20130526

कांग्रेस र एमालेका नेतालाई चक्मा खुवाउँदै वैद्य र प्रचण्डवीच पार्टी एकताको संकेत, कांग्रेस, एमालेलाई झुक्याउने रणनीति, वाईसीएल पुनः सक्रिय हुने !

एमाले र कांग्रेसका नेताहरुले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलाई चुनावमा सहभागी गराएर एमाओवादीलाई कमजोर बनाउने सोचिरहेका बेला कांग्रेस र एमालेका नेतालाई चक्मा खुवाउँदै वैद्य र प्रचण्डवीच पार्टी एकताको संकेत देखिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीभित्र एकीकृत माओवादीसँग पार्टी एकता गर्नेबारे छलफल शुरु भएको छ । पार्टीमा सबैभन्दा उग्र क्रान्तिकारी भनिएका नेत्रविक्रम चन्द (विप्लव) ले समेत युद्धमा नजाने र यही बाटो हिँड्ने हो भने अलग्गै पार्टी बनाइरहनुको अर्थ नहुने निश्कर्ष निकाल्न थालेको बुझिएको छ । तर, विप्लव आफैंले प्रचण्ड र बाबुरामलाई दलाल भनिसकेको हुनाले सहजै एकताको कुरा गर्न उनले अप्ठ्यारो महसुस गरेको स्रोत बताउँछ ।
prachanda-kiran-biplop
नवलपरासी र बाग्लुङका माओवादी कार्यकर्तालाई एमाओवादीमा प्रवेश गराउँदै शनिबार प्रचण्डले मोहन वैद्य पनि पार्टीमा फर्कने घोषणा गर्नुभएको छ । तर, वैद्य एक्लै फर्कने नभई दुई पार्टीवीच एकता गर्ने तयारी छ । दुईसाता अघि अनलाइनखबरसँगको अन्तरवार्ताका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले चुनावअघि नै पार्टी
एकता गरेर मिलेर चुनावमा भाग लिन मोहन वैद्यपक्षलाई अपील गर्नुभएको थियो ।
मोहन वैद्य पक्षलाई पार्टीमा फिर्ता ल्याउन एमाओवादीभित्र कुनै पक्षको पनि असहमति देखिँदैन । तर, भर्खरै पार्टी फुटाएर कार्यकर्तालाई विभाजित गराएका वैद्य पक्षका कार्यकर्ताहरु भने प्रचण्डसँग पार्टी एकताको कुरो सुन्नसमेत चाहँदैनन् । यसले गर्दा वैद्यपक्षका नेताहरुले पार्टी एकताको मानसिकता बनाए पनि कार्यकर्ताहरुलाई भन्ने आँट गरेका छैनन् । यद्यपि आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा एकतावद्ध भएर लड्ने दुबै पक्षका नेताहरुले प्रयास गरेका छन्, जसले भावी पार्टी एकताको आधार बनाउने उनीहरुको बुझाइ छ ।‘विप्लवजी पनि युद्धमा नजाने भए दुईवटा पार्टी किन बनाउने भन्ने निश्कर्षमा पुग्नुभएको छ ।’ स्रोतले भन्यो, पार्टी एकता गर्ने विषयमा दुईपक्षका केही नेताहरुवीच गोप्य भेटघाटसमेत हुन थालिसकेको छ ।

तत्कालै दुई माओवादीवीच एकताको चर्चा गर्दा कांग्रेस र एमाले बढी आत्तिने र चुनावलाई पछि सार्न प्रयत्न गर्ने भएकाले चुनावको मिति घोषणा भएर निर्वाचन कार्यक्रम आइसकेपछिमात्रै चक्मा दिने गरी एकता गर्ने तयारी शीर्षनेताहरुले गरेको बुझिएको छ । त्यो अवस्थामा मोहन वैद्य लगायतका पार्टीमा फिर्ता हुने नेताहरुलाई पहिलेकै जिम्मेवारीमा राखिने बताइएको छ ।
एकता प्रक्रियामा नआएर अलग्गै बस्नेहरु एमाले-मालेवीच एकता हुँदा सीपी मैनालीजस्तो बन्ने विश्लेषण माओवादी नेताहरुले गरेका छन् । एकता प्रक्रियामा सीपी गजुरेल, हरिभक्त कँडेल र रामहादुर थापा बादल आएनन् भने पनि वैद्य, विप्लव, देव गुरुङ र पम्फा भुसालसहित पार्टीको मुख्य हिस्सा र्फकने एमाओवादी नेताहरुको अनुमान छ । यो स्थितिमा सानो समूह अलग रहेर पार्टीलाई खासै घाटा नहुने विश्लेषण गरिएको बुझिएको छ ।

वैद्य नेतृत्वको नेकपा माओवादी पार्टी एकतामा तयार नभए एमाओवादी अध्यक्ष प्रचण्डले विस्तारै किस्ता-किस्तामा नेताहरुलाई पार्टीमा भित्र्याउने रणनीति अख्तियार गरेको बुझिएको छ । कुमार पौडेल, कृष्णध्वज खड्का र रेखा शर्माबाट शुरु भएको यो प्रक्रिया अहिले पूर्वसभासदसम्म पुगेको छ । शनिबार कपिलवस्तुबाट पूर्वसभासदसहित वैद्यपक्षका केही नेता कार्यकर्ता एमाओवादीमा फर्किएका छन् ।

चुनावी सरगर्मी बढ्दै जाँदा एकीकृत नेकपा माओवादीका युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएल पुनः सक्रिय हुने भएको छ । वाईसीएलको राष्ट्रिय अधिवेशन आयोजक समितिको बैठकले वाईसीएललाई पुनः सक्रिय बनाउने निर्णय गर्दै कार्यक्रमहरु बनाएको छ । ‘ वाईसीएल भने एमाओवादीको मिनी पार्टी समेत हो । कांग्रेस, एमाले लगायतका दलले शान्ति प्रक्रिया नै पूरा हुँदैन भनेपछि स्थगित गरिएको थियो । वाईसीएललाई स्थगित गर्दा पनि संविधान त बनेन’ नेवा राज्य संयोजक दिवशिखाले अनलाइनखबरसँग भन्नुभयो-अब फेरि पुनर्जीवन दिने निर्णय भएको छ । जनखबरदारी र जनसेवाको काममा सक्रिय हुन्छौं ।’ त्यसका लागि गाविसमा एक वडा-एक वाईसीएल, नगरमा एक टोल-एक वाईसीएल, शिक्षण संस्थामा एक सेक्शन-एक वाईसीएल, उद्योगमा एक उद्योग-एक वाईसीएको नारा अनुसार संगठन विस्तार गरिने वाईसीएलको निर्णय छ । वाईसीएल अधिवेशन आयोजक समितिको बैठकले असार १५ भित्र तल्लो तहदेखि राज्य समितिसम्म अधिवेशन गर्ने र एकताको पहिलो राष्ट्रिय अधिवेशन भदौं १५ देखि १८ गतेसम्म काठमाडौ.मा गर्ने निर्णय गरेको छ । अधिवेशनको पूर्व सन्ध्यामा युवा सप्ताह मनाइने वाईसीएल अध्यक्ष गणेश पुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी स्ववियु चुनावका लागि एक्यवद्धता कार्यत्रम गर्ने, सबै कमिटीले कम्तिमा १/१ वटा उत्पादन र जनसेवाका योजना तयार पार्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक