20130701

गत महिना मात्र एकता महाधिवेशन गरी एकीकरण भएको राप्रपामा पदीय भागबन्डाको लडाइँले समीकरण परिवर्तन

थापालाई राणाको साथ चन्द र लोहनी विपक्षमा
- गणेश बस्नेत

गत महिना मात्र एकता महाधिवेशन गरी एकीकरण भएको राप्रपामा पदीय भागबन्डाको लडाइँले समीकरण परिवर्तन भएको छ । महाधिवेशनबाट निर्वाचित अध्यक्ष सूर्यबहादुर थापालाई वरिष्ठ नेता पशुपतिशमशेर राणाले साथ दिएपछि पूर्वसमीकरण परिवर्तन भएको हो । राप्रपानिकट स्रोतका अनुसार पदाधिकारी चयन र समिति गठनमा आफूअनुकूल नभएपछि एकीकरणअघि राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष रही थापालाई निरन्तर सहयोग गर्दै आएका डा. प्रकाशचन्द्र लोहनी टाढिएका छन् । उनलाई अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साथ दिएका छन् । एकीकरणअघि दुई पार्टीका अध्यक्ष रहेका थापा र राणा भने एक ठाउँमा आइपुगेका छन् । थापा र राणा एक भएपछि लोहनीले चन्दको साथ लिएर उच्चस्तरीय कार्यसम्पादन समितिमा अध्यक्षलाई असहयोग सुरु गरेको एक नेताले बताए । हरेक निर्णय राणाको सहमतिमा लिने गरेको भन्दै लोहनीले अध्यक्ष थापाको साथ छाडेको ती नेताको भनाइ छ । उनका अनुसार गत शुक्रबारको बैठकमा लोहनीले महाधिवेशनबाट पारित विधानविपरीत १४ पृष्ठ लामो प्रस्ताव ल्याएपछि अध्यक्ष थापा निकै चिढिएका छन् । सो प्रस्तावमा पनि थापासहित राणाले आपत्ति जनाए पनि चन्दले साथ दिएका थिए । ‘उच्चस्तरीय कार्यसम्पादन समितिमा आएको प्रस्तावबाट अध्यक्ष थापा लोहनीसँग निकै चिढिनुभएको छ, सम्बन्ध पनि चिसिएको छ,’ उनले भने ।उनका अनुसार अध्यक्ष थापाले वरिष्ठ नेता राणाको समेत सहमतिमा पदाधिकारी, समिति र विभाग गठन गर्न लागेपछि त्यसलाई रोक्न लोहनीले विधानविपरीतका प्रस्ताव ल्याएका हुन् । अध्यक्ष थापा लामो गृहकार्यपछि पदाधिकारी चयन र उच्चस्तरीय
कार्यसम्पादन समिति विस्तारको अन्तिम टुंगोमा पुगेका छन् । त्यसमा लोहनी र चन्दले आफूअनुकूल नदेखेपछि रोक्न खोजेको मालीगाउँनिकट स्रोतले बतायो । थापाले विधानअनुसार नौ नेतालाई समेटेर समिति विस्तार गर्नेे अन्तिम योजना बनाएका हुन् । जसअनुसार समितिमा नवराज सुवेदी, हरिबहादुर बस्नेत, दीपक बोहोरा, बुद्धिमान तामाङ, प्रतिभा राणा, ध्रुवबहादुर प्रधान, बालाराम घर्तीमगर, ठाकुरप्रसाद शर्मा र फत्तेसिंह थारूलाई सहभागी गराउने निर्णयमा थापा पुगेका हुन् । सो नामावलीमा समेत लोहनी र चन्दको असहमति रहेको छ ।
उनीहरूले आफूहरूनिकटलाई दुई नेता मिलेर बाहिर पारेको आरोप लगाउने गरेका हुन् । यस्तै, पदाधिकारीमा पनि नाम टुंगो लगाउन लागेपछि विवाद बढेको स्रोतले बतायो । अध्यक्ष थापाले महामन्त्रीमा दीपक बोहोरा, पर्शुराम खापुङ र बुद्धिमान तामाङ, कोषाध्यक्षमा नीलकण्ठ काफ्लेलाई मनोनयन गर्ने निर्णय गरे पनि औपचारिकता भने दिएका छैनन् । यस्तै, सहमहामन्त्रीमा सुनिल थापा, जयन्त चन्द, विक्रम पाण्डे, हेमजंग गुरुङ, बिन्दु पहाडी, भरत पाठक र भुवन पाठकको नाममा थापा र राणाबीच सहमति भइसकेको छ । यस्तै, प्रवक्तामा ठाकुर शर्मा र सहप्रवक्तामा किरण गिरीको नाममा सहमति भएको छ । महामन्त्रीमा आफ्नो नाम हटेपछि ध्रुवबहादुर प्रधानसमेत लोहनी र चन्द समूहमा लागेका छन् ।
यस्तै, थापाले अब कसैलाई नकुर्ने भन्दै राणाको सहमतिअनुसार समिति र विभागसमेत गठनको अन्तिम गृहकार्य गरिसकेका छन् । लोहनी र चन्दको असहयोग निकै बढेपछि थापाले सबैलाई एकै पटक पूर्णता दिन लागेको उनीनिकट स्रोतले बतायो । स्रोतका अनुसार अध्यक्ष थापाले राणालाई संसदीय विभाग, लोहनीलाई उच्चस्तरीय अनुगमन समिति र हरिबहादुर बस्नेतलाई अनुशासन समितिको प्रमुख बनाउने निर्णय गरेका छन् । यस्तै, संगठन विभागमा बुद्धिमान तामाङ, न्यायिक विभागमा वीरसिंह ठकुरी, राजनीतिक विभागमा ठाकुरप्रसाद शर्मा, सामाजिकमा अर्जुन राई, आर्थिकमा राजेन्द्रप्रसाद श्रेष्ठ, अन्तर्राष्ट्रियमा सुनिल थापा, स्थानीय निकायमा रोशन कार्की, प्रचारमा किरण गिरी, प्रशिक्षणमा सुरेन्द्र केसी, महिलामा निना भेटवाल, खेलकुदमा जगत गौचनलाई प्रमुख बनाउने प्रस्ताव गरेका छन् । सो प्रस्तावमा राणको सहमति रहे पनि अन्य दुईले असहमति जनाएको स्रोतले बतायो । थापाले विधानको अधिकार प्रयोग गरी छिट्टै पाँचै विकास क्षेत्रमा संविधानसभा निर्वाचनका लागि कमान्डर तोक्ने भएका छन् ।
जसअनुसार पूर्वाञ्चलमा सुनिल थापा, मध्यमाञ्चलमा विक्रम पाण्डे, पश्चिमाञ्चलमा सूर्यबहादुर केसी, मध्यपश्चिममा फत्तेसिंह थारू र सुदूरपश्चिममा जयन्त चन्दले जिम्मेवारी पाउने भएका छन् । प्रस्तावित नाममा आफूहरूको सुझाव नमानेको भन्दै लोहनीले शुक्रबारको उच्चस्तरीय समितिमा १४ पृष्ठ लामो प्रस्ताव दर्ता गरेका थिए । तर, उनको सो प्रस्ताव खारेज गर्न भन्दै आइतबार नेता बुद्धिमान तामाङको नेतृत्वमा २८ जना केन्द्रीय सदस्यले लिखित पत्र अध्यक्ष थापालाई बुझाएका छन् । उनीहरूको पत्रमा लोहनीको प्रस्ताव विधानविपरीत रहेकाले खारेजी हुनुपर्ने उल्लेख छ । उनीहरूले लोहनीमाथि कारबाहीको समेत माग गरेका छन् । वरिष्ठ नेता लोहनीले आफूले उच्चस्तरीय कार्यसम्पादन समितिमा प्रस्ताव पेस गरेको स्वीकार गरे । ‘प्रस्ताव लगेको छु, तर छलफल नै भएको छैन,’ लोहनीले भने । -राजधानी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक