्ति बनाउने भनेको त गुटबन्दी र षड्यन्त्रको मेसिनजस्तो पो हुने खतरा पो भयो ।’ प्रचण्डको भनाइ छ-’अब हामीले संगठनमा भिन्न मत वा विचार आयो भने बोलचाल नगर्ने, छलफल नगर्ने, वा बहस नगर्ने पुरानो संस्कार छोड्ने प्रतिवद्धता गर्नुपर्छ ।’
सबैको अध्यक्ष हुन पाउनुपर्यो
मुखपत्रमा प्रचण्डले आफूलाई पार्टीभित्र सबैको अध्यक्ष हुन नदिइएको गुनासोसमत उजागर गर्नुभएको छ । ‘म अहिले अध्यक्षको भूमिकामा छु भने मैले सबैको अध्यक्ष हुन पाउनुपर्यो नि ।सबैको जस्तो नभएर कोहीको जस्तो भएँ भने त सही भएन ।’ प्रचण्डले भन्नुभएको छ-’मलाई सबैको बन्न नदिने पनि सही भएन । क. बाबुराम, क. प्रकाश, क. पोष्टबहादुर बोगटी र अर सिनियर कामरेडहरुले पनि सबैको हुन किन नपाउने ? विचार लाइन र कार्यक्रम एउटै भैसकेपछि फेरि प्रचण्डको मान्छे, बाबुराम नजिकको मान्छे भन्न थालियो भने यो त पक्कै पनि रोग हो ।’
हामीलाई घेर्दैछन्, एमालेजस्तो भए पनि सुख छैन
महाधिवेशन अघिको केन्द्रीय महाधिवेशन आयोजक समितिको वैठकमा प्रस्तुत मन्तव्यमा आधारित प्रचण्डको लेखमा आफूहरुलाई एक्ल्याएर सखाप पार्न लागिएको भन्दै यसलाई गम्भीरतापूर्वक नलिइए पार्टी पनि सिद्धिने र आफूहरु पनि सिद्धिने विश्लेषण गर्नुभएको छ । ‘हामीलाई एक्ल्याएर सखाप पार्ने एउटा डिजाइन अनुसार सबै भैरहेको छ । हामीले यस्तै यस्तै भएर रहन पाइन्छ भन्ने ठान्यौं भने हामीले क्रान्ति र पार्टीलाई त बर्बाद पार्छौं नै, हामी सबै बर्बाद हुन्छौं ।’
प्रचण्डले भन्नुभएको छ- ‘अल्छि गरेर बस्ने स्थिति छैन । हामीले यो पार्टीलाई एकतावद्ध गर्न सकेनौं भने, हामी अर्को ढंगले जनतासँग जोडिन सकेनौं भने हामीलाई सिध्याउँछन् । हामी कि एमाले हुनुपर्यो । तर हामीलाई एमालेजस्तो भएर पनि सुख छैन । हाम्रा अगाडि दुईवटा मात्रै विकल्प छन् : फेरि जोखिम उठाएर जाने वा खत्तम हुने ?’  उहाँको भनाइ छ- ‘हामी सबैका लागि उत्कर्षको समय आएको छ, घटनाक्रम सामान्य छैन । हामीले अब अलिकति पनि ‘मिस’ गर्न थाल्यौं भने नराम्रोसँग धरासायी हुने खतरा छ ।’
स्टालिनजस्तो हुँदा प्रचण्डले केके गरे ?
स्टालिनले आफूसँग फरक मत राख्ने केन्द्रीय सदस्यहरुलाई मृत्युदण्ड दिएका थिए । केही केन्द्रीय सदस्यले विदेश भागेर ज्यान जोगाएका थिए । बरिष्ठ नेता ट्राटस्कीलाई विदेशमै हत्या गरिएको थियो । स्टालिनले जस्तै प्रचण्डले पनि पार्टीभित्र फरक मत राख्नेलाई विभिन्न तरिकाले सिध्याउँदै आउनुभएको थियो ।
जनयुद्ध शुरुभएको केही महिनामै आफ्ना प्रतिश्पर्धी ठानिएका रामबहादुर थापा बादललाई लिनप्याओवादी बनेको र प्रचण्डको ‘गादी’ हत्याउन खोजेको आरोप लगाई कारवाही गर्नुभयो, यो कारवाही गल्ती थियो भनेर प्रचण्डले स्वीकारिसक्नुभएको छ । त्यस्तै प्रचण्डका अर्का उत्तराधिकारी यानप्रसाद गौतम -आलोक)को समूहले रामेछापमा क्षेत्रीय ब्यूरो सदस्य रमेश ढुंगेललाई फरक विचार राखेकै आधारमा स्टालीनले जस्तै मृत्युदण्ड दिएको थियो । आफ्नै कार्यकर्ता रमेशलाई गोली ठोकेर जमीनमा गाड्ने व्यक्ति समेत अहिले हेटौडाको महाधिवेशनमा सहभागी छन् । पछि गल्ती एकजना व्यक्तितिर सार्दै ‘आलोक प्रवृत्ति’ नामाकरणसहित आलोकलाई गिरफ्तार गरेर सिध्याइयो । त्यसपछि मणि थापा र रवीन्द्र श्रेष्ठलाई महा आलोकको आरोप लगाइयो ।
पार्टीमा केही अन्तरविरोध बढेकै आधारमा डा. बाबुराम भट्टराई, हिसिला यमी र दीनानाथ शर्मालाई पार्टीबाट निस्कासन गरी आन्तरिक हिरासतमा राखिएको थियो । पटना काण्डको आरोपमा देबेन्द्र पौडेल सुनीललाई चरम यातनासमेत दिइएको थियो । प्रचण्डले यसरी आफूसँग असहमत हुने वा मत बझाउनेजति सबैलाई भौतिकरुपमै सिध्याउने नीति लिँदै आउनुभएको थियो । शायद यही कुरालाई महसुस गरेर उहाँले आफू स्टालीनजस्तो बनेको स्वीकार गर्नुभएको हो ।
प्रचण्डले आफू स्टालिनजस्तो बनेको कोठाभित्र स्वीकार गरे पनि महासधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजमा बाबुराम भट्टराईमाथि गरिएको कारवाहीबारे कतै पनि आत्मालोचना गरिएको छैन । महाधिवशेनमा सहभागी केही प्रतिनिधिहरुले बाबुराम समूहमाथि विगतमा गरिएको कारवाहीबारे समीक्षा गरिनुपर्ने माग गरेका छन् ।
हेटौंडामा जारी एकीकृत नेकपा माओवादीको महाधिवेशनमा कूल ६३ वटा समूहमध्ये मंगलबार साँझसम्म ४० जनाले आफ्नो समूहको धारणा राखेका छन् । बाँकी २३ जनाले बुधबार विहान आफ्नो समूहको धारणा प्रस्तुत गर्ने एमाओवादीले बताएको छ ।बन्दशत्रमा बोल्ने केहीले आफ्नै ‘कामरेड’लाई गिरफ्तार गर्नसमेत माग गरेका छन् ।
प्रचण्डको प्रतिवेदनमाथि मत राख्ने पहिलो व्यक्ति उहाँकै आफ्नै छोरी रेणु दाहाल पर्नुभएको छ । रेणु एक नम्बर समूहको नेतृ भएकाले उहाँले सबैभन्दा पहिले आफ्नो समूहको धारणा राख्नुभएको हो । उहाँपछि समूहगतरुपमा क्रमश जनक बूढा, रमेश मल्ल, त्रिलोचन भट्ट, डीपी ढकाल, चन्द्रबहादुर थापा(सागर), बाबुराम गौतम, उषा देवकोटा, गणेश रेग्मी, श्यामकुमार श्रेष्ठ(कुशल), वीरबहादुर कुँवर, उज्वल, नरबहादुर विष्ट र टेकबहादुर रावलले आफ्नो धारणा राखेका छन् ।

बिहानको खानापछि दिउँसो आफ्नो धारणा राख्ने समूह नेताहरुमा १५ नम्बर समूहदेखि क्रमशः उद्गम, श्यामकुमार बूढा, प्रकाश गिरी, दूर्गाबहादुर थारु, गौरीशंकर चौधरी, भीमप्रकाश शर्मा, मोहनबहादुर खत्री, गोपाल शर्मा, नीलकण्ठ डाँगी, कृष्णप्रसाद अधिकारी, गोविन्द केसी, टीकाबहादुर दर्लामी, लुमणि धिताल, राजीव धिमिरे, हरि चौलागाई, कृष्ण रेग्मी, विमला केसी, नन्दराम कडेरिया, कमल चुदाली, रमण, जीवन, लेखबहादुर थापा, कमला नहर्की -सपना), भलकसिंह दर्लामी, गायत्री गुरुङ्ग, आशा खनाल रहेका छन् ।  मंगलबार बिहान प्रतिनिधिहरुले धारणा राख्ने क्रममै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले करिब ४० मीनेट समय लिएर आफ्नो मौखिक विचार राख्नुभएको थियो । १४ जनाले समूह नेताले बोलेपछि खाना खानका लागि दुईघण्टा बैठक स्थगनको घोषणा गरिएको थियो ।
 पन्तलाई ‘अपराधी’ भन्दै पक्रन माग
बन्दशत्रमा सहभागी प्रतिनिधि रमेश पन्तलाई ‘अपराधी’ भन्दै अर्का प्रतिनिधि गणेश रेग्मीले उनलाई हलभित्रैबाट पक्राउ नगरिए आफैंले पक्राउ गर्ने बताएका छन् । रेग्मीले मजदुर नेता शालिकराम जमरकट्टेलमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गर्ने पन्त महाधिवेशनमा भाग लिइरहेको र सरकारको संरक्षणमा अहिलेसम्म पक्राउ नपरेकोमा आपत्ति जनाए । उनलाई महाधिवेशनबाट तत्काल बाहिर निकालेर पक्राउ नगरिए आफैले समात्ने रेग्मीले बन्दशत्रमा बताए । रेग्मीले ९ नम्बर समूहको निश्कर्ष बन्दशत्रमा प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘भ्रष्ट’ ठहरिएका कमान्डरसमेत बन्दशत्रमा
गत साउनमा भृकुटीमण्डप बैठकमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएका जनमुक्ति सेनाका कमान्डरहरु छानविन प्रतिवेदनमाथि टुंगो नलाग्दै महाधिवेशनको बन्दशत्रमा भाग लिइरहेको भन्दै केही सहभागीले समूहगत छलफलमा प्रश्न उठाएका छन् । छानविन नै नटुंगी यिनीहरुको कारवाही कहिले फुकुवा भयो र बन्दशत्रमा प्रवेश गरे भन्दै लडाकू प्रतिनिधिहरुले प्रश्न उठाएको एक प्रतिनिधिले अनलाइनखबरसँग भने ।  भ्रष्टाचारसम्बन्धी छानविनमा सजिलो होस् भन्दै साउनमा राजीनामा दिने १२ कमान्डरहरुमा दोस्रो डिभिजन सिन्धुलीका सुकबहादुर रोका, धनबहादुर मास्की (राजेश) लगायत थिए । उनीहरुमाथि लागेको भ्रष्टाचारको आरोपबारे पार्टीले टुंगो नलगाउँदै कारवाही फुकुवाको कुनै जानकारी विनै महाधिवेशनमा सहभागी गराइएको हो । विगतमा पनि राजीनामा दिएको भन्दै उनीहरुले विस्तारित बैठकमा भाग लिएका थिए ।
सागर आफ्नै विरोधमा बोले
त्यसैगरी ६ नम्बर समूहका नेता चन्द्रबहादुर थापा (सागर)ले आफ्नैविरुद्ध परेको फरक मत हलमा प्रस्तुत गरेका छन् । थापाको समूहमा परेका अर्का वाइसिएल नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले  सागरलाई एनजिओ चलाएको आरोप लगाएका थिए । ‘बेरोजगार युवा संघ’ खोलेर थापाले वाइसिएललाई एनजीओकरण गरेको भन्दै सापकोटाले सोमबार भएको समुहगत छलफलमा फरक मत जनाएपछि मंगलबार थापाले सापकोटाको भिन्न मत हललाई सुनाएका हुन् । विगतमा विप्लवले जनस्वयंसेवक दस्ता बनाएर वाइसिएललाई बाइपास गरेजस्तै थापाले बेरोजगार संघ बनाएर वाइसिएललाई बाइपास गरेको थापाले ६ नम्बर समूहको प्रस्तुतीमा बताएका थिए ।
सरकारले ‘क्यासवाला’को मात्रै काम गर्यो
बन्दशत्रमा आफ्नो समूहको निश्कर्ष प्रस्तुत गर्ने क्रममा प्रतिनिधिहरु सरकारको चर्को आलोचना गरेका छन् । पार्टीले सरकार चलाएको हो कि सरकारले पार्टी चलाएको भन्ने प्रश्न गर्दै सरकार सामुहिकतामा नभई व्यक्तिगत हिसाबले चलेको केही प्रतिनिधिहरुको आरोप छ । पीडित कार्यकर्ताको समस्या सरकारमा गएकाहरुले नदेखेजस्तो गरेको र क्यासवालाहरुको मात्रै काम गर्ने गरेको केहीको गुनासो थियो ।
प्रचण्ड आलोचनामुक्त भएनन्
कार्यकर्ताले अध्यक्ष प्रचण्डलाई पनि आलोचनाबाट मुक्त हुन दिएनन् । प्रचण्डबाट प्रस्तुत दस्तावेज सारमा ठीक भए पनि दस्तावेजजस्तो नभएर चुनावी घोषणापत्रजस्तो देखिएको कार्यकर्ताहरुको आरोप थियो । तर, कार्यकर्ताले यस्तो आरोप लागाउँदा लगाउँदै प्रचण्डले सोमबारमात्रै आफ्नो दस्तावेजमा नीति तथा कार्यक्रमहरुको अध्यायमा भौतिक विकास र निर्माणका बुँदाहरु थप गरेर संशोधन प्रस्ताव अधि सारेको स्रोतले अनलाइएनखबरलाइृ बतायो ।
किराती जातिवादी, भट्ट संघीयता विरोधी र कार्की महत्वाकांक्षी
महाधिवेशनमा फरक मत राखेका राम कार्की, गोपाल किराती र लेखराज भट्टलाई समेत प्रतिनिधिहरुले आलोचना गरेका छन् । गोपाल किरातीले चर्चामा आउन जातिवादी दस्ताबेज ल्याएको भन्दै उनको आलोचना भएको छ भने अखण्ड सुदूरपश्चिमको प्रस्ताव ल्याउने लेखराज भट्लाई कार्यकर्ताले संघीयता विरोधीको आरोप लगाएका छन् । राम कार्कीको दस्तावेजलाई कतिपयले प्रचण्डको मूल दस्ताबेजमा समेट्नुपर्ने बताएका छन् भने केहीले आलोचना गरेका छन् । व्यक्तिगत महत्वाकांक्षा र कुण्ठाका कारण कार्कीले फरक मत ल्याएको प्रतिनिधिहरुको आरोप थियो ।
राष्ट्रियतामा कसैसँग सम्झौता गरिन्न : नारायणकाजी
मंगलबार बिहानै बन्दशत्रमा ४० मीनेट बोलेर आफ्ना असहमति राख्नुभएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दिउँसो पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वाधीनतामा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । उहाँले नेपालको सीमानामा जनमत संग्रह हुनै नसक्ने भन्दै प्रचण्डको दस्ताबेजबाट यो बुँदालाई महाधिवेशनले हटाउने बताउनुभएको छ ।
महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा रहेका आफ्ना असहमति सार्वजनिक गर्दै उपाध्यक्ष श्रेष्ठले भारतसँग गरिएको विप्पा सम्झौताको विरोध गर्नुभयो । उक्त सम्झौता आफ्नो पार्टीले लिएको नीतिसँग मेल नखाने उहाँले बताउनुभयो ।
‘विप्पा राष्ट्रिय हितअनुरुपको सम्झौता होइन, यो सम्झौता अहिलेको हाम्रो पार्टीको लाइनसँग पनि मेल खाँदैन । राष्ट्रिय पुँजीलाई प्रोत्साहित गर्ने हाम्रो नीतिसँग मेल खाँदैन । विदेशी पूँजी भित्र्याउन हुन्छ । तर, राष्ट्रिय पुँजीलाई प्रोत्साहित गर्ने गरी भित्र्याउनुपर्छ ।’- श्रेष्ठले भन्नुभयो । भारतलाई कसरी हेर्ने भन्नेबारे पार्टीमा फरकमत रहेको स्वीकार्दै उहाँले भन्नुभयो- ‘भारत छिमेकी राष्ट्र हो, उसको विरोध गर्नुपर्छ भन्ने होइन । तर, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, र राष्ट्रिय हितको रक्षाका लागि विदेशी हस्तक्षेपको विरोध गर्नुपर्छ । हस्तक्षेपको विरोध गर्नु भनेको भारतको विरोध गर्नु होइन । हामी राष्टिय स्वाधीनताको मामिलामा कसैसँग सम्झौता गरिने छैन ।’
उहाँले असमान सन्धी खारेजीका विषयहरु दस्तावेजमा समेटिने र समाधान हुन नसकेका राष्ट्रिय स्वाधीनताका विषयमा महाधिवेशनपछि छलफल गरिने उहाँले बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले ६ महिनाभित्र हुने विस्तारित बैठकमा महाधिवेशनमा नटुंगिएका विषयबारे छलफल गरिने बताउनुभयो । श्रेष्ठले आफूले बार्गेनिङ नगरेको र महाससचिव हुनेबारे आफूले नसोचेको बताउनुभयो । कतिपय बुझाइमा अन्तर भए पनि महाधिवेशनले माओवाद मानेर जाने श्रेष्ठले बताए पछि दिउँसो बोलने प्रतिनिधिले श्रेष्ठप्रति आभार व्यक्त गरेका छन् । तर, केही प्रतिनिधिले माओवादका साथै प्रचण्डपथ समेत मान्नुपर्ने तर्कसमेत अघि सारेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक